• एप्पल दैनिक र संस्थापक जिम्मी लाइको उदय र अवसान

    एप्पल दैनिकको अन्तिम अंक ।
  •  

    एप्पल दैनिकको कथा यसका संस्थापक, विद्रोही व्यापारीबाट अभियन्ता बनेका र बेइजिङका प्रतिपक्षी जिम्मी लाइबाटै शुरू हुनुपर्छ ।

    १२ वर्षका लाइ ग्वाङदोङ प्रान्तबाट भागेर हङकङ आए । उमेरले ३० को मध्य‑दशकमै कारखानाको कामदारबाट जियोरडानो क्लोथिङ चेनका हाकिम बने । चरम गरिबीबाट धनाढ्य बनेका लाइकै परिचयबाट कुनै समय हङकङ चिनिन्थ्यो ।

    चार दशकपछि बेइजिङले लागु गरेको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत अभियोग लगाइएको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ७३ वर्षिय लाइ बन्न पुगे । कानून अनुसार अधिकतम सजाय आजीवन कारावास हुन्छ ।

    बुधबार उनको २६ वर्षे अखबार बन्द भयो । अखबारको वित्त र नेतृत्त्व ध्वस्त बनाएको कानून त्यसको कारण हो । अखबारको अवसान भएको भावुक क्षणमा लाइ चिन्तित देखिएनन् । शहर वा अखबारको इतिहासको महत्त्वपूर्ण समयमा उनी सर्वत्र छाएका हुन्थे । एउटा विरोधाभाष ।

    स्ट्यान्ली जेलमा कानूनको फैसला पर्खिरहेका लाइको अखबारी जीवन सन् १९९० मा शुरू भयो । एउटा राजनीतिक विद्रोह त्यसको प्रेरणा थियो । सन् १९८९ मा चीनको विद्यार्थी नेतृत्त्वको लोकतान्त्रिक आन्दोलनको समर्थनमा उनले टि‑सर्ट उत्पादन गरेका थिए । तियानमेन घटनापछि मिडिया जगतमा पनि होमिन हौसिए ।

    जियोरडानोको कार्यकारी अधिकृत रहेको समय जिम्मी लाइ ।

    एक वर्षपछि उनले नेक्स्ट मिडीया समूह स्थापना गरेर नेक्स्ट म्यागजिन शुरू गरे । केन्द्र सरकारको आलोचक भएकाले हङकङका पाठकबीच चाँडै लोकप्रिय पनि भयो । हङकङ मूलभूमिको शासनमा फर्किन लागेको खबरले उनीहरू चिन्तित थिए । पत्रिकाको सफलताबाट हौसिएका लाइले सन् १९९४ मा जियोरडानो छाडे । शेयर बेचेर आफ्नो बढ्दो मिडिया साम्राज्यमा केन्द्रित भए ।

    सन् १९९५ मा नेक्स्ट मिडियाले स्थानीय सञ्चार क्षेत्रमा हलचल ल्यायो । ट्याब्लोइड शैलीको तडक‑भडक र रङ्गीन प्रकाशन एप्पल दैनिकले हङकङको परम्परागत अखबारीय अभ्यास उथलपुथल बनायो । नारा उत्तिकै दमदार थियो ‑ दैनिक एउटा एप्पलले झूठाबाट टाढा राख्छ ।

    चाइनिज युनिभर्सिटीको पत्रकारिता विद्यालयका क्लेमेन्ट सो योर्क‑की भन्छन्,“एप्पल दैनिक युएसए टुडेको नमूना थियो । सरल लेखन र छोटा समाचार छापिने पूर्ण रङ्गीन अखबार । त्यतिबेलाका स्थानीय मिडियाका लागि त्यो क्रान्तिकारी तरिका थियो । उनले मूल्यको युद्ध पनि शुरू गरे । स्थापित अखबारहरूलाई प्रतिस्पर्धा गर्न बाध्य बनाए ।”

    सो थप्छन्,“व्यवसायी भएकाले लाइले समाचारलाई व्यापारिक वस्तुका रूपमा हेर्थे । जसको महत्त्वभन्दा पनि कति पाठक आकर्षित भए भन्ने आधारमा समाचारको मूल्याङ्कन हुन्थ्यो । उनले ट्याब्लोइड शैलीको रिपोर्टिङ अवलम्बन गरे । सार्वजनिक व्यक्तित्वका मामूली समाचार खोतल्न रिपोर्टरलाई पाप्पाराज्जी बनाए ।”

    ‘घृणाले हामीलाई सखाप पार्ने छ ।’

    एप्पल दैनिकलाई आज शहरको प्रतिपक्षको आक्रामक आवाज मानिन्छ । तर शुरूमा लाइको वास्तविक अभिलाषा त्यस्तो देखिदैन ।

    सन् १९९५ को एउटा अन्तर्वार्तामा लाइले भनेका छन्: “अखबारको रूपमा हामीले पाइरहेको स्वतन्त्रतालाई प्रेम मात्र गरे पुग्छ । त्यस्ता मूल्यमान्यताको विरोध गर्नेलाई हामीले घृणा गर्नुपर्दैन । हामी सबैभन्दा धेरै जेलाई प्रेम गर्छौं, त्यसलाई प्रेम गरे पुग्छ । त्यो हो अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता ।

    “किनभने साम्यवादको घृणाको आधारमा हामीले यो अखबार चलायौं भने हामी असफल हुनेछौं । घृणाले हामी सबैलाई सखाप पार्नेछ । हामी असफल हुनेछौं ।”

    “हामी हङकङवासीका हौं” भन्दै पहिलो सम्पादकीयमा अखबारले प्रेमको सन्देश दिएको थियो । तर हङकङ भने पहिचान फेर्नेवाला थियो ।

    विडम्बना ‑ मूलभूमि जे थिएन ती सबै थोक हङकङेली जनता हो भनि परिभाषित गर्ने यहि काम थियो । पछिल्ला वर्षहरूमा अखबारको अवसानमा यसको केहि भूमिका समेत रह्यो ।

    सन् १९९८ एप्पल दैनिक चेकबुक पत्रकारिताको विवादमा फस्यो । घटनालाई च्यान किन‑होङ काण्ड भनेर समेत चिनिन्छ । च्यानले धोका दिएपछि दुखी भएको पत्निले शेङशुईस्थित फ्ल्याटको झ्यालबाट दुई सन्तान फालिन् र आफैं पनि हाम फालेर आत्महत्या गरिन् । उनीहरूको मृत्युमा च्यानले खासै दुख र पश्चाताप देखाएनन् । त्यो दुखद घटनाको केहि समयपछि शेन्जेन गएको बेला दुई महिलासँग ओछ्यानमा भएको एक्स्क्लुसिभ फोटो एप्पल दैनिकले छाप्यो । एप्पल दैनिकले सो “रमाइलो खोज्ने” यात्रा र तस्बिरका लागि पाँच हजार हङकङ डलर दिएको उनले पछि खुलाए । त्यो सनसनीपूर्ण रिपोर्टका लागि लाइले पहिलो पेजमा क्षमायाचना पछि छापेका थिए ।

    सन् १९९५ र २००६ बीच एप्पल दैनिकलाई ओब्सिन एन्ड इन्डिसेन्ट आर्टिकल अर्डिनेन्स अन्तर्गत कम्तिमा ५६ पटक दोषी करार गरियो ।

    एप्पल दैनिकको रिपोर्टिङ बेइमानी र हिंसामा अत्यधिक केन्द्रित भएको आलोचना भए पनि आफ्ना अधिकांश प्रतिद्वन्द्वीभन्दा धेरै अघि बढ्यो । सन् १९९७ मा एक दिनमा झण्डै चार लाख प्रति अखबार बिक्री भएको बताइन्छ । ओरियन्टल डेलीपछि त्यतिबेला दोश्रो लोकप्रिय अखबार भनेकै एप्पल दैनिक थियो ।

    नेक्स्ट मिडिया सन् २००० मा हङकङको स्टक एक्सेचञ्जमा सूचिकृत भयो । सन् २०१५ देखि नेक्स्ट डिजीटल भनेर नाम पनि फेरियो ।

    ‘पैरवी पत्रकारिता’

    एप्पल दैनिकको सञ्चालनमा लाइको सक्रिय संलग्नता हुने गरेको सँगै काम गरेकाहरू बताउछन् । दैनिक सम्पादकीय बैठकको अध्यक्षता गर्थे । मसालेदार समाचार, रङ्गीचङ्गी र सिर्जनात्क डिजाइनमा अत्याधिक जोड दिन्थे । पाठकको दृष्टिकोण स्वीकार गर्ने र सोही अनुसार परिवर्तन गर्ने तत्परता देखाउथे ।

    अखबारको “पोर्न पेज” मा उनी अडिग थिए । सो परिशिष्टाङ्क खण्डमा सेक्सी तस्बिर र देह व्यापार गर्नेबारे खात्राकखुत्रुक जानकारी छापिन्थ्यो ।

    “हाम्रो पोर्न पेज राम्रो छैन तर यसलाई राख्नैपर्छ किनभने व्यक्तिको आधारभूत आवश्यकता हुन्छ,” सन् १९९५ मा पोस्टलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए ।

    “धेरै व्यक्ति धेरै आदर्शवादी छन् । आदर्श हुनु ठिक छ तर तपाईं मानवताबाट अलग हुन सक्नुहुन्न । अरू केहि हुनुभन्दा पहिले एप्पल दैनिक एउटा व्यवसाय पनि बन्नुपर्‍यो ।” उनले भनेका थिए । उनी सन् १९९७ मा क्याथोलिक बनेका थिए ।

    त्यसपछिका वर्षहरूमा लाइको कम्युनिष्ट विरोधी कदम अखबारका समाचार र टिप्पणीहरूमा अझ धेरै र प्रष्ट देखिन थाले । प्रत्येक पानामा केन्द्र सरकारप्रति अस्वीकृति अझ बलियो गरि मुखरित र निरन्तर भइरह्यो ।

    एप्पल दैनिकमा १६ वर्ष काम गरेका र प्रधान सम्पादक भएर अवकाश लिएका चेङ मिङ‑यानले पोहोर एउटा अन्तर्वार्ता दिएका थिए । उनले भने,“लाइले जे गर्छन् सबै ठिक हो भनेर मैले भनेको छैन । सनसनीपूर्ण रिपोर्टिङलाई लिएर केहिले अखबारको आलोचना गर्छन् । तर स्वतन्त्रता र लोकतन्त्रको सवालमा लाइ र एप्पलले कहिले पनि शब्द चपाएको छैन ।

    सन् २००२ मा प्रस्तावित राजद्रोहविरोधी कानूनको विरोधमा प्रदर्शन हुने दिन एप्पल दैनिकले “क्रुर कानूनको विरोध गरौं” शीर्षक राखेर एउटा “पुल‑आउट” छाप्यो । काला पोस्टर बोकेका प्रदर्शनकारीको दृश्यले जुलुसको प्रभाव अझ बढायो ।

    अर्को वर्ष जुलाई १ मा प्रस्तावित राष्ट्रिय सुरक्षा कानूनको विरोधमा झण्डै पाँच लाख प्रदर्शनकारीको जुलुस निस्किने तयारीमा थियो । अखबारले फेरि पोस्टर छाप्यो र स्टिकर पनि बाँड्यो । प्रदर्शनकारीमाझ “हिट” भएको पोस्टरमा तत्कालीन कार्यकारी प्रमुखलाई निशाना बनाएर लेखिएको थियो ‑ “तुङ ची‑ह्वा चाहिएन ।”

    प्राध्यापक सोले अखबारको शैलीलाई “पैरवी पत्रकारिता” भने । तर संस्थापनका कट्टर पक्षधरले यसलाई बेइजिङको आँखाबाट बिग्रिएको अखबारको सङ्केत देखे ।

    “शुरूमा उनको राजनीतिक महत्त्वाकांक्षा त्यति ठूलो थिएन,” लाउ सिउ‑काइले भने । उनी बेइजिङको अर्धसरकारी थिङ्कट्याङ्क चाइनिज एसोसिएसन अफ हङकङ एन्ड मकाउ स्टडिजका उपाध्यक्ष हुन् । “त्यसमा व्यापारिक कारण थिएन भनेर भन्न सक्दिनँ ।”

    सरकार विरोधी र कम्युनिष्ट विरोधी रवैयाले पनि कमाइ हुन थालेपछि लाइको राजनीतिक धावा दिनदिनै बढ्दै गएको लाउले बताए ।

    “धारा २३ विरूद्ध शहरले विरोध गरिरहेको समयमा सन् २००३ निर्णायक मोड थियो ।” उनले भने । लाइ प्रतिपक्षसँग नजिक हुँदै गएको प्रष्ट थियो ।

    सन् २०१४ मा बेइजिङले प्रस्ताव गरेको चुनाव सुधार योजनाको विरोधमा ७९ दिनसम्म चलेको अक्युपाइ आन्दोलनले शहरका मुख्य बाटा बन्द गरेको थियो । अखबार त्यसमा पनि जोडियो ।

    पर्दा पछाडि प्रदर्शनको खाँका तयार गर्ने लाइ भएको दस्तावेज चुहियो । अक्युपाइ आन्दोलनका आयोजक कानूनविद् बेन्नी ताइ, रेभरेन्ड चु र समाजशास्त्री च्यान किन‑मानलाई नेक्स्ट मिडियाले प्रोपागान्डा सामग्रीसहित बृहत् सल्लाह प्रस्ताव गरेको थियो ।

    डेमोक्रेटिक पार्टीका संस्थापक मार्टिन ली र अकुपाइ सेन्ट्रल आन्दोलनका सहसस्थापक  रेभरेन्ड चुका साथ जिम्मी लाइ ।

    सन् २०१३ मा पठाइएको एउटा इमेलमा लाइले तीन जनालाई “संगठित योजना वा कार्ययोजना, रणनीति नभएको ‑ सहयोग नपाए केहि उपलब्धि हासिल गर्न सक्ने आदर्शवादी विद्वान” भनेका छन्।  चुहिएका इमेलमा त्यतिबेलासम्म विभिन्न प्रतिपक्षी राजनीतिक दललाई चार करोड हङकङ डलरभन्दा धेरै अनुदान दिएको जानकारी पनि छ ।

    सन् २०१६ को एउटा अन्तर्वार्तामा लाइले आफ्नो सहभागीताबारे भनेका छन्,“म आन्दोलनमा सहभागी भइरहेको थिएँ र म आन्दोलनको अग्रपङ्क्तिमा थिएँ । व्यक्तिगत रूपमा मन लागेसम्म यस्ता आन्दोलनको नेतृत्त्व गर्न सक्छु भन्ने मलाई लाग्छ ।”

    प्यान‑डेमोक्र्याटलाई लाखौं डलर दिएको जानकारीसँगै प्रतिपक्षी दलसँग भएको गठबन्धनले लाइलाई त्यो क्याम्पमा प्रभावशाली शक्ति दिएको लाउले बताए । “त्यसमा उनीहरूलाई बदनाम गरेर सजाय दिनसक्ने शक्ति थियो ।” उनले भने ।

    तर “पैरवी पत्रकारिता” को आफ्नै लक्षित समूह भएको र पाठक नै अन्तिम मध्यस्थकर्ता भएको चाइनिज युनिभर्सिटीका सोले बताए।

    “हरेक अखबार आफ्नै सम्पादकीय नीति अनुसार चल्छ । सम्पादकीय नीति सहि वा गलत भन्नु निकै कठिन छ,” उनले भने,“पाठकसँग विकल्प हुन्छ । उनीहरू आफ्नो रूचि अनुसारका अखबार पढ्नेछन् । एप्पल दैनिकको लोकप्रियता त्यसको रिपोर्टिङ धेरै पाठकलाई मनपर्ने प्रमाण हो ।”

    अभियन्तासँगै लाइको दिमागमा व्यवसायी पनि थियो । नेक्स्ट म्यागजिन र एप्पल दैनिकको स्थानीय संस्करण बोकेर क्रमश: सन् २००१ र २००३ मा उनी ताइवानको बजार प्रवेश गरे ।

    सन् २००७ मा उनको साम्राज्यले एनिमेसन गरिएको समाचार एक्सन न्युज ल्यायो । सन् २०११ मा शार्प दैनिक नामक नि:शुल्क ट्याब्लोइड पनि शुरू गर्‍यो । एक्सन न्युजलाई यथार्थ र फिक्सन मिसाएको आरोप लाग्यो । शार्प दैनिक यौन सामग्रीको विषयले समस्यामा पर्‍यो ।

    पढ्ने बानी फेरिएसँग लाइको मिडिया साम्राज्यको सम्पत्ति पनि एक दशकदेखि ओरालो लाग्यो । सन् २०१९‑२०२० मा ४१ करोड ७२ लाख हङकङ डलर घाटा बेहोर्‍यो । समूहले सन् २०१८ मा नेक्स्ट म्यागजिनलाई हङकङ र ताइवानमा डिजीटल संस्करण मात्रै बनायो । गएको महिना ताइवानको एप्पल दैनिकको छापा संस्करण पनि बन्द गर्‍यो ।

    चार जनाको नयाँ ग्याङ

    हाल स्थगित सुपुर्दगी विधेयकले निम्त्याएको सन् २०१९ को सरकार विरोधी प्रदर्शनप्रति अखबारको खुला समर्थन नै अन्त्यको शुरूवात भएको शेन्जेन युनिभर्सिटीको सेन्टर फर बेसिक लज अफ हङकङ एन्ड मकाउका प्राध्यापक सोङ सिओ‑चोङले बताए ।

    विशाल सरकार विरोधी प्रदर्शनबीच लाइ वाशिङ्टन पुगे । तत्कालीन उपराष्ट्रपति माइक पेन्स र सचिव माइक पोम्पियोले उनको स्वागत गरेका थिए । पोम्पियोसँग हङकङको अवस्था र सुपुर्दगी विधेयक, एक देश दुई प्रणाली अन्तर्गत शहरको स्वायत्तताको अवस्था लगायत मूलभूमि र ताइवानको मानवअधिकारका मुद्दाबारे छलफल भएको बताइन्छ । यो उच्च‑पदस्थ यात्राबाट बेइजिङ रिसायो ।

    अमेरिकाका उपराष्ट्रपति माइक पेन्सलाई भेट्दै  जिम्मी लाइ ।

    लाइ अमेरिकी सहयोगी बन्न चाहँदैन थिए होला । तर स्थानीय राजनीतिमा उनको प्रभाव बढेपछि बेइजिङले उनलाई कमजोर कडीको रूपमा हेर्‍यो । चीन‑अमेरिका तनाव बढ्दै गएको बेला अमेरिकाले आफ्नो राष्ट्रिय स्वार्थका लागि लाइको प्रयोग गरेको बेइजिङको बुझाइ थियो ।

    चीनको सरकारी सञ्चार माध्यमले लाइमाथि आक्रमण गर्यो । महिनौंसम्म शहर अस्तव्यस्त बनाएको सामाजिक अशान्तिका लागि उनलाई दोषी ठहरायो । १९६० को दशकमा चीनको साँस्कृतिक आन्दोलनताका उदाएका कम्युनिष्ट पार्टीका चार सदस्यलाई उद्धृत गर्दै समाचारहरूले “चार जनाको नयाँ ग्याङ” को सदस्य बनायो । उनीहरूलाई देशद्रोहको अभियोग लगाइएको थियो ।

    सो ग्याङमा डेमोक्र्याटिक पार्टीका संस्थापक अध्यक्ष मार्टिन ली, उनका सहकर्मी र पार्टीका अध्यक्ष अल्बर्ट हो र एन्सन च्यानलाई राखिएको थियो । फाङले सन् २००१ मा शहरको दोश्रो नम्बरको अधिकारीको रूपमा अवकाश लिएर लोकतान्त्रिक सुधारको पैरवी गर्न थाले ।

    मूलभूमिका विद्वान सोङले भेटमा मात्रै नभएर भेट कसरी आयोजना गरिएको थियो, त्यसमा पनि समस्या भएको बताए ।

    “कुनै अनियोजित भेटबारे पोखिएको विचार थिएन । त्यो योजनाबद्ध भेट थियो,” उनले भने ।

    चीनको सर्वोच्च कानून नियामक निकाय सेन्ट्रल पोलिटिकल एन्ड लिगल अफेयर्स कमिसनले चारजनालाई बेलायत र अमेरिकासँग साँठगाँठ गरेको र युवालाई हङकङमा बाधाव्यवधान खडा गर्न उक्साएको आरोप लगायो । पिपल्स डेलीले चार जनालाई पश्चिमा शक्तिसँग साँठगाँठ गरेर अशान्ति मच्चयाउने “गोप्य बिचौलिया र आधुनिक देशद्रोही” भन्यो ।

    सन् २०१९ को एउटा समाचारमा सिन्ह्वाले पनि सामाजिक अशान्तिको “मुख्य योजनाकार” लाइ भएको, स्तवन्त्रता पक्षधर शक्तिलाई  लगानी गरेको र बाह्य तत्त्वलाई शहरको मामिलामा दखल दिन आग्रह गरेको आरोप लगायो ।

    तर यस्ता क्रुर र तिता आलोचनाले लाइलाई आफ्नो विचार राख्नबाट रोक्न सकेन । न त एप्पल दैनिक बेइजिङ विरोधी अडानबाट नै डगमगायो । अरू केहि नभए पनि बेइजिङको परीक्षा लिन उनलाई अझ उर्जा मिल्यो ।

    “कम्युनिष्टहरू डरत्रास देखाएर अरूलाई नियन्त्रणमा लिन सिपालु हुन्छन् भनेर लामो समयदेखि मलाई थाहा छ । उनीहरूले मेरो बारे के भन्छन् भनेर मैले पढ्न छोडैको धेरै लामो भइसक्यो ।” लाइले सन् २०१९ मा फाइनान्सियल टाइम्समा दिएको अन्तर्वार्तामा भने ।

    मे २०२० मा बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागु गर्ने प्रस्ताव गरेसँगै लाइ र उनको अखबारले पहिलो पेजमा #TrumpSavesHK अभियान शुरू गर्‍यो । नयाँ कानूनबारे तत्कालीन अमेरिकी राष्ट्रपतिलाई  लेखि पठाउन हङकङेलीलाई अखबारले प्रोत्साहन गर्‍यो ।

    अगष्ट २०२० मा राष्ट्रिय सुरक्षा कानून अन्तर्गत लाइ पक्राउ परे । जमानतमा रिहा गर्ने सबै उपाय बन्द भएपछि डिसेम्बरमा उनलाई स्टयान्ली कारागार पठाइयो ।

    गएको एक वर्षभरि अखबारले अभियानलाई निरन्तरता दिएको हेर्दा चीनविरोधी कदममा कुनै परिवर्तन भएको नदेखिएको पत्रकारिताका प्राध्यापक सोले बताए । “एप्पल दैनिकले आफ्नो सम्पादकीय नीतिमा खासै परिवर्तन गरेको छैन । बेइजिङको रेड लाइनमात्रै यताउता सरेको देखिन्छ ।” उनले भने ।

    चीन मामिलाका अनुभवी जोनी लाउ युइ‑सिउ पनि सहमति जनाउछन् । यतिका वर्षमा एप्पल दैनिक नभएर अखबारलाई सहने बेइजिङको धैर्यता टुटेको उनले बताए ।

    यो पटक एउटा महत्त्वपूर्ण भिन्नता थियो। राष्ट्रिय सुरक्षा कानूनले लाइ र उनको अखबारविरूद्ध कडा कारवाही गर्ने स्थान दियो ।

    दुई दशकदेखि एप्पल दैनिक पढ्दै आएका बिल्ली ल्योङ भन्छन्,“समाचार ल्याउनलाई एप्पल दैनिक सीमा पार गर्छ । विभिन्न अल्पसङ्ख्यकको मुद्दालाई स्थान दिन्छ । हाम्रो समाजको बृहत् र विविधतायुक्त प्रतिनिधित्व दिन प्रयासरत सञ्चार संस्था गुमाउनु पाठकका लागि मात्रै नभएर हङकङकै लागि पनि घाटा हो ।”

    एप्पल डेलीको मुख्यालय अगाडि सुरक्षाकर्मीहरु ।

    बुधबार अखबारलाई विदा गरेका पाठकका लागि राजनीतिक पैरवी महत्त्वपूर्ण थिएन । उनीहरूले त्यसलाई सम्झिने छैनन् । तर अखबारले गर्ने स्क्यान्डलको खुलासा भने खुब याद आउनेछ ।

    सन् २००३ मा कार दर्ता कर वृद्धि घोषणा गर्नुअघि तत्कालीन अर्थ सचिव एन्टोनी ल्योङले लेक्सस कार कसरी किने भनेर छापिएको समाचार सन् २००४ देखि पाठक बनेका टाइगरले अझै सम्झिन्छन् ।

    “लेक्ससगेटले पुराना दिनमा मन्त्रीहरूले गल्ती स्वीकार्ने र उत्तरदायी हुन्थे भन्ने देखाउँछ । आजभोलि अधिकारीहरू जहिले सहि हुन्छन् । शहर कति स्वतन्त्र छ भन्ने सूचक यो अखबार हो । यो हराउनुलाई कोही नातेदार बितेकोजस्तै केहिले मानेका छन् ।”

    बुधबार अखबारको मृत्युशय्यामा संस्थापक उपस्थित थिएनन् । सन् २०१९ मा भएको सरकार विरोधी दुई गैरकानूनी प्रदर्शन र त्यहि वर्ष राष्ट्रिय दिवसमा गैरकानूनी जुलुसमा संलग्न भएको अभियोगमा लाइ २० महिने जेल सजाय काटिरहेका छन् । त्यसपछि पनि उनलाई राष्ट्रिय सुरक्षा कानूनको उल्लङ्घनका लागि हिरासतमै राख्ने सम्भावना पनि छ ।

    झूठाहरूलाई टाढा राख्न मसालेदार अखबार निकाल्ने लाइ अहिले आफैं टाढा राखिएका छन् ।

    -उङ काङ‑चुङ, क्रिस लाउ

    थप रिपोर्टिङ टोनी च्योङ

  • कमेन्ट गर्नुहोस्