• जलबिन्दुमा विद्यावारिधि

  •  

    कोरोना महाव्याधिका बीचमा ६ महिनाअघि हङकङ आइपुगेका मिलन राई अहिले यहीं अध्ययनमा व्यस्त छन् । एउटा सामान्य परिवारको विद्यार्थी; नेपालीका लागि स्टुडेण्ट भिसा नदिने हङकङमा विद्यावारिधि गर्न आइपुग्नु सामान्य विषय होइन तर उनी त्यही असामान्य काम गरिरहेका छन् ।

    नेपालमा उदयपुरको सामान्य किसान परिवारका उनी काठमाडौंमा हुर्के, बढे र अध्ययन गरे । एलएलसीदेखि प्लस टुसम्म काठमाडौंमै पढेका मिलन अन्डर ग्राजुएटका लागि भारत पुगे । त्यहाँ ब्याचलर डिग्री सकेपछि भारतकै पञ्जाबको एउटा अस्पतालमा केही महिना काम गरे । त्यसपछि नेपाल फर्किएर नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता प्रक्रिया अगाडि बढाउँदै गर्दा देशमा लकडाउन शुरू भयो । उनी भारत फर्किन पाएनन् ।

    लाइसेन्स पाइसकेकोले उनमा विद्यावारिधिका लागि अवसर पाउँछु कि भन्ने सोच आयो । अष्ट्रेलिया र हङकङका विश्वविद्यालयमा  एप्लाई गरे । दुवैतिर छात्रवृत्ति मिल्यो तर उनले हङकङ पोलिटेक्निक विश्वविद्यालय रोजे ।

    यहाँका विश्वविद्यालयका प्रोफेसरहरूसँग उनको विभिन्न वैज्ञानिक सम्मेलनहरूमा भेटघाट भइरहन्थ्यो । उनी सानै उमेरदेखि यस्ता सम्मेलनहरूमा वक्ताका रूपमा सहभागी हुन्थे । त्यसो त उनले अध्ययन गरिरहेको दृष्टि विज्ञानको पढाइ हुने विश्वविद्यालय विश्वभरि नै कम छन् । मिलनले पहिले नै विश्वविद्यालयहरूको विश्वव्यापी र्‍याङ्किङ, र्‍यापुटेसनबारे गहिरो अध्ययन गरेका थिए । त्यसकारण पनि उनले विद्यावारिधिका लागि हङकङमा प्रक्रिया अगाडि बढाएका थिए ।

    गोल्ड मेडलिष्ट

    उनको पढाइ सानैदेखि राम्रो थियो । कक्षाका फस्टब्वाई थिए । २०६८ सालको एसएलसीमा ८९ प्रतिशत अंक ल्याएर पास गरेका थिए । त्यो उनको विद्यालयको सबैभन्दा उच्च अंक थियो । प्लस टुमा पनि उनले राम्रो अंक ल्याएर पास गरे ।

    भारतमा पढ्दा त उनले आफ्नो विषयमा गोल्डमेडल नै जिते । त्यसैका आधारमा विद्यावारिधिको अवसर पाएका हुन् । उनी भन्छन्, “सरकारले दिने छात्रवृत्तिको कोटामा एप्लाई गर्नेहरूमध्ये एक जनालाई सिफारिस गरेर पठाउने हो । त्यसमा मलाई पठाइयो ।”

    भारतमा स्नातक तहको अध्ययनमा उनले आफ्नो फ्याकल्टीमा विश्वविद्यालय टप गरे । गतवर्षकै मार्च २२ मा दीक्षान्त समारोह थियो तर कोरोनाका कारण स्थगित भयो । “यहाँ सर्टिफिकेट देखाउनुपर्ने भएकोले डिनसँग कुरा गरेपछि उहाँले पठाइदिनुभयो । त्यसपछि मैले यहाँ विद्यावारिधि गर्न पाएँ,” उनी भन्छन्, “गोल्डमेडल पाएको नतिजा भने एक वर्षअघि नै सार्वजनिक भइसकेको थियो ।”

    हजारौं विद्यार्थीमध्ये उत्कृष्ट भएका मिलन भर्खर २६ वर्ष पुगे । हङकङमा सन् २००५ देखि नेपाली विद्यार्थीका लागि भिसा बन्द छ । तर, मिलनजस्ता उत्कृष्ट विद्यार्थीलाई यहाँको विश्वविद्यालयले नै भिसा पठाएर बोलाउँछ । मिलन उत्कृष्ट भएकैले यो अवसर पाएका हुन् ।

    पहिले त आफू फ्रेस ग्राजुएट भएकोले विद्यावारिधि गर्न पाउँछु कि पाउँदिनँ भन्नेमै उनलाई शंका थियो । उनी सेप्टेम्बर २०१९ मा ग्राजुएट भएका थिए । विद्यावारिधिमा प्रायःजसो पोस्ट ग्राजुएसन सकेर, वर्र्षौंको अनुभवपछि एप्लाई गरेका हुन्छन् धेरैले ।

    मिलनका अन्डरग्राजुएट पढ्दा नै साइन्टिफिक जर्नलहरूमा पेपर प्रकाशन भएका थिए । ठूला कन्फ्रेन्सहरूमा वक्ताका रूपमा सहभागी भइसकेका थिए । त्यही क्वालिफिकेसनका आधारमा अन्डरग्राजुएट भए पनि युनिभर्सिटीले आफूलाई अवसर दिएको उनी बताउँछन् ।

    हुन त उनलाई अष्ट्रेलियाको विश्वविद्यालयले पनि बोलाएको थियो तर विषयगत श्रेणीमा अहिले उनले अध्ययन गरिरहेको हङकङको विश्वविद्यालय विश्वको टपमध्ये पर्छ । त्यसैकारण उनले हङकङ रोजेका हुन् ।

    उनले यहाँ आँखामा हुने जलबिन्दुका कारणहरूमध्येको एउटा कारणबारे अध्ययन गरिरहेका छन् ।

    नेपालका आँखा सर्जन डा. सन्दुक रुइत भारत र अष्ट्रेलिया अध्ययन गरेपछि नेपालमै सेवा गरिरहेका छन् । उनी विश्वव्यापी रूपमा चर्चित छन् । मिलन भने दृष्टि विशेषज्ञ हुन् । नेपालमा डा. रुइतले आफ्नो क्षेत्रमा गरेको नेतृत्वलाई उदाहरणीय मान्ने उनी कुनै वेला सहकार्य हुनसक्ने सम्भावना रहेको बताउँछन् ।

    हङकङमा चेकअप गर्नका लागि यहाँको लाइसेन्स प्राप्त गर्नुपर्छ । त्यो उनले पाइसकेका छन् । तर यहाँ धेरै बिरामी चाइनिज हुने भएकोले भासा नमिल्ने समस्या हुन्छ । अर्को; उनी अहिले पूर्णकालीन विद्यार्थी हुन्, पढाइमै व्यस्त रहन्छन् । भन्छन्, “धेरै अध्ययन र प्रोजेक्ट गर्नुपर्ने भएकोले व्यस्त हुन्छु ।”

    मिलन नेपाली समुदायका सीमित व्यक्तिहरूसँग मात्र घुलमिल छन् तर फुर्सद मिले नेपाली समुदायमा आफ्नो सेवा पु¥याउने इच्छा छ उनमा ।

    बुवाको इच्छा सेनामा भर्ती

    काठमाडौंमै हुर्किएका मिलनको परिवारमा हाल बुवा रुद्र राई, आमा निलम राई, भाइ र हजुरबुवा छन् । मध्यम वर्गीय उनको परिवार हाल व्यापार–व्यवसायमा छ ।

    १२ कक्षा पास गरेपछि बुवाले सेनामा सेकेण्ड लेफ्टिनेन्ट भिड्न पठाए । न कुनै तालिम, न आर्मी बन्ने रहर ! उनी बीच बाटोबाटै घर फर्किए । “म बुट बजार्न सक्दिनँ भनेर फर्किएर घर आएँ तर बुवाको अनुहारमा एकदम आक्रोश देखें । त्यसपछि फेरि मन नलागी–नलागी भद्रकाली पुगें,” उनी सुनाउँछन्, “तर बुवाको लागि दुर्भाग्य र मेरो लागि सौभाग्यको कुरा, म फेल भएँ ।”

    मिलन राईको परिवार ।

    उनी सेलेक्ट नहुनुको कारण आँखाको कमजोरी र भित्रपट्टिको एउटा दाँत नहुनु थियो । तर यसमा उनी खुशी भए ।

    त्यहाँबाट फर्किएर घर आएपछि उनले बुवासँग पढाइ अगाडि बढाउने कुरा गरे । उनको बुवाको इच्छा कतै काम गरे सहज हुन्थ्यो भन्ने थियो । उनले जागिरभन्दा पढाइलाई नै ध्यान दिए ।

    अहिले उनले अध्ययन गरिरहेको दृष्टि विज्ञान क्षेत्रमा नेपालमा जनशक्ति अभाव छ भन्ने कुरा उनलाई थाहा थियो । नेपालमा यस विषयमा जम्मा ६ वटा कोटा हुन्थ्यो । उनलाई यो विषयमा सम्भावना छ भन्ने लाग्यो । अनि बुझ्न महाराजगञ्ज पुगे । त्यसपछि पढ्न भारततिर लागे ।

    शुरूमा सरकारी जागिर खाओस् भन्ने उनका बुवा पनि पछि भने खुशी भए । उनी आर्मीमा फेल हुनुको एउटा कारण आँखाको समस्या थियो । पछि उनी दृष्टि विज्ञान पढ्न गए । तर, फेल हुनु र दृष्टि विज्ञान पढ्नुबीच भने कुनै सम्बन्ध नरहेको उनी बताउँछन् । भन्छन्, “थोरै जनशक्ति रहेको देखेर यो विषय रोजेको हुँ ।”

    चार वर्षे कोर्षका लागि हङकङमा रहेका उनी यसपछि पोष्ट डक्टरेड गर्ने विचारमा छन् । पीएचडी सकेर नेपाल फर्किनेबारे उनले अहिले नै सोचेका छैनन् । भन्छन्, “नेपालमा पूर्वाधार र वातावरण छैन अहिले, नसिबले कता डोर्‍याएको छ, त्यतै हुन्छ ।”

    सानैदेखि अध्ययनशील

    मिलन सानैदेखि अध्ययनशील थिए । आफूले मेहनत गरेर पढेकोले नै आज यस्तो अवसर पाएको बताउँछन् ।

    उनी चार÷पाँच कक्षामा पढ्दादेखि नै विश्वप्रसिद्ध वैज्ञानिकहरूका जीवनी पढ्थे । न्युटन, अल्बर्ट आइन्स्टाइन, स्टेफन हकिन्स जस्ता वैज्ञानिकको जीवनी सानैमा पढेका उनले थोमस अल्बा एडिसनको वैज्ञानिक प्रयोगबारे पनि एउटा पुस्तकमा पढेका थिए । त्यसलाई आफ्नै घरमा प्रयोग गर्दा आमाको कुटाइ खाएको उनी सम्झन्छन् । भन्छन्, “त्यसवेला म पागलै थिएँ ।”

    सात कक्षा पढ्दा नेल्सन मण्डेला, दलाई लामाहरूका पुस्तक पढेका थिए । त्यसले नै आफूमा पढ्ने बानी बसेको उनी बताउँछन् ।

    ती पुस्तक पढेपछि उनीहरूका अनुसन्धान र समाजले दिएको सम्मान देखेर उनी प्रभावित भए । उनी वैज्ञानिकका जीवनीसम्बन्धी पुस्तक खोज्न काठमाडौंका विभिन्न ठाउँ पुग्थे । भन्छन्, “मैले वैज्ञानिकका किताबहरू कति किनें किनें, बुवालाई कोर्षको उत्तर यहाँ छ भनेर ढाँटें ।”

    एकदिन उनी वैज्ञानिकको जीवनी किन्न बुवासँगै पुस्तक पसलमा पुगेका थिए । बुवालाई ढाँटेर ‘यो पुस्तकमा कोर्षको उत्तर छ’ भन्दै थिए । पुस्तक पसले शिक्षक रहेछन्, उनले थाहा पाइहाले । मिलन भन्छन्, “पुस्तक पसलेले बुवाकै अगाडि यो कोर्षको किताब होइन, वैज्ञानिकको जीवनी हो । तपाईंको छोराले सानैमा यस्ता पुस्तक पढ्दो रहेछ भनेर निःशुल्क पुस्तक दिए ।”

    मिलन अभिभावकले छोराछोरीलाई पढ्ने वातावरण बनाइदिनुपर्ने र छोराछोरीले पनि पढाइमा ध्यान दिनुपर्ने बताउँछन् । भन्छन्, “अभिभावकले वातावरण दिएपछि पनि छोराछोरीले केही गरेनन् भने त्यो उनीहरूको असक्षमता हो ।”

  • कमेन्ट गर्नुहोस्