चिनियाँ आमा
एक दिन चिनियाँ कवि बियान जिलिनको कविता पढेर आनन्द लिइरहेको थिएँ ।
‘तिमी पुलमा उभिएर दृश्यको आनन्द लिइरहेका छौ;
कसैले तिमीलाई बार्दलीबाट हेरिरहेको छ ।
चन्द्रमाले तिम्रो झ्याल सजाउँछ;
तिमी कसैको सपना सजाउँछौ ।’
’झ्यालबाहिर शहरको आफ्नै आवाज छ । गाडीहरू हुँइकिरहेका छन् । एक्सिलेटर दबाएको प्रष्टै थाहा हुन्छ । हर्न तेत्ती सुनिदैन, कहिलेकाहीँ ट्याक्सीको सानो र छोटो हर्न सुनिन्छ । कहिलेकाहीँ दमकलहरू साइरन बजाउँदै जान्छन् । एम्बुलेन्स हिँडिरहन्छ, हस्पिटल जाने बाटोकै छेउमा छ झ्याल ।
बिहान, दिउँसो, बेलुकी र राति शहरको आवाज फेरिन्छ । चौबीसै घण्टा आवाज निकालिरहन्छ यो शहर । सुत्दैन, निदाउँदैन, जागिरहन्छ । राति बाटो पखाल्ने गाडीहरूको इन्जिन थर्थराउँछ ।
चंखमान परदेशीले भोगेको शहरमा छु म । तर उसले जस्तो यो शहरलाई भित्रैदेखि छामेको रहेनछु मैले । चंखमानले आफ्नो डायरीमा लेखेका कथाहरू पढेर यो शहरलाई बुझ्ने अवसर पाएको छु । उसले ’चिनियाँ आमा’ शिर्षकमा लेखेको छोटो कथाले मलाई निकै छोयो । म डुबें, द्रवित भएँ ।
चंखमानले डायरीमा यस्तो लेखेका छन्-
हिजोआज मेरो ’चिनियाँ आमा’ शारीरिक रूपले कमजोर भएकी छिन् । नब्बे वर्ष पुग्न लागिन् कि त ! मुस्किलले दुई पाइला चाल्छिन् । रूखको हाँगामा माकुराको जालोमा अल्झिएको सुकेको पात हावामा हल्लिरहे झैं लाग्छ उसले हिँडेको हेर्दा । छाला र हड्डी मात्रै भएको अनुहारमा मुसाको झैं साना आँखा तर आँसु डम्मै भरिएको । मलाई पनि चिन्न छोडिन् अब त ।हामी एउटै बिल्डिङमा बस्छौं । म नौतलामा बस्छु, ऊ तीनतलामा बस्छिन् । भर्याङमा भेट हुन्थ्यो पहिलेपहिले, हिजोआज भर्याङमा भेट हुन छोडेको छ ।आजभन्दा सात वर्ष अगाडि चिनियाँ आमासँग मेरो चिनजान भएको हो । तेतिबेला तगडा थिइन् । बिहानै उठेर फलामको ट्रलीमा बाटोमा फ्यालिएका कार्टुन बक्स र एल्मुनियमका क्यानहरू बटुल्दैबटुल्दै पार्कसम्म पुग्थिन् र पार्कमा एकघण्टा जिउ तन्काएर कार्टुन बक्स र एल्मुनियमका क्यानहरू बेच्न चोकमा ट्रक कुरेर बस्थिन् । एघार बजेतिर ट्रक आइपुग्थ्यो ।
एक दिन पार्कमा मैले उसलाई बोलाएँ । ’मामी ! आज म तिमीलाई ट्रली धकेल्नु सघाउँछु ल ।’
ऊ छक्क परिन् । भनिन्, ’पर्दैन, पर्दैन ! म आफै धकेल्नु सक्छु ।’
आफ्नो काम आफै गर्छन् चिनियाँहरू । कसैलाई तेसै काम पनि लगाउँदैन् । ऊसँग कुराकानी गर्ने उद्देश्यले मैले तेसो भनेको थिएँ ।
साउथ चाइना मर्निङ पोस्टको आइतबारको अङ्कमा मैले एउटा सत्य कथा पढेको थिएँ एउटी बुढी र रोगी चिनियाँ बारे । त्यो कथा पढेपछि मलाई यो चिनियाँ आमा बारे माया जाग्यो । कति दु:खहरु चुपचाप बाँचिरहेछ्न् शहरमा, किङ वंश र बेलायती शासनकालले धेरै चिनियाँहरूको जीवनलाई नर्क बनाएका रहेछन् ।
म्याडम चुइ हङकङमा तेस्रो पुस्ता हुन् । उसको हजुर आमालाई चीनको गाउँबाट एघार वर्षको उमेरमा दलालहरूले अपहरण गरेर हङकङ ल्याएका थिए । उबेला चीनबाट बालिकाहरू अपहरण गरेर हङकङमा बेलायतीहरूलाई दासीका रूपमा बेच्ने गर्थे । चुइको हजुरआमा सुन्दर थिइन् । त्यसकारण चुइको हजुरआमालाई दलालहरूले दासीको रूपमा हैन, वेश्या बनाउन वेश्यालयमा बेचे । चुइको आमाको जीवन पनि वेश्यालयमा बित्यो । चुइलाई यति थाहा छ । तर चुइलाई आफ्नो आमाको अनुहार थाहा छैन । चुइलाई उसकी आमाले जन्माएर पुलिस ठाना अगाडि छोडेकी थिइन् । पुलिसले पालेर हुर्काए चुइलाई र पुलिसमै नोकरी दिए । त्याँबाट चुइ म्याडम चुइ भइन् ।
चिनियाँ आमाको अनुहारमा मैले त्यो दुस्खद इतिहास पढें तर उसको विगत सोध्न सकिनँ । उसको पनि यस्तै केही कथा होला, ऊ या उसको बुबाआमा पनि चीनबाटै आएको हुनुपर्छ ।
घरको मुनि भेट्दा मलाई सुन्तला दिन्थिन् र सोध्थिन्, ’तिमी काममा हिँडेको ?’ ’तोचेसाइ(धन्यवाद), हो नि मामी, म काममा हिँडेको !’ सुन्तला लिदैं म भन्थें । मैले सुन्तला लिएर यसो भन्दा उसको अनुहारमा आनन्द झुल्किन्थ्यो ।
एक दिन पार्कमै सोधिन्, ’तिम्रो बुबाआमा कता छन् ?’
मैले भने, ’उहाँहरू दुवैजना नेपालमै हुनुहुन्छ । दुवैजना अस्पतालमा ।’
’ओहो ! कति दु:खद ! तिम्रो बुबा गोर्खा हो ?’ सोधिन् ।
’हैन ! मैले भनें ।
’सेक्कोङमा गोर्खा क्याम्प थियो नि पहिले ! थाहा छ तिमीलाई ?’
’थाहा छ । गोर्खाहरूको चिहानघारी पनि छ ।’
’तिम्रो बुबाआमाको लागि प्रार्थना गर्नु जानू वोङ्ताइसिङ मन्दिरमा । सबै निको हुन्छ ।’ उसले भनिन् ।
मैले सोधें, ’तिम्रो छोराछोरी कता छन् ?’
’खै ! एकजना छोरा थियो ! कता छ कोनि ? यतै छ होला । मलाई छोडेर गएकै चालीस वर्ष हुन लाग्यो । सुरुसुरुमा त भेट्न आउँथ्यो । भेट्न छोडेको पनि बीस वर्ष हुन लाग्यो । यो शहरका मान्छेहरू स्वार्थी छन् । तर उसलाई पनि उसका छोराछोरीले छोड्छ मलाई जस्तै ।’ भनिन् ।
छोराछोरीको लागि हड्डी घोट्ने बुबाआमा अन्तिम समयमा यो चिनियाँ आमाजस्तै एक्लै एक्लै हुने हुन् कि ! मनमा आँधी चल्यो । मेरो बुबाआमा पनि अस्पतालमा मृत्यु कुरेर बसिरहेका छन् । यो शहरको दलदलबाट निस्किनै नसकिने रहेछ ।
’काउलुन वालसिटीमा हुर्केको हो म । मेरा आफन्तहरू त्यहीँ बस्थे । तर काउलुन वालसिटी भत्काएपछि सबै तितरबितर भयो ।’ उसले भन्ने गर्थिन् ।
केही समयदेखि चिनियाँ आमा यति कमजोर भएकी छिन् कि बिल्डिङको मुख्य गेट पनि खोल्न सक्दिनन् । बिल्डिङमा कोही आएर ढोका खोलिदिन्छ कि भनेर गेटकै छेउमा कुरेर बस्छिन् ।
अस्ति झन्डै गाडीले किच्यो उसलाई । रातो बत्ति बलिरहेको थियो, ऊ तेत्तिकै बाटो काट्न थालिन् । एकजना अर्धवैंशें चिनियाँ महिलाले नतानेको भए उसलाई गाडीले किच्याउँथ्यो ।
कस्तरी गाली गर्यो त्यो महिलाले, ’रातो बत्ती बलेको बेला किन बाटो काटेको ? बत्ती हेर्नू पर्दैन ?’
मलाई झोंक चल्यो र भने, ’छिसिना लेई (थुक्का तिमी), यति वृद्ध मान्छेले आँखा देख्छ ? किन गाली गर्छौ ?’
एक हप्तापछि म अबेर राति कामबाट फर्किदाँ ऊ गेट अगाडि थरथर काम्दै उभिएकी थिइन् । मलाई देखेर बाटोतिर देखाउँदै बिस्तारै भनिन्, ’छे ! छे ! (गाडी ! गाडी !)’
यो राति कहिँ जान खोजेरहेकी थिइन् । मैले गेट खोलिदिएँ तर भित्र छिर्न मानिनन् । एकजना चाइनिज आयो र चाइनिज भाषामा केके सोध्न थाल्यो । म आफ्नो कोठा उक्लिएँ । सोचें- सायद ऊ अन्तिम पटक काउलुन वालसिटी हेर्नु जान खोजेकी हुन् कि ! आधा घण्टापछि एम्बुलेन्स कराउँदै आएर बिल्डिङको अगाडि रोकियो । सायद चिनियाँ आमालाई अस्पताल लगे होलान् । आज तीन महिना भयो, मैले चिनियाँ आमालाई नदेखेको । फर्केर आउँछिन् भन्ने आशामा म सधैं बिल्डिङको गेटमा केहीबेर उभ्न थालेको छु ।
चंखमानको डायरीको यो भाग पढेपछि अत्यास लाग्यो । कवि बियान जिलिनकै अर्को कविता पढें । तर, मनबाट आनन्द हराइसकेको थियो । फगत चिनियाँ आमाको झझल्कोले मन बेचैन भयो । ………. केटाकेटी उमेरमा गाउँमा हुँदा उसले फट्याङ्ग्रा सिरानीमा राख्थ्यो । जब ऊ हुर्कियो र शहरमा काम गर्न थाल्यो, तब उसले झल्झली बल्ने घडी किन्यो । सानोमा ऊ चिहान छेउछाउ उम्रिएका झारसँग ईर्ष्या गर्थ्यो किनभने ती झार फट्याङ्ग्राहरूको घर थियो । अहिले ऊ तीन घण्टादेखि मृत छ तर उसको घडीले टिक् टिक् गर्नु छोडेको छैन ।