खोपको मात्रा पूरा गरेकालाई क्वारेन्टिन खुकुलो बनाइँदै
अन्तरसीमा यात्रा प्राथमिकतामा
एभरेष्टखबर
June 23, 2021
जोखिम कम भएका स्थानबाट हङकङ आउने र खोपको मात्रा पूरा गरेका यात्रुले जून ३० देखि सात दिन मात्रै क्वारेन्टिन बस्नुपर्नेछ । तर कोरोनाभाइरस एन्टिबडी परीक्षण पोजिटिभ हुनुपर्छ । यो नियम शुरूमा हङकङवासीलाई लागु हुनेछ । चीन र मकाउ यात्रामा गरिएको कडाइ पनि खुकुलो बनाउनेबारे सरकारले विचार गरिरहेको छ ।
मुख्य बुँदाहरू:
- जोखिम न्युन भएका देश वा स्थानबाट आउने र खोपको मात्रा पूरा गरेका यात्रुको कोरोनाभाइरस परीक्षण नेगेटिभ र एन्टिबडी पोजिटिभ आए क्वारेन्टिनको अवधी घटाएर सात दिन बनाइनेछ। यो नियम चाँडोमा जून ३० देखि लागु हुनेछ ।
- खोपको मात्रा पूरा गरेका कर्मचारी हुने रेस्टुरेन्ट पूर्ण क्षमतामा सञ्चालन हुनसक्छन् । तर दुई तिहाइ ग्राहकले खोपको कम्तिमा एक मात्रा लगाएको हुनुपर्नेछ ।
- बार, पब, पार्टी रूम र काराओके लाउञ्जमा एक टेबल वा कोठामा धेरै व्यक्ति बस्न पाउनेछन् ।
- धार्मिक भेला, विवाह, व्यावसायिक बैठक र स्थानीय टुरमा धेरै व्यक्ति सहभागी हुन पाउनेछन् । कम्तिमा दुई तिहाइ सहभागीले खोपको पहिलो मात्रा लगाएको खण्डमा पूर्ण क्षमतामा कार्यक्रमहरू आयोजना गर्न पाइनेछ ।
- मकाउका अधिकारीसँग यात्राको नियम खुकुलो बनाउनेबारे छलफल भइरहेको छ । चीनसँग पनि चाँडै शुरू हुनेछ ।
नयाँ नियम घोषणा गर्दै मकाउका अधिकारीसँग वार्ता शुरू भएको कार्यकारी प्रमुख क्यारी लामले सोमबार बताइन् । कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लागु गरेको कडा नियमले व्यापार‑व्यवसाय प्रभावित छन् । मूलभूमि चीनसँग झण्डै डेढ वर्षदेखि बन्द सीमा खुलाउनेबारे पनि केन्द्र सरकारसँग सम्पर्कमा रहने उनले बताइन् ।
हङकङका समकक्षीसँग सोमबार भएको भिडियो बैठकपछि मकाउका अधिकारीले २८ दिनसम्म स्थानीय सङ्क्रमण शुन्य रहे हङकङबाट आउनेले क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्न सकिने बताए । योजनालाई चरणबद्ध र तोकिएको कोटा अनुसार लागु गर्न सकिने उनीहरूले बताए ।
हङकङ सरकारले बिहीबारदेखि भौतिक दुरीसम्बन्धी नियम पनि खुकुलो बनाउदैछ । रेस्टुरेन्ट, बार र पबजस्ता स्थान तथा धार्मिक र विवाहका कार्यक्रमदेखि स्थानीय टुरमा अबदेखि धेरै व्यक्ति सहभागी हुन पाउनेछन् । केहि भने पूर्ण क्षमता पनि सञ्चालन हुनेछन् । तर दुई तिहाइ सहभागीले कम्तिमा एक मात्रा खोप लगाएको हुनुपर्नेछ ।
निरन्तर १४ दिनसम्म स्थानीय सङ्क्रमण शुन्य रहेसँगै यस्तो नियम घोषणा गरिएको हो। दिउँसो भएको प्रेस सम्मेलनमा लामले यसलाई उल्लेखनीय दिन बताइन् । तर बेलायतबाट दुई जना र इन्डोनेसियाबाट आएका एक जनालाई कोरोनाभाइरस देखिएको छ।
स्वास्थ्य सचिव सोफिया चानले भनिन्,“ अन्तर्राष्ट्रिय अनुभवका आधारमा पनि सामाजिक दुरीका सबै नियम एकै पटक खुकुलो बनाउँदा, महामारी फेरि बढ्नसक्छ ।”
खुकुलो बनाइएको क्वारेन्टिनसम्बन्धी नियम दुई चरणमा लागु गरिने लामले बताइन् । यसका लागि यात्रुले खोपको मात्रा पूरा गरेको कम्तिमा १४ दिन हुनुपर्नेछ । कोरोनाभाइरसको परीक्षण नेगेटिभ र एन्टिबडी परीक्षण पोजिटिभ हुनुपर्नेछ ।
“पहिलो चरण हङकङवासीका लागि उपयुक्त हुनेछ। खोपको दुवै मात्रा लगाउनेले एन्टिबडी पोजिटिभ भए‑नभएको पत्ता लगाउन मान्यताप्राप्त प्रयोगशाला वा निजी अस्पताल गएर सेरोलोजी परीक्षण गर्न सक्नेछन्,” यात्राका लागि आवश्यक तयारीबारे लामले बताइन्।
“परीक्षण गरेको तीन महिनाभित्र फर्किने र सेरोलोजी परीक्षण पोजिटिभ भएका हङकङवासी क्वारेन्टिन होटेलमा सात दिन बस्न सक्नेछन् ।”
नयाँ योजना चाँडोमा जून ३० देखि शुरू हुने अपेक्षा गरिएको छ । गैर‑हङकङवासी लक्षित दोश्रो चरण त्यसको एक महिनापछि शुरू गर्ने अधिकारीहरूको लक्ष्य छ । उनीहरूले पनि हङकङ आएपछि एन्टिबडी टेस्ट गर्नुपर्नेछ ।
वित्तिय क्षेत्र र सूचिकृत कम्पनीका योग्य व्यक्तिका लागि क्वारेन्टिन छुट एक आवश्यकताका रूपमा सरकारले सेरोलोजी परीक्षण लागु गर्नेछ ।
विमानस्थलमा कोभिड‑१९ परीक्षणको नतिजा पर्खिदै गर्दा यात्रुको रगत पनि परीक्षण गरिने लामले बताइन् । नेगेटिभ भए क्वारेन्टिन होटेल जानेछन् । अर्को दिन सेरोलोजी परीक्षणको नतिजाबारे जानकारी गराइनेछ । एन्टिबडी परीक्षण पोजिटिभ भए उनीहरूले सात दिनपछि होटेल छाड्न पाउनेछन् ।
एन्टिबडी परीक्षणले अन्तर्राष्ट्रिय यात्रुले खोप लाए‑नलाएको थाहा हुने र नक्कली नेगेटिभ पनि पत्ता लगाउन सहयोग पुग्ने महाव्याधिसम्बन्धी सरकारी सल्लाहकारहरूले यसअघि नै बताएका थिए ।
विदेशबाट आउनसक्ने जोखिम मुल्याङ्कन र अनुगमनका लागि सरकारले तयार गरेको पाँच तहको प्रणाली अन्तर्गत जोखिम उच्च भएका वा समूह बी र मध्यम जोखिम भएका समूह सीमा पर्ने देशका यात्रुका लागि यो व्यवस्था लागु हुने एउटा सरकारी वक्तव्यमा उल्लेख छ । औपचारिक रूपले ताइवानलाई समूह बीमा राखिएको छैन । तर हङकङ प्रवेशका लागि यहि लागु गरिएको छ ।
समूह बीमा हाल क्यानडा, जापान, बेलायत, सिंगापुर र अमेरिकासमेत २९ देश छन् । चीनबाहिर कुनै पनि समूहमा नराखिएका सबैलाई मध्यम जोखिम भएको देश भनेर वर्गिकरण गरिएको छ ।
सेरोलोजी परीक्षण सेवा उपलब्ध गराउने मान्यताप्राप्त प्रयोगशालाको सूची र विमानस्थलमा उपलब्ध सेवाबारे उचित समयमा घोषणा गरिने सरकारले बताएको छ । परीक्षणको खर्च यात्रु स्वयंले बेहोर्नुपर्नेछ ।
सात दिनपछि क्वारेन्टिनबाहिर जान स्वीकृति पाएका व्यक्तिले पुरै १४ दिनको शुल्क तिर्नु नपरोस् भनेर पर्यटन कमिशनरलाई हस्टिप्यालिटी क्षेत्रसँग वार्ता शुरू गर्न लगाएको लामले बताइन् । यस्तो लचकता स्वीकार्य हुने सम्भावना भएको उनको भनाइ छ ।
यद्यपि एन्टिबडीको न्युनतम मात्राबारे उनले केहि खुलाएकी छैनन् । यसको उत्तर वैज्ञानिक विशेषज्ञले दिने उनले बताइन् ।
सरकारले नै गरेको एउटा अध्ययन अनुसार बायोएनटेकको तुलनामा सिनोभ्याक लगाएका केहि स्थानीयमा एन्टिबडीको मात्रा “उल्लेखनीय” रूपमा कम देखिएको समाचार पोस्टले शनिबार छापेको थियो ।
“मैले एन्टिबडी परीक्षण गरे र पोजिटिभ पनि देखियो । मैले सिनोभ्याक लगाएको थिएँ । मेरो एन्टिबडी मात्रा एकदमै पर्याप्त हुने भनिएको थियो ।” उनले भनिन् ।
खोप लगाउन अयोग्य ठहरिएका बालबालिका योजनामा समावेश हुन्छन् कि भन्ने जिज्ञासामा अधिकारीहरूले सम्भावनाको अध्ययनलाई निरन्तरता दिने र पछि प्रतिक्रिया दिने बताए ।
“यो यस्तो महत्त्वपूर्ण विवरण हो जसको परीक्षण हामीले गर्नुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ,” लामले भनिन् ।
हङकङको खोप कार्यक्रम अन्तर्गत १२ वर्षसम्मका बालबालिकाले जर्मनीमा बनेको बायोएनटेक लगाउन सक्छन् । चीनमा बनेको सिनोभ्याक १८ वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै उपलब्ध छ ।
आमाबाबुले क्वारेन्टिनमा सात दिन मात्रै बिताउनुपरे पनि खोप लगाउन नमिल्ने बालबालिका विदेशबाट फर्किदाँ होटेल क्वारेन्टिन पुरै बस्नुपर्नेछ । अनिवार्य क्वारेन्टिन अवधिभर आमाबाबु बालबालिकासँगै बस्न सक्नेछन् ।
युनिभर्सिटी अफ हङकङका माइक्रोबायोलोजिस्ट डा. हो पाक‑ल्योङ एन्टिबडीको न्युनतम मात्रा तय गर्नुपर्नेमा सहमत छन् । यसो गर्दा भिन्न‑भिन्न परीक्षण विधिले एउटै नतिजा दिएको सुनिश्चित हुने उनको भनाइ छ । कोरोनाभाइरस एन्टिबडी पहिचान गर्ने ५० देखि ६० परीक्षणबीच कम एन्टिबढी भएका व्यक्ति एउटामा पोजिटिम भए पनि अर्कोमा नेगेटिभ देखिने होले बताए ।
“निश्चित मात्रालाई न्युनतम मानक छनोट गरे भिन्न प्रयोगशालाले पोजिटिभ नतिजा दिनसक्छन् भन्ने ढुक्क हुन्छ,” होले भने ।
तर सरकारका महाव्याधि सल्लाहकार प्राध्यापक डेभिड हुइले एन्टिबडीको न्युनतम मात्रा तय गर्नु आवश्यक नहुने बताए ।
“आँकडा आफैंमा अर्थपूर्ण छैन । एन्टिबडीको निश्चित मात्राले मात्रै व्यक्ति सुरक्षित हुने कुनै तथ्याङ्क छैन ।” उनले भने ।
आफैंले जाँच गर्नका लागि फार्मेसीमा सेल्फ‑टेस्टिङ किट किन्न पाइन्छ। तर यस्ता किटको नतिजा सटिक नहुने दुई विशेषज्ञले बताए । त्यस्ता किटबाट प्राप्त नतिजा यात्राका गर्नका लागि स्वीकृत नहुने उनीहरूको भनाइ छ ।
बिहीबारदेखि भौतिक दुरी खुकुलो भएसँगै समूह सी अन्तर्गत सञ्चालित रेस्टुरेन्टले ७५ प्रतिशत क्षमता बढाउन सक्नेछन् । अहिले ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । समूह सी अन्तर्गतका सेवा प्रदायकले खोपको एक मात्रा लगाएको हुनुपर्ने र सबै ग्राहकले “लिभ होम सेफ” नामक जोखिम मूल्याङ्कन गर्ने एप प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
समूह डीमा पर्ने रेस्टुरेन्टले प्रति टेबल आठबाट बढाएर १२ जनासम्मलाई सेवा दिन सक्नेछन् । बेङ्क्वेटले एक सय ८० जनासम्म सेवा दिन सक्नेछन् । यो समूहमा पर्ने सेवा प्रदायकका कर्मचारीले खोपको पुरै मात्रा र ग्राहकले कम्तिमा एक मात्रा लगाएका हुनुपर्छ ।
बार र पबले प्रति टेबल चार जनासम्मलाई सेवा दिन सक्नेछन् । पार्टी रूम वा काराओके लाउञ्जका एक कक्ष वा टेबलमा आठ जनालाई सेवा दिन पाइनेछ ।
धार्मिक भेला, विवाह र व्यावसायिक सभा‑समारोहको व्यवस्थामा कुनै परिवर्तन नगरि ५० प्रतिशत क्षमतासम्म आयोजन गर्न सकिनेछ । कम्तिमा दुई तिहाइ सहभागीले खोपको पहिलो मात्रा लगाएको खण्डमा शत प्रतिशत क्षमता पनि त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिनेछ । स्थानीय टुर सेवाका लागि पनि उस्तै व्यवस्था गरिएको छ ।
सार्वजनिक भेलालाई चार जनामा सीमित राख्नुको कारणबारे प्रश्न गर्दा प्रदर्शन र राजनीतिक गतिविधिलाई लक्षित नगरिएको लामले बताइन् । खोपको अवस्थाजस्ता नियमनलाई पनि ध्यान दिनुपर्ने उनले बताइन्। इन्डोर कार्यक्रम आयोजनका लागि यसले सहजता ल्याउने उनले बताइन्।
भौतिक दुरी खुकुलो बनाउदा खोप लगाउन धेरैभन्दा धेरै प्रोत्साहित हुने हुइको विश्वास छ । व्यवसाय र खुद्रा व्यापारी पनि यसको पक्षमा देखिएका छन् । तर रेस्टुरेन्ट क्षेत्रका एक जना प्रतिनिधिले यो परिवर्तन “अनुदार” भएको बताएका छन् ।
–एससीएमपी ।
कमेन्ट गर्नुहोस्

















