कोभिड‑१९ का कारण बालबालिका र किशोरकिशोरी सबैभन्दा दु:खी
कोभिड‑१९ महाव्याधिका कारण महिनौंदेखि कक्षाहरू बन्द छन् । सामाजिक जीवन स्तब्ध छ । यी सबै कारणले बालबालिका र किशोरकिशोरी यो वर्ष सबैभन्दा दुखी भएको एउटा सर्वेक्षणले पत्ता लगाएको छ ।
एचके. विकेयर नामक गैरनाफामूखी संस्थाले गरेको सो सर्वेक्षण अनुसार शहरको समग्र खुशीयाली सूचक ६.१६ छ । संस्थाले खुशी नाप्न शुन्यदेखि दशसम्मको मानक तयार गरेको छ। पोहोर हङकङमा खुशियालीको सूचक ६.१५ थियो । सन् २०१८ र २०१७ मा क्रमश: ६.५४ र ६.४ थियो ।
जून २०१९ देखि शहरमा महिनौंसम्म सरकारको विरोधमा प्रदर्शन भए । कतिपय हिंसात्मक पनि रहे। यो वर्ष हङकङेलीहरू खुशी नहुनुमा कोभिड‑१९ महाव्याधि सबैभन्दा ठूलो कारण भएको अनुसन्धाता बताउँछन् । यात्रा गर्न प्रतिबन्ध लगाइएपछि हङकङेलीहरू घरमै बस्न बाध्य भए । भौतिक दुरीको नियमले दैनिक जीवन अत्यन्तै प्रभावित भयो ।
“कोभिड‑१९ को प्रभावलाई सर्वसाधारण एकदमै दुखी छन् । समाज र जीवनको हरेक पक्ष बदलिएको छ,” सर्वेक्षणको नेत्तृत्व सम्हालेका डा. साइमन लाम चिङले बताए । उनी पोलिटेक्निक युनिभर्सिटीको स्कूल अफ नर्सिङमा सहायक प्राध्यापक छन् ।
सर्वेक्षणमा सहभागी १८२७ उत्तरदातामध्ये ४८.५ प्रतिशतले आफ्नो खुशीको मानक सात वा सोभन्दा धेरै बताएका थिए । त्यसैगरि १८.२ प्रतिशतले चार वा त्योभन्दा कम मानक बताए । सर्वेक्षण सेप्टेम्बरमा अनलाइनमार्फत् सम्पन्न गरिएको हो ।
सर्वेक्षणमा १२ देखि १८ वर्षका उत्तरदाताले आफ्नो खुशीको सूचकाङ्क औसत ५.८७ बताए । सबै उमेर समूहमध्ये यो वर्ष यो नै सबैभन्दा न्युन सूचकाङ्क हो । त्यसैगरि ५५ वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्ति सबैभन्दा खुशी देखिएका छन् । उनीहरूले खुशीको औसत सूचकाङ्क ६.६१ बताएका छन् ।
अघिल्ला वर्षको नतिजा अनुसार काम गर्ने वर्ग ऐतिहासिक रूपमै सबैभन्दा दुखी समूह थिए । उनीहरूको सूचकाङ्क ६.२१ थियो ।
महाव्याधिका कारण लामो समय विद्यालय बन्द भएपछि यस्तो नतिजा आएको हुनसक्ने लामले बताए । विद्यार्थीहरू घरमै बन्द भए भने यो वर्षको सामाजिक गतिविधी पनि निषेधित भयो ।
“वयस्कभन्दा बालबालिका र विद्यार्थी दुखी भएको थाहा पाउनु दुखद छ । कोभिड‑१९ र विद्यालय बन्द भएपछि उनीहरूको भावनात्मक भार पनि बढेको छ,” उनले भने ।
कम उमेरका व्यक्ति घरमै बस्न बाध्य भएपछि महिलाहरूको जिम्मेवारी अझै बढेको हुनसक्ने एचके.विकेयरका सह‑अध्यक्ष डा. तिक ची‑युएनले बताए । उनीहरूले बालबालिकासँग धेरैभन्दा धेरै समय बिताउनुपर्यो ।
यो वर्ष महिलाको खुशीयाली सूचकाङ्क ६.१ छ। पोहोर ६.२२ थियो । पुरूषको यो वर्षको खुशियाली सूचकाङ्क ६.२४ छ। पोहोर ६.०७ थियो ।
“बालबालिका, किशोरकिशोरी र महिलाबीच दुखको अन्तरसम्बन्ध प्रष्ट्याउने तथ्याङ्क हामीसँग छैन । तर महाव्याधिको प्रभाव एउटा कारण हुनसक्छ । सामान्यतया महिलालाई काम र घरेलु मामिलाको तनाव हुने गर्छ,” उनले भने ।
विरोध प्रदर्शनको वार्षिकीमा कुनतङमा भेला भएका विधार्थीहरु ।
संस्थाकी सह‑अध्यक्ष सिल्भिया च्यान मे‑क्वेनका अनुसार पोहोर भएको विरोध प्रदर्शनमा सरकारी व्यवस्थापनबाट असन्तुष्टि नै युवा वर्ग दुखी हुनुको अर्को कारण हो । ती विरोध प्रदर्शनमा ठूलो सङ्ख्यामा युवा सहभागी थिए ।
जून महिनामा शुरू भएको विरोध प्रदर्शन सुपुर्दगी सन्धी विरूद्ध थियो । सन्धी अनुसार संदिग्धलाई चीनको जिम्मा लगाउन सकिने व्यवस्था थियो । पछि प्रहरी उत्तरदायित्व पनि बढाइयो र सार्वभौमिक मताधिकार पनि त्यसमा समावेश गरियो । सुपुर्दगी विधेयक रद्द गरिए पनि आन्दोलनको अन्य माग सम्बोधन गरिएन ।
“सरकारले नागरिक विशेष गरि युवावर्गको चासोलाई बढि ध्यान दिनुपर्छ । उनीहरूबाट बढि सञ्चार र पारदर्शिता हुने हामी आशा गर्दछौं,” च्यानले भने ।
हङकङेलीहरू धेरैभन्दा धेरै समुदायमा संलग्न हुनुपर्ने र आफ्नो खुशीको आधारभूत स्तरमा सुधार ल्याउन सके अरूलाई सहयोग गर्नुपर्ने च्यानले सुझाव दिएका छन् ।
–र्याचल येओ