पार्टीका लागि टाइपराइटर चोरी
पुराना कुराहरु सुन्न खुब मन पर्छ । आफूसँग त्यस्ता कुरा छन् भने सुनाउन र तिनीहरुलाई जोहो गर्न मन पराउने मान्छे परेँ म । यसै मेसोमा मेरो नियमित कुराकानी हुन्छ, अग्रज साहित्यकार तारा गाउँलेसँग मेरो । एउटा सरकारी कर्मचारी भएर पनि निर्भिकतापूर्वक तत्कालिन मालेका भूमिगत नेताहरुलाई सेल्टर दिने र उनीहरुको सङ्गतमा रमाउन चाहने तारा दाइले इलाममा रहँदाका केही अनुभवका पुलिन्दा खोल्नुभयो मसँग ।
पार्टीका तत्कालिन भूमिगत नेताहरुलाई आश्रय दिने एक व्यक्तिले पछि रेख ब्लोन लगायतका कार्यकर्ताहरुलाई पक्राउ गर्न सहयोगी भूमिका खेले । मोहन शंकर नामका ती व्यक्तिलाई तारा दाइले एक भेटमा सोध्नुभएछ,“तपाईंलाई त त्यतिखेर अञ्चलाधीश कार्यालयले किनि हालेछ हगि ?”
“हो, म त्यतिखेर बिकेकै हो ।”, उनले स्वीकार गरेछन् ।
तारा दाइका अनुसार रेख ब्लोनहरु पक्राउ परेपछि उनलाई अर्को एक अभियोगमा इलामबाट पक्राउ गरी काठमाडौंको हनुमानढोकासम्म पु¥याइयो । उनलाई टाइपराइटर चोरीको अभियोग लागेको थियो । तर केही दिनपछि नै उनी थुनामुक्त भइहाले । तारा दाइले भन्नुभयो, “हुन त त्यतिखेर पार्टीका लागि विभिन्न ठाउँबाट विभिन्न सामान जोहो गर्ने चलन थियो, इलाममा टाइपराइटर चोरियो पनि होला । तर मोहनको सन्दर्भमा चाहिँ ती सबै नाटक रहेछ ।”
तारा दाइबाट यी कुरा सुनिरहँदा म २०३८ सालतिर फर्केँ । प्रसङ्ग हो टाइपराइटर चोरीकै ।
हरायो बहुमूल्य सम्पति
त्यो समय विद्यालयमा टाइपराइटर मेसिन हुनु भनेको ठूलो प्रतिष्ठाको विषय हुन्थ्यो, त्यो पनि गाउँको विद्यालयमा । धनकुटाको सदरमुकामदेखि पारीको गाउँ ताङ्खुवाको चुलाचुली माध्यमिक विद्यालयमा पनि टाइपराइटर थियो, त्यो बेला । एक जना विदेशीले उपहार दिएको यो मेसिन विद्यालयका लागि बहुमूल्य सम्पति थियो ।
तर त्यो अचानक हरायो । त्यसपछि मच्चियो खैलाबैला । त्यो समयमा निमावि तहमा अध्ययनरत विद्यार्थी (हालः सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी) मुकुन्द कट्टेलले यो लेखकलाई भन्नुभएको दृश्य यस्तो छः
जब विद्यालय खुल्यो, तब टाइपराइटर गायब भएको थाहा भयो । खैलाबैला मच्चियो । शिक्षकहरु पढाउन छाडेर अनि विद्यार्थीहरु पढ्न छाडेर धुँइपताल टाइपराइटरको खोजीमा लागे । जङ्गल, पोथ्रा, कुनाकाप्चा, खोलाखाल्सा चारैतिर खोजियो, कहीँ कतै छैन, टाइपराइटर । विद्यालय नजिकै एक पोखरी छ, तर त्यहाँको पानी सुकिसकेको छ अहिले । त्यहाँ पो कसैले फालिदिएका छन् कि भन्ने शङ्का भयो । त्यो बेला पौडी खेल्न जान्ने विद्यार्थी थिए, राम भट्टराई । शिक्षकले उनलाई पोखरीभित्र पसेर खोज्न भने । उनी पोखरीभित्र पसेर खोजे, अनि बाहिर निस्केर भने,“यहाँ पनि छैन, सर ।”
खोज्दा भेटिन्छ कि भन्ने सबै प्रयत्न विफल भए । टाइपराइटर हरायो, अर्थात् चोरी भयो ।
सजाय पाए काँग्रेसीले
कसले चोरी गर्यो त विद्यालयको त्यो बहुमूल्य सम्पति, त्यो पनि उपहारका रुपमा प्राप्त भएको । यसको खोजीमा स्थानीय पञ्चहरु पनि सक्रिय भए । यस्ता पञ्चमध्येका प्रधानपञ्च थिए, माधव भट्टराई । उनको आशङ्काको खाँडो स्थानीय केशर सुब्बामाथि सोझियो । केशर त्यो बेलादेखि नै काँग्रेसी भनी चिनिएका व्यक्ति । उनीमाथि लाग्यो, टाइपराइटर चोरीको अभियोग । उनी पञ्चहरुको इसारामा पिटिए । थुनामा पनि परे । तर टाइपटाइटर भेटिएन, यो मेसिन चोरीको सुइँको कहीँ कतैबाट पनि मिलेन ।
एक साँझ साहित्यकार भाइ विश्वासदिप तिगेलाले बानेश्वरमा उनको नवनिर्मित घरमा बोलाएका थिए, खानलाई । केशर सुब्बालाई त्यहाँ खानपिनकै क्रममा भेटेँ । कुराकानीकै प्रसङ्गमा मैले पुरानो कुरा कोट्याएँ, “दाजु, तपाईं त पुरानो नेता, त्यो चुलाचुली स्कूलमा टाइपराइटर चोरी भएको कुरा थाहा छ ?”
“त्यो चोरेको आरोप त मलाई पो लाग्यो । समातेर सदरमुकाम ल्याइहाल्यो नि । तर अभियोग प्रमाणित नभएकोले केही दिनपछि छाडिदिए”, उहाँले भन्नुभयो ।
त्यो टाइपराइटर चोरीको घटनाको आफूले थाहा पाएसम्मको नालीबेली मैले केशर सुब्बालाई बताइदिएँ, त्यो भेटमा । त्यसपछि बडो आश्चार्य व्यक्त गर्नुभयो, “हौ, चोर्ने चाहिँ बामेहरु, सजाय पाउने म ? खत्तम पो गरेछन् हौ भाइ !”
त्यो बेला ताङ्खुवाका भरत भट्टराई, माधव भट्टराई लगायतका पञ्चहरु सूर्यबहादुर थापाले त्यसबेला लगाउने गरेको “भूमिगत गिरोह” समूहका धनकुटामा चिनिएका पात्रहरु थिए ।
कहाँ पुग्यो यो टाइपराइटर ?
त्यो मेसिन चोरी भएको बेला हाम्रो एउटा घर तत्कालिन मालेको एउटा सेल्टर थियो । त्यहाँ तत्कालिन प्रगतिशील लेखक कलाकार संघको नाममा दिनदिनै जस्तो भेला हुन्थ्यो, गाना बजाना चल्थ्यो । कहिलेकहीँ भूमिगत नेताहरु आउँथे, त्यो घर त्यस समय सुनसानजस्तो हुन्थ्यो ।
म परे त्यो बेलाको एउटा बालक । तर म ती गतिविधि संवेदनशील भएर अवलोकन गर्थेँ ।
प्रगतिशील लेखक कलाकार संघको धनकुटा जिल्ला दोस्रो सम्मेलन (२०३८)ले डम्बर सुब्बालाई अध्यक्ष चयन ग¥यो । पहिलो सम्मेलन (२०३७)द्वारा अध्यक्ष चयन हुनुभएका रेख ब्लोन कोशी अञ्चल कमिटीको सहसचिव हुनु भयो । त्यो बेला कवि बम देवान अञ्चल कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।
चुलाचुली माविको टाइपराइटर चोरीको योजना यिनै रेख ब्लोन र डम्बर सुब्बाहरुले बनाएका रहेछन् । तीमध्ये डम्बर सुब्बा मेरा सहोदर दाजु हुन् । टाइपराइटर चोरी भएको घटनाबारे कुनै समय उनले मसँग बताएको कुरा यस्तो छः
पार्टीको दस्तावेज बनाउनु पर्ने हुन्थ्यो । सकेसम्म टाइपराइटरबाट लेख्दा छिटो पनि हुने, अनि कसले लेख्यो, अक्षर पनि नचिनिने ।
टाइपराइटर कहाँ छ त ? किन्न सकिने कुरा भएन । चुलाचुली माविमा छ भन्ने त थाहा थियो नै । त्यहीँबाट उठाउने योजना बन्यो ।
त्यहीँ योजना अनुसार निश्चित पार्टी कार्यकर्तालाई सूचना दिइयो, गोप्य रुपमा । ठाउँ–ठाउँमा कार्यकर्ता समूह–समूहमा बसेका थिए, त्यो मेसिन बोक्न । त्यसपछि त्यो मेसिन चुलाचुलीबाट भीरगाउँको बाटो निबुवा खोला त¥यो र घाँटीचौरबाट सल्लाघारी जङ्गलको उकालो हुँदै स्याउले निस्कियो र हाम्रो टोल तत्कालिन भोटेचौतारा (हालः स्कुलडाँडा)मा आइपुग्यो र कुनै गोप्य स्थानमा सुरक्षित राखियो ।
कडा सुरक्षा जाँच छल्दै
पार्टीको निर्देशन थियो, त्यो टाइपराइटरलाई जसरी भए पनि धरान पुर्याउनु पर्ने । त्यो बेला गौँडागौँडामा सुरक्षाकर्मी बस्थे र सोधपुछ अनि खानतलासी गर्थे । त्यो टाइपराइटर कसरी पठाउने होला त धरान ?
उपयुक्त कार्यकर्ताको खोजी गरियो । एक जना उत्साहित हुँदै भने,“म त्यो काम गर्छु ।”
त्यो कामको चुनौति मोल्ने आँट धनकुटा सिक्तिमका पुष्प राईले गर्नुभयो । उहाँ बेलाबेलामा सामान लिन धरान झर्ने गर्नु हुन्थ्यो । उहाँ त्यो बेला एक कार्यकर्ता हुनुहुन्थ्यो । एक हिउँदको रातको बैठकमा हाम्रो घरमा आउँदा उहाँ सिरक ओढेर आएको अहिले पनि म सम्झिरहन्छु । उहाँ सिरकै ओढेर आएको देखेर अन्य साथीहरु गलल हाँसेका थिए । उहाँ बितिसक्नुभयो, सम्झने कोही छैन ।
त्यो बेला अहिलेको भेडेटार चर्चित थिएन, धरान–धनकुटा सडक (हालः मदन भण्डारी राजमार्ग) निर्माणाधिन थियो । साँगुरी भञ्ज्याङमा कडा सुरक्षा जाँच हुन्थ्यो । त्यो पनि छलेर त्यो टाइपराइटरलाई धरान पुर्याउनु पर्ने भयो । त्यसको जिम्मा पुष्प राईले लिनुभयो । उहाँ एक ढाक्रेको भेषमा ढाकर बोकेर साँगुरी भञ्ज्याङ सकुशल कट्नुभयो । उहाँले बोकेको ढाकरभित्र त उही चोरी गरिएको टाइपराइटर थियो ।
त्यो बेलाका साक्षी पार्टीका नेता तथा प्रगतिशील लेखक कलाकार संघका धनकुटा जिल्ला सचिव जीवप्रसाद पोखरेलले बताउनु भए अनुसार त्यो टाइपराइटर धरान पुतलीलाइनका गिरिजा आचार्यको घरमा पु¥याइयो । पार्टीको निर्देशन यति नै थियो, धनकुटाका कमरेडहरुका लागि, जो सफलतासाथ सम्पन्न भयो ।
चोरीको प्रयोजन
माथि डम्बर सुब्बाले बताए अनुसार पार्टीको दस्तावेज लेख्न अवश्यै टाइपराइटर प्रयोग भयो होला । तर टाइपराइटर मेसिनहरु सङ्कलन गरेर पार्टीको आयस्रोत बढाउने पनि अर्को उद्देश्य रहेको थियो ।
एक दिन यस लेखकले पुराना माले कार्यकर्ता इश्वरी अधिकारीसँग यसबारे जिज्ञासा राखेको थियो । मेरा छिमेकी युवराज दहाल (हालः नेपाल सरकारका उपसचिव)को घरमा उहाँ आउनुभएको थियो । मैले त्यहाँ भेट्दा उहाँ वामपन्थी नै हुनुहुन्थ्यो, र शिक्षण पेशा गर्नुहुन्थ्यो । उस पनि उसबेलाका माले कार्यकर्ता, त्यसमा पनि ताङ्खुवाका स्थानीय भएकोले उहाँसँग चुलाचुली माविको टाइपराइटर चोरीको विषयमा जिज्ञासा राखेँ । उहाँले बताउनु भए अनुसार, त्यो बेला पार्टीको आयस्रोत बढाउनका लागि टाइपिङ इन्स्टिच्युट खोल्ने योजना पनि रहेछ । त्यहीँ कारण चोरेरै भए पनि यस्तो मेसिन सङ्कलन गर्ने योजना अन्तरगत चुलाचुली माविको टाइपराइटर पार्टीकै निर्देशनमा चोरी गरिएको रहेछ ।
इश्वरी अधिकारी त्यो समयका त्यस्ता अखिल कार्यकर्ता हुनुहुन्थ्यो । त्यो बेला महेन्द्र मोरङ क्याम्पसमा चलेको गोली प्रहारमा फणिन्द्रराज तिमिल्सिनाले शहादत प्राप्त गरे । तर गोलीको निशाना चाहिँ फणिन्द्र नभएर इश्वरी हुनुहुन्थ्यो ।
त्यो हत्याकाण्डको अभियोग विजय गच्छेदारमाथि लाग्यो । त्यो समयका महेन्द्र मोरङ क्याम्पसका अखिल कार्यकर्ता हरि राईले धरानमा एक भेटमा यस लेखकलाई यस्तो भन्नुभएको थियोः
फणिन्द्रको हत्यापछि अखिल कार्यकर्ताले पनि प्रतिशोधको भावना लिएर विजय गच्छेदारमाथि आक्रमण गरे । उनको एक आँखा फुटाइदिए । अब म¥यो भनी नालीमा फ्याकिदिए । उनको जीउ सुन्निएर यस्तो भयो कि शरीरका लुगाका टाँकहरु चुट्टिए च्वाँट्ट च्वाँट्ट !