• बुझबुझारथसंगै एनआरएनए आईसीसीमा उमेदवारी घोषणा

    दिलिप सिंह गुरुङ, राधिका (टीका) गुरुङ र यमकुमार (त्रिलोक) गुरुङ (क्रमश: बायाँबाट) उमेदवारी घोषणा कार्यक्रममा । तस्बिर: एभरेष्टखबर ।
  •  

    गैर–आवासीय नेपाली संघ (एनआरएनए)को बुझबुझारथ कार्यक्रमसंगै अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का लागि हङकङबाट उपाध्यक्षमा यमकुमार (त्रिलोक) गुरुङ, महिला सचिवमा राधिका (टीका) गुरुङ र एशिया प्यासफिक क्षेत्रीय उप–संयोजकमा दिलिप सिंह गुरुङले उमेदवारी घोषणा गरेका छन् ।

    दिलिप सिंह गुरुङले दुई पटक हङकङबाट आईसीसी सदस्य रहिसकेपछि अगाडि बढ्ने ठाउँ क्षेत्रीय उपसंयोजक नै भएकोले आफू उमेदवार बनेको घोषणा गरेका थिए । उनले विजयी भएमा एनआरएनएमा भएको राम्रा कुरालाई निरन्तरता दिने र नराम्रा कुरालाई हटाउन लाग्ने बताएका थिए । उनले आर्थिक पारदर्शितामा जोड दिएका थिए ।

    दुई कार्यकाल हङकङको सफल नेतृत्व गरेपछि पलाएको आत्मविश्वासले महिला सचिवको लागि उत्प्रेरित भएको बताउँदै राधिका (टीका) गुरुङले १५ वर्षे अनुभव सदुपयोग गर्ने योजना रहेको बताएकी थिइन् । उनले आफ्नो प्रमुख योजना वैदेशिक रोजगारलाई सम्मानित बनाउँने र महिला सशक्तिकरण रहेको घोषणा गरेकी थिइन् ।

    उपाध्यक्ष उमेदवारीको घोषणा गर्दै यमकुमार (त्रिलोक)गुरुङले नेपालमै रोजगारको अवसर सृजना गर्नेमा आपूm केन्द्रित हुने जानकारी गराएका थिए । त्यसको साथै नेपालमा लगानीमैत्री वातावरण र पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने योजना उनले सुनाएका थिए । उनले कोषाध्यक्ष र महासचिवमा चुनाव हारे पनि एनआरएन अभियानमा निरन्तर लागि परेको दावी गरेका थिए ।

    नवनिर्वाचित अध्यक्ष गोकर्णप्रसाद ढकालले आफ्नो ठाउँबाट उमेदवार बनेकाहरुको जित सुनिश्चित गर्न हङकङका मतदाताको दायित्व रहेको बताउँदै सम्पूर्णलाई एक जुट हुन आह्वान गरेका थिए । उनले आफ्ना उमेदवारलाई जिताउनका लागि को–कोसंग के कस्तो तालमेल मिलाउनु पर्ने हो त्यसको तयारी भइरहेको बताएका थिए ।

    प्रमुखअतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगरले उमेदवारहरुलाई शुभकामना व्यक्त गर्दै नयाँ कार्यसमितिका सम्पूर्णलाई बधाई ज्ञापन गरेका थिए । उनले एनआरएनएसंग सहकार्य गरेर जाने महावाणिज्यदूतावासको परम्परलाई निरन्तरता दिंदै अझ प्रभावकारी रुपमा अघि बढ्न आफू तयार रहेको बताएका थिए ।

    उपाध्यक्ष विजयकुमार गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको पहिलो सत्रमा संरक्षक परिषद् र सल्लाहकारहरुलाई नियुक्ति पत्र प्रदान गरिएको थियो । पुरानालाई विदाई र नयाँलाई स्वागत गरिएको कार्यक्रममा ‘एनआरएनए स्मारिका’को विमोचन गरिएको थियो ।

    १७ वर्षे एनआरएनए हङकङको इतिहासमा पहिलो पटक प्रकाशन गरिएको स्मारिकामा पछिल्लो दुई कार्यकालको गतिविधि र स्थापनाकालदेखिका अध्यक्षहरुको संस्मरण रहेका छन् ।

    ब्लु ओसन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा भूपू अध्यक्षहरु कृष्णप्रसाद पाण्डे, दुर्गाबहादुर गुरुङ, ललित आङबुहाङ, आईसीसी सदस्य डासुराम पराजुलीलगायको उपस्थिति रहेको थियो । पहिलो सत्र महासचिव डिल्लिराम विश्वकर्मा र दोश्रो सत्र उमेदवारी घोषणा नवनिर्वाचित आईसीसी सदस्य किसन राईले सञ्चालन गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्