• कोरोना कहर : हङकङबाट नेपाललाई सहयोग

    एनआरएनए समूह कन्सुलेट जनरलमा सहजिकरणका लागि पत्र हस्तान्तरण गर्दै । तस्बिर सौजन्यः एनआरएनए हङकङ ।
  • कोरोनाभाइरस (कोभिड–१९)को दोश्रो लहरसंगै नेपालमा उत्पन्न विषम परिस्थितिमा हङकङबाट पोर्टेबल भेन्टिलेटर, अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटरलगायका स्वास्थ्य सामग्री पठाइन थालिएको छ ।

    बेनी अस्पताललाई पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गर्दै जीसीटी नेपाल समूह । तस्बिर सौजन्यः जीसीटी ।

    गोर्खा सिमेट्रिज ट्रस्टले ५० थान पोर्टेबल भेन्टिलेटर पठाइसकेको छ । ट्रस्टका सचिव अमोद राईका अनुसार उक्त सामग्री स्वास्थ्य मन्त्रालय नेपालको समन्वयमा आवश्यकता अनुसार विभिन्न अस्पताललाई प्रदान गरिएको छ ।

    गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले ५० थान अक्सिजन कन्सन्ट्रेटर पठाइसकेको छ । उक्त सामग्रीको भन्सारलगायतका लागि सहजिकरणका लागि कन्सुलेट जनरलबाट सम्बन्धित निकायमा सिफारिस गरिसकिएको छ । चीनको स्थलमार्गबाट पठाइएको उक्त सामग्री यसै साता नेपाल पुग्ने अध्यक्ष राधिका गुरुङले जानकारी गराएकी छन् ।

    एनआरएनएले उक्त अक्सिजन कन्सन्ट्रेटर गण्डकी प्रदेशका लागि १५, कर्णाली प्रदेशका लागि १० र अन्य पाँच प्रदेशलाई ५–५ थानका दरले पठाएको हो । अध्यक्ष गुरुङका अनुसार उक्त सामग्रीका लागि नेपाली समुदायका संघ–संस्था र व्यक्तिगत सहयोग संकलन भइरहेको छ ।

    एनआरएनएले नेपाल पठाएको अक्सिजन कन्सन्ट्रेटर । तस्बिर सौजन्यः एनआरएनए हङकङ ।

    अमरधन मेमोरियल फाउण्डेसनकोतर्फबाट ४ सय ५० थान अक्सिजन सिलिण्डर पठाइएको छ । फाउण्डेसनका संस्थापक त्रिलोक गुरुङका अनुसार ती सामग्री एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत आवश्कता अनुसार प्रदान गरिने छ । उक्त सामग्रीका लागि स्थानीय धनाढ्य सिन होतुङले सहयोग गरेको गुरुङले बताएका छन् ।

    अमरधन मेमोरियल फाउण्डेसनले नेपाल पठाएको अक्सिजन सिलिण्डर । तस्बिर सौजन्यः एडीएमएफ ।

    हङकङ नेपाली महासंघले पनि अक्सिजन कन्सन्ट्रेटरका लागि संयोजन गरिरहेको छ । अध्यक्ष टंक रानाका अनुसार नेपालका सतहत्तरै जिल्लामा सहयोग पुर्याउने योजना रहेको छ । यसका लागि पहिलो खेपमा एक सय थान आज–भोलि नै पठाउँन लागिएको छ । थप एक सय थान अर्डर भइसकेको पनि उनले जानकारी गराएका छन् ।

    त्यसै गरी वि विल राइज फाउण्डेसनले पनि सहयोगको लागि पहल गरिरहेको छ । फाउण्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङका अनुसार ५० थान अक्सिजन कन्सन्ट्रेटर पठाउँने तयारी भइरहेको छ । उनले उक्त सामग्री कन्सुलेट जनरलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी गराएका छन् ।

    कन्सुल जनरल उदयबहादुर रानामगरले हङकङबाट भइरहेको सहयोगको सह्राना गर्दै निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार कन्सुलेट जनरलमा जानकारीसहित सहयोग नेपाल पठाउँन सके हङकङको योगदान संयुक्त र औपचारिक रुपमा देखिने थियो जसले समग्र समुदायको मूल्यांकन हुने छ ।

    कन्सुल जनरल रानामगरका अनुसार नेपालमा कोभिड–१९को दोश्रो लहर नियन्त्रणको अवस्थामा रहेको र संक्रमण घट्दो रहेकोले तात्कालिक भन्दा दीर्घकालिक र बहुउपयोगी सामग्री सहयोग आवश्यक रहेको छ । उनले आईसीयू बेडलगायतका सामग्रीमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्