रानीपोखरी पुनर्निर्माणको विधि तय
काठमाडौं, फागुन १२ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आज बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने टुङ्गो लगाएको हो ।
रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करिब एक फिट तलसम्म खनी घाँस हटाइनेछ । त्यहाँको सबै बालुवा निकाली माटो नमिसिने गरी जम्मा गरिनेछ । पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करीब दुई फिटको बालुवा राखिनेछ ।
पोखरीको डिल निर्माणका बारेमा पनि प्राधिकरणले निर्णय गरेको छ । विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार मिलाइनेछ । पोखरीको डिलको माथिल्लो भागमा ठूलो माअप्पा इँट्टाको पेटी लगाइनेछ ।
पोखरीको डिल र पैदलमार्गको छेउसम्म इँट्टा सोलिङ एवं लाइम कङ्क्रिट गरिन्छ । यसपछि ठाडो इँट्टा बिछ्याइनेछ । हालै बनाइएको ढुङ्गाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई पैदलमार्ग तहमा लाइम कङ्क्रिटपछि माअप्पाकै रेलिङ वाल बनाइने जनाइएको छ । पैदलमार्गमा इँट्टा सोलिङ र लाइम कङ्क्रिट गरी दुई इञ्च बाक्लो कालो ढुङ्गा बिछ्याइनेछ ।
पोखरीको सिँढीमा बस्न ढुङ्गाको पेटी राखी बाहिरबाट इँट्टा (माअप्पा) ले मोड्ने, साथै पोखरीको संरक्षण एवं निर्माण गर्दा पूर्व र उत्तरतर्फ समेत ढुङ्गाको पेटी बनाइन्छ । बाहिरबाट इँट्टा (माअप्पा) ले मोडी मौलिकता र एकरूपता झल्किने किसिमले सिँढीको निर्माण हुनेछ ।
पोखरीको पानीका लागि पूर्वतर्फ बोरिङको व्यवस्था गर्ने र ठाउँठाउँमा आकाशे पानी सङ्कलन गर्ने संयन्त्र निर्माण गर्ने निर्णय पनि गरिएको छ । पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्चीको पाइप लाइनसँग जोड्ने ठाउँ पनि खुला राखिनेछ । पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि कायम बनाइनेछ ।
रानीपोखरीको मध्यभागमा स्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ‘ड्राई ड्रेस स्टोन वाल’ लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँट्टाहरु प्रयोग गरिनेछ ।
पुलको वृत–खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइम र सुर्खी मोर्टार प्रयोग गरिनेछ । पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएसम्म पुरानै इँट्टाको प्रयोग हुनेछ । पुलको पैदलमार्गमा कालो ढुङ्गाले पेभिङ गर्ने र पुलको दायाँ एवं बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इञ्चको पर्खाल निर्माण गरिने निर्णयसमेत प्राधिकरणले गरेको छ ।
बालगोपालेश्वर मन्दिर प्रताप मल्ल कालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने निर्णय यसअघि नै भइसकेको छ । मन्त्रिपरिषद्को गत माघ १४ गतेको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको थियो ।
बैठकमा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की, वरिष्ठ स्ट्रक्चरल इञ्जिनीयर प्रेमनाथ मास्के, पुरुषोत्तम डङ्गोल र पूर्णबहादुर श्रेष्ठ, प्राधिकरणका वरिष्ठ डिभिजनल इञ्जिनीयर ध्रुव पौडल र पुरातत्व अधिकृत भीष्म बाँस्कोटा लगायतको सहभागिता थियो ।