मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने
एभरेष्टखबर
January 27, 2021
१२ माघ २०७७, काठमाडौं । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवका अवसरमा आह्वान गरिएको राष्ट्रव्यापी गीत उत्सवमा प्राप्त भएका गीतमध्येबाट छनोट समितिले चयन गरेका उत्कृष्ट १० वटा गीतलाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो ।
गीतकार श्याम तमोट, संगीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ रहेको तीन सदस्यीय छनोट समितिले उत्सवका लागि प्राप्त ९० भन्दा बढी गीतमध्येबाट गणेश रसिक, डा. कमल थापा, गोपाल दाहाल, रविन्द्र बुढाथोकी, रमेश शुभेच्छु, जितेन्द्र खाती, देवेन्द्र अर्याल ‘आँसु’, अशुंला कार्की, तुलाधर विश्वकर्मा र सौरभ सुनारका गीत चयन गरेको थियो । छनोट गरिएका उक्त गीतहरूमा सङ्गीतकार प्राज्ञ अशोक राईको संगीत संयोजन र एकल संगीत रहनेछ । गीतहरूमा विभिन्न गायक–गायिकाको स्वर रहने संगीतका प्राज्ञ राईले सुनाए ।
प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले मदन भण्डारीको जन्मदिन असार १४ को अवसर पारेर गीति एल्बम सार्वजनिक गरिने योजना रहेको बताए । अध्यक्ष डा. सुब्बाले भने, “यसका साथै ख्याति प्राप्त सर्जकहरूका १० वटा राष्ट्र र राष्ट्रियतासम्बन्धी गीतहरूको पनि एल्बम निकाल्ने तयारी भइरहेको छ । त्यो एल्बम पनि असार १४ गते नै सार्वजनिक गरिनेछ ।”
कमेन्ट गर्नुहोस्

















