चिनियाँ प्रोफेसर वाङलाई नेपाल प्रज्ञालङ्कार
एभरेष्टखबर
December 19, 2020
नेपाल प्रज्ञा–प्रतिष्ठानले चिनियाँ प्रोफेसर वाङ हङवेईलाई ‘नेपाल प्रज्ञालङ्कार’ प्रदान गर्ने निर्णय गरेको छ । हालै सम्पन्न प्रतिष्ठानको ३५औँ प्राज्ञ सभाले तीन हजार अमेरिकी डलर वा सो बराबरको नगद राशिको विशिष्ट पुरस्कार ‘नेपाल प्रज्ञालङ्कार’ प्रदान गर्ने निर्णय गरेको हो । प्रोफेर वाङलाई भाषा, साहित्य एवम् कुटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पुर्याएबापत सो सम्मान दिने भएको हो । उक्त प्रज्ञालङ्कार विदेशी नागरिकलाई दिने विशिष्ट प्रज्ञा सम्मान हो ।

प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र
यसैगरी सभाले प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सभाले दुई/दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।

बायाँबाट क्रमश: लीलबहादुर क्षेत्री, कृष्णप्रकाश श्रेष्ठ र पूर्ण वैद्य ।
प्रज्ञा पुरस्कारका लागि योग्य प्रतिभा छनौट गरी सिफारिस गर्न कुलपति गंगाप्रसाद उप्रेतीले उपकुलपति डा. जगमान गुरुङको संयोजकत्वमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव र प्रा.डा. उषा ठाकुर रहेको समिति गठन गर्नुभएको थियो ।
सुवेदी र पन्तलाई मानार्थ, भट्टलाई आजीवन
बैठकले प्रा.डा. सूर्यप्रसाद सुवेदी र इतिहासकार डा. महेशराज पन्तलाई मानार्थ सदस्यता दिने निर्णय गरेको छ । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत डा. सुवेदी काठमाडौंको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका व्यक्ति हुन् ।
हालसम्म प्रज्ञा–प्रतिष्ठानबाट धनशमसेर जबरा, धरणीधर कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, शम्भुप्रसाद मिश्र, सिद्धिमुनी शाक्य र तेजरत्न कंसाकार मानार्थ प्राज्ञमा मनोनित भएका छन् भने २०५१ सालपछि कालीदास श्रेष्ठ, जनकलाल शर्मा, दुर्गालाल श्रेष्ठ, नातिकाजी श्रेष्ठ, बदरीनाथ भट्टराई, सुन्दर झा शास्त्री र केशव दुवाडीले मानार्थ सदस्यको सम्मान पाएका छन् । जसमध्ये तेजरत्न कंसाकार, कालीदाश श्रेष्ठ र दुर्गालाल श्रेष्ठ मात्र हाल जीवित छन् ।
कमेन्ट गर्नुहोस्

















