• आफ्नै खुट्टामा बन्चरो हान्दै

  •  

    कार्यकारी प्रमुख क्यारी लामले आन्दोलनकारीहरुको मागलाई सम्बोधन गर्दै सुपुर्दगी विधेयक पूर्ण रुपमा विधानसभाबाट फिर्ता लिए पनि आन्दोलन रोकिने अवस्था देखिदैन । आन्दोलनकारीहरुले राखेका पाँचवटा मागहरु मध्ये विधेयेक फिर्ता मूल मागको रुपमा रहेको थियो । विधेयेक फिर्ता गराउन क्यारी लाम र उनको सरकारमाथि दवाव सृजना गर्ने उद्देश्यले यो वर्षको जुन ७ तारिक पहिलो चोटि १० लाख ( प्रहरी अनुसार  २ लाख ४० हजार) हङकङबासी जनताले सडक प्रदर्शन गरेका थिए । आन्दोलनकारीहरुको मागलाई आंशिक सम्बोधन गर्दै कार्यकारी प्रमुख क्यारी लामले विधेयक निलम्बन गरेकी थिईन् । उक्त कुरा आन्दोलनकारीहरुले स्वीकारेनन्। उनीहरु झन उग्र भए । जुन १६ तारिकका दिन २० लाख ( प्रहरी अनुसार ३ लाख ३८ हजार ) प्रदर्शनकारीहरुले सडक तताए ।

    यस आन्दोलन सुरु भए यता याङ्त्सी नदीमा धेरै पानी बगिसकेको छ। विविध रुप लिदै आन्दोलन ३ महिना भन्दा बढी तन्किसकेको छ । समय बित्दै जादा आन्दोलन्ले उग्र रुप लिदै गएको छ । शान्तिपूर्ण र्यालीबाट सुरु भएको आन्दोलन हिंसा र घृणामा परिवर्तन भएको छ । हङकङेली समाज घैला चर्के जस्तो चर्किएको अवस्थामा छ । कट्टरपन्थी प्रदर्शनकारीहरुको विमानस्थल र एमटीआर केन्द्रीत आन्दोलनले जनजीवन अस्तव्यस्त मात्र बनाएन एशियाको नमूना व्यापार केन्द्रको रुपमा रहेको विश्वकै सुन्दर, शान्त र समृद्ध मानिएको हङकङ शहर नागरिक, पर्यटक व्यापारी तथा सबैको लागि एकाएक असुरक्षित तथा अनिश्चित भविष्यको शहर बनेको छ । प्रहरी र प्रदर्शनकारीहरुबीच दिनहु जस्तो कुकुर- विरालोको लुकामारी खेल भैरहेको छ । व्यापारमा भारी गिरावटको कारण नागरिकहरु रोजगार विहीन बन्दैछन् ।अर्थ सूचकहरु लगातार ओरालो लागिरहेका छन । नागरिकको भविश्य अनिश्चिताको भाडोमा पाकिरहेको छ ।

    लान्ताउको डाँडाबाट हङकङको सुन्दर दृश्य हेरिरहेका गौतमबुद्ध त्यसबेलादेखि निदाएका छैनन् जुन दिनदेखि हङकङमा हिंसात्मक गतिविधि सुरु भयो, आन्दोलनकारी र प्रहरीको भिडन्तको सृष्टि भयो । टाईमोशनको शिखरले बरबर्ती आँसु बगाउँदै आफैबीच लडाइ लडिरहेका दृश्य हेर्न नसकेर होला घरी घरी बादलको घुम्टो ओडि रहेकी हुन्छे । समृद्धशाली (पिक ) डाँडाले हाङसेङ इन्डेक्स ओराको झरेको हेर्दै घरीघरी बेहोश हुन्छिन्, छिनमा बादलले प्रशान्त महासागरको पानी ओसारेर छेपिरहनु पर्दछ । ठीक त्यही दिनदेखि हङकङको अस्मितामा चोट पुग्यो । लाजले घुम्टो खोल्न सकेकी छैनन् । अस्मिता र सुन्दरतामाथि बलात्कार गरेका छन आफ्नै सन्तानहरुले । आज उनी अचेत छिन् आफन्त गुमाएर डिप्रेसन भएकी आमा जस्तै। अहिले उनी अस्पतालको आईसीयूमा पुगेको छिन् । भोलि उही रुपमा ब्युझिएर आउने हुन् कि होइनन् । सबैको चिन्ता यहि छ ।

    आन्दोलनमा देशी विदेशी शक्तिहरुको हात

    सुपुर्दगी विधेयकको बाहनामा बालिग मताधिकार (युनिभर्सल सफरेज) जस्ता तुरुन्त समाधान हुननसक्ने राजनैतिक मुद्दा उठाएर आन्दोलनलाई जटिल बनाउने काम भइरहेको छ । आन्दोलन लम्बिदै जादा स्वतन्त्र हङकङ पक्षधर, आत्मा निर्णयको आधिकारवादी तथा प्रजातन्त्रवादीहरुको बुई चढेर चीन विरोधी विदेशी भूतहरु प्रष्ट रुपमा सवार भए । चीनलाई आर्थिक तथा सामरिक महाशक्ती हुन नदिने देशहरु मध्ये अमेरिका र बेलायत ताइवान (चाइनिज ताइपेइ) समेत खुल्ला रुपमा आन्दोलनकारीहरुको समर्थन गर्न पुगे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको आन्दोलनलाई चीन-अमेरिका व्यापार युद्ध (सिनाे-यूएस ट्रेड वार)को मोलतोल बस्तु (बार्गेनिङ चिप्स)को रुपमा प्रयोग गर्न खोजिरहेका छन् । आन्दोलनको पछाडि चीन विरोधी सामाजिक संस्था, ट्रेड युनियन,एनजीओ, आईएनजीओहरु पूर्णरुपमा लागेका अनुमान गर्न सकिन्छ । आन्दोलन अति साङठित (वेल अर्गनाइज्ड), पूर्ण तयारी (वेल प्रिपियड), अति सुसूचित (वेफ इन्फर्म्ड) र अति तादम्य (वेल कोर्डिनेटेड) देखिन्छ ।

    दङ्गा प्रहरीलाई कसरी व्यवहार गर्ने कुन वस्तुहरुलाई लक्षित गर्ने  १२ वर्षे बालक आन्दोलनकारीलाई समेत जानकारी छ । आन्दोलनमा  चाहिने सबै सामग्री (लिजस्टिक्स)आन्दोलनकारीहरुलाई तुरुन्तै उपलब्ध हुन्छन् । फेस मास्क, हेल्मेट, कालो युनिफर्म, खानेकुरा, पानी अविलम्ब उपलब्ध हुन्छन् । यसर्थ बेजिङले विदेशीहरुको कालो हात (ब्लाक हेन्ड) रहेको अनुमान गर्दै आएको छ ।

    बेइजिङले यो आन्दोलनलाई रङ्गिन आन्दोलन (कलर रिभोेलुसन) को संज्ञा दिएको छ । पूर्वी युरोप (सोभियत सङ्घ, युगोस्लाभिया, चेकोस्लोभाकिया आदि) सङ्घ राज्यहरु स्वतन्त्र राज्यमा छुटिने आन्दोलन भएको थियो जसलाई रङ्गिन आन्दोलन पनि भनिन्छ । सोभियत सङ्घबाट स्वतन्त्र हुनको लागि बाल्टिक गणराज्यहरुले ६७५ किलोमिटर लामो मानव साङ्लो २३ अगस्त १९८९ राती बनाएका थिए । यहाँको आन्दोलनकारीहरुले पनि २३ अगस्तकै रात त्यो घटना सम्झाउने गरि हङकङ संस्करणमा (हङकङ वे) ४६ किलो मिटरको मानव साङ्लो बनाए । यो घटना घुमाउरो पाराले हङकङ स्वतन्त्त्र माग्ने आन्दोलनको रुपमा मुख्यभूमि चीनले दर्ज गरेको छ ।

    विदेशी शक्तिको हस्तक्षेपको माग

    ७ सेप्टेम्बर आइतबारको आन्दोलनले नयाँ मोड लिएको छ । आन्दोलनकारीहरुले प्रष्ट रुपमा विदेशी हस्तक्षेपको आह्वान गरेका छन् ।विशेष गरेर अमेरिकालाई हङकङको मामिलामा हस्तक्षेप गर्न प्रष्ट रुपले अनुरोध गरिएकोछ । आन्दोलनकारीहरुले अमेरिकाको झण्डा मात्र फहराएनन् अमेरिकाको राष्ट्रिय गाना गाउदै हङकङको राजनैतिक मामलामा हस्तक्षेप गर्न आह्वान गर्दै अमेरिकी सभासदहरुको ध्यान आकर्षण गर्न सेन्ट्रल स्थित अमेरिकी महावाणिज्यदूतावासतर्फ मार्च गरेका थिए । राष्ट्रपपति ट्रम्पलाई हङकङ मुक्त गर्न आव्हान गर्दै अघि बढेको जुलुस भारी दङ्गा प्रहरीको उपस्थितिले गन्तव्यमा पुग्न सकेन । अमेरिकाको झण्डा उचाल्दै राष्ट्रपति ट्रम्प हङकङ मुक्त गर (प्रेसिडेन्ट ट्रम्प लिबरेड हङकङ)भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका कालो बस्त्रधारी मास्कले अनुहार छोपेका आन्दोलनकारीहरु अघिल्लो पङ्तिमा रहेका थिए ।

    उनीहरुले अमेरिकी सभासद्हरु समक्ष हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट निकट भविष्यमा बस्ने सदनले अविलम्व पास गरोस् भन्ने माग राखेका छन । यो माग हङकङबासीहरुको लागि आत्माघाती कदम हुनेछ भन्दै अमेरिकाकै कुटनीतिज्ञहरुले हङकङबासीलाई सचेत गराएका छन् । चीन-अमेरिका सम्बन्धि मामिला हेर्न गठन गरिएको राष्ट्रीय कमिटिका अध्यक्ष स्टेफेन ओरलिनसले यो कानुनले हङकङको राजनैतिक समस्या समाधान गर्नुको सट्टा समस्या बढाउने विचार व्यक्त गरेकाछन् । उनले यो कानुन पास भएमा अमेरिकाले दिदै आएको व्यापारिक सुविधा खोसिन सक्छ जुन हङकङको लागि मृत्युको घण्टी (डेथ नेल) हुनेछ भनेका छन् । यो कानुन बनेमा वाशिङटन डीसीले हङकङलाई हरेक पल आफ्नो राजनैतिक र आर्थिक निगरानी राख्न सुरु गर्ने छ । बर्सेनी हङकङको राजनैतिक अवस्थाको मूल्याङ्कन गर्ने छ । मानव अधिकार, स्वायतता र अन्य अधिकार सम्बन्धी गतिबिधिहरुको रिपोर्ट वर्सेनी विदेश मन्त्रीले सदनलाई दिनुपर्ने छ। सन् १९९२ मा पास भएको हाल विद्यमान अमेरिकी-हङकङ नीति  ऐन (यूएस-हङकङ पोलिसी एक्ट) जारी राख्ने वा नराख्ने निर्णय गर्न र पुनरावलोकन गर्न सक्नेछ । स्मरण रहोसअमेरिकी-हङकङ नीति  ऐनको आधारमा अमेरिकाले हङकङलाई मुख्यभूमि चीन भन्दा अलग रुपमा विशेष व्यापारिक सम्झौता गरेको छ । यो विद्यमान सन्धिको कारण हालको चीन-अमेरिका व्यापारयुद्ध अन्तरगत चीनलाई लगाएको करको प्रवाधान हङकङमा लागू भएन र लागू हुने छैन ।

    प्रदर्शनकारीले माग गरेको कानुन पास भएमा हङकङका सरकारी अधिकारी तथा राजनैतिक व्यक्तित्वहरुको अमेरिका यात्रा रोक लाउन सक्नेछ । हङकङबाट अमेरिकामा निर्यात हुने सामानको मुख्यभूमि चीनका अन्य शहरहरुलाई जसरी नै कर लगाइने छ ।

    यो कानुन माग्नु भनेको हङकङको राजनीतिमा अमेरिकाको हस्तक्षेप खोज्नु हो । यो मागको समर्थन प्रतिपक्ष सिभिक पार्टिका सभासद्हरुले पनि गरेका छन । हङकङका प्रदर्शनकारीहरुको अमेरिकी परस्तताको कारण अमेरिकाले हङकङको आन्दोलनलाई व्यापार युद्धको मोलतोलको  वस्तु बनाउनु स्वभाविक हो । आन्दोलनकारीले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छन् । नवयुवाहरुको दिमागलाई दुरुपयोग गर्दै गलत दिशामा डोर्याउने काम बाहिरी तत्वबाट भैरहेको छ। विदेशी शक्तिहरु आन्दोलन अझ हिंसात्मक भएको हेर्न चाहन्छन ता कि चीनको केन्द्र सरकारले हस्तक्षेप गरोस् । केन्द्र सरकारको हस्तक्षेप गरेमा उनीहरुले चीनको आर्थिक ढोकाको रुपमा रहेको हङकङलाई नाकाबन्दी गर्दै पूर्णरुपमा पक्षघात (प्यारालाइज) गर्न चाहन्छन् ।

    स्मरण रहोस उनीहरुले माग गरेको हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट  अमेरिकी विधानसभमा पास भए पनि अमेरिकाले चीनलाई हङकङको राजनैतिक मामलामा कुनै बाध्यकारी शर्त थोपार्न भने सक्ने छैन। बारम्बार हङकङको विषय अमेरिकाले बनाउने वातावरण चाहिँ बन्न सक्छ । जुन हङकङको लागि स्वस्थ्यकर छैन । यही कारण एक देश दुई प्रणालि (वान कन्ट्री टु सिस्टम)को आयु छोटिन सक्छ ।

  • कमेन्ट गर्नुहोस्