• विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी सम्पन्न

  •  

    काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा बुधबार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी सम्पन्न भयाे । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको स्तरीकरणका साथै शोधपत्रिका (जर्नल)को गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो औंल्याउनुभएको थियो । उहाँहरूले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने प्रज्ञा विज्ञसमीक्षित शोधपत्रिका (जर्नल)मा समाविष्ट गरिने लेखहरूकाे प्रभावकारिता र गुणस्तरीयता कायम गर्न लेखकहरूबीच एकरुपता ल्याउनका लागि निश्चित मापदण्डका साथै जर्नल निर्देशिका बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञिक लेखन स्तरअभिवृद्धिका लागि  विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी उपयोगी भएको ठहर गर्नुभयो । उहाँले विज्ञहरूको छलफलबाट प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक प्रकाशनहरूको गुणस्तर बढाउनुका साथै लेखकीय ढाँचाको एकरुपता र समय सान्दर्भिक विषयवस्तुको उठानमा सकारात्मक सुझाव र ऊर्जा प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्ता प्राज्ञिक बहसलाई निरन्तरता दिइने बताउनुभयो ।

    कुलपति उप्रेतीले प्रज्ञालाई स्तरीकरण र समीक्षा गर्ने परिपाटीलाई कसरी व्यवस्थित गर्ने तथा लेखनलाई एकत्रित गरेर लैजाने भन्ने सन्देश पनि अभिमुखीकरणबाट गोष्ठीबाट प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले आवश्यक परेकाे खण्डमा विज्ञसमीक्षा लेखन कार्याशालासमेत आयोजना गरिने उल्लेख गर्दै  प्रज्ञा–प्रतिष्ठानका सबै प्रकाशनलाई अनलाइनमा राख्नका लागि आवश्यक तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

    प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले प्राज्ञिक लेखन अभिवृद्धिका लागि सैद्धान्तिक दृष्टिकोण, शोध र ज्ञानको प्रस्तुतिको ढाँचालाई परिपक्व तथा शोधग्रन्थलाई विशिष्टिकृत र सरलीकृत गर्न कार्यक्रम उपयोगी र सान्दर्भिक भएको बताउनुभयो ।

    उहाँले ज्ञानात्मक पद्धतिमा आधारित लेख विज्ञहरूबाटै पाउन छोडेकामा चिन्ता व्यक्त गर्दै गोष्ठीमा प्रस्तुत अवधारणापत्र र यसका टिप्पणीकर्ताबाट प्राज्ञिक लेखनमा उज्यालो किरण प्रदान गरेको उल्लेख गर्नुभयो ।

    प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले प्राज्ञिक अनुसन्धानमा आफ्नै पद्धतिकाे विकासका लागि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न अनुसन्धान गर्ने निकायले अनुसन्धानको एपीए तथा एमएलए फर्म्याट नभई अनुसन्धानमा आफ्नै मौलिक पद्धति बनाइनुपर्नेमा जोड दिनुभयो ।

    साहित्य (समालोचना र निबन्ध) विभागका प्रमुख, प्रज्ञाका प्रधान सम्पादक एवम् कार्यक्रम संयोजक प्रा.डा. गोपीन्द्र पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विज्ञलेखनलाई गुणस्तरीय बनाउन विज्ञसमीक्षा अनिवार्य आवश्यक भएको र यसले लेखनमा एकरुपता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘समकक्षी (विज्ञ) समीक्षाको ढाँचा तथा प्रयोगपक्ष’ विषयमा प्रा.डा. ताराकान्त पाण्डेयले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अवधारणापत्रमाथि टिप्पणी गर्दै विज्ञहरूले प्राज्ञिक लेखन तथा समीक्षालाई गुणस्तरीय र पारदर्शी बनाउन समीक्षाको ढाँचालाई व्यावहारिक बनाइनुपर्ने बताउनुभएको थियो ।

    अधिकांश विज्ञ वक्ताले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक लेखनलाई स्तरीकरण गर्दै एकीकृत लेखन पद्धतिकाे विकास गरिनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँहरूले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने जर्नलका लेखको प्रभावकारिता र गुणस्तर कायम गर्न लेखकहरूबीच एकरुपता ल्याउनका लागि निश्चित मापदण्ड र जर्नल निर्देशिका बनाइनुपर्ने सुझाउनुभएको थियो ।

    यसरी प्रा.डा. पाण्डेयको अवधारणापत्रमाथि टिप्पणी गर्नेहरूमा प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दानराज रेग्मी, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. उमेशकुमार मण्डल, प्रा.डा. डिल्ली ओली र प्रा.डा. गोविन्दशरण उपाध्याय हुनुहुन्थ्यो ।

    कार्यक्रमको सहजीकरण प्रज्ञा विज्ञसमीक्षित शोधपत्रिकाका कार्यकारी सम्पादक डा. बालाकृष्ण अधिकारीले गर्नुभएको थियो ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad