• हङकङमा ‘मिनि नेपाल’ नै रहेछ !

  •  

    भर्खर नयाँ कार्यभार सम्हाल्नुभएको छ । कस्तो पाउनु भो हङकङ ?

    विशेषतः हङकङ; मुख्यभूमि चीनको एक स्वशासित क्षेत्रको रूपमा रहेको छ । र, हङकङमा नेपालको प्रतिनिधिको रूपमा म आएको भर्खरै २ महिना पुगेको छ । म आउँदै गरेको अवस्थामा कोभिड–१९ को कारणले गर्दा अर्थतन्त्र धराशायी भएको अवस्था छ । धेरै मुभमेन्ट पनि गर्न नपाएको अवस्थाका कारणले नेपाली समुदायसँग राम्रोसँग घुलमिल हुने अवसर पर्याप्त पाइसकेको छैन ।

    हेल्थ मापदण्ड पालना गर्नुपर्ने कारणले गर्दा पनि त्यस्ता गतिविधिमा त्यति समन्वय हुन पाएको अवस्था छैन । तथापि व्यक्तिगत रूपमा चाहिँ नेपाली साथीहरू, नेपाली समुदायका आगुवाहरू अफिसमा आएर भेट्दै गर्नुभएको छ । उहाँहरूले आ–आफ्नो ढंगले सुझाव–सल्लाह दिनुभएको छ । हाम्रो अफिसबाट प्रदान गरिने सेवा–सुविधालाई प्रभावकारी कसरी बनाउने भन्ने सवालमा उहाँहरूले भिन्नाभिन्नै ढंगले सुझाव दिनुभएको छ । उहाँहरूको  सुझावको आधारमा आगामी कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउने जमर्को गरेको छु ।

    हङकङ सरकारको डाटालाई आधिकारिक मानेर हेर्दा अहिले चानचुन २३ हजार नेपाली हङकङमा रहेका छन् । अनौपचारिक डाटालाई हेर्ने हो भने पनि— कतिपय नेपालीहरू हङकङ छोडेर गइसकेका छन् । यसले गर्दा सरकारको यो तथ्यांकमा केही कम हुने देखिन्छ भने अर्कोतर्फ केही हजारको संख्यामा शरणार्थी तथा अन्य तरिकाले हङकङमा बसेका नेपालीहरू छन् भन्ने छ । यसरी हेर्दा  त्यस्तै २३/२४ हजारको हाराहारीमा यहाँ नेपाली छन् भन्ने आँकलन छ । यसको वास्तविक डाटा निकाल्न सकिएको छैन । त्यसैले, हामी नेपालीहरूको डाटाबेस बनाउन सकियो भने यसले नेपाल र नेपालीलाई सहज गर्छ भन्ने मलाई लागेको छ ।

    हङकङ आउनुअघि हङकङका नेपालीहरूको अवस्थाबारे के धारणा बनाउनुभएको थियो र यहाँ आइसकेपछि कस्तो पाउनुभयो ?

    अहिले नेपालबाट प्रतिदिन हजार÷बाह्र सयको दरमा मानिसहरू बाहिरिएको अवस्था छ । यसरी बाहिरिनेहरूको सङ्ख्या हेर्दाखेरि एक त युवा त्यसमाथि शिक्षित जवान बाहिरिएका छन् । समग्रमा भन्नुपर्दा नेपालबाट पढेलेखेका मान्छेहरू बाहिरिएका छन् । तर,  हङकङको परिस्थिति चाहिं अलिक फरक पाएँ मैले । ब्रिटिस सरकारको सेवामा सहभागी भएका हाम्रा सेनाहरू जुन गोर्खाली भनेर चिनिन्छन् । गोर्खालीको परिवारले नै यहाँको आईडी पाउने भएका कारण पढेका, नपढेका, बच्चा, वृद्ध सबै किसिमका मानिसहरू यहाँ रहेको पाएँ ।

    नेपालमा १२५ जाति र १२३ भाषाभाषी छन् भन्ने गरिएको छ । मलाई लाग्छ; हङकङमा बस्ने २३/२४ हजार नेपालीमा सबै किसिमका जातजाति, भाषाभाषी मिश्रित रूपमा छन् । त्यसले गर्दा यहाँ ‘मिनि नेपाल’को प्रतिनिधित्व भएको छ ।

    युरोपियन देशमा रहेका नेपाली र यहाँ भएका नेपालीहरूमा फरकपना पाएँ । कतिपय साथीहरू नेपालबाट हङकङमा आएर बस्नुभएको ३०/३५औं वर्ष भइसकेको छ । यो अवस्थामा हङकङकै संस्कृतिसँग मिक्स हुनुभयो होला भन्ने मेरो बुझाइ थियो । तर यहाँ आइपुगेपछि त्यो बुझाई मेल खाएन । सांस्कृतिक रूपमा नेपालकै आहारविहार, बानीबेहोर रहेको पाएँ । त्यसैले पनि मलाई ‘मिनि नेपाल’ जस्तै लाग्यो । २ महिनाको बसाइमा आफूलाई एक्लो महसूस गरेको छैन । साँच्चै म नेपालमै छु कि भन्ने लागिरहेको छ ।

    कोभिड महाव्याधिको अहिलेको अवस्थामा यहाँको कार्यालयले दिने सेवा सुविधा के–कस्तो प्रदान गरिरहनुभएको छ ? पासपोर्ट रिन्यू गर्नेदेखि लिएर अरू के–कस्ता सेवामा कस्तो व्यवस्थापन भइरहेको छ ?

    कन्सुलेट अफिसबाट नियमित रूपमा प्रवाह हुने सेवाहरू कोभिडको समयमा पनि सुचारु छन् । यद्यपि; स्वास्थ्य प्रोटोकलको पालना, सामााजिक दूरी कायम गर्नुपर्ने आदि अप्ठ्यारा त छँदैछन् । यसैलाई मध्यनजर गर्दै हामीले कतिपय सेवाहरू अनलाइनमार्फत पनि दिएका छौं । सेवाग्राहीले डकुमेन्ट इमेल गर्नुहुन्छ, हामीले त्यो डकुमेन्टलाई भेरिफिकेसन गरेपछि आवश्यक राजश्व तिर्नुस् भनेर समय दिन्छौं । त्यो समयमा आएर उहाँहरूले सेवा लिनुहुन्छ । त्यसो हुँदाखेरि एक त पब्लिक कन्ट्याक्ट अलिकति घटेको छ भने भीडभाड पनि कम भएको छ । यसले गर्दा कोभिड–१९ को संक्रमण फैलनबाट केही हदसम्म सहयोग पुग्ला भन्ने अपेक्षा राखेका छौं ।

    हामी हिमाल, पहाड, तराई सबै ठाउँका मान्छेहरू छौं यहाँ । पढेका, नपढेका दुवैथरी छौं । यसले गर्दा; अनलाइनमार्फत सेवा लिन कतिपयलाई असहज भएको छ भन्ने पनि मैले बुझेको छु ।  तर पनि; हङकङ जस्तो आइटीमा यति अगाडि बढिसकेको ठाउँमा बस्ने हामीहरू यसमा अल्झिनुहुन्न, आफूलाई अभ्यस्त गर्दै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।

    हङकङमा नेपालीहरू बसेको यतिका वर्ष भइसक्यो । यहाँ समस्या पनि छन् । जस्तो; भिजिट भिसा, वर्किङ भिसा, स्टुडेन्ट भिसा बन्द गरिएका छन् । यसभन्दा अगाडिका महावाणिज्यदूतहरूले पहल गरेको भन्नुभएको थियो । तपाईंको शुरूवाती चरण छ, यसलाई कसरी लिनुभएको छ ? चार वर्षे कार्यकालमा समाधान हुन सक्लान् त यी विषय ?

    स्वाभाविक रूपमा यहाँले उठान गर्नुभएको विषय सम्पूर्ण नेपाली र सिङ्गो नेपालका लागि चासोको विषय हो । विगतमा हाम्रा झन्डै ८/१० जना कन्सुलरहरूले हङकङमा आएर सेवा गर्दा यी विभिन्न किसिमका भिसा खुलाउन प्रयास नगर्नुभएको होइन । उहाँहरूले बहुत प्रयास गर्नुभएको मलाई जानकारीमा छ । त्यसको बाबजुद पनि नेपालीलाई सहज रूपमा प्रवेश गराउन सकिएको अवस्था छैन ।

    म आएको भर्खर दुई महिना हुँदै गर्दा यहाँको चिफ एक्जुकेटिभसँग पनि एक चरण भेटिसकेको छु । पहिलो भेट एउटा कर्टेसी भेट भएको कारणले सबै कुराहरू राख्न त्यति उपयुक्त वातावरण होइन । तैपनि मैले केही कुराहरू भने राखेको छु । आशा गरौं; उहाँहरूले केही सहजीकरण गर्नुहुनेछ । भोलिका दिनमा पनि हामीले भिसाका विषयमा विस्तारै कुराहरू राख्नेछौं र हाम्रा कुराको सुनुवाइ हुनेछ भन्ने मलाई आशा छ ।

    यो समस्यामा समाधान गर्ने अथोरिटी हामी आफैं होइनौं । त्यसकारणले पनि यो गाह्रो विषय छ । हङकङ सरकार कन्भिन्स हुनुपर्ने विषय भएकोले हाम्रो राष्ट्रका तर्फबाट पनि पहल हुनु जरूरी हुन्छ । मैले केही दिन अघिको जुम मिटिङमा हाम्रो मन्त्रालयमा कुरा राखेको थिएँ । त्यसका अतिरिक्त बेइजिङमा रहेको नेपाली दूतावासमा पनि कुरा राखेको छु साथै हाम्रा राजदूतहरूसँग पनि कुरा राखिसकेको छु । आशा गरौं; पहल पक्कै हुनेछ । त्यसको बाबजुद; यो समस्या तत्कालै समाधान भइहाल्छ भन्ने अवस्था किन छैन भन्दा अहिले कोभिडको कारणले गर्दा मार्केट सुकेको छ । हङकङलाई त्यति कामदारहरू चाहिएको अवस्था छैन । त्यसले गर्दा अझै केही समय लाग्न सक्ने देखिन्छ । तथापि; हाम्रो प्रयास जारी छ र जारी रहन्छ ।

    रोजगारीका हिसाबले हङकङ एउटा राम्रो ‘जब मार्केट’ भएको हिसाबले नेपालीहरूलाई यहाँ ल्याएर रोजगारी दिन सक्ने हो भने यहाँको रेमिट्यान्सले नेपालको विकासमा केही सहयोग पुग्ने थियो । यस हिसाबले पनि हामीले यसको पहल गर्नु अति आवश्यक छ । म त्यसको लागि पनि लागिपरेको छु, परिरहनेछु ।

    दुई महिनामा तपाईं यहाँका केही ठाउँ त घुम्नुभयो । जस्तो; गोर्खालीहरूको समाधिस्थल हेर्नुभयो । नेपाली भएका ठाउँहरूमा पुग्नुभयो होला । व्यक्तिगत रूपमा हङकङ कस्तो ठाउँ लाग्यो ?

    हङकङ एउटा वेल डेभलप सिटी हो । हङकङको तुलनामा नेपाल धेरै पछाडि छ । यहाँको विकास हाम्रो नेपालमा पनि देख्न पाए हुन्थ्यो भन्ने रहर जागेको छ ।

    तर चिन्ताको विषय के छ भने नेपालबाट अहिले इकोनोमिकल्ली एक्टिभ पपुलेसन चाहिं बाहिरिएको अवस्था छ । नेपालको इतिहासमै सबैभन्दा बढी (५७ प्रतिशत) भन्ने डाटा छ । युवाहरू बाहिरिंदा देशमा रेमिट्यान्स भित्रिने एउटा पाटो त छ तर पनि यत्रो संख्यामा एक्टिभ पपुलेसन देशमै रहने हो भने हामीले विकासका धेरै काम गर्न सक्थ्यौं ।

    देश बाहिर रहेर नेपालमा विकास भएन भनिरहेको अवस्थामा कमसेकम विदेशमा भएका हामी सबै साथीहरूले यहाँ कमाएको सीप, पूँजी र प्रविधिलाई नेपालमा लिएर जाने र नेपालको विकासमा खर्च गर्ने किसिमको वातावरण बनाउन सकियो भने स्वाभाविक रूपमा हङकङको यो विकासबाट नेपालले पनि फाइदा लिन सक्थ्यो भन्ने लाग्छ मलाई ।

    अन्तिममा; तपाईंलाई स्वागत गर्ने क्रम त चलिरहेकै छ । आदिवासी जनजाति महासंघले कार्यक्रम नै राखेर स्वागत गर्दैछ । झन्डै डेढ दशकदेखि आदिवासी जनजातिहरूले आन्दोलन गर्दै आएको र हामीले ल्याएको भन्दै दाबी गरिरहेका छन् । त्यो हिसाबले नेपालीहरूमाझ सार्वजनिक कार्यक्रम गरेर स्वागत गरिंदैछ । कस्तो लागिरहेको छ ? , के भन्न चाहनुहुन्छ ?

    यहाँले राख्नुभएको प्रश्न मेरो लागि गाह्रो विषय हो । नेपालीहरू जो हङकङमा रहनुभएको छ । विभिन्न संगठनमा आबद्ध हुनुहुन्छ । उहाँहरूले एउटा कन्सुल जनरल नयाँ आउँदै गर्दा हार्दिकता प्रस्तुत गर्नु स्वाभाविक हो । हार्दिकता प्रस्तुत गर्न बोलाउँदा म जान्छु नै । सिङ्गो नेपालको प्रतिनिधिको रूपमा जान्छु र सिङ्गो नेपालको प्रतिनिधिको रूपमा सबै नेपालीलाई समभावले हेर्छु ।

  • कमेन्ट गर्नुहोस्