हङकङको सँस्कृति जोगाउन लागिपरेका डग्लस योङ
हङकङ क्यान्टोनिज सँस्कृतिको सत्य तर कर्कश पाटो देखाउने सवालमा डग्लस योङसँग जादुको स्पर्श छ । गालीगलौजमा त उनी उस्ताद नै छन् ।
योङ शहरको लोकप्रिय लाइफस्टाइल पसल जिओडिका सहसंस्थापक तथा कार्यकारी प्रमुख हुन् । हङकङ क्यान्टोनिज भाषामा गालीगलौजका शब्दलाई चञ्चले र स्ट्रिट–स्मार्ट शैलीमा प्रस्तुत गर्न पसल निकै लोकप्रिय छ । सन् १९९६ देखि डिजाइनको क्षेत्रमा प्रवेश गरेको जिओडि रातारात चर्चामा आएको हो ।
योङको चर्चित नारा ‘डिले नो मोर’ ले धेरैलाई छक्क पारेको थियो । उनका केही ‘सिग्नेचर’ उत्पादनहरू यो नाराले भरिएका छन् । हङकङमा लोकतन्त्रको बहस चलिरहेको बेलो फुरेको यो नारा स्थानीय गालीजस्तै पनि सुनिन्छ ।
योङले क्यान्टोनिज ‘प्रोफानिटी’ वा गालीगलौजलाई कलाको शैलीमा ढालेका छन् । यसले ठूलै व्यावसायिक सफलता पनि हात पारेको छ । जिओडि ब्रान्ड अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय भएको छ ।
राष्ट्रिय पहिचान बोक्ने उत्पादन नै सफल ब्रान्ड बन्ने योङको विश्वास छ । जिओडिको सफलताको मन्त्र पनि यही हो । हङकङेली भएकोमा जिओडि निकै गौरव अनुभव गर्दछ । त्यसैले लाज नमानी स्थानीय सँस्कृतिलाई प्रदर्शन गर्दछ ।
वास्तविक जीवनमा आफू शालिन भएको योङको दाबी छ । ब्रान्डको नाराले पाएको चर्चाका कारण उनीबारे पूर्वाग्रह उब्जिएको उनको बुझाइ छ ।
योङ ५४ वर्षका भए । उनी पूर्व र पश्चिमको मिश्रण हुन् । जीवनको आधा समय हङकङ र आधा संयुक्त अधिराज्यमा बिताएका छन् । उनी आफ्नै ब्रान्डको वास्तविक प्रतिबिम्ब भएकोमा कुनै शंका छैन । हङकङको झर्रोपन र बेलायती विनम्रताको सम्मिश्रणले उनलाई ‘तेश्रो सँस्कृति’ को स्वभाव दिएको छ ।
आफूलाई मनपरेको काम गरेर जीविका चलाउन पाएकोले योङ आफूलाई भाग्यमानी ठान्दछन् । अनि उनको काम हो – गृहनगरको महत्वपूर्ण विशेषताको प्रवर्द्धन र संरक्षण – चाहे त्यो ‘गुड’‚ ‘ब्याड’ वा ‘अग्लि’ नै किन नहोस् ।
आफ्नो व्यवसाय कसैलाई नि:शुल्क हस्तान्तरण गर्नेबारे ठट्टा पनि गर्छन् । तर यसका लागि उनीजस्तै सोंच भएको व्यक्ति हुनुपर्छ । जसले जिओडिलाई अझ विस्तार गरून् । यसले योङको व्यवसायलाई अझ ठूलो र झर्रो बनाउनेछ ।
योङसँग कुरा गर्ने जोकोहीले हङकङप्रति उनको असिमीत प्रेम अनुभव गर्न सक्छन् । उनी त्यही व्यक्ति हुन् जसले क्यान्टोनिज सँस्कृति र यसका गालीगलौजलाई अन्तर्राष्ट्रिय फेसन बनाए ।
उनको बाल्यकाल हङकङमै बित्यो । चौध वर्षको उमेरमा उनलाई बेलायतको एउटा बोर्डिङ स्कूल पठाइयो । एक दशकपछि उनी घर फर्किए । फर्किदाँ द्वैध राष्ट्रियताको अनुभव गरेको उनी बताउँछन् । एक तरिकाले यो एउटा वरदान नै थियो किनभने यसल उनको दृष्टिकोण नै परिवर्तन गर्यो ।
‘विश्वविद्यालयको अध्ययन सकेर फर्किएपछि हङकङ मेरो लागि परिचित र अपरिचित बन्यो । यो घरजस्तो पनि र विदेशजस्तो पनि थियो‚’ उनले भने‚‘मेरा विदेशी साथीहरूलाई हङकङ घुमाउँदा उनीहरूलाई आकर्षक लागेका सामग्री मेरो लागि सामान्य थियो । शहरको विशिष्टता सबैको सामु ल्याउन म यसैबाट प्रेरित भएँ ।’
योङ आफ्नो अभिरूचिलाई कर्तव्य पनि ठान्दछन् । ‘जुन दिशा र गतिमा हामी अघि बढिरहेका छौं मेरै समयमा पनि मैले हङकङका धेरै सँस्कृति लोप भएको देखेको छु ।’
अन्तर्राष्ट्रिय शहर बन्दै गए पनि हङकङको विविधता हराउँदै गएको उनी बताउँछन् ।
‘म सानो छँदा हङकङ पूर्व र पश्चिमको मिश्रण थियो । तर अहिले यो समृद्ध र आधुनिकसँगै पश्चिमीकरण पनि भएको छ । मलाई हङकङमा पूर्व र पश्चिमको सन्तुलित मिश्रण हेर्न मन छ ।’
योङले नयाँ प्रकारको साँस्कृतिक क्रान्ति सुरू गरेको भन्दा अन्यथा नहोला । साँस्कृतिक आलोचकहरूलाई पुरातन सोंचबाट पर रहेर यो मुद्दालाई विवादको विषय नबनाउन उनले आग्रह गरेका छन् ।
‘हाम्रो जीवनकालमा नयाँ साँस्कृतिक क्रान्तिको अनुभव गरिरहेका छौं । सारा विश्वको ध्यान हामीतिर केन्द्रित छ । म चिनियाँ पहिरनको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहन्छु । यो जिन्स र बेसबल क्यापजस्तै लोकप्रिय होस् भन्ने चाहन्छु । म धेरैभन्दा धेरै मानिसले चिनियाँ ज्याकेट लगाएको हेर्न चाहन्छु । मैले चिनियाँ ज्याकेट लगाउँदा कुनै साँस्कृतिक अभिव्यक्ति दिएको पनि हैन । मलाई यो साँच्चिकै आरामदायी र विविधतायुक्त लाग्छ त्यसैले लगाउँछु ।’