• एक वर्षमा दश हजार सङ्क्रमित

    लकडाउनमा नेपाली अनुभव

    प्रतिबन्धित क्षेत्रका गतिविधि । तस्बिरः एभरेष्टखबर ।
  •  

    जनवरी २३ । पहिलो वार्षिकीको दिन हङकङमा कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या १० हजार नाघेको छ । आज ८१ जना संक्रमित भेटिएपछि यसको संख्या १० हजार १० पुगेको हो । गत वर्ष आजकै दिन यहाँ पहिलो सङ्क्रमित भेटिएको थियो ।

    कोभिड-१९ नियन्त्रणका लागि हङकङमा पहिलो पटक लकडाउन गरिएको छ । चीनको वुहानमा कोभिड-१९ देखिएपछि चर्चामा आएको शब्द ‘लकडाउन’ हङकङ सरकारले भने प्रयोग गरेन । आज बिहान सरकारले सूचना जारी गर्दै ‘रेस्टिक्टेड एरिया (प्रतिबन्धित क्षेत्र)’ घोषणा गरेको हो ।

    प्रतिबन्धित क्षेत्रमा ब्याट्री स्ट्रिट पूर्व, नान्किङ स्ट्रिट उत्तर, वुसुङ स्ट्रिट पश्चिम र कान्सु स्ट्रिट दक्षिण रहेको छ । उक्त क्षेत्रमा रहेका बासिन्दालाई पीसीआर (पोलिमेरेज चेन रियाक्सन) परीक्षणका लागि बाहेक घरबाट निस्कन र अन्यलाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित क्षेत्रका व्यापार-व्यावसाय पनि बन्ध रहेका छन् ।

    हिजो अपरान्हदेखि नै लकडाउनको समाचार स्थानीय सञ्चार माध्यममा प्रकाशन-प्रशारण भए पनि सरकारको कुनै पनि निकायले औपचारिक रुपमा सूचना सम्प्रेषण गरेको थिएन । मध्य रातपछि सूचना सम्प्रेषणसंगै प्रतिबन्धित क्षेत्रमा सुरक्षा र स्वास्थ्य निकायका कर्मचारीहरु परिचालन गरिएका छन् ।

     

    उक्त क्षेत्रका २ सय भवनका १० हजार बासिन्दाको पीसीआर टेस्ट गर्ने सरकारी लक्ष्य रहेको छ । आज दिनको १ बजेसम्ममा ३ हजारजनाको परीक्षण भइसकेको तथ्याङ्का सार्वजनिक भएको छ । सम्पूर्ण बासिन्दाको परीक्षण ४८ घण्टामा पूरा गर्ने सरकारी योजना रहेको छ ।

    सरकारी सूचनामा प्रतिबन्ध क्षेत्र घोषणा गर्नुको मुख्य उद्देश्य त्यहाँ रहनेहरुको अनिवार्य पीसीआर टेस्ट गर्नु रहेको उल्लेख गरिएको छ । उक्त क्षेत्रमा रहनेहरुलाई अनिवार्य टेस्टको लागि यस महिनाको शुरुवातमै सूचना जारी गरिएको भए पनि त्यसो नभएपछि प्रतिबन्धित क्षेत्र घोषणा गरिएको हो ।

    सम्बन्धित निकायका अनुसार अनिवार्य पीसीआर टेस्ट गर्न सूचना जारी भएपछि यस क्षेत्रका ५६ वटा भवनका १ सय ६२ जनामा सङ्क्रमण भेटिएको छ । यस क्षेत्रमा प्रत्येक दिन सङ्क्रमित भेटिएपछि सङ्क्रमणको जालो तोड्नका लागि सामुहिक र एकै पटक पीसीआर टेस्ट गर्ने सरकारी योजना रहेको छ ।

    प्रतिबन्धित क्षेत्र घोषणा भएपछि प्रत्येक घर र कोठामा सरकारी निकायका कर्मचारीहरु पुगेर लागत लिने काम भइरहेको त्यहाँका निवासीहरुले बताएका छन् । उनीहरुका अनुसार मूलढोकामा आएका सरकारी कर्मचारीहरुले पीसीआर टेस्टका लागि बाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको जानकारी गराएका थिए ।

    प्रतिबन्धित घोषणा गरिएको ब्याट्रि स्ट्रिटमा रहने दिनेश सुब्बाले सरकारको यस कदमलाई सकरात्मक रुपमा लिएका छन् । उनले भने, ‘अनिवार्य टेस्टको लागि आह्वान गरिए पनि कतिपयले वास्ता नगरेको कारण सङ्क्रमण पैmलने क्रम रोकिएन । लकडाउन गरेर सबैलाई टेस्ट गर्न लकडाउनको विकल्प थिएन ।’

    उनका अनुसार कोठामा चेक गर्नेहरुले परिवार संख्या सोध्ने र आईडी नम्बरलगायत टिप्नेमात्र गर्ने गरेकोले अवैधानिक रुपमा रहनेहरु छुट्न सक्ने र उनीहरु सङ्क्रमित भए सङ्क्रमणको जालो तोडिदैन । त्यसका लागि घर, फ्लाट र कोठा चेक गर्ने काममा कडाई हुन आवश्यक रहेको उनको धारणा रहेको छ ।

    वुसुङ स्ट्रिटमा रहने रक्ष गुरुङले सरकारी सूचना समयमा सार्वजनिक नहुँदा काममा जाने र आउनेलाई केही असुविधा महशुस गरेका छन् । उनले भने, ‘बेलुकासम्म अनौपचारिक रुपमा हल्ला मात्र थियो । बिहान काममा जानका लागि घर बाहिर निस्कदा मात्र लकडाउनको बारेमा थाहा भयो ।’

    उक्त क्षेत्रमा रहने अधिकांशले पीसीआर टेस्टपछि प्रदान गरिएको खाद्य सामग्रीको तस्बीरसहित आफ्ना अनुभव सामाजिक सञ्जालमा राखेका छन् । तस्बीरमा बट्टाका माछा, मासु र भटमास, पास्ता, चाउचाउ, पाउरोटी, जुसलगायत रहेका छन् ।

    करुना श्रेष्ठ, अन्तिम राई, टोपबहादुर याक्खा, शिर सारु मगरलगायत प्रतिबन्धित घोषणा गरिएको क्षेत्रमा रहनेहरुले प्राप्त सामग्रीसहित सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । उनीहरुले पनि कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि लकडाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्