• नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५औँ बैठक सम्पन्न

    पानसमा दीप प्रज्वलन गरी बैठक समुद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराई ।
  •  

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५औँ बैठक मंगलबार सम्पन्न भएको छ । बैठक उद्घाटन सत्रको समुद्घाटन पानसमा दीप प्रज्वलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गर्नुभएको थियो ।

    प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रेषित गर्नुभएको भिडियो सन्देश देखाइएको थियो । भिडियो सन्देशमार्फत् प्रधानमन्त्री ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेका नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपायको खोजी गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको थियो । उहाँले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको विचार व्यक्त गर्नुभएको थियो ।

    प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकोले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थक रुपमा हिंडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताउनुभयो । तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोंचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौं आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रज्ञा–प्रतिष्ठानले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना अगाडि बढाएकोमा आफूलाई हर्षित तुल्याएको बताउनुभएको थियो । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय संग्र्रहालय निर्माणको प्रक्रिया शुरू हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले सभालाई सम्बोधन गर्नुहुँदै पछिल्लो समयमा नेपाली संस्कृतिमाथि अतिक्रमण बढ्दै गएकोले त्यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्गलाई संवेदनशील हुन आग्रह गर्नुभयो । नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकहरूको भन्दा कम नभएको भन्नुहुँदै  मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध गर्नुभयो ।

    कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमहरूको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल हुने बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानको जीवनमा प्राज्ञ सभाको विशिष्ट भूमिका रहने उल्लेख गर्नुभयो । उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले क्रमशः स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ३५औँ प्राज्ञ सभा बैठकको सफलताको कामना गर्नुभएको थियो ।

    सभाको बैठक आरम्भ हुनुअघि पदेश प्राज्ञ सभा सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई सभाका अध्यक्ष कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको प्रतीक चिन्ह लगाइदिनुभएको थियो ।

    त्यसपछि प्राज्ञ सभाका अध्यक्ष गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३५औँ बैठकले गत आ.व.को खर्च पारित गर्दै चालू आ.व.का लागि १९ करोड ५० लाखको अनुमानित बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । यसैगरी प्राज्ञ सभाको ३५औँ बैठकले आ.व. २०७७/०७८ का लागि विभिन्न प्रज्ञा पुरस्कारहरूको निर्णय गरेको छ भने एक जना आजीवन सदस्य र दुई जना मानार्थ सदस्य मनोनयन गरेको छ ।

    बैठकले प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले दुई/दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने ३ हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले डा. महेशराज पन्त र प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टराईलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

  • कमेन्ट गर्नुहोस्