• सञ्चो हुन नसकेको ‘नाकेरोग’

  •  

    मलाई हङकङ आउन अगाडि नै नाकको समस्या थियो । यसको मुख्य कारण चिसो नै थियो । काठमाडौंमा रहँदा–बस्दा चिसो याममा पनि बिहानै साईकलमा दगुर्ने गर्दथें । आज त्यसैको उपहार प्राप्त भएझैं लाग्छ । वातावरण चिसो भयो कि रुघाखोकीले निकै लामो समयसम्म सताउने गर्दथ्यो । नाक टप्प बन्द हुने खराब रोग थियो ।

    हङकङ आगमनको तीन वर्षपश्चात् सन् १९९८ देखि पुनः नाकको समस्या बल्झियो । नेपालबाट नै औषधि मगाएर प्रयोग गरें तर नेपालको औषधिले बिस्तारै काम गर्न छोड्यो । श्वास–प्रश्वास प्रक्रियामै अवरोध हुन थाल्यो । उकुस–मुकुस र छटपटाहटमा समय बित्दै थियो, निकै दिक्क भएको थिएँ ।

    एकदिन कर्मथलोतिर लाग्दैगर्दा बसको टेलिभिजन स्क्रिनमा नाकको औषधिबारेको विज्ञापन देखें । त्यो औषधि नाकमा अवरोध आएमा प्रयोग गर्ने खालको रहेछ । म पनि नाकको पीडित भएकोले कान ठाडो, आँखा तीखो बनाएँ । क्यान्टोनिज भाषामा अभ्यस्त नभए पनि हाउभाउले विज्ञापनलाई बुझ्ने कोशिस गरें । औषधिको नाम कण्ठस्त पारें— ‘ओट्रिभिन नसल स्प्रे’ ।

    केही दिनपछि तु क्वा वान को औषधि पसलमा ओट्रिभिन प्राप्त गरें । नाक बन्द भएको बेला पहिलो पटक प्रयोग गरें । प्रयोग गरेको केहीछिनमै बन्द नाक खुल्यो । खुशीको सीमा नै रहेन । अल्पकालीन रुपमै सही, ओट्रिभिनले रामवाणकै काम गरेको थियो ।

    अर्को दिन जोर्डनको एम.टि.आर. एक्जिट (ए) नजिकै उभिरहेको थिएँ, कोसान कमर्शियल बिल्डिङको विज्ञापनमा आँखा अडियो । त्यहाँ विभिन्न फ्याकल्टीका विशेषज्ञ डाक्टरहरूको नाम लेखिएको थियो ।  मलाई ई.एन.टी. विशेषज्ञ भेट्टाउनु थियो । विशेषज्ञ सर्जन डाक्टर लाउ साइ किटको नाम देखें । तर, आफू हङकङमा नयाँ भएकोले अस्पताल, क्लिनिक कहाँ छ भन्नेबारे केही थाहा थिएन ।

    प्रथम पटक १८ जनवरी १९९९ मा हङकङका डाक्टरसँग उपचारका लागि समय लिएको थिएँ । मेरो नाकको इतिहास तथा समस्या सबै सुनिसकेपछि उपकरणहरूको सहायताले नाक, कान, घाँटी सबैतिर सुक्ष्म जाँच गरिएको थियो । सबै जाँचको रिपोर्ट हेरिसकेपछि ड्रिकसोरल, बायो–ड्रिकसोरल, ब्रोमहेजाइमिन, क्लोफेरिनामाइन औषधिहरू एक हप्ताका लागि प्रयोग गर्न भनिएको थियो । यहाँका फार्मेसीमा औषधि किन्दा  अस्पताल, क्लिनिकको प्रेस्क्रिप्सन देखाउनु नपर्ने रहेछ ।

    औषधिहरू प्रयोग गरुञ्जेल नाक बन्द हुनबाट छुट्कारा पाउँथे । तर, पछि जस्ताको तस्तै स्थितिमा पुगिहाल्थ्यो । कम्तिमा पनि ३० पटक ई.एन.टी. क्लिनिकमा गएर जचाउने, दबाई खाने कार्य गरें तर समाधान भने बीसको उन्नाईस भएन । यसरी जँचाउने, दबाई खाने एडिकझैं भइसकेको थिएँ । अब भने हङकङको औषधिले पो नपत्याएको हो कि भन्ने लाग्न थालेको थियो ।

    २० अप्रिल २००४ मा नाक जँचाउनकै लागि नेपाल हानिएँ । नाम चलेका डाक्टर जे.पी. रिजाल, सोमनाथ अर्यालका क्लिनिकमा पुगी नाकबारे बेलि–विस्तार लगाएँ । हङकङमा प्रयोग गरेका औषधिहरूको नाम पनि देखाएँ । डाक्टरहरूले जाँच गरी फ्लोमिस्ट, फेक्सो फास्ट, डेकसोना ए टु जेड प्रोसिड जस्ता औषधिहरू प्रयोग गर्न दिए ।

    झापाको धुलाबारीस्थित निकै नाम चलेका आयुर्वेद विज्ञको घरमा पनि पुगें । नाक बन्दबारेका कथाहरू सविस्तार सुनाएँ । उनले ४/५ केजीका ढुटोहरू थमाउँदै ६ महिनासम्म प्रयोग गर्न भने । अनि, एक झोला एलोपेथिक र आयुर्वेदिक औषधिहरू लिएर हङकङ फर्किएँ । डाक्टरहरूले दिएका सल्लाह–सुझाव बमोजिम औषधिहरूलाई खल्र्यापखुर्लुप खाइदिएँ । औषधि सकिएको ४/५ महिनासम्म सञ्चले बिताएँ । नाके रोगबाट मुक्त भएकोमा मक्ख परेको थिएँ ।

    नाकको अप्रेसन डाक्टरहरूले कसरी गर्दा रहेछन् त ? भनी चनाखो बनिरहेको थिएँ । अप्रेसन थिएटरमा राखिसकेपछि कसैले स्लाइन चढाइरहेका थिए । कसैले प्रेसर नापिरहेका थिए । नाक–मुखमा अक्सिजन माक्स लगाइदिए । २ पटक लामो श्वास फेर्न भनियो। त्यसपछि कहाँ पुगें, के भयो, केही पत्तो भएन ।

    निको भएको ६ महिना नलाग्दै नाकेरोगले पुनः समात्यो । सोचें– नाकेरोग जिन्दगीभरीको उपहार नै रहेछ ! पुनः डाक्टर लाउ साइ किटको क्लिनिकमा गएँ । मेरो पुरानो फाइल पल्टाएर निकैबेर अध्ययन गरे अनि उपकरणको सहायताले नाकलाई पुनः चेक गर्न थाले । मेरो नाक भित्रपट्टि डम्म सुन्निएकोले श्वास–प्रश्वासमा अवरोध भइरहेको थियो । मुखको सहायताले मात्र श्वास फेरिरहेको थिएँ । बेडमा सुताएर नाकमा कुनै झोल पदार्थ हालेर उपकरण घुसाइयो । यसलाई नसल इन्डोस्कोपी भनिंदो रहेछ । अन्ततः कम्प्युटरमा सेभ गरिएको इन्डोस्कोपीको भिडियो देखाउँदै अप्रेसन गर्नु बाहेक कुनै विकल्प नभएको बताए ।

    अप्रेसन प्राइभेट वा सरकारी अस्पताल कहाँ गर्ने भनेर सोधे डाक्टरले । मैले प्राइभेट वा सरकारी अस्पतालमा अप्रेसन गर्दाका फरकबारे बताइदिन अनुरोध गरें । प्राइभेटमा चाँडो अप्रेसन हुन्छ तर केही खर्च लाग्छ । सरकारी अस्पतालमा ढिलो अप्रेसन हुन्छ खर्च लाग्दैन । यहि नै फरक भएको कुरा बताइयो । मैले सरकारी अस्पतालमा नै अप्रेसन गर्ने कुरा गरें । डाक्टरले तुरुन्तै अस्पतालको नाम सहितको पत्र लेखी हातमा थमाइदिए ।

    यो २ जुन २००५ को दिन थियो । डाक्टर लाउ साइ किटको पत्र लिएर याउ मा तेइ स्थित जकि क्लब क्लिनिकको ई. एन. टी. स्पेसलिस्ट डिपार्टमेन्टमा पुगें । पत्रलाई काउन्टरमा बुझाएँ । पुनः आधुनिक उपकरणले जाँच गरियो । त्यहाँ पनि अप्रेसन नै गर्नुपर्ने निष्कर्ष निस्कियो । म अप्रेसन गर्नका लागि राजी भएँ । अप्रेसनका लागि विभिन्न कागजात तयार पारिए र सही गर्न भने । नाक निको हुने आशामा सबै पेपरमा आँखा चिम्लिएर सही गरिदिएँ ।

    ३ महिनापछि क्विन एलिजावेथ अस्पतालमा अप्रेसन हुनेवाला थियो । प्रि–अप्रेसनका लागि १ अगस्त २००५, दिउँसोको २ः१५ बजेको एपोइन्टमेन्ट लेटर दिइएको थियो । निर्धारित समयमा अस्पताल पुगें । त्यो दिन पिसाब, रगत, ब्लड प्रेसर, एक्स–रे, ईसीजी तथा प्रि–एनेथेसिया गर्नुपर्ने रहेछ । बिरामीलाई झैं ह्वील चियरमा राखेर कहिले कहाँ, कहिले कता पुर्‍याई जाँच गरिरहे । प्रि–अप्रेसनको सम्पूर्ण जाँचहरू सकिएपछि ५ अगस्त २००५ का लागि अप्रेसन गरिने पत्र पाएको थिएँ ।

    ५ अगस्त बिहान ४ बजे नै ब्युझिएँ । नाकको अप्रेसन सफल/असफल के–कसो होला ? मनमा कुरा खेलिरहेको थियो । यसै मेसोमा एकपटक शिव भाइले भनेको कुरा सम्झिएँ, “एउटा भाइको पनि तपाईंकै जस्तो नाकको समस्या थियो । बिचरा ! पछि क्यान्सर भएर बित्यो नि भेना !” बिहान ७:३० बजे क्विन एलिजावेथ अस्पतालमा पुगें । काउन्टरमा एपोइन्टमेन्ट पत्र बुझाएँ । ई. एन. टी. डिपार्टमेन्टमा जानु भनी पत्र दिइयो । चौथो तलामा रहेको ई. एन. टी. डिपार्टमेन्टमा पुगेर पत्र बुझाएँ । मेरो नाम सहितको बेड तयार रहेछ । अस्पतालमा बस्ने कपडा फेरें । पुनः ब्लड, पिसाब, ई. सी. जी. को नमूना लिइयो र बेडमा आराम गर्न भनियो । भुसुक्कै निदाएछु ।

    अर्धनिन्द्रामा कसैले बोलाइरहेको सुनें । आँखा खोल्दा स्टेचर बेड नजिकै लिएर नर्सहरू उभिरहेका थिए । भित्तामा भएको समय सूचकलाई हेर्दा दिउँसोको २ बजेको थियो । पुनः अर्को कपडा दिंदै फेर्न भनियो । कट्टु पनि खोल्न भने, लजाउँदै खोलें । अनि, स्टेचरमा सुताएर ग्राउण्ड तला हुँदै २ तलाको एउटा कोठामा पुर्‍याएका थिए । त्यसपछि उनीहरू लापत्ता भए । एक्लै थिएँ, झन्डै १० मिनेट स्टेचरमा आँखा चिम्लिएर सुतें । त्यसबखत; आमा, घर–परिवार तथा जीवनका उतारचढावलाई सरसर्ती स्क्यानिङ गर्न भ्याएको थिएँ ।

    ‘हेलो राई नरजित’ भन्ने आवाजले तन्द्राबाट ब्युँझायो । आवाज आएतिर हेरें । वरिपरी नर्सहरू उभिइरहेका थिए । ‘यो तिम्रो नाम र आईडी नम्बर सही हो ?’ एउटा कागज दिंदै सोधियो । सबै ठीक लेखिएको कुरा अवगत गराएँ । ‘तपाईंको अब नाकको अप्रेसन गर्ने हो’ भन्दै नर्सहरूले कोठा नं. ३ भित्र छिराएका थिए ।

    अप्रेसन थिएटरभित्र ४ जना डाक्टर र नर्सहरू तयारी अवस्थामा  थिए । नाकको अप्रेसन डाक्टरहरूले कसरी गर्दा रहेछन् त ? भनी चनाखो बनिरहेको थिएँ । अप्रेसन थिएटरमा राखिसकेपछि कसैले स्लाइन चढाइरहेका थिए । कसैले प्रेसर नापिरहेका थिए । नाक–मुखमा अक्सिजन माक्स लगाइदिए । २ पटक लामो श्वास फेर्न भनियो । त्यसपछि कहाँ पुगें, के भयो, केही पत्तो भएन ।

    लामो श्वास फेर भन्ने आवाज कताकता आएको सुनें । आँखा नै नखोली लामो श्वास फेरें । चिकित्सकहरूले अप्रेसन गरिसकेका रहेछन् । पुनः बेडमा लगेर सुताइयो । केही दिन नाकबाट ब्लिडिङ भएर हैरान भएको थिएँ ।

    क्विन एलिजावेथ अस्पतालले पुनः याउ मा तेई ई. एन. टी. क्लिनिकमै रिफर गरेको थियो । नाकले अझै राम्रोसँग काम गरिरहेको थिएन । स्थितिबारे डाक्टरलाई अवगत गराएँ । डेकसक्लोफेनिमाईन मालिएट २ एमजी ट्याबलेट, लोराटोडिन १० एमजी ट्याबलेट र बुडेसोनाड एक्वास नसल स्प्रे औषधि एक हप्ताको लागि प्रयोग गर्न दिइयो ।

    शुरूमा १५ दिन; पछि १ महिनाको एपोइन्टमेन्ट दिइयो भने अहिले प्रत्येक वर्ष अस्पतालमा बोलाइन्छ । नाकको जाँच गर्छन् । औषधि माथि कै दिन्छन् । औषधि भइञ्जेल प्रयोग गर्छु । केही समय ठीक हुन्छ । औषधि सकियो कि क्लिनिक धाउँछु । हदै भएर एकपटक डाक्टरलाई सोध्दा– मेरो नाकको खास रोग भनेकै नाकको एलर्जी रहेछ । चिसो, धुँवा, धुलोबाट जोगिनुपर्ने रहेछ । मैले यो अवसर पाउन निकै नै गाह्रो छ । नेपाल पुग्दा पनि नाकलाई जँचाइ नै रहेको हुन्छु । साथमा ओट्रिभिन नसल स्प्रे सधैं हुन्छ । जब म नाकको कष्टमा हुन्छु यसले नै सहयोग गरिरहेको हुन्छ । जीवनभर नाकको झण्झट नपञ्छिने निश्चित नै भएको छ । मेरो जीवनलाई शायद यसैले नै ढाल्नेछ !

    तुक्वा वान, कोलन, हङकङ

  • कमेन्ट गर्नुहोस्