• चार्टर फ्लाइटको प्रतिस्पर्धामा नयाँ मोड

  •  

    जुन २४ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीलाई चार्टर फ्लाइटमार्फत ल्याउन दुई समूह लागेपछि भएको अस्वस्थ प्रतिस्पर्धाले नयाँ मोड लिएको छ । प्रतिस्पर्धामा रहेको हङकङ नेपलिज ट्राभल एजेन्ट कम्युनिटिले सरकारले तोकेकै दरमा भाडा निर्धारण गर्दै विज्ञप्ति जारी गरेको छ ।

    १३ जुनका दिन सूचना सार्वजनिक गर्दै सरकारले काठमाडौं–हङकङको भाडा अमेरिकी डलर ५५० तोकेको छ । जब कि कम्युनिटिले चार्टर गरेको दर अनुसार उक्त भाडामा उडान गर्न संभावना रहेको छैन ।

    चार्टर दर अनुसार वाइड बडीको मूल्य प्रति उडान १ लाख ५६ हजार २०० अमेरिकी डलर पर्न आउछ । प्रति घण्टा १८ हजार १ सयले ९ घण्टा ५ मिनेटमा ५ प्रतिशत छुट पाउने व्यवस्था रहेको छ । सरकारी मूल्यले सबै यात्रुको (२७१) भाडा लगभग १ लाख ४९ हजार ५० मात्र हुन आउछ ।

    विज्ञप्तिमा उल्लेख नगरिएको भए पनि कम्युनिटिको दाउ के रहेको छ भने हङकङबाट नेपाल जाने यात्रुलाई टिकट बेच्ने । नेपाल कन्सुलेट जनरलले सूचना जारी गरेपछि नेपाल जाने आशय व्यक्त गर्दै फारम भर्ने क्रम अघि बढेको छ । कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङका अनुसार यसरी फारम भर्ने लगभग सय पुगेका छन् र बढ्ने अनुमान गरिएको छ ।

    यस विषयमा कम्युनिटि अन्तर्गतको सनराइज ट्राभलका राजेन्द्र श्रेष्ठले भने, “चौध दिने सेल्फ क्वारेन्टिन बस्ने शर्तमा हङकङबाट यात्रुलाई नेपाल जान दिने भएपछि तिनलाई टिकट बेचेर उताका यात्रुबाट हुने घाटा पूरा गर्ने योजनामा हामी सरकारले तोकेको दरमा उडान गर्दैछौं ।”

    कम्युनिटिको विज्ञप्ति प्रतिस्पर्धामा रहेको हार्वेस्ट मुन ट्राभलप्रति लक्षित रहेको अनुमान गर्न सकिन्छ । हार्वेस्टले ७०० अमेरिकी डलरमा (नेरु.८५,०००) उडान गरिरहेको छ । उसले न्यारो बडी ८० हजार ९ सय ५५ डलरमा चार्टर गरिरहेको छ । अहिले हार्वेस्टले एक उडानमा ३५ हजार भन्दा बढी अमेरिकी डलर नाफा गरिरहेको छ ।

    सरकारले तोकेको मूल्यमा उडान गर्न परे उसलाई अमेरिकी डलर लगभग ४ हजार ३ सय मात्र नाफा हुनेछ । यहाँ रहेका सम्पूर्ण नेपाली ट्राभलहरु कम्युनिटि अन्तर्गत रहेकाले हार्वेस्टले नेपाल जाने यात्रुको टिकट बेच्न सहज नरहेको कम्युनिटिको आंकलन रहेको छ ।

    तर कम्युनिटिले सोचेजस्तो अवस्था देखिन्न । क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायका अनुसार अहिलेसम्मका चार्टर फ्लाइटमा हङकङबाट नेपाल जाने यात्रुको टिकट विक्री गर्न नदिइएकोले भोलि त्यो अवस्था आए नेपाल एयरलायन्सले नै गर्न सक्ने छ ।

    हङकङबाट नेपाल प्यासेन्जर लान र टिकट विक्रीको लागि हेड अफिसलाई अनुमति माग गरिएको बताउँदै उपाध्यायले भने, “यताबाट जाने प्यासेन्जरको टिकटको बारेमा यसै भन्न सकिने अवस्था छैन । चार्टर गर्ने र एयरलायन्सबीच आधा–आधा पनि हुन सक्छ ।”

    कम्युनिटि अन्तर्गतकै अल्फा ट्राभलका इन्दर पुनले दुवैतर्फको टिकट विक्रीबाट आएको नाफा कोविड–१९ का लागि सरकारी कोषमा जम्मा गर्ने प्रस्ताव गरिएको बताएका छन् । उनको प्रस्ताव अमूर्त रहेको छ, नाफाको मापदण्ड निर्धारण गरिएको छैन ।

    हार्वेस्टको टिकट बेच्नको लागि ट्राभल एजेन्ट नभए पनि हिजो नेपालबाट टिकट बेच्न एजेन्टको काम गर्नेहरु १४ दिने क्वारेन्टिनबाट निस्किसकेका छन् । त्यो बाहेक फ्लाइटको दिन नेपाल एयरलायन्सको चेकइन काउण्टरमा भीड लाग्ने एजेन्टहरु प्रशस्त रहेका छन् ।

    हार्वेस्टको दर ८५ हजार रहेको भए पनि एजेन्टलाई एक लाख २० हजारसम्म रकम बुझाएकाहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् । पैसाका लागि जे पनि गर्न पछि नपर्ने एजेन्टहरुले हार्वेस्टका लागि यात्रु भेला नगर्लान् भन्ने कुनै ग्यारेन्टि छैन ।

    हङकङको सेक्युरिटी ब्यूरोलगायतमा आफ्नै कारण हार्वेस्टको छवी धमिलो भएको छ । तेश्रो उडानका लागि ब्युरो र इमिग्रेसनले उपलब्ध गराएको लिस्टमा नरहेका २० भन्दा बढी यात्रु पठाएपछि तनावको स्थिति सिर्जना भएको थियो ।

    दुई समूहबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण उडानमा ढिलाई भएको थियो । ढिलै भए पनि चारवटा उडान भइसकेको छ भने दुई दिनपछि पाँचौं उडान हुन गइरहेको छ । हङकङको सम्बन्धित निकायमा बुझाइएको नाम अझै पनि हजारको हाराहारीमा रहेको छ ।

    नाम टिपाएकाहरु प्रायले रकम बुझाइसकेको पाइएकोले दुवै समूहमा गरी लगभग ९ करोड रुपैयाँ ट्राभल एजेन्सीको खातामा जम्मा भएको अनुमान गर्न सकिन्छ । कम्युनिटिले बढी रकम बुझाएकालाई फिर्ता दिने विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्ति अनुसार नै पहिलो उडानमा प्रति टिकट २,३०० डलर बढी लिइएको देखिएपछि कम्युनिटिको चर्को आलोचना भइरहेको छ ।

  • कमेन्ट गर्नुहोस्