• महावाणिज्यदूतावासलाई एनआरएनएको सुझाव

    नेपाल एयरलायन्सप्रति चर्को असन्तुष्टि

    महावाणिज्यदूत उदयबहादुर राना मगरलाई सुझावपत्र पेश गर्ने क्रममा एनआरएनए अध्यक्ष राधिका गुरुङ । तस्बिर सौजन्यः एनआरएनए ।
  •  

    अप्रिल १६ । गैर–आवासीय नेपाली संघ–एनआरएनए हङकङले भर्खरै सम्पन्न अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सुझावको रुपमा नेपाली महावाणिज्यदूतावासमा पेश गरेको छ । सुझावपत्र संघकी अध्यक्ष राधिका गुरुङले महावाणिज्यदूत उदयबहादुर राना मगरलाई बुझाएकी हुन् ।

    छ बुँदे सुझावपत्रमा नेपालको पर्यटन क्षेत्रको पूर्वाधारमा सुधार, नेपाल एयरलायन्सको सेवा सुविधामा सुधार, सामुहिक लगानीमा जोड, अवैधानिक रुपमा हुने रेमिटान्सको माध्यममा नियन्त्रण, वैदेशिक लगानी प्रोत्साहनमैत्री कानुन र गैर–आवासीय नेपाली नागरिकता ऐनको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उल्लेख गरिएको छ ।

    बुँदा नं. २ मा “पर्यटन प्रवर्द्धनमा नेपाल वायुसेवा निगमको भूमिका महत्वपूर्ण रहे पनि हङकङबाट यसले उपलब्ध गराउने सेवा–सुविधा सन्तोषजनक नरहेको, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित चेक इन काउण्टरमा हुने अस्वभाविक गतिविधि बन्द गर्न र दूरीको हिसाबले अन्य गन्तव्यको तुलनामा हङकङ–काठमाडौंको हवाई भाडा अत्याधिक रहेकोले समीक्षा गर्न आवश्यक रहेको छ ।” उल्लेख गरिएको छ ।

    मे ८ का दिन ब्लु ओसन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा स्थानीय प्रमुख नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरुले नेपाल एयरलायन्सको सेवा–सुविधालाई लिएर चर्को आलोचना गरेका थिए । उनीहरुले विशेष गरेर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अस्वभाविक गतिविधि बन्द गरिनु पर्नेमा जोड दिएका थिए ।

    अन्तरक्रियाका सहभागी नेपाली समाजका अध्यक्ष इन्द्र वनेमले लगभग दुई सयवटा एयरलायन्यको चेक इन काउण्टर रहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल र इथोपियाको कन्ट्रि म्यानेजरमात्र देखिने गरेको बताएका थिए । उनले कन्ट्रि म्यानेजरकै उपस्थितिमा अवैधानिक क्रियाकलाप हुने गरेको र त्यसले नेपाल एयरलायन्सलाई करोडौ घाटा भइरहेको दावी गरेका थिए ।

    आलोचनाको उत्तर दिन नेपाल एयरलायन्सका कन्ट्रि म्यानेजर नवराज उपाध्याय आक्रामक रुपमा प्रस्तुत भएपछि स्थिति तनावपूर्ण बनेको थियो । आयोजकहरुले यस विषयमा छुट्टै कार्यक्रमको आयोजना भविष्यमा गरिने छ भन्दै स्थितिलाई सम्हालेका थिए । “पहिलेका कन्ट्रि म्यानेजरजस्तो होइन नवराज उपाध्याय ।” भन्दै कन्ट्रि म्यानेजर गैर जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत भएका थिए ।

    आक्रामक रुपमा प्रस्तुत हुदै नेपाल एयरलायन्सका कन्ट्रि म्यानेजर नवराज उपाध्याय । तस्बिरः जगत गुरुङ ।

    कार्यक्रममा ढिलो गरी पुगेका कन्ट्रि म्यानेजर उपाध्याय रेष्टुरेन्टको बारमा एयरपोर्ट जाने दलालहरुसंग बसिरहेका देखिन्थे । नेपाल एयरलायन्स सम्बन्धी जिज्ञासा र असन्तुष्टि प्रस्तुत हुन थालेपछि उनी कार्यक्रम स्थलमा प्रवेश गरेका थिए । जवाफ दिने क्रममा उनले केन्द्रीय कार्यालयले नै यात्रुको सेवा र सुविधाका लागि चेक इन काउण्टरमा बस्नु भनेको भन्दै प्रतिवाद गरेका थिए ।

    ७२ जनाको उपस्थिति रहेको कार्यक्रममा प्रश्नोत्तरको रुपमा सर्वेक्षण गरिएको थियो । एनआरएनएका उपाध्यक्ष किसन राईका अनुसार प्रश्नोत्तरमा रहेका नेपाल एयरलायन्स सम्बन्धी पाँच प्रश्नका जवाफ शतप्रतिशत नकरात्मक रहेका छन् । ती प्रश्नका जवाफ ‘सन्तोष गर्न लायक छैन’ र ‘खराब छ’ रहेका छन् ।

    एनआरएनए अध्यक्ष राधिका गुरुङका अनुसार कार्यक्रमको निमन्त्रणा दिने क्रममा नै कन्ट्रि म्यानेजर उपाध्यायले असन्तुष्टि व्यक्त गरेका थिए । एनआरएनएले सार्वजनिक रुपमा नेपाल एयरलायन्सको बेइज्जत गर्न लागेको बजारमा हल्ला छ भन्दै कार्यक्रमको रुपरेखाको बारेमा प्रश्न गरेको अध्यक्ष गुरुङ बताउछिन् ।

    करिव दुई वर्षदेखि कन्ट्रि म्यानेजरका रुपमा कार्यरत नवराज उपाध्याय नेपाली समुदायको सार्वजनिक कार्यक्रममा विरलै उपस्थित रहने गरेका छन् । जब कि यो भन्दा अघिका कन्ट्रि म्यानेजरहरु अधिकांश सार्वजनिक कार्यक्रममा उपस्थित हुने गरेका थिए । उनी प्राय एयरपोर्टको चेक इन काउण्टरमा झुम्मिने दलालहरुसंग देखिइने गरेकाछन् । उनले समाजमा दादा भनेर चिनिनेहरुसंग फोटो खिचेर केही क्षणका लागि फेसबुकमा सेयर गर्ने गरेका स्क्रिन सटहरु एभरेष्टखबरलाई प्राप्त भएका छन् ।

    सुझावपत्र पेश गर्न महावाणिज्यदूतावास पुगेको एनआरएनए प्रतिनिधि मण्डल । तस्बिर सौजन्य: एनआरएनए ।

  • कमेन्ट गर्नुहोस्