कुत्सित भावना
केसीआरसी (काउलुन—क्यान्टोन रेल्वे कम्पनी)को विस्तारित लाइन वेष्ट रेल सञ्चालनको पहिलो दिन, मन त्यसै पुलकित भएको छ । सधैं ९६८ नं. को बसबाट उभिएर युनलङदेखि सेन्ट्रलसम्म कष्टपूर्ण यात्राको हैरानीबाट मुक्त हुने आशामा त्यो दिनको प्रतिक्षामा म व्यग्र थिएँ, नभन्दै आईपुग्यो त्यो दिन । युनलङबाट सेन्ट्रल आधा घण्टा मात्र लाग्ने प्रचारप्रसार गरिएकोबाट पनि म निकै आकर्षित भएको थिएँ । ८ बजे शुरू हुने कामका लागि ६:३० मै घर छोड्नुपर्ने, त्यही पनि कहिलेकाहीं भीडका कारण २—३ वटा बस छोड्नुपर्ने, जसका कारण १०—१५ मिनेट ढिला पुगिने ।
पहिलो दिन प्रचार गरिए अनुसार हुने/नहुने दोधारमा ६:३० मै वेष्ट रेलको युनलङ स्टेशनमा पुगें । एक वर्ष अघिसम्म साँझ परेपछि झ्याउँकिरी कराउने ठाउँ पत्याउनै नसक्ने गरी परिवर्तन भएको छ । एमटीआरसी (मास ट्रान्जिट रेल्वे कर्पोरेसन)को स्टेशन भन्दा सफा र आकर्षक । स्टेशनभित्र प्रवेश गर्दा डिस्प्ले बोर्डमा रेल आउन २ मिनेट बाँकी प्रदर्शन भइरहेको थियो । त्यसपछि ८ मिनेटमा अर्को रेल आउने समेत जानकारी दिइरहेको थियो डिस्प्ले बोर्डले ।
तोकिएको समयमै रेल आइपुग्यो, रेलभित्र प्रवेश गरें । पहिलो दिन भएर होला थोरै यात्रीहरू मात्र थिए, सिटहरू खाली थिए । रेल काम स्योङ रोड, चुनवान वेष्ट र मेफू हुँदै नाम च्योङ पुग्यो । त्यहाँ पुगेपछि तुङचुङ लाइनको एमटीआर चेञ्ज गर्नुपर्ने थियो । नयाँ भएको कारण केही अलमलमा परें, तर त्यहाँ रहेका स्टेशन सहायकहरूको सहयोगले त्यसमा खासै अप्ठ्यारो परेन । एमटीआर पर्खन भने ६ मिनेट र पनि सेन्ट्रल पुग्न ४० मिनेट मात्रै लाग्यो । एमटीआरमा भने बस्न नपाइने रहेछ, तर जेहोस् बसभन्दा छिटो र आधाभन्दा धेरै बाटोसम्म बस्न पाइने भएको कारण रेलको यात्रा राम्रै भयो ।
अघिल्लो दिनको समय ख्याल गरेर भोलिपल्ट ७ बजे युनलङ स्टेसन पुगें । कुद्दाकुद्दै रेल छुट्यो । ६ मिनेटमा अर्को रेल आइपुग्यो, ढोका खुल्यो भित्र पसें । अघिल्लो दिनभन्दा केही ज्यादा यात्रीहरू रहेका भए पनि सिटहरू खाली नै थिए । आफू भित्र पसेको ढोकाबाट देब्रेतिरको सिटको दाहिने कुनामा बसें, रेल हिंड्यो । पोक ओइ अस्पताल कटेपछि सिटको देब्रेतिर आँखा डुलाउँदा, अचम्म ! कहिल्यै नदेखेको र नचिनेको चिनियाँ केटी मुस्कुराइरहेको छ । शुरूमा त मलाई हेरेर मुस्कुराएकोमा विश्वास लागेन, तर दायाँबायाँ हेरें, कोही नभएकोले विश्वस्त भएँ– उसको मुस्कान मेरै लागि रहेको कुरामा । अप्ठ्यारो लागे पनि दुई—तीन पटकको हेराइमा म पनि मुस्कुराउन बाध्य भएँ ।
रेल नाम च्योङ पुग्यो, अन्य यात्रीसँगै दुवैजना बाहिर निस्कियौं । म एमटीआरतर्फ लम्किएँ, ऊ पनि त्यतै आई । एमटीआर आइपुग्न ३ मिनेट बाँकी थियो । लाइनमा वारिपारी थियौं । ६ वर्ष भयो हङकङ बसेको, बिडम्वना ! स्थानीय भाषामा दुई—चारवटा गाली गर्ने शब्द बाहेक केही जानिएको छैन । घर मालिकसँग केही कुरा गर्न पर्यो भने पनि खेताला खोज्नु पर्छ । आफैंलाई धिक्कारें, थुक्क पाजी ! भाषा जानेको भए अहिले भटाभट गफ गर्न पाउँथिस् । आश्चर्य ! एकैछिनमा उसैले मुख खोली, “हेल्लो ! आई एम पेग्गी लाम एण्ड यू ?”
के खोज्छस् कानो ? आँखो ! “माई नेम इज केआर बाहिङ” ।
एमटीआरभित्रको प्रवेशपछि पनि हामीबीच सामान्य कुराकानी भयो । सेन्ट्रल पुगेपछि ऊ आफ्नो बाटो लागी म आफ्नै बाटो लागें । म एक्जिट ‘सी’बाट बाहिर निस्कें, ऊ उता ए, बी … भएतिर लागी ।
काममा अरु दिन भन्दा अर्कै फूर्ति आयो । उसको मुस्कान घरिघरि आँखामा नाचिरह्यो । १० घण्टाको ड्युटी सकिएको पत्तै भएन ।
हत्त न पत्त उसलाई नै भेट्ने अभिलाषासहित एमटीआर स्टेशन पुगें, चारैतिर आँखा डुलाएँ तर आशानुरूपको प्राप्ति भएन । गह्रुंगो मन लिएर एमटीआर प्रवेश गरें । नाम च्योङमा उत्रिएँ, त्यहाँ पनि आँखा डुलाएँ तर उस्तै नतिजा । युनलङ स्टेशनमा उत्रिएँ र कतै पनि नहेरी घर गएँ, भोलि भेट्ने आशा सहित ।
भोलिपल्ट सात बजे नै स्टेशन पुगें र हिजोकै ढोकाबाट रेलभित्र प्रवेश गरें । अफसोच ! ऊ त्यहाँ थिइन । रेलको चारैतिर आँखा डुलाएँ, त्यहाँ उसको उपस्थिति थिएन । अघि केही क्षण अघिको फूर्ति त्यसै सेलायो, हिजोको सिट खाली थियो त्यहीं बसेँ । घरीघरी दाहिनेतिर आँखा लगाएँ तर फगत रित्तो सिट बाहेक अरु त्यहाँ केही थिएन ।
त्यो दिन कटाउन निकै मुश्किल भयो । १० घण्टा बित्न पनि १० दिन जस्तो लाग्यो । फर्कंदा पो भेटिन्छ कि भन्ने आशा पनि त्यसै खेर गयो । शायद उसको बिदा थियो होला, कुनै काम परेर नआएकी होली वा बिरामी पो भई कि ?!… , तर्कना गर्दागर्दै आज आइतबार भएको सम्झना आयो । आफ्नो हुस्सुपनमा आफैंलाई लाज लागेर आयो ।
रातभरी निद्रा लागेन । आफैंलाई धिक्कारें, थुक्क पापी ! सबै नारीलाई तैंले कुनजरले मात्र हेर्छस् ? नारीलाई बुझ्ने गर् । सम्मान गर्नेलाई अपमान गर्छस् . . . !? आफैंदेखि आफैंलाई लाज लाग्यो । आफूलाई दृढ बनाएँ र अबदेखि रेल यात्रा शुरू गर्ने निर्णय गरें ।
वेस्ट रेलको शुरूवातले काममा जान हुने हतारमा लगभग आधा घण्टा समय बचत भएकोमा खुसी लागेको छ । दुई—तीन दिनको अनुभवले हतार नगरी सात बजे युनलङ स्टेशन पुगें । पुग्नासाथ रेल आईपुगेकाले उसलाई भेट्ने अभिलाषामा रेल चढौं कि अर्को पर्खौंको दोधारमा परें । ढोका बन्दको चेतावनी आवाजसँगै जे पर्ला—पर्लाको स्थितिमा भित्र प्रवेश गरें । नभन्दै ऊ उही सिटमा बसिरहेको पाएर ठीकै गरेछु भन्ने सोचका साथ सिटमा बसें । उसको उही मधुर मुस्कानले अघिल्लो दिनको तड्पाइ एकैचोटी पखालियो ।
आइतबारै भए पनि म हतारिएको थिएँ हिजोको उसको अनुपस्थितिमा अन्य कारण पो छ कि, त्यसकारण नधकाइकन उसलाई सोधें ।
कुनै कारण रहेनछ, आइतबार हुनु बाहेक ।
त्यो दिन हामीबीच निसंकोच एक—अर्काको बसाइ र कामको बारेमा प्रश्नोत्तर भयो । ऊ जार्डिन हाउस अवस्थित एउटा व्यापारिक संस्थामा कार्यरत रहिछ र बसाइ तिन सुईवाई । काम भने मेरो भन्दा एक घण्टा बढी, बिहान ८ बजे शुरू हुने भए पनि ५ बजे मात्रै छुट्टी हुने ।
दिनहरू बित्दै गए, उसको र मेरो सामीप्यता बढ्दै गयो । मलाई आफू विवाहित र दुई छोराको बाउ हुँ भन्ने कुरा हेक्का हुन छाड्यो । प्रत्येक आइतबार मलाई कष्टकर लाग्न थाल्यो । म कल्पनाको सागरमा डुबुल्की मार्न थालें । डुबुल्किंदा डुबुल्किंदै यति गहिराइमा पुगें जति नै कोशिश गर्दा पनि बाहिर आउन नसक्ने भएँ ।
दिन बितेसँगै हामीबीचको खुलापनमा थप हुँदै गयो । आइतबार भेट नहुँदा भोलिपल्ट एक—अर्काका विषयमा निकै प्रश्नोत्तर चल्थ्यो । उसको भन्दा मेरो छिटो छुट्टी हुने भए पनि प्रायः म विभिन्न बहाना बनाएर उसलाई पर्खने गर्थें जसका कारण जाँदा—आउँदा हामी सँगै हुने गर्थ्यौं ।
पाँचौ आइतबर पछिको सोमबार अघिल्लो दिन कसरी बित्यो भन्नेदेखि अनेक प्रश्न संगालेर उसको प्रतीक्षामा रेल स्टेशनको ढोकामा प्रतीक्षारत छु । समयमै रेल आइपुग्यो भित्र प्रवेश गरें, सदाझैं उसले मन्दमुस्कानका साथ मलाई स्वागत गरी । सधैं एक्लै आउने पेग्गी आज कुनै पुरुषसँगको अंगालोमा बाँधिएर आएकी छे । म उसको स्वागतको जवाफ दिऊँ कि नदिऊँ असमञ्जस्यमा परें । औपचारिकता निभाउँदै म बसें ।
म सिटको वल्लो छेउमा बसेकोले उनीहरू पल्लो छेउबाट सरेर मेरो नजिकै आए र पेग्गीले परिचयको क्रम अघि बढाई, “हि इज मिस्टर केआर ……।” परिचयको पहिलो चरणमै म घायल हुन पुगें । उसँगै आउने उक्त पुरुष उसको श्रीमान् रहेछ ।
औपचारिकता निभाउनकै लागि भए पनि मैले हात बढाएँ, “नाइस टु मिट यू मिस्टर टिम” ।
रेल आफ्नै गतिमा अघि बढिरहेको छ । परिचयबाट शुरू भएको कुराकानीको क्रममा टिमले मेरो विषयमा पेग्गीमार्फत् सुनेको कुरा भट्टाउन थाल्यो । पेग्गीले जस्तो सुनाएको त्यस्तै पाएको कुरा ऊ बताउँदै थियो ।
हामी वेस्ट रेलबाट निस्किएर एमटीआरमा प्रवेश गर्यौं । पेग्गी र टिम मेरो विषयमा विभिन्न कुरा गरिरहेका थिए । म भने बेला—बेलामा बनावटी मुस्कान छाड्न र ‘एस/नो’को जवाफ दिनमा सीमित भएको थिएँ ।
सेन्ट्रल स्टेशन आइपुग्यो । मलाई अलिक सास आयो, कतिवेला यिनीहरूसँग छुट्टिने भन्ने सोचाइका साथ गन्तव्यतिर लम्किरहेको छु । चाहेर पनि उनीहरूलाई छाड्न सकेको छैन तसर्थ सँगै अघि बढिरहेका छौं । जब टिमले गतवर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको पेग्गीको दाजु म जस्तै भएको बतायो, म अक्क न बक्क भएँ । टिमका अनुसार दाजुको शोकमा डुबेकी पेग्गीमा मसँगको भेटपछि स्फूर्ति आएको छ । दाजुको मृत्युले परेको असर उसमा हट्न थालेको छ ।
मैले उनीहरूलाई केही भन्न सकिनँ । सदाझैं म आफ्नै बाटो लागें, उनीहरू आफ्नै बाटो ।
बिहानको घटनाले म निकै सोचमग्न बनें । मुश्किलले त्यो दिनको ड्युटी पूरा गरें । छुट्टी हुनासाथ कतै पनि अलमलमा नगरी घर पुगें । सधैंभन्दा छिटो घर पुगेकोमा श्रीमती आश्चर्यमा परिन् । म नुवाईधुवाई गरेर ओछ्यानमा पल्टिएँ । टाउको दुखेको बहानामा खाना नखाई सुतें ।
भोलिपल्ट ६ बजे नै उठें र तयारीमा लागें । श्रीमती टाउको दुखेको बारेमा सोध्दै थिइन् । आफू निको भइसकेको बताउँदै कामतिर लागें । सधैं रेल स्टेशनतर्फ लाग्ने पाइलाहरू आज स्वचालित रूपमा बस स्टपतर्फ लाग्यो । सदाझैं ९६८ नं. को बस आइपुग्यो । कस्तो संयोग आज बसमा सिट पाइयो । सिटमा बसेर सोचमा मग्न भइएछ, ‘नेक्स्ट स्टेशन इज जार्डिन हाउस’ वाक्यले झल्याँस्स हुन पुगें ।
रेलको यात्रा त्यागेर बसको यात्रा शुरू भएको तीन–चार दिनपछि एक्कासी पेग्गीको सम्झनाले सताउन थाल्यो । सम्झें, उसले मलाई दाजु सम्झी त के भो ? मैले पनि बहिनी सम्झिँदा के बिग्रन्छ ? कामतिर लाग्दा सम्झन थालेको फर्कंदा पनि त्यही प्रश्नले मलाई झस्काइरह्यो ।
रातभरी निद्रा लागेन । आफैंलाई धिक्कारें, थुक्क पापी ! सबै नारीलाई तैंले कुनजरले मात्र हेर्छस् ? नारीलाई बुझ्ने गर् । सम्मान गर्नेलाई अपमान गर्छस् … !? आफैंदेखि आफैंलाई लाज लाग्यो । आफूलाई दृढ बनाएँ र अबदेखि रेल यात्रा शुरू गर्ने निर्णय गरें ।
रेल स्टेशनको ढोकामा उभिएर रेलको प्रतीक्षामा छु । मनमा द्विविधा उत्पन्न भइरहेको छ । के भनेर बोल्ने ? यत्रो दिन किन नआएको भन्दा के भन्ने ? वास्तविकता पेग्गीले थाहा पाई भने के भन्ली !
रेल आइपुग्यो, भित्र पसें । पेग्गी त्यही सिटमा थिई र पहिलेकै जस्तो मुस्कानले मेरो स्वागत गरिरहेकी थिई । उसमा कुनै परिवर्तन नदेखेर मलाई ढुक्क लाग्यो । आफूलाई सम्हाल्दै मुस्कानका साथ उसकै छेउमा गएर बसें ।
निकै दिनको अनुपस्थितिमा उसको प्रश्न आउनु स्वाभाविकै थियो । मैले नचाहेरै झुठो बोल्नुपर्यो । नेपालबाट आमा आउनु भएकोले उहाँलाई घुमाउन लान परेकोले काममा जान नपाएको झुठो कुरा बताएँ । उसले पनि आमालाई उसको सम्झना सुनाइदिनु भनी । म शरमले पानी पानी भएँ, पेग्गीको निश्छलता र सरलताको अगाडि । आफूलाई अपराधी महसूस गरें र अपराधबोधले शिर झुकाएँ ।
आजभोलि म सधैं रेलबाटै जाने—आउने गर्छु र पेग्गीलाई आफ्नै बहिनीको रूपमा हेर्ने गरेको छु । सोच्ने गर्छु– हामी बीचको दाजु—बहिनीको सम्बन्ध अनन्त रहोस् … ।
(पाहुर, अंक १ बाट)