एप्पल दैनिक खास के थियो ?
स्वतन्त्रताको रक्षक कि राष्ट्रिय सम्प्रभुता धमिल्याउने तत्त्व ?
एप्पल दैनिक एउटा अखबारभन्दा बढी हो ?
सनसनी मच्चाउने, कट्टर प्रतिपक्षी र चीनको निन्दा गर्ने एप्पल दैनिकलाई समीक्षकहरू घृणा गर्थे । तर शक्ति र सत्तामा रहेका विरूद्ध अखबारले गर्ने निडर रिपोर्टिङलाई पाठकले प्रेम गरे । बेइजिङको डर र बन्धनभन्दा परै बसेर अखबारले लोकतन्त्रसम्बन्धी आफ्नै परिभाषा अघि बढाउन सकेकोमा एप्पल दैनिक पाठकको प्रिय बन्यो ।
तर दुवै पक्षबीच एउटा दुर्लभ एकमत थियो: एप्पल दैनिक एउटा अखबारभन्दा माथि थियो । प्रशंसकका लागि स्वतन्त्रताको रक्षक । दुश्मनका लागि राष्ट्रिय सम्प्रभुता प्रदूषक ।
ट्याब्लोइड शैलीमा प्रकाशन भइरहेको एप्पल दैनिकले बुधबार मध्यरातदेखि डिजीटल संस्करण बन्द गर्यो । अन्तिम छापा संस्करण बिहिबार वितरण भयो । अन्त्यमा वैरीकै पल्ला भारी भएको सञ्चारविद्ले बताए ।
निरन्तर २६ वर्षसम्म स्थानीय र केन्द्र सरकारको पछि लागेको एप्पल दैनिकलाई गएको हप्ता निर्णायक प्रहार गरियो । विदेशले प्रतिबन्ध लगाउनुपर्ने माग राखेर ३० भन्दा धेरै रिपोर्ट छापेको भन्दै प्रधान सम्पादक, प्रकाशक र अन्य तीन कार्यकारीलाई प्रहरीले पक्राउ गर्यो । त्यस्तो समाचार सम्प्रेषण गर्नु राष्ट्रिय सुरक्षा कानूनको उल्लङ्घन थियो ।
प्रधान सम्पादक रायन ल, प्रकाशक च्योङ किम‑हुङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोग लगाइएको छ । बुधबारै प्रहरीले अखबारको प्रमुख सम्पादकीय लेखक योङ चिङ‑कीलाई पनि समात्यो । संस्थापक जिम्मी लाइ त्यहि अपराधमा गएको डिसेम्बरदेखि जेलमा छन् ।
अखबार र लाइको सबै सम्पत्ति रोक्का गरिएको छ । अखबारलाई सबैभन्दा धेरै ऋण लाइले दिन्थे । गिरफ्तारीपछि केहि दिनमै अखबार बन्द भएको हो ।
प्रेसलाई लक्ष्य बनाउन गिरफ्तारी नगरिएको तर समाचारलाई औजार बनाएर राष्ट्रिय सुरक्षामा हानी पुर्याउने अखबारलाई कारवाही गरिएको सुरक्षा सचिव जोन लीले बताए ।
“कसैले पनि समाचार रिपोर्टिङको खोल ओडेर राष्ट्रिय सुरक्षा खतरामा पार्नु हुँदैन । त्यस्ता गतिविधि रोक्न, निषेध गर्न र दबाउन सरकारले सबै कानूनी उपाय प्रयोग गर्नेछ ।” लीले भने। हिरासतमा लिइएका तथाकथित आपराधिक तत्त्वबाट टाढै रहन उनले सबै पत्रकारलाई चेतावनी पनि दिए।
मुद्दा अदालतमा गएपछि लीले बताएजस्तो एप्पल दैनिकले कसरी राष्ट्रिय सुरक्षा जोखिममा पार्यो र चीनविरूद्ध अभियान कसरी चलायो भन्ने परीक्षण होला नै । हाललाई जनमतको अदालत एउटा अखबारको मृत्युको शोक मनाइरहेझैं देखिने विश्लेषकहरू बताउँछन् । सन् १९९५ देखि छापिदैं आएको रङ्गीन, हक्की संस्था जसले रिपोर्टिङको सीमा विस्तार गर्यो, अन्य सञ्चार माध्यमका लागि पनि स्थान खुलाउँदै गयो ‑ बिहिबारदेखि हङकङमा नदेखिने उनीहरू बताउछन् ।
धेरै मानेमा केन्द्र सरकारको नियन्त्रणबाट व्याकुल औसत हङकङेलीको असुरक्षालाई अखबारले सम्बोधन गरेको ब्याप्टिस्ट युनिभर्सिटीमा पत्रकारिता विषय पढाउने ब्रुस लुईले बताए। उनीहरूको नैराश्य पोख्ने एउटा ठाउँ थियो ।
“खासमा यो एउटा अखबार वा सञ्चार संस्थामात्रै थिएन,” उनले भने, “यो एउटा प्रतिबिम्ब संस्था र एक देश दुई प्रणालीको थर्मोमिटर थियो जसले दुई प्रणालीबीच रहेको भिन्नताप्रति केन्द्र सरकारको सहिष्णुता प्रस्तुत गरेको थियो ।”
अखबार बन्द भएसँगै एउटा युगको अन्त्य भएको चाइनिज युनिभर्सिटीका राजनीतिक वैज्ञानिक इभान चोयले बताए। स्थानीय मिडियामध्ये प्रगतिशील छवि बनाएको अखबारले अधिकारीलाई केहि कठोर आक्रमण गरेको थियो ।
बेलायती उपनिवेशबाट हङकङ हस्तान्तरण हुनु दुई वर्ष अघि मात्रै सन् १९९५ मा स्थापना भएको अखबारको प्रारम्भिक दिन उद्धृत गर्दै “एक देश, दुई प्रणाली अन्तर्गत हङकङको परिस्थितीबारे केहि क्षेत्रको चिन्ताबाट यसको लोकप्रियता चुलिएको ।” उनले बताए।
तर कट्टर संस्थापन पक्षधर विधायक रेजिना इपको भिन्न दृष्टिकोण छ। उनी भन्छिन्,“एप्पलका केहि मनोरञ्जनात्मक विशेषता थिए तर स्थापनादेखि मालिक र सम्पादकले अखबारलाई वैमनस्य र घृणा भड्काउने हतियार बनाए ।”
शुरूदेखि नै सनसनीपूर्ण रिपोर्टिङ शैलीका लागि चिनिएको अखबार विवादभन्दा टाढा रहेन । शुरूवाती दिनहरूमा अखबारलाई चेकबुक पत्रकारिताको आरोप लाग्यो । सन् १९९८ को “च्यान किन‑होङ काण्ड” निकै चर्चित छ। भर्खरै पत्नि र सन्तान गुमाएका एक व्यक्तिलाई दुई महिलासँग ओछ्यानमा तस्बिर खिचाउन पैसा दिइएको थियो ।
सेलिब्रिटी र नेता पछ्याउन पाप्पाराज्जी पठाउने अखबारले हङकङमा मिडियाको परिदृश्य नै परिवर्तन गरेको चोयले बताए ।
“सन् १९९५ मा एप्पल दैनिक स्थापना हुनुअघि मिडियाले सरकारप्रति सहकार्यात्मक सोंच अवलम्बन गरेका थिए ।” उनले भने। “अखबारलदे शक्तिमा भएका व्यक्तिलाई अविश्वास गर्ने र सन् १९९७ पछि चिनियाँ राजमा हङकङलाई फर्काउने निर्णयमा शङ्का गर्ने स्थानीय पाठकको मन जितेको थियो ।” उनले बताए।
हामी हङकङ
२० जून १९९५ मा “हामी हङकङका हौं” शीर्षकमा छापिएको पहिलो अङ्कको सम्पादकीयमा एप्पल दैनिकले “हङकङेली जनताका लागि अखबार” चलाउने प्रण गरेको थियो ।
विवादास्पद राष्ट्रिय सुरक्षा विधेयकको विरोधमा पाँच लाखभन्दा धेरै सहभागी भएको र्याली शुरू हुनुअघि १ जूलाई २००३ मा अखबारले प्रदर्शन पोस्टर र स्टिकर छापेर बाँडेको थियो । तत्कालीन कार्यकारी प्रमुखको राजीनामा माग्दै पोस्टरमा “तुङ ची‑ह्वा चाहिएन” लेखिएको थियो। त्यो ऐतिहासिक जुलुसमा ती पोस्टर लोकप्रिय बने । अन्तत: हङकङ सरकार विधेयक थन्क्याउन र बेसिक लको धारा २३ कार्यान्वयन गर्न बाध्य भयो ।
विधेयक अघि बढाउने मुख्य जिम्मा पाएकी त्यतिबेलाका सुरक्षा सचिव इपले अखबारले आफूलाई एकपक्षीय रूपमा लक्षित गरेको आरोप लगाएकी थिइन् । “यसले धारा २३ र मलाई खलपात्र बनायो ।” उनले भनिन्। अखबारमा छापिएको सामग्रीले जुलुसमा सहभागी हुन आव्हान गरेको उनले बताइन् ।
सन् २००० मा इपले स्थानीय प्रेसलाई सुँगुरसँग तुलना गरेको अखबारले आरोप लगायो । अङ्ग्रेजी लेखक जर्ज ओर्वेलको आख्यान एनिमल फार्मको स्तनधारी पात्रहरू प्रयोग गरेर मिडियाले निश्चित मुद्दालाई कसरी प्रस्तुत गर्दछ भन्ने देखाउन खोजेको उनले बताएकी थिइन् ।
पूर्व सुरक्षा सचिव रेजिना इप । तस्बिर: एससीएमपी ।
एप्पल दैनिकले सन् २००४ मा भएको अक्युपाइ आन्दोलनको खुलेआम समर्थन गर्यो । आन्दोलनले वित्तिय केन्द्रका अङ्गहरू ठप्प बनाएको थियो । सरकारले पछि फिर्ता लिएको सुपुर्दगी विधेयकको विरोधमा अखबारले सन् २०१९ मा पोस्टर र अन्य सामग्री वितरण गरेको थियो ।
“मन परोस्‑नपरोस्, यो सामान्य अखबारभन्दा बढि नै थियो ।” चोयले भने।
हाङ सेङ युनिभर्सिटीको स्कूल अफ कम्युनिकेसनका प्राध्यापक पल लीले एप्पल दैनिकलाई लोकतन्त्र र मानवअधिकारजस्ता मुद्दाको हिमायती अखबार बताउछन् ।
“यसलाई पैरवी पत्रकारिता भन्न सकिन्छ तर एप्पल दैनिक विशिष्ट विशेषता भएको अखबार हो भन्ने दुई मत छैन ।” लीले भने।
“समर्थकका लागि अखबारले उनीहरूका लागि बोल्दैछ र उनीहरूको हेरविचार गर्दैछ ।” उनले भने। एप्पल दैनिकजस्तो अन्य धेरै स्थानीय मिडिया सरकारबारे आलोचनात्मक नरहेको उनले बताए।
सन् २००० मा पूर्व विधायक ग्यारी चेङले सरकारी पदको दुरूपयोग गरेको अखबारले खुलाएपछि उनको अधोगति ओरालो लाग्यो । हङकङ आइल्यान्डको सिट त्याग्नुपर्यो र मद्यावधि चुनाव भयो । एक वर्षपछि डेमोक्र्याटिक अलायन्स फर बेटरमेन्ट अफ हङकङ (डिएबि) का पूर्व उपाध्यक्ष ग्यारीलाई भ्रष्टाचार र जालसाजीका लागि १८ महिना जेल सजाय भयो ।
सन् २००३ मा
सवारी साधन दर्तावापत बजेटमा कर वृद्धि घोषणा गर्नु केहि साताअघि अर्थ सचिव एन्टोनी ल्योङले नयाँ लेक्सस किनेको समाचार पहिलो पटक एप्पल दैनिकले छापेको थियो। यो खुलासाले जनआक्रोश बढ्यो र चार महिनापछि ल्योङले राजीनामा दिए ।
प्रतिपक्षलाई अखबारले गरेको खुला समर्थनले कट्टर संस्थापन पक्षका मिडिया, वफादर र बेइजिङका अङ्गहरू चिढिएका थिए ।
सन् २०१९ मा पूर्व कार्यकारी प्रमुख तथा अखबारका कटु आलोचक सीवाई ल्योङले त अखबारविरूद्ध फेसबुक अभियान नै चलाएका थिए । अखबारमा विज्ञापन दिने कम्पनी बदनाम गर्ने‑गराउने काममा उनी लागेका थिए ।
पूर्व कार्यकारी प्रमुख सीवाई ल्योङ । तस्बिर: एससीएमपी ।
बुधबार पनि उनले अखबारविरूद्ध बोले । “जिम्मी लाइले स्थापना गरेको एप्पल दैनिक र नेक्स्ट म्यागजिन सञ्चार संस्था होइनन् र उनको राजनीतिक द्वेष पोख्ने औजार हुन् । उनी, उनको परिवार र सहायकलाई जे भयो त्यसको पत्रकारिता वा प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध छैन ।” ल्योङले फेसबुक पेजमा लेखे । अर्को देशको फोहोरसँग साँठगाँठ गरेको फल उनीहरूले भोगेको उनले बताएका छन् ।
सन् २०१९ मा सरकारविरूद्ध आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेपछि लाइले सीमा पार गरेको चु हाइ कलेज अफ हाइयर एजुकेसनको पत्रकारिता तथा सञ्चार विभागका सहायक डिन पिटर क्वान वाइले बताए । सन् २०१४ मा भएको अक्युपाइ आन्दोलनको मुख्य समर्थकबाट उनको गतिविधिमा नाटकीय वृद्धि भएको क्वानले बताए ।
अखबारले प्रदर्शनमा सहभागी हुनलाई निरन्तर प्रोत्साहन गरेको, विरोध प्रदर्शनसम्बन्धी सामग्री र प्रदर्शनको क्रममा लगाउनलाई मास्क उपलब्ध गराएको उल्लेख गर्दै उनले भने, “एउटा सञ्चार संस्थाको मालिकका लागि यो उपयुक्त हुँदैन ।”
एप्पल दैनिक अखबारको भूमिकाबाट निकै परसम्म पुगेकोमा सरकारसँग सहमत भएको क्वानले बताए ।
चाइनिज युनिभर्सिटीको पत्रकारिता तथा सञ्चार विद्यालयका निर्देशक फ्रान्सिस लीले अखबारको कार्यपद्धती स्वीकार नगर्नु र त्यसलाई अपराधीकरण गर्नु भिन्दा‑भिन्दै विषय भएको बताए ।
“सनसनीपूर्ण समाचार बिक्री गर्यो भन्ने लागेकै भरमा अखबार बन्द गर्न त मिल्दैन नि !” उनले भने।
एप्पल दैनिकको मुख्यालय । तस्बिर: एससीएमपी ।
विदेशी सरकारलाई निश्चित तरिकाले काम गर्न आव्हान गर्ने आलोचनात्मक लेख वा टिप्पणी समय‑समयमा आए पनि कुनै प्रकाशन गृहलाई लक्षित गर्नु अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा गर्ने परम्परागत दृष्टिकोणको विपक्षमा हुने उनले बताए ।
अतितमा एप्पल दैनिकले पक्षपाती छवि बनाएको ब्याप्टिस्ट युनिभर्सिटीमा पत्रकारिता पढाउने रोज लुवेइलुक्वीले बताइन् । तर अखबारको अस्तित्वसम्बन्धी अन्तिम निर्णय बजारलाई छाड्नुपर्थ्यो ।
“प्रतिष्ठा र विश्वसनीयता खस्किए, पाठकले नै निर्णय गर्थे,” उनले भनिन् ।
-क्रिस लाउ र ग्यारी च्योङ