आरएको उडान सुचारु
समूह एका आईडीबाहकलाई कोटा सिस्टम
एभरेष्टखबर
August 25, 2021
अगष्ट २५ । नेपालमा कोभिड–१९ को दोश्रो लहर आएसंगै हङकङमा प्रतिबन्धित नेपाल एयरलायन्स (आरए)को उडान सुचारु भएको छ । हिजो भएको पहिलो उडानमा नेपालबाट आउने यात्रुको संख्या ४३ र यहाँबाट जाने १ सय २५ रहेको थियो ।
आरए कन्ट्रि म्यानेजर नवराज उपाध्यायका अनुसार नेपालबाट आएका एकजना यात्रुमा कोभिड–१९ को आशंका (सस्पेक्टेड) गरिएको छ । एउटा उडानमा पाँच जना भन्दा बढी यात्रु संक्रमित भेटिएमा सम्बन्धित एयरलायन्सलाई दुई साता प्रतिबन्ध लगाइने गरिएको छ ।
सोमबार इमिरेट्स एयरलायन्सको उडान (दुबई–बैंकक–हङकङ)मा पाँचजना पाकिस्तानका यात्रु संक्रमित भेटिएपछि सेप्टेम्बर ६ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । पाँजजनामध्ये चारजनाले बायोन्टेकको दुवै मात्रा खोप लगाएका थिए ।
प्रत्येक साता उडानको योजना भए पनि पर्याप्त यात्रुको अभावमा तत्कालका लागि दुई सातामा उडान हुने अनुमान गर्छन् कन्ट्रि म्यानेजर उपाध्याय । उनले भने, ‘प्यासेन्जर भयो भने त प्रत्येक साता उडान गर्ने हाम्रो योजना हो तर होलाजस्तो छैन, त्यसकारण अर्को उडान सेप्टेम्बर ७ मा हुने आशा गरिएको छ ।’
हङकङले नेपाललगायत समूह एमा परेको देशबाट भ्याक्सिन लगाएका यात्रुलाई २१ दिने होटल क्वारेन्टिनसहित आउन दिने भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्ट्रेन्जेन्ट रेगुलेटोरी अथोरिटिज (एसआरए)को नियमन अनिवार्य गरेको छ । एसआरएले नियमन गर्ने देश विश्वभर ३६ वटा मात्र रहेको छ । यसको प्रावधान एशियामा जापानमात्र रहेको छ ।
समूह एमा रहेका फिलिपिन्स र इन्डोनेशिया एसआरएनको नियमनमा नपर्ने भए पनि ती देशमा भ्याक्सिन लगाएका हङकङका घरेलु कामदार २१ दिने अनिवार्य होटल क्वारेन्टिनसहित सिमित कोटामा आउन दिने कार्यकारी प्रमुख क्यारी लामको संकेतसंगै नेपाललगायत देशमा भ्याक्सिन लगाएका हङकङ आईडीबाहक कोटा सिस्टममा आउन पाउने संभावना बढेको छ ।
फिलिपिनी र इन्डोनियाली हङकङका घरेलु कामदारलाई फर्कने व्यवस्था सम्बन्धी एक छलफलमा कार्यकारी प्रमुख लामले छुट्टै होटलको व्यवस्था गरिने र कोटा सिस्टम लागू गर्दै ती देशमा लगाइएको भ्याक्सिनलाई पनि मान्यता दिने संकेत गरेकी छन् ।
कमेन्ट गर्नुहोस्

















