भयानक याउमाते आगलागीबाट हङकङका नेपालीले सिक्नु पर्ने पाठ
८ जनाको ज्यान जाने गरी याउमातेमा भएको आगलागीको घटनाले १५ नोभेम्बर हङकङका नेपालीका लागि धेरै वर्ष त्रासदीय बन्ने छ । हरेक तिहारसँगै आउने उक्त घटनाको सम्झनाले धेरैलाई झस्काउनेछ भने ज्यान गुमाउनेका परिवारजन मर्माहत हुनेछन् ।
उक्त आगलागीको घटनास्थल हेर्ने हो भने त्यस किसिमको क्षति भएकोमा विश्वास गर्न सकिन्न । पहिलो तलामा मैनबत्तीबाट शुरू भएको आगलागीले भयानक रुप लिनु अघि नै नियन्त्रण गर्न नसक्नु र त्यहाँ रहेकाहरू सुरक्षित हुन नसक्नुले मानवीय कमजोरी र लापरवाही भएको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार पनि घटनाको शुरूवातमै अपनाउन नसकिएको उपायको अभावले बढी क्षति भएको हो ।
प्रथमतः घटनास्थल जिरे खुर्सानी क्लब गैर–कानूनी रुपमा सञ्चालन गरिएको रेष्टुरेण्ट थियो । उक्त क्लबसँग परिचित व्यक्तिका भनाई र घटनापछि स्थलगत अवलोकनले के देखाउँछ भने गैर–कानूनी क्रियाकलाप ढाक्नका लागि जुन उपाय अपनाइएको थियो त्यो सुरक्षाको दृष्टिकोणले खतरनाक रहेको थियो । गैर–कानूनी भएकैले आगो नियन्त्रणका लागि सम्बन्धित निकायलाई खबर गर्न ढिलाइ भएको थियो ।
क्लबको भित्तामा साउण्ड प्रूफका लागि फोमको प्रयोग गरिएको थियो, जुन प्रज्वलनशील पदार्थयुक्त रहेको हुन्छ । त्यसबाहेक प्रहरीलगायतबाट बच्नका लागि ढोकामा प्रयोग गरिएको उपाय पनि संवेदनशील रहेको देखिन्छ । ढोकामा प्रयोग गरिएको विद्युतीय चाबी पनि घटनापछि भाग्नका लागि बाधक भएको थियो । आगो र त्यसलाई नियन्त्रणमा लिन अपनाइएको उपायले विद्युतीय प्रक्रिया अवरुद्ध भएपछि ढोकामा लगाइएको चाबी खोल्न नसकिएर त्यहाँ रहेकाहरू बन्धक बनेका थिए ।
घटना शुरू हुनासाथ आगो नियन्त्रण विभागलाई खबर गरिएको भए त्यो परिमाणमा क्षति नहुने अनुमान गर्न सकिन्छ । घटनास्थलमा आगो नियन्त्रणका लागि आधारभूत सामग्री (फायर एक्स्टिङगेसर) नराखिएकोले पनि भयानक स्थिति सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूका अनुसार आगलागी शुरू भएपछि आफैं नियन्त्रण गर्न खोजिएको प्रयास असफल भएपछि ठूलो क्षति हुन पुगेको हो ।
यस घटनाबाट हङकङका नेपालीले सिक्नैपर्ने केही महत्वपूर्ण पाठ देखिएको छ । पहिलो; गैर–कानूनी क्रियाकलापमा संलग्न नहुने । क्लब पनि रेष्टुरेण्टको रुपमा सञ्चालन गर्न सकिन्छ जसका लागि आगलागीलगायतका सुरक्षाका तोकिएका मापदण्ड पूरा गर्ने र सम्बन्धित निकायमा दर्ता गर्न आवश्यक छ । यसका लागि अनुभव प्राप्त र पेशेवर व्यक्ति वा कम्पनीसँग सम्पर्क गर्ने । दोस्रो; आफूले सञ्चालन गरेको व्यापार–व्यवसायस्थलमा आगलागीलगायतका सुरक्षाका लागि आधारभूत सामग्रीको व्यवस्था गर्ने । तेस्रो; आगलागीलगायतका सुरक्षाका लागि घातक घटनाको शुरूवातमै आगो नियन्त्रण (फायर ब्रिगेड) र प्रहरीलाई खबर गर्ने ।
सबैभन्दा महत्वपूर्ण कुरा के देखियो भने त्यस्ता गैर–कानूनी रुपमा सञ्चालन भएका स्थलमा प्रवेश नगर्ने । गैर–कानूनी क्लब वा रेष्टुरेण्टमा ग्राहकका रुपमा जो–कोही प्रवेश नगर्ने हो भने त्यस किसिमका व्यापार–व्यवसाय आफैं बन्द हुनेछन् । त्यस किसिमका व्यापार–व्यवसायलाई प्रोत्साहित नगर्ने । चिनेजानेका वा आफन्त त्यस किसिमका व्यापार–व्यवसायमा संलग्न छन् भने हतोत्साहित गर्ने । त्यस किसिमका व्यापार–व्यवसायको बारेमा सम्बन्धित निकायमा शिकायत गर्ने ।
यो बाहेक घटनापछि नेपाली समुदायका संघसंस्था र सामाजिक नेताहरूको क्रियाकलाप पनि आलोचनामुक्त हुन सकेन । यस किसिमको अवस्थामा देखाइनुपर्ने एकताको अभाव देखियो । मपाइँत्व र एकलकाँटे प्रवृत्तिको प्रदर्शन प्रचुर मात्रामा भयो । सामान्य श्रद्धाञ्जलीको आयोजनामासमेत प्रतिनिधिमूलक संस्थाहरू एक हुन नसक्नुले समुदाय त रनभुल्ल भए नै गैर–नेपालीका अगाडि जात्रा देखाउने कामसमेत भयो । सहयोगका नाममा अपारदर्शी रुपमा अर्थ संकलन गर्ने कामसमेत भयो । कम्तिमा यस किसिमका क्रियाकलाप आउँदा दिनमा दोहोरिन नदिन नेताहरूले यो घटनाबाट पाठ सिक्न आवश्यक छ ।