• हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक

  •  

    नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञाद्वारा प्रकाशित सबै पुस्तक विशेष पुस्तक रहेको बताए । हाल साझा प्रकाशन र निजी प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरू पुर्‍याउने र प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउन आफू लागिरहेको उप्रेतीको कथन थियो । त्यस्तै, पठनीय संस्कृतिको विकास, बिक्री प्रवर्द्धन, लेखक र पाठकको जम्काभेटका लागि लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनीस्थल भएकोले आवधिक रुपमा पुस्तक प्रदर्शनी थालनी गर्न लागिएको उप्रेतीले बताए ।

    २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीको शुभारम्भ गर्दै कुलपति उप्रेतीले सो कुरा व्यक्त गरेका हुन् । यस्ता आवधिक प्रदर्शनीले पुस्तकप्रेमीहरूको उल्लेख्य सहभागिता हुने विश्वास कुलपति उप्रेतीले गरे ।

    वि.सं. २०१५ सालदेखि कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कारदेखि वि.सं. २०७७ सालसम्म आउँदा दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेका दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड १, २, ३, ४, ५ र ६ जस्ता हजारौं संख्यामा पुस्तकहरू प्रकाशन भइसकेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा पुस २६ गतेदेखि शुरू भएको उक्त प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७७ पुस तेस्रो सातासम्ममा प्रकाशन भएका पुस्तकहरू बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्वोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौं संस्करण समेत प्रदर्शनीमा समावेश गरिएको छ ।

    नवरसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा आरामसँग हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर किन्न पाइने हुँदा आफू यस प्रदर्शनीमा अवलोकन गर्न आएको, यस्ता प्रदर्शनीबाट आफूजस्तै धेरै पुस्तकप्रेमी र अनुरागीहरूलाई फाइदा पुगेको तथा यसले प्रदर्शनी सार्थक भएकोमा पुस्तकप्रेमी तथा नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाले खुसी व्यक्त गरे ।

    प्रदर्शनीमा भाषा–साहित्य, बाल–साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत धेरै विधासँग सम्बन्धित झण्डै ४८५ वटा पुस्तक/पत्रपत्रिका समावेश गरिएको छ । त्यस्तै, लोकवार्ता विवेचना, तुफुका कविता, वोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथाहरू र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, भरतमुनिको नाट्यशास्त्र, अनुवाद सिद्धान्त, माथुरी पञ्चलक्षणी, दर्शनवाली भाग ७, अनुवाद सन्दर्भ ग्रन्थ, काव्य विमर्श, द्वन्द्ववाद र पौरस्त्य दर्शन, पाकिस्तानी महिला लेखनजस्ता ४० भन्दा बढी पुस्तकहरू प्रदर्शनीमा रहेको प्रतिष्ठानका सदस्य सचिव डा. जगतप्रसाद उपाध्यायले जानकारी गराए । सचिव उपाध्यायका अनुसार नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । साथै, प्रतिष्ठानबाट प्रकाशन शुरू भएदेखि २०७७ सालसम्मका पुस्तकहरूमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

  • कमेन्ट गर्नुहोस्