• कोभिड–१९, प्रतिबन्धित क्षेत्र र नेपाली समुदाय

  •  

    सन् २०२१ को शुरूवातदेखि देखापरेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको चौथो लहरसँगै हङकङको नेपाली समुदायमा यसको प्रभाव अधिक देखिएको छ । नेपाली घनाबस्ती रहेको जोर्डनका विभिन्न क्षेत्रलाई अकस्मात रूपमा ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्दै हरेक घरमा रहनेहरूको अनिवार्य पीसीआर (पोलिमेरेज चेन रियाक्सन) परीक्षण गरिंदैछ । कोभिड–१९ पहिलो पटक देखापरेको चीनको वुहानबाट शुरू भई अन्य एसियाली, दक्षिण एसियाली, युरोप हुँदै अमेरिकासम्ममा गरिएको स्वरुपमा लागू गरिएको ‘लकडाउन’लाई हङकङमा भने सरकारले ‘प्रतिबन्धित क्षेत्र’को रूपमा उल्लेख गरेको छ । हुनत ‘प्रतिबन्धित क्षेत्र’ ‘लकडाउन’ भन्दा केही फरक प्रकृतिको रहेको छ । ‘लकडाउन’ ठूलो क्षेत्रमा र कम्तिमा दुई साताको लागि लागू गरिने गरिएको छ भने ‘प्रतिबन्धित क्षेत्र’ सानो क्षेत्र र बढीमा दुई दिनको लागू गरिएको छ । ‘प्रतिबन्धित क्षेत्र’ घोषणा निश्चित क्षेत्रका बासिन्दामा पीसीआर टेस्ट गर्ने उद्देश्यले गरेको पाइएको छ ।

    ‘प्रतिबन्धित क्षेत्र’को घोषणासँगै कोभिड–१९ सँग नेपालीको चर्चा शिखरमा पुगेको छ । संक्रमितको संख्या निर्माण क्षेत्रमा कार्यरतमा अधिक देखिएपछि नेपालीको चर्चा शुरू भएको हो । जोर्डनस्थित रिक्लाइमेसन स्ट्रिटसँगै जोडिएका चारवटा भवनमा संक्रमितको संख्या दुई दर्जनको हाराहारीमा भेटिएको थियो । ती भवनमा निर्माण क्षेत्रमा कार्यरत नेपालीको संख्या अधिक रहेको पाइएको छ । यसको साथै नेपाली समुदायको सामूहिक गतिविधि हुने ‘चुम्लुङ हिम’ पनि सोही चार भवनमध्ये एकमा रहेको कारण बढी चर्चामा आएको हो । स्थानीय मूलधारको सञ्चारमाध्यमले पटक–पटक प्रसारण गरेको सामग्रीमा ‘चुम्लुङ हिम’ छुटाइएको थिएन ।

    कोभिड–१९ को चौथो लहरसँगै नेपालीसम्बन्धी भ्रामक र अतिरञ्जित अफवाह डढेलोसरी फैलिएको थियो । नेपालीहरू स्वास्थ्यको विषयमा संवेदनशील नभएको, सांस्कृतिक रूपमा पनि महामारी तथा संक्रामक रोग नियन्त्रणका लागि नेपाली समस्याको रूपमा रहेको जस्ता कुप्रचार भएका थिए । शतप्रतिशत नेपालीहरू मद्यपान गर्ने, नेपालका अति विकट र अविकसित ठाउँबाट आएकाजस्ता भ्रामक कुराहरू पनि औपचारिक र अनौपचारिक रूपमा प्रचारमा आए । कतिपय विषयमा सम्बन्धित निकायले खण्डन गरिएका समाचार पनि प्रकाशमा आएका छन् ।

    नेपालीका विषयमा भ्रामक र अतिरञ्जित विषयहरू सार्वजनिक हुनुमा स्वयं समुदायबाट कमजोरी भएको देखिएको छ । विशेष गरेर आफूलाई सञ्चारकर्मी दावी गर्नेलगायतबाट फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको उचित प्रयोग नहुँदा यस किसिमको समस्या उत्पन्न भएको विश्लेषण गर्न सकिन्छ । अहिले पनि हेर्न सकिने ती सामग्रीमा किराना पसल र फास्टफुड पसलमा खाजा खाइरहेका र पेय पदार्थ पिइरहेकाहरूलाई कुनै जानकारी र विनाअनुमति अनौपचारिक रूपमा गरिएका कुराकानीलाई सामाजिक सञ्जालमार्फत प्रसारण गरिएपछि ती विषय अतिरञ्जित भएको देखिन्छ ।

    यसको साथै स्थानीय मूलधारका मिडियामा सामुदायिक नेताहरूले बोल्ने क्रममा विषयवस्तुमाथि पूर्ण रूपले प्रकाश पार्न नसक्दा र वास्तविक धरातलभन्दा बाहिरका कुरा गर्दा बलेको आगोमा घिउको काम गरेको देखिन्छ । कतिपय सन्दर्भमा ती नेताहरूमा जस लिने प्रतिस्पर्धा पनि भइरहेको पाइन्छ । नेपाली कन्सुलेट जनरलमा भएको कोभिड–१९ सम्बन्धी नेपाली प्रतिनिधिमूलक संस्थाको छलफलमा समेत मपाईंत्व प्रदर्शन र अनावश्यक तर्क–वितर्क हुने गरेको देखिएको थियो ।

    त्यसो त मूलधारका मिडिया पनि नेपाली समुदायको सकारात्मक भन्दा नकारात्मक विषय उधिन्नमा उद्दत देखिन्छ । यस विषयमा व्यवसायी तथा लेखक कमलप्रसाद पौड्यालले अनुभव लेखमार्फत व्यक्त गरेका छन् । उनका अनुसार केही समयअघि घटेको जिरेखुर्सानी क्लब आगलागीको घटनाका विषयमा मूलधारको मिडियामध्ये एकले आधा घण्टा लगाएर उनीसँग गरेको कुराकानीका सकारात्मक प्रसंगलाई केही सेकेन्डमा सीमित गरेर नकारात्मकलाई प्राथमिकता दिइएको छ ।

    स्थानीय अङ्ग्रेजी भाषाको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) को अनलाइन संस्करणको कमेन्ट सेक्सनमा नेपालीप्रति घृणा उत्पन्न गराउने एक सामग्री पनि देखिएको छ । भाषागत र सोचगत हिसाबले उक्त सामग्री तुच्छ रहेको छ । तर एससीएमपी जस्तो प्रतिष्ठित मिडिया हाउसले त्यस किसिमका सामग्रीमाथि सेन्सर गरेको पाइएन ।

    यस किसिमका मिडियालाई नेपाली समुदायबाटै जान–अन्जान मलजल गर्ने काम भइरहेको छ ।

    सरकारले अकस्मात् रूपमा ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरे पनि त्यसबाट उत्पन्न हुने समस्या समाधानका लागि यथाशक्य सचेतता अपनाइएको देखिन्छ । ४८ घण्टाका लागि घोषणा गरिएको ‘प्रतिबन्धित क्षेत्र’का बासिन्दालाई आधारभूत खाद्यन्नलगायत उपलब्ध गराइएको सम्बन्धित व्यक्तिहरूले सामाजिक सञ्जालमा प्रदर्शन गरेका सामग्रीबाट स्पष्ट हुन्छ । तर सस्तो लोकप्रियता र अहिले चलेको भाषामा भन्ने हो भने ‘भाइरल’ हुनका लागि केही व्यक्तिहरूले तिललाई पहाड बनाइरहेका छन् । बट्टाका माछा–मासु खोल्ने सामग्री नदिइएकोजस्ता हास्यास्पद प्रसंगहरू सार्वजनिक भएका छन् ।

    सिङ्गो समुदायमाथि आक्षेप लाग्ने र घृणा उत्पन्न हुने स्थिति सिर्जना हुनमा स्वयं नेपाली जिम्मेवार देखिएको स्थितिमा सबैले सचेतता अपनाउने र त्यसको निराकरणको पहल गर्नुको विकल्प छैन ।

  • कमेन्ट गर्नुहोस्