• छिन्ताङमा मदन भण्डारी

  •  

    खबर आयो,“तपाईंहरु त्यो बोर्ड बोकेर साँझै त्यतातिर लागिहाल्नु पर्यो ।”

    यो खबर थियो, तत्कालिन नेकपा (माले), धनकुटा जिल्ला कमिटीका सचिव गोपाल गुरागाईंको । बोर्डको पेन्टिङ इनामेल रङ प्रयोगमा म आफैले गरेको थिएँ, रातो भूईँमा सेता अक्षरले छिन्ताङ आन्दोलनका शहीदहरुको नाम, उहाँहरुको ठेगाना र उहाँहरुले अमरत्व प्राप्त गरेको मिति र स्थान कोरेको थिएँ । त्यो बोकेर साँझको समय कुमार कार्की दाइको साथ लागेर छिन्ताङतिर दौड चल्यो ।

    २०४७ सालको कात्तिक २६ गतेको कुरा हो यो । हामी तोकिएको स्थानमा राती बास बस्न पुृग्यौँ ।

    छिन्ताङको पञ्चकन्या डाँडालाई ‘शहीद पार्क’ बनाउने योजना पार्टीको रहेछ । त्यसको शिलान्यास गर्न मदन भण्डारी त्यहाँ आउनु भएको थियो । उहाँलाई त्यो बेला नेकपा (माले)को प्रवक्ता भनेर सम्बोधन गरियो । कार्यक्रम भव्य भयो । अहिले त्यो ठाउँ भव्य पार्कका रुपमा स्थापित छ । कात्तिक २७ गते मदनले शहीद पार्कको शिलान्यास गर्नुभयो ।

    कार्यक्रम सकिएपछि फेरि रातारात फर्कनु पर्ने भयो । बास प¥यो, आँखिसल्लामा । त्यहाँका स्थानीय तथा धनकुटा बहुमुखी क्याम्पसका तत्कालिन सहपाठी हस्त पौडेलले खाली रहेका कृषि भवनमा नेतादेखि कार्यकर्तासम्मका लागि बासको व्यवस्था गर्नुभयो । यो कृषि भवन निर्माणको ठेक्का उद्विपसिंह राईको निर्माण कम्पनी एवाई निर्माण सेवाले पाएको थियो । यहाँका यी भवन बिना प्रयोग भग्नावशेष भए । ठेकेदार राईले एक दिन यो लेखकलाई बताउनु भए अनुसार चट्याङका कारण भवनको सानो भागमा क्षति पुगेको थियो, सरकारी बेवास्ताका कारण पनि यी भवन भग्न भए ।

    उद्विपसिंह राईले धनकुटामा बाम आन्दोलनलाई मलजल दिन गरेको योगदान अविस्मरणीय छ । यसको चर्चा हुने नै छ ।

    मदनलाई मैले दोस्रो पटक देखेको हुँ । भूमिगतकालमा हाम्रो घरमा सेल्टर लिँदा खाना आएको र त्यसपछि आफ्नै हातले खाएको थाल माझेको सम्झना छ । दोस्रो पटकको भेटमा उहाँ अलि बढि चुरोट पिइरहेको देखेँ । धुम्रपान नगर्ने गोपाल गुरागाईं उहाँको चुरोटको अम्मल बारे हामीसँग सानो स्वरमा टिप्पणी गर्दै हुनुहुन्थ्यो,“कमरेडमा धुम्रपानको अम्मल अलि बढी बसेछ, पहिले त्यस्तो थिएन । बरु पहिले माधव नेपाललाई हामीले यसरी नै बिँडि पिइरहेको देख्थ्यौँ ।”

    मदनको शहीद भूमिको यो भ्रमण अन्तिम रह्यो । यहाँ उहाँको यस क्षेत्रको यस अघिका भ्रमण नेपाल वामपन्थी आन्दोलनको सन्दर्भमा दूरगामी महत्वको छ । उहाँ छरिएर रहेका नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक गराउने उद्देश्यका साथ यस क्षेत्रमा हिँडडुल गरिरहनुहुन्थ्यो, बेला बेलामा कहिले जीवन शर्मा भएर, कहिले प्रदीप शर्मा भएर ।

    अखुवाटारको त्यो भेला

    पुष्पलालसँग फुटेपछि मुक्ति मोर्चामा हुनुहुन्थ्यो मदन । मुक्ति मोर्चा सन्देश समूह लगायत विभिन्न समूह मिलेर को–अर्डिनेसन केन्द्र बन्यो । अर्थात् माले बन्नुअघि । छिन्ताङको बेँसी अखुवाटारमा विभिन्न समूहमा छरिएका कम्युनिस्ट अगुवा कार्यकर्ताहरु भेला भएका थिए । खासगरी कोशी पहाडी क्षेत्रमा प्रभुत्वशाली तत्कालिन ‘पूर्वको रातो झण्डा समूह’ र ‘को–अर्डिनेसन केन्द्र’बीचको कुराकानीको जाँचोपाँजो थियो, त्यो । स्थानीय बलबहादुर खत्रीको घरमा भेला गरिएको थियो । को–अर्डिनेसन केन्द्रकातर्फबाट फुस्रो सर्ट र कालो टोपीधारी मदन एक्लै र रातो झण्डाकातर्फबाट त्यसका नेता आनन्दसन्तोषी राई, गोपाल गुरागाईं, चित्र निरौला, भक्त बोलना, नरेश शाक्य, बासु शाक्य, चन्द्र पुरी, माणिक राई तथा जीवप्रसाद पोखरेलहरु सहभागी हुनुहुन्थ्यो । दुई दिनसम्म अखुवाटारमा एकतावार्ता भयो । त्यो समयमा आनन्दसन्तोषी राई रातो झण्डाको प्रमुख हुनुहुन्थ्यो भने चित्र निरौला चाहिँ रातो झण्डाको प्रकाशन सम्हालिरहनु भएको थियो । उहाँले नै ‘रातो झण्डा’को विसर्जन अङ्क निकालेर मालेमा आफूहरुलाई समाहित गराउनुभयो । आनन्दसन्तोषी राईको यसमा विमति रह्यो र उहाँ क्रमशः पूर्वकोशी प्रान्तीय कमिटीका मनमोहन अधिकारीहरुको सम्पर्कमा पुग्नुभयो ।

    धनकुटा नगरको बाम आन्दोलनकारीहरुको कुरा गर्ने हो भने मोहनप्रसाद पोखरेलको पनि नाम आउँछ । उहाँ पछि खरो पञ्च बनेर धनकुटा नगरको प्रधानपञ्च पनि बन्नुभयो एकपटक । उहाँ पञ्च बन्नुअघि पूर्वकोशी प्रान्तीय कमिटीमा आवद्ध हुनुहुन्थ्यो ।

    यो एकता वार्ता माले बन्नुअघि अर्थात् २०३५ को जेठ असारतिर हुनुपर्छ भन्ने सम्झना गर्नुहुन्छ, त्यो एकता वार्ताका एक सहभागी जीवप्रसाद पोखरेल । अरुण गढतिरमा भएको यो वार्तामा सहभागी हुन जाँदै गर्दा आनन्दसन्तोषी राई, गोपाल गुरागाईं, माणिक राई र जीवप्रसाद पोखरेल आलुबखडा खाँदै अखुवाटार बेँसी झर्नुभएको थियो । यो फल फल्ने समय भनेको जेठ असार नै हो ।

    वाम आन्दोलन छाडेर मोहन पञ्च बनेझैँ अहिले त तत्कालिन रातो झण्डाका नेता आनन्दसन्तोषी राई पनि नेपाली काँग्रेसमा हुनुहुन्छ । तर उहाँसँग निकट भक्त बोलनाले पार्टी छाड्नु त भएन नै उहाँको निष्ठा निक्कै उँचो, लाभको पद दिदा पनि लिन मान्नु भएन । उहाँ छिन्ताङ आन्दोलनमा झण्डै मारिनुभयो । अखुवाटारको भेलाको खास व्यवस्थापक त भक्त बोलना राई हुनुहुन्थ्यो ।

    भक्त बोलनाको सन्दर्भ ल्याउँदा उहाँको परिवारका सदस्यलाई राजनीतिक विरासत हस्तान्तरणको सामान्य शिलशिलाको निकटता यो लेखकको पनि छ ।

    धर्मराज पौड्याल (पूर्व जिविस सभापति)को नेतृत्वको अखिल, धनकुटाले राजेन्द्र राई (हालः नेकपाका जिल्ला पार्टी अध्यक्ष तथा सभासद)लाई नेतृत्व हस्तान्तरण ग¥यो । राजेन्द्रले लक्ष्मी निरौला (हाल नेपाल सरकारका उपसचिव)लाई धनकुटा अखिलको नेतृत्व हस्तान्तरण गर्नुभयो । लक्ष्मीको नेतृत्वको धनकुटा अखिलमा म पदाधिकारी थिएँ । त्यसपछि हामीले जेनी राईलाई धनकुटा अखिल सुम्पियौँ ।

    जेनी भक्त बोलनाकी छोरी हुन् । अहिले भक्तकै छोरा निरन राई धनकुटा प्रदेश नम्बर १ का सभासद् छन् । यो परिवारको राजनीतिक निरन्तरतामा आस्था र निष्ठाको भव्य भूमिका रहिआएको छ । हामीले नेतृत्व हस्तान्तरण गरेको बेला जेनी र निरन साह«ै सोझासिधा र इमान्दार कार्यकर्ता थिए, र छन्, आफ्नो क्रान्तिकारी बुबाजस्तै । जेनी राजनीतिबाट हराइन्, त्यो विरासत अहिले निरनले धानिरहेका छन् ।

    चुङवाङको बेँसी सुनबालुवामा रहेर पुलको ठेक्का लिँदै, बाख्रापालन गर्दै बस्नुभएको उद्विपसिंह राईले धेरै वामनेतालाई पाल्नुभयो । उहाँ त्योबेला आफै बाम राजनीतिमा हुनुहुन्थ्यो । कार्यालय व्यवस्थापन तथा लेखा विषयका शिक्षक पनि हुनुहुन्थ्यो उहाँ । पछि ठेक्कापट्टा छाड्नुभयो । उहाँले केही वर्ष जिल्लाको जनप्रतिनिधिको रुपमा राजनीति गर्नुभयो । उहाँकै निर्माण सेवा कम्पनीले निर्माण गरेको आँखिसल्लाको कृषि भवनमा मदन भण्डारीले धनकुटाको सन्दर्भमा अन्तिम रात बिताउनुभयो । त्यसको तीन वर्षपछि त उहाँको पनि रहस्यमय भौतिक विलय भयो, विचारहरु हामीमाझ छाडेर ।

    खासगरी रातो झण्डा समूहको भूमिगत रुपमा हुने विभिन्न बैठक र भेला भइरहने सुनबालुवामा हाम्रो छिमेकको एक परिवार सामान्य मजदुरी गर्न गएको थियो । त्यहाँबाट पनि खास वृत्ति नचलेपछि उनीहरु यतै धनकुटा देब्रेबास भोटेचौतारातिर फर्के । त्यहीँ परिवार हो, जसले मदन भण्डारीले हाम्रो घरमा बसेको भूमिगत बैठकमा सहभागी हुँदा खानाको व्यवस्था गरेको थियो । अर्थात्, अमृतबहादुर बाइवा तामाङको परिवार । उनीहरुको योगदानलाई फेरि पनि सम्झौँ ।

  • कमेन्ट गर्नुहोस्