• हङकङमा पीएचडी गर्दाको अनुभव

  •  

    हङकङमा सन् २००५ देखि नै शैक्षिक भिसा बन्द छ । त्यसैले नेपाली विद्यार्थीहरू सहजै यहाँ आउन पाउँदैनन् । डा. श्रद्धाले पनि सजिलै अवसर पाएकी होइनन् ।

    कलेज अफ मेडिकल साइन्स, भरतपुर, चितवनबाट एमबीबीएस गरेकी उनले इन्टर्न गरिरहेका वेला उनको इमेलमा आएको ब्रिटिस मेडिकल जर्नलमा चाइनिज युनिभर्सिटीको विज्ञापन देखिन् । त्यसपछि उनले एप्लाई गरिन् । तर, कतिपय कुरा मिलेनछ । उनको शुरूको एप्लाई रिजेक्ट भयो ।

    पछि, अलिक ‘डिटेल’मा बुझेर आवेदन दिएपछि रिसिभ भयो । अनि; युनिभर्सिटीले नै भिसा पठाएपछि मात्र उनी पीएचडीका लागि हङकङ आइपुगिन् । २०१६ जुनमा इन्टर्न सिध्याएकी उनी त्यही साल सेप्टेम्बरमा यहाँ आएकी हुन् । अहिले चाइनिज युनिभर्सिटी, हङकङमा डिपार्टमेन्ट अफ पेडियाट्रिक्समा पीएचडी इन मेडिकल साइन्स गर्दैछिन् । उनी बच्चामा हुने निमोनिया, ब्रोकालाइटिसहरूमा आधारित इमर्जेन्सीमा रिसर्च गर्दैछिन् ।

    श्रद्धालाई बच्चादेखि नै डाक्टर पढ्ने इच्छा थियो । उनको परिवार भने पहिलादेखि नै व्यापार–व्यवसायमा संलग्न थियो । उनका बुबा र दाइहरू होटल चलाउँछन्, आमा भने हाउस वाइफ । सानैदेखि डाक्टर बन्ने सोचले नै आफू डाक्टर बनेको उनको भनाइ छ ।

    पीएचडीका लागि चार वर्षअघि हङकङ आउँदा उनलाई शुरूमा त यहाँ कोठा पाउनै मुस्किल पर्‍यो । एप्लिकेसन ढिलो भएकोले होस्टलमा ठाउँ पाइनन् । त्यसवेला उनलाई यहाँ नेपाली समाज र यति धेरै संघ–संस्था छन् भन्ने ज्ञान थिएन । दुई/तीनजना साथीको भरमा थिइन्, उनीहरूकैमा बसिन् केही दिन ।

    कोठा खोज्ने क्रममा हस्पिटल नजिकै कोठा पाइन् । एक वर्ष बाहिर बसेपछि हस्पिटलमा ठाउँ पाइन् र रिप्लेसमेन्ट भएर गइन् । समाजसेवामा रूचि र मानिसहरूसँग चाँडो घुलमिल हुनसक्ने स्वभावले पनि होला नेपाली समाजसँग विस्तारै चिनजान हुन थाल्यो । उनलाई लाग्छ, “आफूसँग भएको ज्ञानले नेपाली समाजमा कसैलाई सहयोग पुग्छ भने किन नगर्ने ?” एकदिन उनलाई खोटाङ समाज, हङकङले निमन्त्रणा गर्‍यो । उनी भन्छिन्, “त्यहाँ जाँदा निक दाइले त्यसवेलाकी महासंघकी अध्यक्ष रिता गुरुङसँग भेटाइदिनुभयो । त्यसपछि यहाँको समाजसँग घुलमिल बढ्यो ।”

    पोष्ट ग्राजुएट भएकोले उनलाई खान–बस्न पुग्नेगरी कलेजले नै स्टुडेन्टसीपबाट पैसा दिएको हुन्छ । महिनामा सय घण्टा पार्टटाइम काम गर्न पाइन्छ तर उनले शुरूमा गरिनन्, किनकि ल्याबमा काम गर्दा एकदम व्यस्त हुन्थिन् । अहिले हप्तामा १० घण्टासम्म पार्टटाइम काम गर्ने गरेकी छिन् ।

    व्यस्त हुँदा पनि उनी नेपाली खाना खान र नेपाली समाजमा सहयोगका लागि निस्कन्थिन् । जसले गर्दा समाजसँग घुलमिल हुन सजिलो भयो । यहाँका संस्थाहरूसँगको घुलमिलपश्चात् उनले हङकङको नेपाली जीवनशैलीलाई यसरी मूल्याङ्कन गर्छिन्, “काम गर्ने, पैसा कमाउने र खाने–बस्ने ।”

    यहाँको सामाजिक जीवनशैली निकै व्यस्ततामा बित्ने गरेको उनी बताउँछिन् । भन्छिन्, “अहिले कोरोनाले गर्दा मात्र । नत्र हरेक आइतबार मंकीहिल खाली हुँदैन ।”

    मंकीहिल नेपालीको जीवनशैलीसँग जोडिएको विषयमा उनीसँग एउटा रमाइलो प्रसंग पनि छ । उनको होस्टेलमा फोटो खिच्न सधैं एकजना मान्छे आउँथे । ती व्यक्ति हङकङ युनिभर्सिटीमा कल्चर डिपार्टमेन्टमा पढिरहेका रहेछन् । उनले फोटो खिचेपछि श्रद्धाको नाक हेर्दै “तपाईं एसियन हो ?” भनेर सोधे । उनले “हो” भनेपछि ती व्यक्तिले “देश सोध्न मिल्छ ?” भनेर सोधे । किनकि यहाँ सिधै देश या अरु व्यक्तिगत कुरा सोध्ने चलन छैन ।

    श्रद्धाले “नेपाल हो” भनेर जवाफ दिइन् । ती फोटोग्राफरले “त्यो मंकीहिलमा पार्टी गर्ने नेपाली हो ?” भनेर सोधे । उनले थपे, “हामीले कल्चरमा नेपालीबारे पढ्नुपर्ने र लेख्नुपर्ने हुँदा हामी सन्डे मंकीहिलमा गएर इन्टरभ्यू लिन्थ्यौं । नेपालीहरू एकदमै बार्बिक्यू गर्छन् ।”

    डा. श्रद्धालाई सामाजिक रूपमा नेपालीहरू धेरै एक्टिभ छन् भन्ने लाग्छ । उनको पारिवारिक सदस्य वा आफन्त यहाँ कोही छैनन् तर सामाजिक गतिविधिमा सक्रिय भएर उनी धेरै समूहसँग घुलमिल भएकी छिन् ।

    हङकङ अनुभव

    नेपाल र हङकङमा पढ्ने वा काम गर्ने तरिका बिलकुल फरक लाग्छ उनलाई । पढ्नुपर्ने कुरा त्यही भए पनि नेपालमा रिसर्चको चलन कम भएको र करले मात्र गरिने गरेको उनको बुझाइ छ ।

    तर यहाँ एमबीबीएस तेस्रो र चौथो वर्षमा रिसर्च अनिवार्य नै हुन्छ । उनलाई भने भाषाको समस्याले अलि गाह्रो भयो । त्यसैले उनले अरुले संकलन गरेको डाटाको आधारमा अनुसन्धान गरिन् । नेपालमा जसरी प्रत्यक्ष डाक्टर र बिरामी भएर गर्नु परेन ।

    यहाँ नेपालीहरू स्वास्थ्य क्षेत्रमा खासै भेटिंदैनन् । उनले पनि दुई/तीनजना मात्र भेटेकी छिन् । यहाँ मेडिकल फिल्डमा एमबीबीएस सबैभन्दा जटिल अध्ययन हो भन्ने लाग्छ उनलाई । “तर मेहनत गर्दा असम्भव छैन,” उनी भन्छिन् ।

    मेडिकल लाइसेन्सका लागि यहाँ थेउरी पास गर्ने नेपालीहरू धेरै भेटिन्छन् तर प्राक्टिकलमा चाइनिजसँग बायसनेस हुन्छ भन्ने सुनेकी छिन् उनले । भन्छिन्, “त्यो बायसनेसका हिसाबले कतिको रिजेक्ट भएको साथीहरूबाट सुनेकी छु । चाइनिजहरू पनि लाइसेन्सका लागि तीनपटक दिइसकेर पीएचडी वा अरु सब्जेक्टमा लागेको देखेकी छु ।”

    एकपटक लाइसेन्सको परीक्षा दिन १० हजार हङकङ डलर वा नेपाली १ लाख ५० हजार जति खर्च हुन्छ । त्यो परीक्षा ५ पटकसम्म दिन पाइन्छ । तर, धेरैले २ वा ३ पटकदेखि दिंदैनन् । उनको भने फरक विषय भएकोले दिन पाइनन् ।

    हालसम्म अविवाहित उनले अहिलेसम्म विवाहको योजना बनाएकी छैनन् । परिवारले पनि उनलाई दबाब दिएको छैन । उनी आफ्नो निर्णय गर्न स्वतन्त्र छिन् । भन्छिन्, “घर–परिवारले खोजेको केटासँग अरेन्ज म्यारिज गर्छु, खोजेनन् भने नगर्न पनि सक्छु !”

    हङकङमा चार वर्ष बसेको अनुभवका आधारमा उनी यहाँका अभिभावकलाई पढ्न चाहने छोराछोरी छन् भने पैसाको पछि नलागी पढाइलाई प्राथमिकता दिन सुझाव दिन्छिन् । तर यहाँ हौसलाभन्दा ‘पढ्न सकेन बरु काम गरेर पैसा कमाओस्’ भन्ने गरेको भेटिन् उनले ।

    उनको अनुभवमा यहाँ कतिपय भने पढाइलाई ध्यान दिनेहरू पनि छन् । तर हङकङ व्यस्त ठाउँ भएकोले कतिले त महिना दिनसम्म आफ्ना छोराछोरीको अनुहार नदेखेको, हेल्परको भरमा छोडेको पनि देखिन् उनले । त्यस्तो वातावरण भएर नै होला कुलतमा फस्नेहरू पनि देखेकी छिन् उनले । भन्छिन्, “परिवारमा पैसा चाहिन्छ तर पनि नानीहरूलाई पढाएर उनीहरूको भविष्य सुनिश्चित गरिदिनुपर्छ । पढाइलाई प्राथमिकता दिनुपर्छ ।”

    उनले यहाँ देखेको कुरा; नेपालीहरू घरमा चाइनिज कमै बोल्छन् तर स्कूलमा चाइनिज बोल्नुपर्छ । “यहाँको नेपाली परिवारले बच्चासँग अंग्रेजीमा बढी बोलेको देखेको छु । सबै भाषाको मिश्रण भएर पनि समस्या भइरहेको होला जस्तो लाग्छ,” उनी भन्छिन्, “कतिले चाइनिजमा पनि राम्रो गरिरहेका छन् । कति पढेर आएकाहरू पनि यहाँको पढाइको सिष्टम, एप्लाई गर्ने तरिका आदि थाहा नपाएर पढाइ अगाडि बढाउन सकेका छैनन् । विद्यार्थीहरूले काम गरिरहेको देख्दा उनीहरूको पढाइ खेर गएजस्तो लाग्छ । पढाइलाई जीवनमा उतार्न सक्यो भने पो राम्रो हुन्छ !”

    भिसाको मार

    हङकङ सरकारले सन् २००५ देखि विद्यार्थीका लागि भिसा दिन बन्द गरेको छ । एप्लाई गरेपछि शैक्षिक योग्यता हेरेर युनिभर्सिटीले सिधै भिसा पठाउँछ । तर अन्यत्र जस्तो सजिलो छैन । प्रायः यहाँ आउने १२ जना त्यसरी नै आएका हुन् । तर दुःखको कुरा त्यसरी आउनेहरू ग्राजुएट भएपछि फर्किनुपर्छ ।

    अन्य देशका विद्यार्थीका लागि यहाँ आईएएनजी भिसा हुन्छ । त्यो भिसा चाहिं विद्यार्थीहरू आएर ग्राजुएट भइसकेपछि काम खोज्न वा बसेर केही गर्न मन लाग्छ भने एक वर्षका लागि हङकङ सरकारले दिने हो । तर नेपाली विद्यार्थीले त्यो सुविधा पाउँदैनन् ।

    डा. श्रद्धाले यो विषयमा नेपाली महावाणिज्यदूतावासमा गएर भर्खरै नियुक्त महावाणिज्यदूतलाई भेटेर कुरा राखिन् । उनी भन्छिन्, “उहाँले पनि तपाईं जस्तै मान्छेले मलाई सूचना दिने हो भनेर सकारात्मक कुरा नै गर्नुभयो ।”

    यो आईएएनजी भिसाबारे कमै नेपालीलाई थाहा छ । सन् २००५ देखि धेरै प्रकारका भिसा बन्द भए । त्यसमध्ये यो पनि एउटा हो । यहाँका धेरै संघ–संस्थाले भन्न त ‘परेका बेला हामी छौं’ भन्छन् तर यस्ता कुरा राख्छन् कि राख्दैनन् उनलाई थाहा छैन ।

    यही समस्याले विद्यार्थीहरू सजिलै यहाँ आउन सकेका छैनन् । अष्ट्रेलिया वा अमेरिकामा गएको भए ग्राजुएसन गरेपछि पोष्ट ग्राजुएसनका लागि भिसा पाइन्छ, भिसा बढ्दै गएर त्यहीं सेटल हुन सकिन्छ तर हङकङमा सेटल हुन पाइँदैन ।

    पीएचडी सकेपछि उनी नेपाल फर्किनुपर्छ । अब सेप्टेम्बर/अक्टोबरमा उनको पीएचडी सकिंदैछ । भिसा भइहाल्यो भने एकपटक उनलाई यहीं एप्लाई गरेर यहाँको कामको अनुभव लिएर जाने मन छ । अनुभव बटुल्छु भनेर पनि उनी यहाँ आएकी हुन् । युनिभर्सिटीको सर्टिफिकेट मात्र नभइ, नयाँ ठाउँको कल्चर बुझ्नु, चिन्नु पनि पढाइ नै हो भन्ने लाग्छ उनलाई ।

    भविष्यको योजना भने डब्लुएचओ, युएन जस्ता विभिन्न संघ–संस्थामा एप्लाई गर्ने र विभिन्न युनिभर्सिटीमा जहाँबाट बोलाउँछ त्यहीं जाने नत्र नेपाल फर्किने सोच छ उनको ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad