• बालविवाह अझै घटेन

  • काठमाडौं, फागुन २४ : सरकारी र निजी क्षेत्रबाट समेत बालविवाह विरूद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन ।

    केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाको चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिको स्थिति  विश्लेषण गर्दा यस अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न नौ जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह तथा विवाह गर्ने क्रममा रोकेको देखिन्छ ।

    प्रकाशमा नआएका बालविवाहका घटना थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै २० जना (१० जोडी) ले उमेर नपुग्दै विवाह गरेका छन् भने दुई बालिकाको विवाह अनमेल(धेरै उमेर अन्तर) सँग भएको र ३४ जना बालिकाको वयस्क पुरूषसँग भएको उल्लेख छ ।

    बालविवाह भएका ५६ जनामध्ये अभिभावकद्वारा २६ जना, आफूखुशी वा भागी विवाह १०, सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै २० जनाको बालविवाह हुने गरेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । 

    बालविवाहलाई लैङ्गिक रूपमा विश्लेषण गर्दा बालक १० जना र बालिका ४६ जना रहेका छन् । जिल्लागत रूपमा हेर्दा कालीकोट जिल्लामा सबैभन्दा बढी २६ जना बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ । बालविवाह गरेका अधिकांश जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाइ गरी उनीहरूको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ ।

    यस अवधिमा भएका ४६ वटा बालविवाहमध्ये १० वटा नेपाल प्रहरीबाट र चार वटा बालक्लबबाट गरी जम्मा १४ वटा बालविवाह रद्द भएका छन् । नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाटै हुने गरेको पाइएको छ ।

  • कमेन्ट गर्नुहोस्