• एप्पल दैनिक : रोकियो २६ वर्षे यात्रा

    एप्पल दैनिकको अन्तिम अंक । तस्बिर: आरटीएचके ।
  • जुन २४ । चिनियाँ भाषाको स्थानीय पत्रिका ‘एप्पल दैनिक’को २६ वर्षे यात्रा आजदेखि रोकिएको छ । राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत संस्थापक, प्रकाशक, प्रधान सम्पादकलगायतलाई गिरफ्तार र प्रकाशक कम्पनी ‘नेक्स्ट डिजिटल’को एक करोड ८० लाख रोक्का गरिएपछि पत्रिका धरासायी हुन पुगेको थियो ।

    विषम परिस्थिति सृजना भएपछि हिजो सम्पन्न सञ्चालकहरुको बैठकले आगामी शनिबारदेखि प्रकाशन बन्द गर्ने विज्ञप्ति जारी गरेको थियो । तर, व्यवस्थापनले मानवीय श्रोतको अभाव र कर्मचारीहरुको सुरक्षाका कारण तत्काल बन्द गर्ने निर्णय गरेको थियो । गत हप्ता प्रधान सम्पादक रायन ल, कार्यकारी प्रमुख च्योङ किम–हुङलगायत अन्य तीन जनालाई पक्राउ गरिएको थियो ।

    प्रधान सम्पादक रायन ललाई गिरफ्तार गर्दै राष्ट्रिय सुरक्षा कानुन अन्तर्गतका प्रहरीहरु । तस्बिर: एससीएमपी ।

    सम्पादन समूहलगायत लेखक समेत गिरफ्तारीमा पर्न थालेपछि कतिपय कर्मचारीले राजिनामा दिन थालेका थिए । हिजै मात्र पनि युङ थरका एक सम्पादकीय लेखक गिरफ्तारमा परेका थिए । गत बिहीबार सयौं प्रहरी पत्रिकाको मुख्यालयमा प्रवेश गरेर खान तलासी गरेको थियो ।

    पत्रिका बन्द हुने समाचार बाहिरिएपछि हिजो साँझ झरीमा पनि सयौं समर्थकहरु चुङक्वानओस्थित पत्रिकाको मुख्यालय बाहिर भेला भएका थिए । अन्तिम अंकको मुखपृष्ठमा एक जना कर्मचारीले समर्थकहरुलाई हल्लाउदै गरेको मोबाइल फोनसहितको हातको पृष्ठभूमिमा ‘हङकङका जनता झरीमा अलबिदा’ शिर्षक रहेको छ ।

    हिजै पत्रिकाको अनलाइनमा ‘अलबिदा र ख्याल गर्नुहोला’ भन्दै पाठक, ग्राहक, विज्ञापनदाता र समर्थकहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । १० लाख प्रति छापिएको भनिएको अन्तिम अंक बिहान ८:३० बजे बजारमा नपाइएको स्थिति रहेको थियो । एकै जनाले धेरै प्रति पनि किनिरहेका देखिन्थ्यो । पत्रिका किन्न कतिपय रातिदेखि नै पसल अगाडि बसेका थिए ।

    एप्पल डेलीको अन्तिम अंक किन्नेको लाइन । तस्बिर: एपी ।

    पत्रिकाको मुख्यालय रहेको भवनको स्वामित्वकर्ता सरकार समर्थित हङकङ साइन्स एण्ड टेक्नोलोजी पार्क्स कर्पोरेसनले शर्त उल्लङ्घन गरेको भन्दै भाडा सम्झौता रद्द गर्दै खाली गर्न सूचना प्रकाशित गरेको थियो ।

    सम्झौता शर्त उल्लङ्घन, छलीको आरोपमा संस्थापक जिम्मी लाई र उनका दुई छोरालाई गत वर्ष गिरफ्तार गरिएको थियो । उक्त आरोप सम्बन्धी मुद्दा अदालती प्रक्रियामा रहेको छ । जिम्मी लाई गैरकानुनी प्रदर्शनी आयोजना र सहभागी भएकोलगायतको कसुरमा जेल परेका छन् ।

    राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि एप्पल दैनिकलाई देशद्रोह, विदेशी शक्तिसंगको साँठगाँठलगायतको आरोप लाग्ने गरेको थियो । यस अभियोगमा यसका संस्थापकलगायतलाई मुद्दा दायर गरिएको छ । पक्राउ परेकाहरुलाई धरौटीमासमेत रिहा गरिएको छैन ।

    यस घटनालाई लिएर प्रेस स्वतन्त्रता हनन भएको, एक देश दुई प्रणालीको अन्त भएको र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाइएको प्रतिक्रियाहरु व्यक्त भएका छन् । सरकारी पक्षले भने प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको नाममा देशद्रोह र विदेशी शक्तिसंग साँठगाँठ भएको दावी गरेको छ । उक्त पक्षले हङकङ र चीनलाई प्रतिबन्ध लगाउन विदेशी शक्तिलाई अनुरोध गर्दै दर्जनौं सामग्री एप्पल दैनिकमा छापिएको बताएको छ ।

    गत बिहीबार एप्पल दैनिकको मुख्यालयमा प्रवेश गरेको प्रहरी जत्था । तस्बिर: एप्पल दैनिक ।

  • कमेन्ट गर्नुहोस्