चेक केङ पुनरुत्थानको प्रयास
हङकङको ग्रामिण नेतृत्व न्यु टेरिटोरिजको एउटा गाउँलाई पुनर्जीवन दिनेबारे विचार गरिरहेको छ । उनीहरु त्यहाँ एउटा पदमार्ग, कृषि पार्क, अतिथीगृह र वृद्धाश्रम निर्माण गर्ने सम्भावनाको खोजी गर्दैछन् ।
ग्रामिण गाउँलेहरुको प्रतिनिधित्व गर्ने सरकारी मान्यताप्राप्त निकाय ह्योङ यी कुकले चेक केङको दुर्गम किनारको एक वर्ष लामो अध्ययन गराउने भएको छ । अध्ययनको प्रतिवेदन अर्को वर्षको मध्यतिर आउने अपेक्षा गरिएको छ । प्रतिवेदन आएपछि कुकले सरकारी अधिकारीमाझ आफ्नो योजना पेश गर्नेछ ।
कुकका मुख्य सदस्य साइ कुङ नर्थ ग्रामिण समिति अध्यक्ष ली यिउ-बानले,”दुर्गम गाउँलाई पुनर्जीवन दिन र त्यहाँ प्रयोगविहीन छाडिएका जमिनको सदुपयोगको समाधान खोज्न हामी सक्षम हुनेछौं भन्ने हामीले आशा गरेका छौं । चेक केङ प्रारम्भ बिन्दु हो ।”
साई कुङ इस्ट कन्ट्री पार्कको उत्तरी समुद्र किनारछेउको चे केङ हाउ भनिने उक्त गाउँ ईस्ट आर्म बे सामु एउटा समतल भागमा पर्दछ । कार जान नसक्ने र प्राय: फेर्रीबाट यात्रा गर्नुपर्ने चेक केङ म्याक्लेहोस ट्रेलको पाक ताम अउबाट एक घण्टाको पैदल दुरीमा पर्दछ ।
सन् १९९० को मध्यतिर, गाउँमा सयभन्दा धेरै मानिसहरु बस्दथे । तीमध्ये धेरै हाक्का मूलका थिए । उनीहरु माझी, शिल्पी र कृषक थिए । अहिले अधिकांश क्षेत्र प्रयोगविहीन छ । केही घरहरु अझै बाँकी रहे पनि, धेरै जसो जीर्ण छन् । सप्ताहन्त आउने केही हाईकर बाहेक, त्यहाँका पुराना बासिन्दाहरु पुर्खाको सम्मान गर्न वा चाडपर्व मनाउन र आफ्नो पुर्ख्यौली घर सफाई गर्न फर्किने गर्दछन् ।
अध्ययन गर्नलाई लिङनान युनिभर्सिटीमा इतिहासका प्रोफेसर लाउ चि-पाङको समूह खटाईएको छ । लाउले चेक केङको इतिहास र “त्यस क्षेत्रको विकासको विविध सम्भावनाहरु” समिक्षा गर्ने बताएका छन् । त्यहाँका केही जमिनलाई कृषि पार्कमा रुपान्तरण गर्ने वा त्यसलाई मनोरञ्जनात्मक कृषिका लागि प्रयोग गर्ने केही उदाहरणीय सम्भावनाहरु छन् ।
“गाउँमा त्यतिकै छाडिएका घरहरुलाई गेस्ट हाउस वा वृद्धाश्रममा रुपान्तरण गर्न सकिन्छ,” लाउले भने ।
हङकङको शहरी क्षेत्रमा जमिनको अभाव भईरहेको उल्लेख गर्दै, चेक केङ योजना सबैका लागि “जितको सम्झौता” हुनसक्ने लीको विश्वास छ ।
“एकातिर, चेक केङलाई पुनर्जीवन दिन सकिन्छ भने, गाउँलेहरु फेरी फर्कन सक्छन्,” उनले भने । “अर्कोतिर, सरकारले त्यहाँका जमिनलाई सार्वजनिक पूर्वाधारका रुपमा प्रयोग गर्न सक्छ ।”
धरोहर पदमार्ग बनाउने अर्को अवधारणा छ । हङकङ हिस्टोरी एन्ड कल्चरल सोसाईटीका डा. याउ यातले भने अनुसार १९४० को दशकको प्रारम्भमा जापानी शासनको बेला उक्त गाउँ गुरिल्ला दस्ता ईस्ट रिभर कोलमको हङकङ-काउलुन ईन्डिपेन्डेन्ट ब्रिगेडको एउटा प्रमुख पोस्ट थियो ।
गाउँको दक्षिणी किनारमा अवस्थित होली फेमिली च्यापल अर्को ऐतिहासिक रुची हो । सन् १८७४ मा निर्माण भएको उक्त गिर्जाघरलाई सन् १९८० को अन्त्यतिर युवा क्याम्पमा रुपान्तरण गरिएको थियो तर अहिले यो खाली र जीर्ण अवस्थामा छ ।
गाउँलेहरुलाई त्यहाँ सम्पत्ति विकास गर्ने बाटो बनाउनु कुकको गोप्य एजेन्डा हुनसक्ने ग्रिन सेन्सका संस्थापक तथा वातावरणविद् रोय ताम होई-पोङको शंका छ ।
“विकास जतिसुकै सानो भए पनि, त्यहाँ सडक सञ्जालको आवश्यकता पर्नेछ । सडक निर्माण भएपछि, वातावरण विनाश गर्ने अन्य परियोजनाहरु आउनेछन्,” तामले भने । “यस्तो मनोरम समुद्रतटको समतलभूमि नष्ट भएको हङकङेली हेर्न चाहदैंनन् ।”
लीले चेक केङलाई “साँस्कृतिक रत्न” बताए, र त्यसको संरक्षण गर्नु नै योजना भएकोमा जोड दिए ।
“एउटा गाउँलेको मृत्यु हुँदा, त्यहाँका मानिसहरु मात्रै हराउँदैनन्,” उनी भन्छन्, “त्यहाँको परम्परा र इतिहास पनि हराउँछ ।”
ङ काङ-चुङ/ एससीएमपी