• पहिला हामी नेपाली हौं –महावाणिज्यदूत राना मगर

    जनजाति महासंघ, हङकङले आयोजना गरेको स्वागत कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै महावाणिज्यदूत उदयबहादुर राना मगर ।
  •  

    सर्वप्रथम, मलाई हङकङमा यति ठूलो स्वागत गर्नुभएको छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।

    यहाँका साथीहरूले भनिसक्नुभएको छ, हामी हङकङमा जनसंख्याको हिसाबले करिब ९८ प्रतिशत जनजाति रहेको र त्यसको नेतृत्व गर्ने कन्सुल जनरल चाहिं अन्य जातिको आउँदा मन दुखेको थियो । त्यो हिसाबले विगतमा हामीले आन्दोलन गर्‍यौं । तर  अहिले हाम्रो माग प्राप्ति भएको छ । त्यसकारण अब आन्दोलन स्थगित गर्छौं भन्नुभएको छ ।

    स्वाभाविक रूपमा यसले मलाई काम गर्ने हौसला मिलेको छ र यहाँहरूको साथ सहयोग प्राप्त हुनेछ भन्ने पनि मैले विश्वास लिएको छु । त्यसको अतिरिक्त; मैले कन्सुल जनरलका रूपमा भन्न नमिल्ला तथापि यहाँहरूले ९८ प्रतिशत जातिको प्रतिनिधित्व गर्ने कन्सुल जनरल फेरि पनि आवश्यक छ है भन्ने आवाज चाहिं सधैं बुलन्द राख्नुपर्छ । यसको लागि पनि आन्दोलनलाई निरन्तरता दिनुपर्छ । किनभने, मेरो कार्यकाल सकिएपछि फेरि पनि त्यसलाई निरन्तरता दिनका लागि यहाँहरू एकताबद्ध भएर नेपाल सरकारसमक्ष जानुभयो भने यो सुनुवाइ हुन्छ ।

    अहिले जनजाति महासंघको यो कार्यक्रममा सहभागी भइरहँदाखेरि हामीले देख्न सक्छौं– नेपालको जनसंख्याको अनुपातलाई हेर्दा १७ प्रतिशत क्षेत्री, १२ प्रतिशत ब्राह्मण, ५/७ प्रतिशत दलित छ बाँकी झन्डै ६२ प्रतिशत (मधेसमा बस्नेहरूलाई समेत गणना गर्ने हो भने) आदिवासी रहेको भन्न सक्छौं । यति ठूलो जनसंख्या ओगट्ने जनजातिको प्रतिनिधित्व खोइ कहाँ रह्यो त ? विगतमा पनि राज्यका हरेक तह र तप्कामा हाम्रो उपस्थिति नगण्य रह्यो । जसले गर्दा समावेशीको अवधारणा चाहियो भन्ने हिसाबले हिजो चाहे माओवादी आन्दोलन होस् वा त्यसपछि २०६२/०६३ को जनआन्दोलन होस्; यसको जनाधार भनेको स्वाभाविक रूपमा विभेद हो र यो समावेशीकरणको सिद्धान्तलाई अवलम्बन नगर्नु हो भन्ने बुझ्नुपर्छ ।

    नेपाल सरकारले ५८ जातजाति छन् भन्दै गर्दा; विगतको जनगणनालाई हेर्दा पनि १ सय २५ जातजाति रहेको देखिन्छ नेपालमा । १ सय २३ वटा भाषाभाषी छन् भन्ने तथ्याङ्क छ । यत्रो ठूलो विविधता भएको देशमा कुनै एउटा जातले मात्र प्रतिनिधित्व गर्दा न्याय हुँदैन ।

    जुन ठाउँमा जुन जातिको बाहुल्यता छ, त्यसैले प्रतिनिधित्व गरौं । जसले वर्गीय उत्पीडन भोगेको छ, त्यसैलाई शासन गर्न दियो भने उसले सही रूपले काम गर्छ भन्ने मान्यता जनआन्दोलन भाग–२ को उपलब्धिका रूपमा आएको अन्तरिम संविधान, २०६३ र त्यसकै आधारलाई टेकेर बनेको २०७२ सालको संविधानले आत्मसात् गरिसकेको छ । त्यसलाई हामीले कार्यान्वयन गर्ने पक्षमा लानुपर्छ । त्यो कार्यान्वयन गराउने काममा यहाँहरूको आवाज फेरि पनि आवश्यक छ । यहाँहरूको आवाज ‘हामीले प्राप्त गर्‍यौं अब सकियो’ भन्ने लाइनमा गयो भने हाम्रो उपस्थिति नगण्य हुन्छ ।

    यति धेरै जातजाति भएको देशमा हामीले समानुपातिक ढङ्गले राज्यबाट प्राप्त गर्नुपर्ने सुविधा प्राप्त गर्न सकेका छैनौं भन्ने तथ्य यहाँहरू समक्ष राख्न चाहन्छु ।

    विद्युतकै कुरा गरौं; विद्युतको पहुँचमा बाहुन/क्षेत्रीले ६१ प्रतिशत उपभोग गरेको पाइन्छ भने दलितले ३३ प्रतिशत, नेवारले ७३ प्रतिशत र जनजातिले ४६ प्रतिशत पाइरहेका छन् । भनेपछि विद्युत वितरण पनि समानुपातिक रहेनछ भन्ने तथ्याङ्कले देखाउँछ ।

    त्यसैगरी शौचालयको सुविधा हेर्ने हो भने; बाहुन/क्षेत्रीले ५२ प्रतिशत र जनजातिको घरमा जम्मा ३५ प्रतिशत मात्र शौचालय बनेको देखिन्छ ।

    त्यस्तै; बाहुन/क्षेत्रीका ७७ प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको व्यवस्था छ भने जनजातिकोमा ६० प्रतिशत छ ।

    त्यसैगरी टेलिभिजन, मोबाइलको पहुँच ब्राह्मण/क्षेत्रीकोमा ३५ प्रतिशत छ भने जनजातिमा २५ प्रतिशत छ । दलित जातिले जनजातिभन्दा कम पहुँच पाएको अवस्था छ ।

    पेशागत रूपमा हेर्दा; डाक्टरमा ब्राह्मण/क्षेत्रीको २८ प्रतिशत र जनजातिमा १६ प्रतिशत रहेको छ । त्यस्तै; नर्समा २८ प्रतिशत ब्राह्मण/क्षेत्री र १७ प्रतिशत जनजाति छन् ।

    तथ्यले के देखाउँछ भने विविधता व्यवस्थापनको पक्षमा लागेको हाम्रो संविधानलाई ठूलो चुनौती छ । यस्तो किसिमले असमावेशी बनेको हाम्रो समाजलाई समावेशी बनाउनका लागि पनि यस किसिमको आन्दोलनको आवश्यकता छ । यो निरन्तर रहनुपर्छ । राज्यको मूल कानूनले एक किसिमको व्यवस्था गरिसकेको र त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउने सवालमा विभिन्न जातजातिको पहलकदमी र खबरदारी हुनुपर्छ । यसका लागि यहाँहरूले पहल गर्दै आउनुभएको छ । यहाँहरूको पहलमा मेरो ऐक्यबद्धता रहेको जानकारी गराउन चाहन्छु ।

    यसो हुँदैगर्दा; यहाँहरूले हङकङमा नेपालीहरूले भोगेका समस्याहरू राख्नुभएको छ, कन्सुलेट जनरलले गर्नुपर्ने काममा पनि सुझाव दिनुभएको छ । यहाँहरूको सल्लाह, सुझावलाई मैले ग्रहण गरें । त्यसलाई सम्बोधन गर्नका लागि यहाँहरूको साथ चाहिन्छ नै । यहाँहरू हङकङमा बीसौं, तीसौं वर्ष बसेर यहाँको रहन–सहन र सरकारको विधि प्रक्रियाबारे जानकार हुनुहुन्छ । त्यसअर्थमा यहाँहरूले कार्यान्वयनका क्रममा हामी साथ छौं भन्नुभएको छ । यसमा यहाँहरूलाई साधुवाद छ ।

    यहाँहरूको सहयोग र साथविना कन्सुलेट जनरलले दिने सेवा सुविधा प्रभावकारी बनाउन सकिदैंन । त्यसैले यहाँहरूलाई भन्न चाहन्छु– यहाँहरूले कन्सुलेट जनरल अफिसबाट प्राप्त गर्ने सेवामा कठिनाइ भयो भने जतिवेला पनि मेरो कार्यकक्षमा वा फोन गरेर आफ्नो समस्या राख्नका लागि पनि विशेष अनुरोध गर्दछु ।

    यहाँहरूले भोगेका समस्या मसम्म नआइपुग्दा ‘मिस अन्डरस्ट्यान्डिङ’ हुने समस्या हुन्छ । त्यसैले मसँग सम्पर्क गरेर समस्या राख्न सक्नुहुनेछ ।

    हङकङमा हाम्रो जनसंख्या टप ५ मा पर्दोरहेछ । हामी जति नेपाली छौं यहाँ, संयुक्त रूपमा आफ्ना मागहरू राख्यौं भने त्यो पूरा गर्न सकिन्छ । आ–आफ्नो जातजाति, समुदायमा एकता भए पनि समग्रतामा हामी नेपाली हौं । यहाँ गरेका तपाईंका हरेक गतिविधिले नेपालको प्रतिनिधित्व गर्छ । यहाँ राम्रो गर्नुभयो भने नेपालीले राम्रो गरेको हुन्छ र नराम्रो गरे नेपालीले नराम्रो गरेको हुन्छ । हामी जाति, जनजातिभन्दा पहिला नेपाली हौं, त्यसपछि मात्र जाति, जनजाति हौं ।

    कन्सुलेट जनरल सधैं तपाईंहरूको साथमा रहनेछ । यहाँहरूले शुभकामनाको भारी बोकाइरहँदा ममाथि ठूलो चुनौती छ । बढी अपेक्षा मसँग राख्नुभएको छ । मैले बडो सुझबुझका साथ काम गर्नुपर्ने छ । त्यसका लागि यहाँहरूको साथ सहयोग आवश्यक छ । यहाँहरूले गर्नुभएको यो स्वागतका लागि हार्दिक धन्यवाद ।

    (जनजाति महासंघ, हङकङले आयोजना गरेको स्वागत कार्यक्रममा महावाणिज्यदूत उदयबहादुर राना मगरद्वारा व्यक्त विचार)

  • कमेन्ट गर्नुहोस्