इलामदेखि अमेरिका, लण्डन हुँदै हङकङसम्म
![](https://everestkhabar.com/wp-content/uploads/2018/10/Dambarkrishna-Shrestha.jpg)
![](https://everestkhabar.com/wp-content/uploads/2021/04/Cover-photo_Prrem-Phyak_March-2021.jpg)
नेपालको इलाम, लुम्देका प्रेम फ्याक त्रिभुवन विश्व विश्वविद्यालयबाट मास्टर्स डिग्री सकेपछि अर्को मास्टर डिग्रीका लागि लण्डन गए । त्यहाँबाट नेपाल फर्किएर केही वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाए । त्यसपछि पीएचडी गर्न युनिभर्सिटी अफ हवाईमा गएका उनी फर्किएर फेरि त्रिविमै प्राध्यापन गर्न थाले । भाषा, समाज र शिक्षाका विषयमा अनुसन्धान समेत गरिरहेका उनी ६ महिनायता भने चाइनिज युनिभर्सिटी अफ हङकङमा सहायक प्रोफेसरका रूपमा छन् ।
चाइनिज युनिभर्सिटीले विश्वव्यापी रूपमा ‘जब अनाउन्समेन्ट’ गरेको देखेपछि उनले पनि एप्लाई गरेका थिए । “मेरो अनुसन्धान भाषा, समाज र शिक्षासँग जोडिएको हुनाले मलाई यो विषयमा चासो थियो । उहाँहरूले त्यस्तै मान्छे खोजिरहनुभएको रहेछ,” फ्याक भन्छन्, “उहाँहरूले सहयोग गर्नुभयो अनि मैले अवसर पाएँ । अहिले भाषा समाज र शिक्षाकै विषयमा अध्ययन, अनुसन्धान र अध्यापन गरिरहेको छु ।’
उनी हङकङ आउँदा लकडाउन थियो । २ हप्ता क्वारेन्टिनमा बित्यो, त्यसपछि युनिभर्सिटीको काम अनलाइनबाटै भयो । बीचमा केही खुकुलो भएपछि विश्वविद्यालयमा जान थाले । अहिले पनि पढाउने, अनुसन्धान गर्ने कामहरू सबै अनलाइन नै छ । त्यसबाहेक उनी नेपाली समाजमा आफूले गरेका कामहरू के–कसो भन्नेमै बिताइरहेका छन् । भन्छन्, “तर त्यति धेरै एक्स्प्लोर गर्न पाएको छैन ।”
इलामदेखि अमेरिका, लन्डन होस् या हङकङसम्म आइपुग्दा उनलाई नेपालकै भाषा, संस्कृति र शिक्षाको अध्ययन गर्न मन लाग्छ । उनी सन् २००९ तिर लण्डन पुग्दा त्यति धेरै नेपाली थिएनन् । तर पनि उनले नेपाली समुदायलाई भेटे, घुलमिल भएर अध्ययन गरे । उनी भन्छन्, “नेपालीहरू भेट्दा गाउँमै गए जस्तो लाग्थ्यो । प्रायः नेपाली ब्रिटिस आर्मीहरू भेटिन्थ्यो । बिदाको समयमा नेपाली समाजमा गएर भेटघाट गर्न मज्जा लाग्थ्यो ।”
त्यसपछि अमेरिका जाँदा हवाईमा त्यति धेरै नेपाली थिएनन् । सानो समूह भए पनि त्यहाँका नेपालीहरूको युनिटी राम्रो थियो । नेपाली चाडपर्वहरू मनाउने कार्यक्रम हुन्थ्यो । त्यहाँ पनि नेपालीहरूबीचमा घुलमिल हुन मज्जा लाग्थ्यो उनलाई । यसरी नै ५ वर्ष बिताए हवाईमा । जहाँ पुगे पनि उनको अध्ययनको विषय नेपालसँग सम्बन्धित रहेकोले सहजै भयो । भाषा, समाज र शिक्षा— यी तीन कुरा कसरी एक अर्कामा जोडिएका छन् भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान गरिरहेका छन् उनी । “भाषाले; हाम्रो पहिचान, संस्कृति, ज्ञान निर्माणका कुरा, हामी को हौं भन्ने कुरा, आदिको पहिचान देखाउँछ, भन्छन्, “हामीले प्रयोग गर्ने भाषा, बोल्ने तरिकाले पहिचान निर्माण हुन्छ । भाषाले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । कहिले भाषा प्रयोग गर्न नसकेर, कहिले भाषा प्रयोग गर्ने तरिकाले प्रभाव पर्छ ।”
उनको अध्ययनको विषय नेपालको भाषा नीति कसरी निर्माण हुन्छ, त्यसलाई मान्छेले कसरी व्याख्या–विश्लेषण गर्छन् र शिक्षामा अल्पसंख्यक, आदिवासी जनजातिले बोल्ने भाषाको स्थिति के छ जस्ता कुरामा केन्द्रित छ ।
भाषा नीति सरकारले मात्र होइन, एउटा स्कूलले पनि बनाउन सक्छ, समाजले बनाउन सक्छ । नेपालको भाषा नीतिले खस नेपाली मातृभाषी बाहेकका आदिवासी जनजाति समुदायका विद्यार्थीले कस्तो महसूस गर्दा रहेछन् ? उनीहरूले खस नेपाली र अंग्रेजीलाई कसरी लिंदा रहेछन् । आफ्नो मातृभाषा प्रयोग गर्न नपाउँदा ज्ञान निर्माणमा कस्तो प्रभाव पार्छ भन्ने नै उनको अध्ययनको चुरो हो ।
उनको हालसम्मको अध्ययनले नेपालमा अझै पनि एकल भाषिक सोच छ भन्ने देखाउँछ । नेपालको संविधानले बहुभाषिक देश, मातृभाषा प्रयोगको अधिकारको परिकल्पना गरेको छ । भाषाको हिसाबले कुनै पनि नागरिकलाई विभेद गर्न पाइने छैन भन्ने छ तर अझै पनि स्कूलहरूको अभ्यास हेर्ने हो भने एकल भाषिक चिन्तनको प्रभाव रहेको उनी बताउँछन् । “जहाँ नेपाली भाषा कम बोल्ने छन् त्यहाँ एकल भाषिक नीति प्रयोग गरिन्छ भने त्यसले सिकाइमा त असर पर्ने नै भयो, विद्यालयप्रतिको अपनत्व पनि कम हुन्छ,” फ्याक निष्कर्ष सुनाउँछन् ।
सन् २००५ देखि हङकङमा नेपालीलाई वर्किङ र शैक्षिक भिसा बन्द छ । उसोभए फ्याक कसरी यहाँ आइपुगे त ? धेरैलाई अचम्मको विषय हुन सक्ला । तर अचम्म मान्नुपर्दैन, उनी अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा हङकङ आएका हुन् । युनिभर्सिटीले अन्तर्राष्ट्रिय रूपमा ‘जब अनाउन्समेन्ट’ गरेपछि उनले आवेदन दिएका थिए । त्यसपछि सर्ट लिष्ट गरेर उनलाई बोलाइएको हो । उनी भन्छन्, “यहाँ आएर मैले रिसर्च प्रेजेन्टेसन गरें । उहाँहरूको इन्टरभ्यु प्यानल छ त्यसले मलाई छान्यो ।”
हङकङका लागि उनले आवेदन दिनुको मुख्यकारण यहाँ नेपालीहरू धेरै रहेकोले पनि हो । यहाँ नेपालीहरू धेरै पहिलादेखि बसेको इतिहास छ । त्यसैले उनलाई यहाँ एक किसिमको रमाइलो लाग्छ । युनिभर्सिटीको उनको डिपार्टमेन्टमा नेपाली विद्यार्थी भने छैनन् । त्यसो हुनुको कारण युनिभर्सिटीको नीति मुख्य रहेको उनको बुझाइ छ । अन्यतिर पढ्नका लागि सबै कुरा विद्यार्थीले एप्लाई गर्ने गर्छन् तर यहाँ सबै युनिभर्सिटीले नै गर्ने हुँदा नेपाली विद्यार्थी कम भएको उनको भनाइ छ ।
हुन त सन् १९९७ यता हङकङमा बसेका नेपालीहरूका यहीं जन्मिएर युनिभर्सिटी जाने उमेर पुगिसकेका सन्तान पनि धेरै छन् । तर, उनीहरू पनि किन जाँदैनन् त ? एउटा गम्भीर प्रश्न उठ्छ । फ्याक भने यसलाई विभिन्न कोणबाट हेरिनुपर्ने तर्क गर्छन् । “धेरैले बुवा–आमाले जे गर्नुभएको थियो त्यही गर्ने भन्ने सजिलो उपाय खोज्छन् । साथै, युनिभर्सिटी गएर अझ राम्रो गर्नुपर्छ भन्ने मार्गनिर्देश गर्ने कल्चर नभएर पनि हुन सक्छ,” उनको अनुमान छ ।
नेपालमा खस नेपाली भाषाले अन्य मातृभाषालाई पारेको असरबारे अध्ययन गरेका उनलाई हङकङमा भने यहाँको नयाँ पुस्ताले नेपाली भाषा नै नबुझ्लान् भन्ने चिन्ता छ । भन्छन् “हामीले चाइनिज, अंग्रेजी भाषा जान्नुपर्छ । यसको मतलब आफ्नो मातृभाषा, नेपाली भाषा बिर्सनु पनि भएन । यसको पनि महत्व छ ।”
हङकङमा संसारमै नाम चलेका स्कूल र युनिभर्सिटी छन् । यहाँ संसारभरका विद्यार्थी आइरहेका छन् । नेपाली विद्यार्थीलाई पनि मोटिभेसन गरेर यस्ता स्कूल र युनिभर्सिटीमा पढाउन सके राम्रो हुने उनको बुझाइ छ । भन्छन्, “मुख्य कुरा अहिलेको पुस्तालाई यस्तै गर भन्न सक्ने अवस्था छैन । उनीहरूको मनोभावना बुझेर खुला छलफल गरेर अघि बढ्नुपर्छ ।”
बच्चाहरूको मनोविज्ञान बुझेर उनीहरूसँग अन्तरक्रिया गर्नुपर्ने भए पनि यहाँ सबै अभिभावक व्यस्त भएर त्यो अन्तरक्रिया कम भएको हो कि जस्तो लाग्छ उनलाई । उनी आफूलाई भने जानेको कुरा शेयर गर्न मज्जा लाग्छ । पढाउन, सिकाउन मन लाग्छ ।
हङकङ आएपछि उनको दैनिकी रिसर्च र पढाउनमा बितिरहेको छ । त्यसमा पनि अहिले पढाउनमै बढी समय जाने गरेको छ । पढाउनका लागि गर्नुपर्ने तयारीमा पनि उत्तिकै समय खर्च हुन्छ । रिसर्च उनको रुचिको विषय हो । उनले यहाँका स्कूलहरूमा भाषाका कारणले गर्दा इथ्निक माइनोरिटिजहरूको सिकाइमा कस्तो प्रभाव परेको छ भन्ने तीन/चार महिनाको रिसर्च गर्ने छन् ।
फ्याकलाई समाजमा घुलमिल हुन, घुम्न, हाइकिङ जान साह्रै मन पर्छ तर कोभिडले गर्दा सजिलो छैन । समुन्द्रभन्दा उनलाई यहाँका पहाडले आकर्षित गर्छन् । चिनजानका साथीहरूसँग गफ गर्न बाहेक दिन–रात पढ्ने, पढाउने काममा व्यस्त उनी शिक्षासम्बन्धी कुनै जानकारी लिनुपरे आफूलाई सम्पर्क गर्न पनि नेपाली समुदायलाई आग्रह गर्छन् ।
कमेन्ट गर्नुहोस्
![](https://i0.wp.com/everestkhabar.com/wp-content/uploads/2018/08/Fruitful-Consultancy-1.gif?fit=1140%2C200&ssl=1)