• मुख्यमन्त्रीद्वारा देवास राई भाषासम्बन्धी पुस्तक विमोचन

  •  

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देवास राई भाषा लेखनशैली र देवास राई कृति संगालो विमोचन गरेका छन् । हिमाली आदिवासी समाज नेपाल मातृ भाषा केन्द्र नेपालको सहयोगमा किरात देवास राई उत्थान समाज नेपालले प्रकाशन गरेको पुस्तकको शुक्रबार हेटौंडामा विमोचन गरिएको हो ।

    देवास राई भाषासम्बन्धी पुस्तक विमोचन गरेपछि संविधानले भाषा, संस्कृति जगेर्ना गर्न जोड दिएको भन्दै उनले सरकारले पनि पहिलो प्राथमिकता दिएको बताए । “स्थानीय क्षेत्रमा बाहुल्यता रहेको जातिको भाषामा पाठ्यक्रम तयार गरि पठनपाठन भइरहेको छ,” उनले भने, “नेपाल जातजातिको सुन्दर फूलबारी हो, भाषा, संस्कृति संरक्षण गर्न सरकार प्रतिबद्ध छ ।”

    चितवनमा थारू संग्रहालय उदघाटन गरेको भन्दै उनले भने, “भावी पुस्ता र अन्य समुदायका लागि पनि उपयोगी संग्रहालय बनाउन अगाडि बढ्नुहोस्, सरकारले सहयोग गर्छ ।” कार्यक्रममा पूर्व संविधानसभा सभासद् प्रल्हाद लामिछाने; नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट; किरात राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य शंकर राई; किरात देवास राई उत्थान समाज, नेपालका केन्द्रीय सदस्य प्रमोदकुमार राई लगायतले जातजातिको भाषा, संस्कृति देशको गहना र सम्पत्ति भएकोले राज्यले लगानी बढाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

    किरात देवास राई उत्थान समाज, नेपालका केन्द्रीय महासचिव राजमान देवास राईले सहजीकरण गरेको कार्यक्रम किरात देवास राई उत्थान समाज, नेपालका मकवानपुर अध्यक्ष आश्मान देवास राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा किरात देवास राई उत्थान समाजका केन्द्रीय सल्लाहकारहरू प्रेम राई, ज्ञानबहादुर राई, निवर्तमान सहकोषाध्यक्ष चन्द्रबहादुर राई लगायतको आतिथ्य रहेको थियो । वि.सं. २०६१ मा दर्ता भएको किरात देवास राई उत्थान समाज, नेपालको ९ जिल्ला समिति र इकाई समितिहरु गठन गरिएको बताइएको छ ।

  • कमेन्ट गर्नुहोस्