अर्कै दुनियाँ जस्तो हङकङ
नेपालका चर्चित अभिनेता माओत्से गुरुङ हङकङ–नेपाल आउजाउ गर्न थालेको २० वर्ष पुग्यो । यो बीचमा उनी १० पटकभन्दा बढी हङकङ आइसकेका छन् । उनी पहिलोपटक यहाँ कलाकारका रुपमा होइन नितान्त पारिवारिक घुमघाममा आइपुगेका थिए ।
माओत्सेका दाजु–भाउजू र आफन्तहरू पहिल्यैदेखि हङकङमा थिए । उनीहरूकै निमन्त्रणमा उनी सन् २००० मा पहिलोपटक हङकङ उत्रिए । पहिला केही तस्वीर र फिल्ममा हङकङका दृश्य देखे पनि माओत्सेको दिमागमा ‘हङकङ यस्तो होला’ भनेर कुनै चित्र बनेको थिएन । यहाँ आइपुग्दा उनले नसोचेकै दृश्यहरू देखे । ‘गगनचुम्बी घरहरू, पानीजहाज, रेल, दिन–रात नछुट्टिने झिलिमिली देख्दा अर्कै दुनियाँमा पुगे जस्तो लाग्यो ।’ माओत्से २० वर्षअघिको सम्झना गर्छन्, “नेपालमा राम्रोसँग बिजुली पनि बाल्न नपाएको मलाई हङकङले त आधुनिकताको चरम सीमा पार गरे जस्तो लाग्यो ।”
२० वर्षअघि पहिलो पटक हङकङ आउँदा अभिनेता माओत्से गुरुङले नेपालमा राम्रोसँग बिजुली पनि बाल्न नपाएको सम्झिए । हङकङले त्यसबेलै आधुनिकताको चरम सीमा पार गरे जस्तो उनलाई लागेको थियो ।
त्यसबेला उनले फाट्टफुट्ट नाटक र स्थानीय फिल्महरूमा अभिनय गरिसकेका थिए । तर कलाकारका रुपमा परिचय बनिसकेको थिएन । आफन्तले बोलाएपछि हङकङ घुम्न आएका उनले २ साताको बसाईमा धेरै ठाउँ घुमे । चाइनासम्म पुगे । आधुनिक थिएटरमा पहिलो पटक हङकङमै हो उनले फिल्म हेरेको पनि । भन्छन्, “नेपालमा काठले बारिएका हलहरूमा फिल्म हेरेको मान्छे, हङकङको अत्याधुनिक हलमा इङ्लिस फिल्म हेरियो । आफू बसेको सिट छेउबाटै आवाज आए जस्तो लाग्यो । कस्तो गज्जब साउन्डिङ क्वालिटी ।”
पछि त उनी कहिले फिल्म सुटिङका लागि कलाकार बनेर आए । कहिले फिल्म लिएर निर्देशकका रुपमा अनि कहिले आफूले अभिनय गरेको फिल्म लिएर कलाकारका रुपमा । करिब ७ वर्षअघि उनी ‘हङकङ आईडी’ नामको फिल्ममा अभिनय गर्नका लागि आएका थिए तर त्यो फिल्म प्रदर्शनमा आएन । उनी गुरुङ फिल्म ‘भें’ (पाहुना) लिएर वि.सं. २०६९ तिर हङकङ आए भने दुई वर्षअघि नेपाली फिल्म ‘चचहुई’ लिएर कलाकारका रुपमा आए । अरु फिल्महरू लिएर उनी धेरै पटक आए ।
पहिला पारिवारिक रुपमा आउँदा र पछि कलाकारिता मार्फत् आउँदा आकाश पातालको फरक लाग्यो हङकङ । पहिला आफन्त र परिवारसँग मात्र भेटघाट र घुमघाम गरेका उनको गुरुङ फिल्म ‘भें’ लिएर आउँदा धेरैसँग भेटघाट भयो, चिनजान भयो । “निर्देशकका रुपमा आउँदा धेरै संघ–संस्थाले कार्यक्रम आयोजना गरे । भेटघाट गर्ने र घुमाउनेहरूको तँछाड–मछाड भयो । एकदम आत्मीयता पाएँ,” माओत्से रोमाञ्चित हुँदै सुनाउँछन्, “कलाकारिताको माध्यमबाट आउँदा बेग्लै किसिमको माया पाइँदो रहेछ । धेरै साथीहरू बनाउन सकिंदो रहेछ ।”
तान्द्रो फिल्ममा माओत्से ।
नेपालमा छँदा पनि हङकङ घुमघामका केही दृश्यहरू उनको मन मस्तिष्कमा घुमिरहन्छन् । खोला–नाला र तालको दृश्यमा रमाउने माओत्सेको स्वभाव उनी नजिककाहरूलाई थाहा भएकै कुरा हो । त्यसैले उनी हङकङ आइपुग्ने बित्तिकै उनका साथीहरू माओत्सेलाई समुन्द्री तटमा घुमाउन लगिहाल्छन् रे । उनी सम्झिन्छन्, “फिल्म निर्माता तथा कलाकार साथी विमल गुरुङ मलाई टाढासम्मको समुन्द्र किनारमा पु¥याउँछन् । म आनन्दित हुन्छु । अहिले पनि बेला–बेला त्यो क्षण सम्झिन्छु ।”
उनी फिल्म ‘दयारानी’ प्रदर्शनका लागि केहीअघि हङकङ आएका थिए । युनलङ थिएटरमा फिल्म प्रदर्शनका बेला सोचेभन्दा धेरै दर्शक आए । हल पूरै भरिएर कतिले सिट पाएनन् । दर्शकको त्यो उत्साह र प्रतिक्रियाले उनी प्रफुल्ल थिए, त्यो भन्दा पनि बढी प्रफुल्ल चाहिं यसपटकको यात्रामा उनीसँगै श्रीमती र बच्चाहरू पनि थिए । उनी भन्छन्, “अरुबेला एक्लै हुन्थें । आफ्नो कलाकारिताको माध्यमबाट परिवारलाई पनि घुमाउन पाउँदा लाखौं कमाएकोभन्दा बढी खुसी लाग्यो ।” उनी हङकङका नेपाली समुदायले कलाकारहरूप्रति देखाउने माया, सद्भावप्रति नतमस्तक छन् ।
उनको लेखन तथा निर्देशन रहेको फिल्म ‘सिरसुवा’ जुन/जुलाईतिरै हङकङमा प्रदर्शन गर्ने तयारी थियो तर कोरोना महामारीले उनी फिल्म लिएर आउन पाएनन् । महामारी पछि पुनः आउने उनको योजना छ । हाल नयाँ फिल्म ‘हुतुतु’को स्क्रिप्ट लेखिरहेका उनी हङकङमा अलि लामो समय बसेर यहाँको नेपाली समुदायको वास्तविक कथा बुझेर स्क्रिप्ट लेख्न चाहन्छन् । भन्छन्, “अहिले एक हप्ताका लागि हङकङ घुम्दा रमाइलो मात्र देखिन्छ तर नेपाली समुदायको वास्तविक दुःख पीडाका कथा बुझ्न लामो समय बस्नुपर्छ । लामो भिसा नपाइने भएकोले नेपालीहरूका खास मुद्दामा स्क्रिप्ट लेख्न सकिएको छैन ।”