• यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

  • दार्चुला, फागुन १९ : दार्चुलाका व्यापारीहरूले यो वर्ष खरिद गरेको यार्सागुम्बा अझै बिक्री भएको छैन । उनीहरूले गत असारदेखि भदौसम्म दुई क्विन्टलभन्दा धेरै यार्सागुम्बा खरिद गरेका थिए । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् ।

    स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोत नै यार्सागुम्बा हो । यार्सागुम्बा बिक्री नहुदाँ हातमुख जोर्न धौधौ भएको छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्सावापतको रकम मागिरहेका छन् । अर्कोतिर जिल्लाका व्यापारीले खरिद गरेको यार्सागुम्बा बिक्री भएको छैन । यसले समस्यामा उत्पन्न भएको छ ।

    यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष झण्डै एक क्विन्टल यार्सागुम्बा खरिद गरेका थिए । बिक्री भने आधा पनि भएको छैन ।

    “मैले झण्डै ९० किलोको हाराहारीमा यार्सागुम्बा खरिद गरें तर अहिलेसम्म ३०–३५ किलो जति मात्रै बेच्न सकें”, बमले बताए ।

    गुणस्तर हेरेर दार्चुलाका व्यापारीहरूले प्रति किलो १७ देखि २४ लाख रूपैयाँसम्मका दरले यार्सागुम्बा खरिद गरेका थिए । खरिद गरेका यार्सागुम्बा बिक्री नभएपछि उनीहरूको लगानी फसेको छ । बजारमा मुल्य पनि कम छ । काठमाण्डौंमा प्रति किलो १० लाख रूपैयाँमा समेत बिक्री गर्न मुश्किल भइरहेको छ ।

    चिनियाँ व्यापारीले यार्सागुम्बाको मुल्य घटाएपछि बिक्री रोकिएको हो । यार्सागुम्बामा प्रति किलो सातदेखि आठ लाख रूपैयाँ घाटा छ । स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा सङ्कलन गरिएको हो ।

    दार्चुलाबाट यार्सा खरिद गरी काठमाडौं पुगेर फर्किएका अधिकांश व्यापारी मूल्य नमिलेपछि निराश भएर फर्किएका छन् । व्यापारी सोभानसिंह ठगुन्ना भन्छ्न्, “एक महिना काठमाडौं बस्दा पनि यार्सागुम्बा बिक्री भएन ।  बैंक र आफन्तबाट निकालेको ऋण अनि सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या भएको छ । साना–ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहुँदा समस्यामा छन् ।”

    अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्दा एक करोड रूपैयाँ घाटा हुने बमले बताए । अधिकांश व्यापारीको यार्सागुम्बा जिल्लामै थन्किएको छ । उनीहरूका अनुसार जिल्लामा त्यसरी थन्क्याइएको यार्सागुम्बा झण्डै दुई क्विन्टल छ । आफूले यार्सागुम्बाको कारोबार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै नभएको उनीहरू बताउँछन् ।

    जिल्लाबाट हालसम्म पाँच सय ५५ किलो यार्सागुम्बा निकासी गरिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी राजु घिमिरेले बताए । मूल्य नपाएको भन्दै व्यापारीले यार्सागुम्बा बाहिर लगेका छैनन् ।

    कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार आठ सय २० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ । व्यापारीको मागअनुसार यार्सा निकासीको परिमाण बढाइएको हो ।

    साउन, भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरिद गरेका थिए । चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यत्तिकै थन्किएको छ । यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको अर्का व्यापारी धनसिंह जागरीले बताए ।

    दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवरले व्यापारीलाई दिएको यार्सागुम्बाको पैसा अहिलेसम्म पनि नपाएको बताए । उनले भने, “कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरिद गरेका थिए, कतिले काठमाडौंमा बिक्री भएपछि दिन्छु भनेर लगेका हुन् तर अझै पैसा पाइएको छैन । व्यापारीले रकम नदिँदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन ।”

    दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत नै यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।

    हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टलभन्दा यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको निकासीवापत एक करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ ।

  • कमेन्ट गर्नुहोस्