• एक दिनको बैनी !

  •  

    सानो चेन गेटपछि अर्को ढोका खुल्यो । भाष्कर दाइको पछि–पछि म पनि भित्र पसें । डिब्बा जुरूक्क उठेर पाँचौं तलामा पुग्यो, लिफ्ट हो रै’छ । होटल हिमालयनको विशेष कक्षमा एसी, फ्रीज, ओभन सबै आइसकेकोले क्याबिनेटसहितको ले–आउट स्केच आज शनिबार नै सकेर भोलि बिहान बुझाउनुपर्ने ।

    वल्लोदेखि पल्लो छेउ, लम्बाइ, चैडाइ, उचाइ, एक एमएम पनि फरक नपार्नु भन्ने अर्डर भएकोले रफ स्केचमा एक एक गरी मेजरमेन्ट राखेर सक्दा साँझ पर्‍यो । त्यसै अनुसारको स्केलमा रूलर, पेन्सिलले कोर्दाकोर्दै रातिको दश बज्यो ।

    “ए काजी, भोक लाग्यो हिंड् जाऊँ ।”

    रातो पजेरो थापाथली चोकबाट त्रिपुरेश्वरतिर मोडिएर दायाँपट्टिको गेटमा पस्यो, मेरो रातो कालो धर्से आरएक्स पनि । तलैबाट ‘तुमको देखा तो ये खयाल आया…’ जगजीत सिंहको गजल आनन्द कार्कीको स्वरमा सुन्दै माथि पुग्यौं । गेटबाटै ‘राम्री’हरूले तान्दै कुनाको सोफामा सँगै बसाए, मलाई अप्ठ्यारो लागेर अर्को टेबलमा बसें ।

    “यो काजी सोझो छ, यसलाई नजिस्का । ऊ त्यो लाटीलाई अर्डर लिन पठा,” भाष्कर दाइको अर्डर चल्दो रै’छ । सोझी अगाडि आइन्, “सर, के लिइसिन्छ ?” भोक र तिर्खा बेस्सरी लागेकोले मेन्यु नहेरी भनें, “आजको स्पेशल के छ ? बियर पनि ।” एकैछिनमा बियर र फ्राइड फिस अगाडि आयो । पाँच मिनेटमै रित्तिएर फेरि अर्को आयो । झमझम भएपछि मेरो पनि बोली फुट्यो, “बैनी, यतै बस न । के खाने हाम्रो बिलमा एड गरेर ल्याऊ ।”

    चिकेन चाउमिन र गिलासमा पानी लिएर बसिन् । नाम–थर, गाउँ–घर सोधें, एकतर्फी उत्तर मात्रै आयो । रुद्रबेनीबाट क्याम्सप पढ्न दुई भाउना आ’रैछन् । हामी पहाड जाँदा पाल्पाबाट रिडी, रुद्रबेनी, खैरेनी हुँदै पैदल हिंड्नुपर्ने भएर प्रायः ठाउँमा चिनजान हुन्थ्यो । मैले अन्दाजै भनें, “तिमोरका बाजेलाई चिन्छम् ।” फुरुक्क हुँदै भनिन्, “ए दाइ, फर्कंदा मलाई’नि कोठासम् पुराइदेऊ है ?” अघिको सर दाइमा पुग्यो !

    रातिको ११ बज्यो, गाना बजाना पनि बन्द भैसकेको थियो तर भाष्कर दाइको रमाइलो रोकिएको थिएन । भोलि बिहानै ६ बजे क्याम्पस पुग्नुपर्ने, १० बजे तालिम केन्द्र । अनुमति मागेर निस्किएँ । झम्सिखेलको भित्र मकैबारी हुँदै सानो घरसम्म पुगेर उनी बाइकबाट झरिन् ।

    “ल है बस, म हिनें” भनेर बाइक फर्काउनै लाग्दा चाबी थुतिन् । मलाई डर लाग्यो ।

    “पाहाडाँ जाँदा साइनो लाउँदै बास खोज्न आउनी, ह्यासम् आएर एक रात बस्न नहुनी ?”

    दिनभरीको थकाइ र रातिको बियरले ज्यान लुलो भैसकेको थियो । कीर्तिपुर हुँदै तल्लो खोकना पुग्दा १२ बज्छ । बिहानै चिसोमा लगनखेल क्याम्पस ! मनले यतै बस् भन्यो । आज्ञाकारी बनेर पछि–पछि लागें । एउटा कोठा, दुईवटा साना खाट, अलि पर भान्सा अरु केही थिएन ।

    “दाइ’नि छ भन्तेउ अइ खै ?”

    “घर गा’छ खर्च लिन । छिटो त्यै दाइको खाटाँ सुत । भोलि ब्या’नै क्याम्पस जान परेन ?” दाइको खाटको सिरकमा डल्ला परेर सुतेको मरैझैं निदाएछु ।

    “ओइ दाइ, म त निस्कें । ढोकाको ताला थिचेर जानु है । क्यासियो घडी हेरेको बिहान साढे पाँच बजेको रहेछ ।

    “पर्खेउ, म पनि जाने हो । हातमुख धोएर सँगै निस्कें । उनलाई पाटन क्याम्पस छोडें । बीए दोस्रो वर्षमा पढ्दै रहेछिन् । म नमूना मछिन्द्र ठ्याक्कै ६ बजे हाजिर भएँ ।

    कहिलेकाहीँ त्यो गजल सुन्न पुग्दा उनी हुन्थिनन् । एक दिन सुन्धारा हुलाकमा चिठ्ठी रजिष्टर गर्न जाँदा त्यहीं रहिछिन् ।

    “दाइ, म त खरदारमा नाम निकालेर यता आ’छु ।”

    भिडभाड थियो, म पनि हतारमा । “बधाइ छ” भनेर हिंडे ।

    त्यसपछि कहिल्यै भेट भएन । पोहोर साल गाउँ जाँदा बाटोमा रोकिएर सोधपुछ गर्दा थाहा भयो, उपसचिवमा पेन्सन निस्केर बजारतिर सरेछन् ।

    आजभोलि समाचारहरू सुन्दा बैराग लाग्छ । अहिले जस्तो भए कि छिमेकीले बाहिरबाट ताल्चा लाउँथे कि त उनी बिटुलो हुन्थिन् वा म बलात्कारको अरोपमा फस्थें ।

    समाज ऊ बेलाकै सफा । जे–जस्तो भए पनि साइनो इमान्दार र नैतिक थियो । गाउँमा मात्रै होइन जिल्ला र अञ्चलभरि नै आफन्तहरू हुन्थे, जनावरको मात्रै डर हुन्थ्यो । तर, आजभोलि मान्छेहरूकै डर छ !

  • कमेन्ट गर्नुहोस्