महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ : राष्ट्रपति
काठमाडौं,फागुन२४ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरूषबीचको लैङ्गिक समानताका लागि महिला आरक्षणका साथै राज्यले समानताको नीति अवलम्बनगर्नुपर्नेमा जोड दिएकी छिन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्ने बताइन् ।
महिलाप्रतिको सोंच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “महिला सवाल महिलाको मात्र होइन, पुरूषको पनि हो । एउटा महिला पीडित हुनु भनेको पुरूष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।”
काननूनले अन्त्य गरिसकेको छाउपडी ,बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति उनले चिन्ता व्यक्त गरेकी छिन् । यस्ता प्रथालाई जरैदेखि समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औंल्याइन् । गाउँ घरमा विद्यमान महिला विरूद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न राष्ट्रपति भण्डारीले महिला शिक्षामा लगानी बढाउन सरकारसित आग्रह गरिन् । उनले भनिन्, “महिला र पुरूष समानताका लागि हरेक क्षेत्रमा ५०-५० प्रतिशत सहभागिता आवश्यक छ ।”
महिला अधिकारका क्षेत्रमा हालसम्म प्राप्त अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औंल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको उनले बताइन् ।
सो अवसरमा महिला तथा बालबालिका मन्त्री थममाया थापाले संविधानप्रदत्त महिला अधिकार कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक ऐन, नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइन् ।
प्रतिनिधिसभा, महिला र सामाजिक समितिका सभापति निरूदेवी पालले लैङ्गिक समानताका लागि घरपरिवारदेखि परिवर्तनको आवश्यकतामा जोड दिइन् । महिला मन्त्रालयका कामु सचिव वीरबहादुर राईले ग्रामीण र शहरी क्षेत्रमा महिलाका आर्थिक, सामाजिक विभेद अन्त्य गर्न मन्त्रालयले लैङ्गिक समानताका कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिँदै कार्यान्वयनमा आएको सुत्केरी हवाई उद्धार कार्यक्रमले ग्रामीण क्षेत्रका महिलामा सकारात्मक परिवर्तन आएको बताए । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।