• कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

  • काठमाडौं, चैत ८ : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

    विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फारम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएका बताए ।

    “गत वर्ष परीक्षा दस्तुर बुझाउने क्रममा आवेदकले निकै सास्ती खेप्नुपरेको थियो, बैंकमा निकै लामो लाइन थियो, तर यसपटकदेखि अनलाइन प्रणालीबाट तिर्न सकिने व्यवस्था गरिएको छ, अनलाइन पहुँच हुनेले अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् भने अन्यले ग्लोबल आइएमई बैंकका कमलादीबाहेकको सम्पूर्ण काउन्टरबाट भुक्तानी गर्न सक्नेछन्‚” उनले भने ।

    आवेदन फारम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपिएस कोरिया शाखाको वेबसाइट eoers.epsnepal.gov.np लगइन गरी लिन सकिनेछ । आवेदन फारम भर्ने समयावधि झन्डै १० दिनको रहेको भन्दै उनले आवेदकलाई हतार नगर्न पनि आग्रह गरेका छन् ।

    बैंकको कुनै काउन्टरमा भीडभाड भए अन्य काउन्टरमा गएर भए पनि दरखास्त दस्तुर बुझाउन सकिने उनको भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुक्षामन्त्री गोकर्ण विष्टले भाषा परीक्षा आवेदन प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत आवेदन फारम र दरखास्त दस्तुर अनलाइनबाटै बुझाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

    भाषा परीक्षाको तयारी गरिरहेका युवाले गए राति १२ बजेदेखि आवेदन फारम भर्न थालेका छन् । अहिले बिहान ८ बजेसम्म १५ हजारले आवेदन फारम भरेको इपिएस शाखाका निर्देशक खनालले जानकारी दिए । बैंकका काउन्टर आज बिहान १० बजेदेखि खुल्ने भए पनि यसअघि फारम भरेकाले अनलाइनमार्फत दरखास्त दस्तुर भुक्तानी गरेका छन् । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिनेछ । परीक्षा दस्तुरबाहेक आवेदकले अन्य कुनै थप शुल्क व्यहोर्नु नपर्ने इपिएस कोरिया शाखाले स्पष्ट पारेको छ । फारम भर्ने नाउँमा बिचौलियाको प्रभाव पर्न सक्ने भन्दै शाखाले आवेदकलाई तोकिएको परीक्षा दस्तुर २४ अमेरिकी डलरबाहेकको अतिरिक्त शुल्क नबुझाउन आग्रहसमेत गरेको छ । आवेदकले दरखास्त भर्ने अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसारको दरखास्त दस्तुर बुझाउनुपर्ने छ ।

  • कमेन्ट गर्नुहोस्