• जिरे खुर्सानी क्लव आगलागीसंगै धमिलिएको नेपाली छवि

  •  

    सन् २०२० नोभेम्बर १५ को साँझ घटेको ‘जिरे खुर्सानी क्लव’ आगलागी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारले हङकङको नेपाली समुदायमा हुने गैर–कानुनी कार्य उदाङ्गो भएको छ । घटनास्थल गैर–कानुनी रुपमा सञ्चालित (इलिगल) रेष्टुरेन्ट रहेको समाचारले नकरात्मक सन्देश प्रवाह भएको छ । यसले हङकङका नेपाली गैर–कानुनी कार्यमा संलग्न छन् भन्ने देखाएको छ । घटना सम्बन्धी समाचारमा आएका कतिपय तथ्यांक मनगढन्ते रहेका छन् । यसको साथै यस घटना सम्बन्धमा नेपाली समुदायबाटै विसंगतिपूर्ण कार्य भएका छन् । यसले सिङ्गो समुदायको छवि धमिलिएको छ ।

    विडम्वना ! घटनाको यथार्थता र वास्तविकता समाचारमा आइसकेपछि पनि समुदायका कतिपय हर्ताकर्ताहरु ढाकछोप गर्नमै तल्लिन रहेका छन् भने मनगढन्ते तथ्यांकको खण्डन गर्ने आँट गर्न सकिरहेका छैनन् । यस स्थिति उत्पन्न हुनुमा कतिपय हर्ताकर्ताहरुको विवादस्पद विगत कारकको रुपमा रहेको छ ।

    समाचारमा उल्लेखित रेष्टुरेन्टरुपी ‘गैर–कानुनी क्लब’को शुरुवात हेर्ने हो भने ‘नेपाल क्लव’बाट भएको पाइन्छ । उक्त क्लबका सञ्चालकहरु समुदायको प्रतिनिधिमूलक संस्थाका हर्ताकर्ताहरु नै रहेको कटु यथार्थ रहेको छ । त्यसपछि सोही संस्थाका हर्ताकर्ताहरुले ‘पूmलबारी’लगायतका क्लवहरु सञ्चालन गरेको पाइन्छ । अनुशासनको पर्यायवाची रहेको सैनिक जीवन बिताएकाहरुले पनि गैर–कानुनी रुपमा ‘भारतीय गोर्खा भूतपूर्व सैनिक क्लव’ सञ्चालन गरेका थिए ।

    समुदायका अगुवाहरु नै गैर–कानुनी कार्यमा संलग्न भएपछि अरुले पनि सोही पदचाप पहिल्याउने नै भए । अहिले यस किसिमका क्लबहरु नेपाली घनाबस्ती रहेका जोर्डन, याउमाते, सामसुइपो, चुनवान, वानचाई, युनलङलगायतका ठाउँमा दर्जनौं रहेका छन् । धुमधामका उद्घाटन कार्यक्रमसंगै क्लव खुल्ने क्रम पनि अघि बढिरहेका छन् । क्लब उद्घाटनमा समुदायका हर्ताकर्ताहरु नै रिबन काट्न व्यस्त रहेका तस्बिरहरु सामाजिक सञ्जाललगायतमा यत्रतत्र देखिने गरेका छन् । कतिपय क्लवका सञ्चालक र कामदारसमेत गैर–कानुनी रहेका छन् । तिनलाई गैर–कानुनी रुपमा हङकङ भित्राउनेहरु पनि प्रतिनिधिमूलक संस्थाका हर्ताकर्ताहरु नै रहेको पनि सार्वजनिक भएकै हो । गैर–कानुनी रुपमा भित्रिएकाहरुलाई संरक्षण गर्नेहरु पनि उनीहरु नै रहेको पनि पाइएको छ । किराना पसलको आवरणमासमेत गैर–कानुनी रेष्टुरेन्टहरु सञ्चालनमा रहेको पाइन्छ ।

    आगलागी सम्बन्धी समाचारमा कतिपय तथ्यांक मनगढन्ते रहेका छन् । तीमध्ये एक हो– हङकङका नेपालीहरु गरिबीका कारण गैर–कानुनी रेष्टुरेन्टमा जाने गरेका छन् । यहाँका नेपालीले गर्ने कामको प्रकृति र पारिश्रमिक हेर्ने हो भने औसतमा राम्रै रहेको छ । समाचारमा उल्लेख भएजस्तो गरिबीकै कारण गैर–कानुनी रेष्टुरेन्टमा जानु पर्ने अवस्था छैन । नेपालीको कमाई ‘गाँस, बास र कपास’का लागि अभाव नहुने रहेको देखिन्छ । हङकङका नेपाली कोही यस्ता छैनन् कि जसको नेपालका प्रमुख शहरहरुमा घर नभएको होस् ।

    घटनामा ज्यान गुमाउनेका जीवनस्तर हेर्ने हो भने पनि गरिबीका कारण गैर–कानुनी रेष्टुरेण्टमा जानु पर्ने अवस्था देखिन्न । तिनका परिवारका सदस्यहरुलाई सहयोग गर्न जाने क्रममा पनि गरिबीको आभास नपाइएको सहयोग समन्वयकर्ताहरुले बताउँने गरेका छन् । उनीहरुले जथाभावी रुपमा आर्थिक सहयोग संकलन नगरी दिन गरेको अनुरोधले पनि यसैलाई पुष्टि गर्दछ ।

    हर्ताकर्ताहरुले सफेद झुट बोलिरहेको अर्को यथार्थ के हो भने घटनामा परेकाहरु तिहार मनाउँन गएका थिए । उनीहरु अधिकांश एक बालकको जन्मदिन मनाउँन गएका थिए, भलै आगलागीको शुरुवात तिहार मनाउँन प्रयोग गरिएको मैनबत्तिबाट शुरु भएको थियो । मनगढन्ते तथ्यांकको श्रोत पनि समुदायका हर्ताकर्ताहरु नै रहेका छन् । उनीहरु नै मूलधारका सञ्चार माध्यमलाई वास्तविकता भन्दा परका कुराहरु गरिरहेका देखिन्छन् ।

    आगलागीको घटनासंगै देखिएको विसंगति के हो भने प्रतिनिधिमूलक संस्थाबीच एकता र सामुहिक भावनाको अभाव । सहयोग गर्ने, समन्वय गर्नेलगायतका काममा अनावश्यक होडबाजी भएको देखियो । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने जस्ता सामान्य कार्यका लागि पनि संस्थाबीच एकता हुन सकेको देखिएन । एउटै कार्यका लागि सम्बन्धित समुदाय पटकपटक घटनास्थलमा भेला हुनुले जग हसाउँने काम भएको थियो । यसले नेपालीबीचको बेमेल, सामुहिक भावनाको अभाव, अनावश्यक प्रतिस्पर्धा र समुदायप्रति संवेदनशील हुन नसकेको सन्देश प्रवाह भएको छ ।

    पीडितका नाममा आर्थिक संकलन गर्ने पनि होडबाजी भएको छ । नामै नसुनिएका संस्था पनि आर्थिक संकलनमा लागिरहेका छन् । यसमा यस्ता संस्था पनि लागेका छन् तिनले विगतमा पनि विभिन्न नाममा आर्थिक संकलन गरेका थिए तर त्यसको हिसाब–किताब कहिल्यै सार्वजनिक गरेनन् । कतिपय संस्थाले त एउटा कामका लागि आर्थिक संकलन गरेर अर्कै काममा खर्च गरेको यथार्थ पनि हाम्रो सामु रहेको छ ।

    यस घटनाबाट धमिलिएको नेपाली छवि सुधार गर्ने हो भने समुदायका हर्ताकर्ताहरुले यथार्थता र वास्तविकता आत्मसात् गर्न आवश्यक छ । यसले मात्र समुदायमा रहेको कमिकमजोरीको महसुस हुनेछ र त्यसलाई सच्चाउने काम हुनेछ । यसको साथै प्रतिनिधिमूलक संस्थाले आफूलाई पारदर्शी बनाउँदै समुदायमा भएका र समुदायको नाममा भइरहेका विसंगति र विकृति विरुद्ध उभ्याउने आँट पनि गर्न आवश्यक छ । त्यसो गर्न सकेमात्र समुदायमा हुने गैर–कानुनी काममा कमी आउने छ । हङकङमा नेपाली छवि सुधार्न नेपालीनै लाग्नुको विकल्प रहेको छैन ।

  • कमेन्ट गर्नुहोस्