प्रधानपञ्चको त्यो अत्याचार पछि
मेरा प्रियजनहरुमध्ये एक हुन्छ, नन्दु उप्रेती । कुनै समय नन्दु ‘परिश्रमी’को नामबाट टाढैबाट चिनेँ, उहाँलाई एक कविको रुपमा । सशरीर भेटिएपछि त हामी दाजुभाइ भइहाल्यौँ ।
हामीबीच कहिलेकाहिँ ज्ञान र दर्शनका कुरा, सञ्चोबिसन्चोदेखि सुखदुःखका कुरा हुन्छ । समकालिन राजनीति र साहित्यका बारेमा त, कुराकानी हुने नै भयो ।
यसै मेसोमा उहाँसँग धनकुटाबाट कुनै समय इलाम पढ्न गएका पहलमान बस्नेत र हेमचन्द्र भण्डारीको बारेमा पनि कुराकानी भयो ।
मैले सोधेँ, “उहाँहरुले त इलाम रहँदा अखिलमा जोडतोडले काम गर्नुभएको रहेछ नि ?”
“हो त, उहाँहरुमध्ये जुलुशको नेतृत्वमा अघिसरा चाहिँ पहलमान हुनुहुन्थ्यो, होस्टल नपाउन्जेल हाम्रै घरमा बस्नुभयो”, नन्दु दाइले मेरो जिज्ञासा शान्त पारिदिनुभयो ।
धनकुटा नगरको बाम आन्दोलनबारे यतिखेर केही सम्झिरहेछु । तर खोटाङका बौद्धिक मित्रहरु डा. धनप्रसाद सुवेदी र भगवती शर्माले “उदय बस्नेतलाई पनि नबिर्सनु होला नि” भन्ने खबरदारी गरिरहनुभएको छ । म स्पष्ट छु, भीरगाउँका उदय बस्नेतले खोटाङको बाम आन्दोलनलाई ठूलो मलजल प्रदान गर्नुभयो । यता धनकुटामा उहाँका भाइ पहलमान बस्नेत र चन्द्र बस्नेतसहित सिङ्गो परिवार यो आन्दोलनमा समाहित भयो । यो खबतरी बस्नेत परिवारको बाम आन्दोलनमा संलग्नताको शिलशिला भीरगाउँ र सिङ्गो धनकुटा जिल्ला हुँदै खोटाङसम्म फैलियो । साबिकको भीरगाउँ गाविस हाल धनकुटा नगरपालिकामा गाभिएको छ र धनकुटा नगरले त्यहीँ बस्नेत परिवारकी बुहारी शकुन्तला बस्नेतलाई उपप्रमुखका रुपमा पाएको छ ।
बस्नेत दाजुभाइ गिरफ्तार
२०३३ सालको वर्षाद समयको एक बिहान धनकुटा नगरका विभिन्न ठाउँमा एक पर्चा फेला प¥यो । पर्चाको शिरमा छापिएको बोल्ड अक्षर नै बडो जोशिलो थियो, “तिरो नतिरौँ, शोषण नसहौँ ।”
यस्तो पर्चा बजारभरि देखा परेपछि तत्कालिन प्रशासन चनाखो हुने नै भयो । त्यसलाई भीरगाउँका तत्कालिन प्रधानपञ्चले ठूलो अवसरको रुपमा प्रयोग गरे । उनी थिए, कुनै समय राइटर पद खाएका चक्रबहादुर कार्की । त्यो पर्चा काण्ड लगात्तै भीरगाउँका एकाघरका तीन बस्नेत दाजुभाइको हातमा हत्कडी लाग्यो । उदय बस्नेत, पहलमान बस्नेत र चन्द्र बस्नेतको हातमा लाग्यो त्यो हत्कडी। उनै चक्रबहादुर राइटरले पोलेछन्, तत्कालिन प्रशासनमा । यी निर्दोष दाजुभाइ निराधार पोलका कारण तीन महिना प्रहरी हिरासतमा बसे ।
यी तीनै भाइ त्यो समय शिक्षण पेशामा आवद्ध थिए । तीनैमा क्रमैसँग बामपन्थ सवार हुँदै थियो । अन्याय नसहने किसिमका थिए । तत्कालिन व्यवस्था टिकाउन अन्याय र अत्याचारमा विश्वास गर्ने ती तत्कालिन प्रधानपञ्चलाई यी दाजुभाइको गतिविधि वा विचार मन पर्ने कुरै भएन ।
त्यो भन्दाअघि नै एक सुधारवादी कार्यक्रममा सहभागी भई आफ्नो सामान्य धारणा राख्दा उदय बस्नेतले पक्राउ खाइसक्नुभएको थियो ।
कुरा के परेछ भने धनकुटाको जोरपाटी भन्ने ठाउँमा एक भेला बोलाइयो, वरिपरिका प्रधानपञ्चहरुको पहलमा । यस्तो भेलाको पहलकदमी गर्ने चाहिँ तत्कालिन तेलियाका प्रधानपञ्च ओझाहाङ लिम्बू र ताङ्खुवाका हरिनारायण दाहाल थिए । त्यहाँ एक बौद्धिक व्यक्तित्वको हैसियतबाट उदय बस्नेत पनि निम्त्याइउनु भएछ । उहाँले आफ्नो सामान्य भनाइको क्रममा भन्नुभएछ, “जुन ठाउँमा एउटा पाटी छैन, त्यहीँ ठाउँको नाम जोरपाटी ?”
यहि अभिव्यक्तिका कारण उदयले प्रहरीखोरको बास भोगिसक्नुभएको थियो । उहाँको बारेमा तत्कालिन प्रमुख जिल्ला अधिकारी हरिभक्त रञ्जितकारकहाँ पोलझोस पुग्यो, “यहाँ त पार्टी खोल्ने कुरा पो हुँदैछ त !”
जोरपाटी भन्ने ठाउँमा पाटीपौवा बनाउने सम्बन्धमा भेला थियो, त्यही भेलामा उदयको यस्तो धारणा आएको थियो । पोलाहाले ‘पाटी’लाई ‘पार्टी’ भनिदिए । उहाँको गिरफ्तारी भयो ।
जोरपाटी बटुवाहरुको बाक्लो आवातजावत हुने ठाउँ भएकोले त्यहाँ कसरी पाटीपौवा निर्माण गर्ने भन्ने विषयमा छलफल थियो । त्यो घटनामा उदय गिरफ्तारीमा पर्नुभयो, यता दुई प्रधानपञ्चले प्रजिअबाट ठूलो खप्की खाए । तीमध्ये तेलियाका तत्कालिन प्रधानपञ्च ओझाहाङ लिम्बूका छोरा हिम्मतसिंह खजुम जीवनभर बामपन्थी भए । उनी महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सभापति हुँदा धनकुटामा २०३८ सालमा तत्कालिन मालेमा काम गर्नु हुने चित्र निरौला उपसभापति हुनुहुन्थ्यो ।
यसरी बस्नेत परिवारले दुःख पाइरहेको बेला त्यो परिवारबाट केवल उदय मात्र होइन, भाइहरु पहलमान र चन्द्र बस्नेतलाई पनि हत्कडी लगाएर ल्याए, भीरगाउँबाट धनकुटा सदरमुृकाममा । शिक्षणजस्तो सामान्य पेशा गरेर परिवार पालिरहेका तीनै जनालाई हत्कडी लगाएर ल्याइदा बस्नेत परिवारले भोगेको आर्थिक र मनोवैज्ञानिक पीडा कस्तो थियो होला ?
पर्चा यसरी छरियो
खासमा यो पर्चाकाण्डमा यी बस्नेत दाजुभाइको सहभागिता थिएन । त्यो समय उहाँहरु भीरगाउँमा हुनुहुन्थ्यो । तर यो पर्चा छर्ने त धनकुटा नगरको साबिकको वडा नम्बर ३ स्थित आत्माराका पोखरेलहरु थिए । तत्कालिन बाम आन्दोलनको एक घटक ‘रातो झण्डा समूह’ले त्यो पर्चा छापेको थियो । त्यो पर्चा धनकुटा नगरको बजार क्षेत्रमा छर्न दुई पोखरेल खटिए ।
त्यो समय रमेश पोखरेल बिरामी अवस्थाका कारण धनकुटा अस्पतालमा भर्ना । बिरामी कुरुवाको जिम्मा दाजुभाइ खलकका जीवप्रसाद पोखरेल र राजकुमार पोखरेलमा आइप¥यो । दुवैका सेवामार्फत् साँझको ७ बजेतिर विरामी रमेश पोखरेलबाट भोजन ग्रहण भयो । विरामीको अवस्था सामान्य थियो ।
तर त्यो समय रमेशभन्दा पनि देश ठूलो विमारमा थियो । जीवप्रसाद र राजकुमारमा आफ्ना परिवारका सदस्य रमेशको अस्वस्थ अवस्थाभन्दा देशको ठूलो चिन्ता थियो । त्यसपछि यी दुई पोखरेलले बाटो तताए । उनीहरु विभिन्न बाटो छल्दै हालको धनकुटा क्याम्पसको प्राध्यापक निवास रहेको ठाउँमा पुगे, जहाँ त्यो समय धनकुटा क्याम्पस सञ्चालित थियो । त्यहाँबाट पर्चा लिएर सार्वजनिक महत्वको ठाउँमा छर्दै उनीहरु धनकुटा अस्पतालमा आइपुगे, र फेरि बिरामी रमेश पोखरेलको कुरुवा बने ।
त्यो समय धनकुटामा रातो झण्डा समूहको प्रभाव व्यापक थियो । आनन्दसन्तोषी राई, गोपाल गुरागाईँ, भक्त बोलना राई लगायत त्यो समूहका नेता थिए । जीवप्रसाद पोखरेल र राजकुमार पोखरेलहरु चाहिँ जोशिला कार्यकर्ता ।
यो पर्चाकाण्डलाई चक्रबहादुर कार्कीले ठूलो अवसरका रुपमा लिए । प्रहरी प्रशासनका हाकिमहरुसँग उनको राम्रो साँठगाँठ थियो । उनले बस्नेत दाजुभाइलाई पर्चाकाण्डका नाइकेहरु यिनै हुन् भनी पोल लगाए, प्रशासनमा । ती दाजुभाइको हातमा हत्कडी लागिहाल्यो ।
उदय त यो पर्चाकाण्ड भन्दा अघि नै झापाली कम्युनिष्टहरुसँगको संगतमा पुगिसक्नु भएको थियो । त्यो समय धनकुटामा रातो झण्डा समूहको केही राम्रो प्रभाव थियो । यता उदय चाहिँ कोअर्डिनेसन कमिटीमा हुनुहुन्थ्यो । बस्नेत दाजुभाइको यस्तो गतिविधिलाई तत्कालिन पञ्चहरुले सुक्ष्म रुपमा नियालिरहेकै थिए ।
त्यो समय जीवप्रसाद र राजकुमार पोखरेललाई पर्चा छरेर मात्र पुगेन, त्यसको प्रभावलाई व्यापक बनाउन अर्को उपाय पनि अपनाउन मन लाग्यो । उहाँहरु दुवैले पर्चालाई खामबन्दी गरेर धनकुटाका प्रत्येक कार्यालयमा हुलाकमार्फत पठाउनुभयो । यसरी हुलाकबाट पठाउँदा टिकट नटाँसीकनै पठाइएको थियो । हुलाक टिकट नटाँसी पठाउने चलनलाई बहिरंगी चिठी भनिन्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनमै विद्यावारिधि गर्नु भएका प्राध्यापक राजकुमार पोखरेलले यो घटना बिसर्ने कुरा पनि भएन ।
छिन्ताङ काण्डको समयमा त उदयलाई नख्खु जेल पु¥याए । त्यहाँबाट निस्कनासाथ उदयको भूमिगत राजनीति सुरु भयो । यता नख्खु जेलमै भेटिएका नेता भोजपुर कुलुङका घनेन्द्र बस्नेतकी बहिनी शकुन्तला र उदयका भाइ चन्द्रको लगनगाँठो गाँसियो । उनीहरुले अनेक हण्डर खाँदै परिवार बचाउँदै धनकुटाको बाम आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको एउटा साक्षी म आफै पनि हुँ।
मेधावी चाहिँ जहिल्यै दोस्रो
कुनै समय धनकुटा बहुमुखी क्याम्पसमा राम्रा अँग्रेजी प्राध्यापकको नाम लिनुपर्दा दुइ जनाको नाम लिइन्थ्यो, एक जना गोविन्दराज भट्टराई र अर्का नीलबहादुर बस्नेत । पछि लक्ष्मीबहादुर महर्जन पनि थपिनु भयो । उहाँहरुमध्ये बस्नेत सर चाहिँ विदेशबाट डिग्री गरेर आएको भनी चर्चित हुनुहुन्थ्यो ।
उहाँले बेलायतको इडनवर्गस्थित स्कटिश सेन्ट फर एजुकेशन ओभरसिज मोरे हाउस कलेज अफ् एजुकेशनबाट स्नातकोत्तर तहको उपाधि लिएर आउनुभयो । उहाँ अहिले पनि धनकुटा बहुमुखी क्याम्पसबाट ज्ञानको ज्योति बाँडिरहनुभएको छ । तर उहाँ चाहिँ भीरगाउँमा पढुञ्जेल मेधावी भइकन पनि कक्षामा दोस्रो भइरहनु पर्ने ।
कारण उनै थिए, चक्रबहादुर कार्की । उनका एक छोरा जहिल्यै पनि प्रथम भइरहनुपर्ने । चन्द्र सूर्य भइन्जेल राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य हुन सक्दैन भन्ने अदूरदृष्टि भएका यी प्रधानपञ्चलाई आफ्ना एक छोरा पनि विद्यालयमा प्रथम भएको देखिरहने रहर रहेछ । यदि उनका ती छोरालाई प्रथम बनाइएन भने त्यो कर्मका संलग्न शिक्षक कुटिने, लखेटिने वा निष्कासनमा पर्ने अवस्था हुने गथ्र्यो । त्यसैले नीलबहादुर बस्नेतजस्तो मेधावीहरु जबरजस्ती दोस्रो स्थानमा खुसी हुनुपथ्र्यो ।
यस्ता अत्याचार भोगेर आउने बस्नेत सरले जहिल्यै पनि बाम रुझान राखिरहेको भेटेँ । यस्तो अत्याचारको कारण बामआन्दोलनका अग्राख बनेर त धनकुटामा उदय, पहलमान र चन्द्रहरु निस्के ।