• राई-लिम्बूबाट जंगबहादुर राणा कायल !

  •  

    नेपालको जातीय इतिहासको अध्ययन गर्दा नेपालमा जातीय सैनिक पल्टन पनि खोलिएका, तीमध्ये केही अहिले पनि जातीय पल्टनकै रुपमा सञ्चालित रहेका देखिन्छन् । तीमध्ये ‘पुरानो गोरख’ र ‘भवानी दल’ मगरका लागि र ‘कालीबहादुर’ गुरुङका लागि गठन भए । यसैगरी राई, लिम्बूलगायतका किरातीहरूका लागि ‘भैरवनाथ’ पल्टन गठन गरियो ।

    अहिले पनि पुरानो गोरख र कालीबहादुर पल्टन क्रमशः मगर र गुरुङ पल्टनकै नामले चिनिन्छ, तर भैरवनाथ भने राई, लिम्बू पल्टनको नामले चिनिदैन । यसमा ऐतिहासिक कारण छ ।

    ललितपुरको तिखेदेवलमा राई, लिम्बूको बाक्लो बस्ती छ । ललितपुरकै धापाखेलमा रहेको एउटा थुम्को सानो हात्तीवन किरात धार्मिक स्थलको रुपमा स्थापित भइसकेको छ । त्यस धार्मिक स्थलमा राई, लिम्बू लगायत याक्खा र सुनुवारले हरेक उभौली (वैशाख पूर्णिमा) र उधौली (मंसीर पूर्णिमा)मा भव्य रुपमा पूजाआजा गर्छन् ।

    ललितपुरको तिखेदेवल र धापाखेलको सानो हात्तीवनसँग राई, लिम्बूलगायत याक्खा र सुनुवारको साइनो गाँसिएको पुरानो इतिहास छ । राई, लिम्बूलगायत किरातीका लागि छुट्टै सैनिक पल्टन खडा भएपछि सेनाको जागिर खान काठमाडौं आउने राई, लिम्बू लगायत याक्खा र सुनुवारहरूले बसाएको बस्ती नै तिखेदेवल हो । त्यसबेला उनीहरूले आफ्नो मौलिक सांस्कृतिक अनुष्ठानका लागि सानो हात्तीवनको थुम्कोलाई रोजे । शुरूमा उनीहरूले तिखेदेवलमा बस्ती बसाए अनि हात्तिवनमा पूजाआजा शुरूआत गरे ।

    तर बीचमा उनीहरू काठमाडौंबाट सेनाको जागिर छाडेर आफ्नै थातथलो पूर्वी नेपालतर्फ फर्केर गए । यसरी सेनाको जागिरबाट पलायन भएर गएका राई, लिम्बू लगायत किरातीहरूलाई फर्काउन तत्कालीन शासक श्री ३ जंगबहादुर राणाले निकै ठूलो प्रयत्न गरे । यसका लागि आफ्नै विश्वासिला सेनाका मानिसलाई पठाए । तर सेनाका जागिरे राई, लिम्बू सहजै काठमाडौं फर्केर सेनाको जागिर खान भने आएनन् अर्थात् मानेनन् । जंगबहादुर राणाकै आदेशको अवज्ञा गर्दै आफ्नै थातथलोमा रहे ।

    नेपाल सरकारका पूर्वप्रशासक तथा समाजसेवी मञ्जुलकुमार याक्थुङ्वाले आफ्नो टोल तिखेदेवलमा राई, लिम्बूको अवशेष बस्ती देख्न पाएको सम्झना आफ्नो पुस्तक ‘मौलिक किरात धर्म संस्कार’ (२०६३:५४–६०) पुस्तक लगायत विभिन्न लेखमा उल्लेख गरेका छन् । तिखेदेवलका पुराना बासिन्दा याक्थुङ्वाले तिखेदेवलमा लिम्बू मातृभाषामा बोल्ने व्यक्तिहरू भेटेको, धान नाच्ने गरेको देखेको र राता माटाले लिपेका घरहरू देखेको पनि उल्लेख गरेका छन् । त्यसबेला तिखेदेवललाई ‘लिम्बू गाउँ’ भनिन्थ्यो । तिखेदेवलमा अन्य किरातीको तुलनामा लिम्बूहरूको बाहुल्यता थियो (उही, २०६३:५५) । सम्भवतः त्यही पुरानो विरासतका कारण तिखेदेवल अहिलेका राई, लिम्बूका लागि पनि आकर्षक आवास स्थल बन्यो ।

    लिम्बूहरूले सिक्किम र लेप्चाहरूसँग मिलेर वि.सं. १८४८ मा ठूलो विद्रोह गरेका थिए ।
    त्यसैले जागिरमा फर्कन नाइनास्ती गर्नेलाई बढी कर गरेको अवस्थामा  यसको उल्टो असर पर्न सक्नेबारे
    जंगबहादुर सजग भएको देखिन्छ ।

    त्यसबेला लगनखेलनेरको टुँडिखेलमा राई, लिम्बूलाई भर्ना गरी जागिर दिने भैरवनाथ पल्टन रहेको, पल्टनमा भर्ना हुन पूर्वबाट प्रशस्तै राई, लिम्बू आएका; उनीहरूले तिखेदेवलमा बस्ती बसाएका र सानो हात्तीवनमा भैरवनाथ पल्टनकै तत्कालीन लप्टन शम्शेरजंग फागो चोङ्बाङको अगुवाईमा उभौलीमा यक्वा पूजा गर्न थालिएको इतिहास याक्थुङ्वाले उजागर गरेका छन् । उनका अनुसार विक्रम सम्वत् १९०५ देखि त्यहाँ राई, लिम्बूले पूजा शुरू गरेका हुन् ।

    याक्थुङ्वाका अनुसार पल्टनबाट प्राप्त हुने सामान्य तलब सुविधाले आफ्नो र परिवारको जीविका नचल्ने भएपछि उनीहरू सेनाको जागिर अनि आफूहरूले बस्ती बसाएको तिखेदेवल छाडेर आफ्नै थातथलो पूर्वी नेपालतिर फर्के ।

    नेपालमा जातीय पल्टन

    नेपालमा पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा सैनिकहरू संगठित गरी पल्टन खडा गर्न शुरू गरेका हुन् । यस क्रममा उनले सबैभन्दा पहिले वि.सं. १८१९ मा ‘श्रीनाथ’ र ‘कालीबक्स’ पल्टन खडा गरे । आधुनिक नेपालको सैनिक इतिहास विक्रम सम्वत् १८१९ बाट थालनी भएको हो । वि.सं. १८१९ मै ‘श्रीनाथ’ र ‘कालीबक्स’का साथै ‘बर्दबहादुर’, ‘सबुज’ तथा ‘पुरानो गोरख’ सहित पाँच पल्टन गठन भइसकेका थिए । यिनै पाँच पल्टनलाई पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानमा सरिक गराएका इतिहासकार भवेश्वर पंगेनीले आफ्नो पुस्तक ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जङ्गी मेगेजिन अड्डा’ (२०६८:१८–२१) मा उल्लेख गरेका छन् ।

    यसरी शुरू गरिएको नेपालको सैनिक संगठनको संख्या नेपाल–अंग्रेज युद्ध (वि.सं. १८७१–७२) सम्म आइपुग्दा ५४ वटा पुगिसकेको थियो । वि.सं. १८७१ साल कात्तिक १८ गते इस्ट इण्डिया कम्पनीका तर्फबाट गभर्नरल जनरल लर्ड हेस्टिङ्सले नेपालविरुद्ध लखनउबाट युद्धको घोषणा गरेको इतिहासकार महेशराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ पूर्णाङ्क १ (वैशाख २०२१:४७–४८) मा उल्लेख गरेका छन् । उक्त युद्धमा भएको पराजयपछि नेपाल नफर्की जब पञ्जाबका राजा रणजीत सिंहको पल्टनमा भर्ना भए । त्यहीँबाट कतिपय नेपाली सेना लाहुर गए । त्यहीँबाट नेपालीको लाहुर जाने परम्पराको शुरूआत भयो भनी उल्लेख गरेको इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’कै पूर्णाङ्क (वैशाख २०२२:६३–७०) मा पढ्न पाइन्छ ।

    नेपाल–अंग्रेज युद्धपछि इस्ट इन्डिया कम्पनीले भर्ना भएका भारतीय र गोर्खाली (नेपाली) सेनाका लागि विभिन्न जातीय पल्टनहरू खडा गरी उनीहरूलाई भर्नाका लागि विशेष आकर्षण गर्न थाल्यो । अहिले पनि ब्रिटिस गोर्खा र भारतीय गोर्खा पल्टनमा यस्ता जातीय पल्टन छँदैछन् ।

    नेपालमा पनि केही पल्टनलाई जातीय पल्टनका रुपमा गठन गरियो । यसैक्रममा लेखको शुरूवातमा भनिएझैं ‘भैरवनाथ’ राई, लिम्बू जातिको, ‘पुरानो गोरख’ र ‘भवानी दल’ मगर जातिको र ‘कालीबहादुर’ गुरुङ जातिको पल्टनमा रुपमा परिणत गरियो ।

    नियुक्ति र जिम्मेवारी

    राई, लिम्बूलाई लिइने पल्टन भैरवनाथमा लप्टन दर्जामा नियुक्त गरिएको एक नियुक्ति–पत्र यस लेखकलाई प्राप्त भएको छ । (हेर्नुहोस् तस्वीर) धनकुटा जिल्लाको साविकको ताङ्खुवा गाविस, बन्चरेका फौदसिंह लिम्बू (१९०७–१९८०)ले पाएको यस नियुक्ति–पत्रलाई त्यसबेला लिम्बूहरूलाई सेनामा भर्ना गर्ने गरेको उदाहरणको रुपमा लिन सकिन्छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम सम्वत् १९२८ मा उनलाई प्रदान गरेको नियुक्ति–पत्रको व्यहोरा यस्तो छः

    स्वस्तीश्री मदती प्रचण्ड भुजदण्डेत्यादी श्री श्री श्री महाराज जंगबहादुर राणा जी सी बी थोङ् लिन् पिम्माको काङबाङ स्यान प्राईमिनिष्टर याण्ड कमाण्डर ईन चिफ कस्य रुक्का

    स्वस्तिश्री मद्राजकुमार कुमारत्मज श्री कमाण्डर ईन चिफ जनरल रणउदिपसिंह कुवर राणा कस्य पत्रम्

    आगे फौदसिंह लिम्बुके श्री भैरवनाथ कंपू श्री राजदल पल्टन २ पट्टीमा आफ्नै षायल ६१ नम्बर लेफ्टेन षान्गी षेत २/४० जागिर बक्स भयो सवारी सिकारी उर्दि कवायेत पहरा चौकि लडाई भिडाई हाल हुकुम रात बिरात आठैप्रहर टहल्मा रुजु रही निमकको सोझो चिताई षान्गी ढड्डामा दरीयाको जिमिनका जग्गाको तिर्जा नगदी ददई जागिर जानि भोग्यगर ईति संवत् १९२८ साल मिति फाल्गुण सुदी १३ रोज ७ शुभम्—

    राई, लिम्बूलाई लिइने पल्टन भैरवनाथमा लप्टन दर्जामा नियुक्त गरिएको एक नियुक्ति–पत्र ।

    यस नियुक्ति पत्रमा उल्लेख भएको ‘सिकारी उर्दि’अनुसार राई, लिम्बू पल्टनमा रहेका सेनाको जिम्मेवारी राजा महाराजा शिकार खेल्न जाँदा उनीहरूलाई आवश्यक व्यवस्था मिलाइदिने हुन्थ्यो । राई, लिम्बूको पल्टनलाई ‘शिकारी पल्टन’ पनि भनिन्थ्यो ।

    राई, लिम्बूलाई पल्टनमा कप्तानभन्दा माथिको दर्जा दिइदैनथ्यो । कप्तान दर्जामा बिरलै राई, लिम्बूले अवसर पाउँथे । यसै पल्टनमा याक्खा र सुनुवारलाई पनि किराती जातिको हैसियतले भर्ना गरिन्थ्यो ।

    यिनै राई, लिम्बूहरू विक्रम सम्वत् १९०५ अघि सेनाको जागिर छाडेर काठमाडौंबाट पलायन भई आफ्नै थातथलो पूर्वी नेपालतिर गएका र सेनाको जागिरमा फेरि फर्कन मन नगरेका तथ्य इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुपण’ (२०५५:३२५ मा प्रकाशमा ल्याएको जंगबहादुर राणाका दुई पत्रले स्पष्ट पार्छन् ।

    यो पत्रअनुसार तत्कालीन शासक जंगबहादुर राणाको आदेशको अवज्ञा गर्दै तत्कालीन राई, लिम्बू सेनाले राज्यविरुद्ध एक किसिमको सानोतिनो विद्रोह गरेको अर्थ पनि लगाउन सकिन्छ ।

    नेल ठोकी ल्याउनू’

    जंगबहादुर राणाले पल्टनबाट भागी गएकासहित चार÷पाँच सय किराती लिम्बूलाई सँगै लिएर आउने आदेशका साथ कुम्भेदान शिवदल खड्कालाई त्यसतर्फ पठाएका थिए । तर शिवदल किराती लिम्बूहरूलाई लिएर आउन असफल भए । दुई/चार महिनाभित्र काम फत्ते गर्न पठाइएका शिवदल चार/पाँच महिना बित्दा पनि आदेश पालनमा असफल देखिएका पत्रबाट स्पष्ट हुन्छ । पत्रमा ‘हिजो भागी गएका किराती लिम्बूलाई सकेसम्म फकाएर ल्याउनू त्यति गर्दा पनि आउन मानेनन् भने श्रीजंग पल्टनको सहयोगमा नेल ठोकी ल्याउनू’ भन्ने आदेश पनि दिइएको छ । त्यसो गर्न नसके आवश्यक कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी पनि खड्काले पाएका छन् । १९०५ साल श्रावण वदी १३ रोज ६ मा जंगबहादुरले कुम्भेदान शिवदल खड्कालाई लेखेको पत्र यस्तो छः

    उप्रान्त तिमीलाई ताहा २।४ मैह्ना गै वरवन्दोवस्त गरी रुपया पैसाका ब्यवस्था बाँधी चाँडो आउनु भनी पठायाको हो. आजसम्म आयेनौ. तिमीले तहा गर्‍याका जग्गाको बन्दोवस्ता काजकाम कागज पत्र सबै डिठ्ठा अजयसीं थापालाई बुझाई असल गयाका रुपया पैसा र ४।५ सय किराती लिम्बूहरूलाई सँग ली यो दस्षत पुग्याका १५ दिनभित्र ञाया हाजीर हुन्या काम गर. ति ञाहा दर्सन गरी ताहा भागी आयाका किरातीहरूलाई पनि पैल्हे बढिया पाठसँग नेपाल हीड भन्नु. आया भन्या बढिया भयो. आयेनन् भन्या भाई कर्णेल कृष्णधोज कुँवर राणाजीसँग मद्दत भागी अघीदेषि गया बमोजिमका ति भागी जान्या किरातीहरूलाई नेल ठोकी ली आउन्या काम गर्नु. येसै आयेनन् भन्या पनि श्रीजङ्गका सीपाहीस्मेत् साथ लगाई ल्याउन्या काम गर. मैले गर्‍याको काजकाम कागजपत्र सफा भयाका छैनन् भन्यो भन्या ४।५ मैह्नासम्म तिमीले कामकाज गर्‍याको सबै झुठ्ठा होला. सो बुझी यो दस्षत पुग्यापछी आफुले गर्‍याको जगाको बन्दवस्त कागजपत्र डिठ्ठालाई बुझाई किरातीहरू र रुपया पैसा लि चाडो आउन्या काम गर. यो दस्षत पुग्यापछी पनी आयेनौ भन्या जागीर पनि जाला तक्सीर स्मेत बुझाउनुपर्ला.

    जंगबहादुर आफैं कायल !

    कृष्णध्वज धनकुटा गौंडामा कर्णेल थिए, त्यसबेला । पहिले नै कुम्भेदान शिवदल खड्का किराती लिम्बूहरूलाई सेनामा ल्याउन असफल भएपछि जंगले आफ्ना भाई कर्णेल कृष्णध्वजलाई पत्र लेखेर जागिर खान नचाहने लिम्बूवानका किरातीलाई कर नलगाउनू भन्ने आदेश दिएका छन् । महावीर देवानको छोरालाई समेत जागिर छाडेर गएका र नयाँ जागिर खान चाहने किरातीलाई लिएर आउन काठमाडौंबाट पठाइएको तर उनी पनि आदेश पालना गर्न असफल भएको पत्रको व्यहोराबाट स्पष्ट हुन्छ । १९०५ साल भाद्र वदी १० रोज ६ मा कर्णेल कृष्णध्वज कुँवर राणालाई जंगबहादुरले लेखेको पत्र यस्तो छः

    श्रावण सुदि ११ रोज ५ का दिन लेख्याको पत्र भाद्र बढि ५ रोज ७ का दिन आई पुग्यो. अर्थ मालुम भयो. उप्रान्त लिम्बूवानका लायेक् लायेक् जवानलाई ञाया पठाउनाको कुरा स्मेत् षानगीको ठेगाना बाँधि पठाइबक्सन भया बढिया होला भन्या कुरा लेषी पठाउन्या काम बढिया गरिछस्. लिम्बुवान किरातीहरूका कुरालाई अघि जागीर दिनालाई पठाइ दिनु भनी लेषिगयाको हो. अब र जागीर षादैनौं पर्जाका पर्जै रहन्छौं भन्या किरातीहरूलाई ञाया पठाउनु पर्दैन कर लगाउन्या काम नगर्नु. किराती लिन भनी महाविर देवानको छोरालाई तहा पठायाको हो तेसलाई पनि अरु ढाक्र्या किराती लैजानु पर्दैन त जा भनी चाडो ञाया पठाइ दिन्या काम गर.

    राई, लिम्बू सेना ।

    यी पत्रबाट किराती लिम्बूहरू सेनाको जागिरबाट पलायन भए अर्थात् शान्त रुपमा विद्रोह गरी आफ्नो थातथलो पूर्वी नेपालमा रहेको किपट भूमिमा रमाउन चाहेको थाहा हुन्छ ।

    यसरी तत्कालीन निरङ्कुश शासक जंगबहादुर राणालाई समेत राई लिम्बूलगायत किराती सेनाले उनको आदेशको पालना नगरी अटेर गरी सेनाको जागिर छाडेको इतिहासको हेक्का राख्न सकिन्छ ।

    त्यतिका संख्यामा सेनाको जागिरबाट पलायन भई आफ्नो किपटिया थातथलोमा रमाउन पुगेका राई, लिम्बूहरूलाई नेल ठोकेर काठमाडौं फर्काउन सामान्य जनशक्ति र खर्चले धान्न सक्ने अवस्था थिएन । अर्कोतिर लिम्बूहरू सीमाना क्षेत्रमा बसोबास गर्ने हुँदा उनीहरूको इतिहासदेखि नै सिक्किमसँग निकट सम्बन्ध रहेको छँदैथियो । सिक्किम र लेप्चाहरूसँग मिलेर वि.सं. १८४८ मा ठूलो विद्रोह गरेका थिए । त्यसैले पनि जंगबहादुर यसबाट सजग भएको हुनुपर्छ । त्यसैले जागिरमा फर्कन नाइनास्ती गर्नेलाई बढी कर गरेको अवस्थामा यसको उल्टो असर पर्नेबारे पनि जंगबहादुर सजग भएकोले उनीहरूलाई कर नगरिएको हुनसक्ने देखिन्छ ।

  • कमेन्ट गर्नुहोस्