• आरएले उडान अनुमति पायो तर ……

  •  

    अगष्ट १२ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को दोश्रो लहर आएसंगै हङकङमा प्रतिबन्धित नेपाल एयरलायन्स (आरए)ले उडानको अनुमति पाए पनि यात्रुले पालना गर्नु पर्ने कडा शर्तका कारण अनिश्चित भएको छ ।

    नेपालबाट हङकङको बासिन्दा (आईडीबाहक) फर्कन पाउने भए पनि उसले कोभिड–१९ विरुद्धको पूरा खोप अनिवार्य लगाएको हुनु पर्ने स्वास्थ्य विभागको शर्त रहेको छ । त्यति मात्र होइन हङकङ, मकाउ र चीन बाहेकका देशको राष्ट्रिय नियमन प्राधिकरण (एनआरए)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गत शर्त नियमन प्राधिकरण (स्ट्रेन्जेन्ट रेगुलेटोरी अथोरिटिज–एसआरए)ले नियमन गरेको हुन पर्ने छ ।

    आरए हङकङका कन्ट्रि म्यानेजर नवराज उपाध्यायका अनुसार सिभिल एभिएसन डिपार्टमेन्ट (सीएडी)ले अनुमति दिए अनुसार यही १७ अगष्टका दिन पहिलो उडान गर्ने लक्ष्य राखिएको भए पनि खोप सम्बन्धी शर्तका कारण निश्चित गर्न सकिएको छैन । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिकामा अगष्ट १७ का दिन ३ बजे आरए अवतरण हुने प्रकाशन भइसकेको छ ।

    “एसआरए अन्तर्गतको नियमनमा नपर्ने भएकोले नेपालमा खोप लगाएका प्यासेन्जर आउन नपाउने भए”, कन्ट्रि म्यानेजर उपाध्यायले भने, “यहाँबाट जाने र हङकङमा पूरा खोप लगाएर गएकाहरु फर्कने प्यासेन्जर कति हुन्छन्, त्यसमा भर पर्ने भो उडान ।”

    उनका अनुसार प्यासेन्जर अकुपेन्सी ७० प्रतिशत भन्दा माथि भयो भने मात्र खर्च धान्ने भएकोले उडान निश्चित हुन सकेको छैन । विभिन्न श्रोतमार्फत नेपाल जाने र आउनका लागि शर्त पूरा गरेका यात्रुको संख्या यकिन गर्ने काम भइरहेको उनले बताएका छन् ।

    एसआरएको नियमनमा पर्ने अमेरिका, बेलायत, अस्ट्रेलियालगायत विश्वका ३६ देश रहेका छन् । यस अन्तर्गत चीन पनि रहेको छैन । युरोपका अधिकांश देश रहेको सूचिमा एशियाको जापान मात्र रहेको छ ।

    हङकङले सम्बन्धित देशमा कोभिड–१९ को स्थिति अनुसार ए, बी र सी गरी तीन समूहमा विभाजन गरेको छ । उच्च जोखिम रहेका देश ए, मध्यम जोखिम रहेका देश बी र न्यून जोखिम रहेका देश सी समूहमा राखिएका छन् । सी समूह अन्तर्गत अष्ट्रेलिया र न्यु जिल्याण्डमात्र रहेका छन् ।

    अगष्ट ९ का दिन हङकङ स्वास्थ्य विभागले प्रकाशित गरेको सूचना अनुसार एसआरएको नियमन समूह ए अन्तर्गतका देशलाई लागू गरिएको छ । यस समूह अन्तर्गत ब्राजिल, भारत, इण्डोनेशिया, आयरल्याण्ड, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुस, दक्षिण अफ्रिका र बेलायत रहेको छ । बी र सी समूहका देशबाट आउने यात्रुका लागि एसआरए नियमनको शर्त राखिएको छैन ।

    सूचनामा समूह ए अन्तर्गतका यात्रुलाई एसआरएको नियमनसहितको पूर्ण खोप अनिवार्य र होटल क्वारेन्टिन २१ रात तोकिएको छ, खोप नलगाएको यात्रु आउन पाउने छैन । समूह बी अन्तर्गतका यात्रु खोप नलगाएकालाई २१ रात र पूरा खोप लगाएकालाई १४ रात क्वारेन्टिन तोकिएको छ । समूह सी अन्तर्गतका यात्रुलाई खोप नलगाएकालाई १४ रात र पूरा खोप लगाएकालाई ७ रातको क्वोन्टिन तोकिएको छ ।

    हङकङमा खोपका लागि योग्य कूल जनसंख्याको ५३ प्रतिशतले पहिलो मात्रा र ४१ प्रतिशतले दोश्रो मात्रा लगाइसकेको स्थितिमा केही नेपाली अन्यत्रको बाटो हुदै नेपाल गएको ट्राभल व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार शुरुवातका उडानमा यात्रु केही कमी भए पनि क्रमश बढ्ने छ ।

    मिग अल्फा ट्राभलका इन्दर पुन भन्छन्, “दोहा, सिङ्गापुरलगायतका रुटबाट केही नेपाली नेपाल गएका छन्, उनीहरु अधिकांशले पूरा खोप लगाएर गएका छन् । हप्तामा एउटा फ्लाइट राख्ने हो भने दोश्रो–तेश्रोदेखि नेपालबाट फर्कनेहरु पनि बढ्ने छ । शुरुवातमा एकतर्फी मात्र प्यासेन्जर होलान् तर केही समयपछि नै दुईतर्फी हुन्छ ।”

    हङकङ–काठमाडौं उडान नभएको लामो समय भएकोले यताबाट जाने यात्रुको संख्या उल्लेख्य रहने ट्राभल व्यवसायीहरुको अनुमान रहेको छ । उनीहरुका अनुसार उडानको बारेमा जानकारी लिनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । मे १ देखि नेपालबाट हङकङ हुने उडानमा प्रतिबन्ध लगाइएको छ ।

    कोभिड–१९ को अवस्था सुध्रने क्रमसंगै नेपाल पनि समूह बीमा पर्ने छ र एसआरएको प्रावधान हट्ने छ । यस अवस्थामा नेपालमा लगाएको खोपले पनि मान्यता पाउने छ र हङकङबासी नेपालीका लागि हङकङ प्रवेश सहज हुने छ ।
    अहिले सामाजिक सञ्जाल लगायतमा सार्वजनिक भएका नेपालको खोप कार्ड भरपर्दो नरहेको आम धारणा रहेको छ । नेपालमा गरिएको पीसीआर टेस्ट भरपर्दो नदेखिएको परिप्रेक्ष्यमा खोप विश्वस्नीय बनाउँन आवश्यक देखिएको छ ।

  • कमेन्ट गर्नुहोस्