• अफ्गानिस्तानमा बच्चा जन्माउनु युद्धभन्दा खतरनाक

  • आमालाई बिहान साढे नौ बजे भर्ना गरिएको थियो । त्यसको पाँच मिनेटमा बच्चा जन्मियो । दक्षिणपूर्वी अफ्गानिस्तानको मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) प्रसुती अस्पतालमा महिलाहरु प्राय: अन्तिम अवस्थामा आउने गर्दछन् । विश्वकै सबैभन्दा सक्रियमध्ये एक सो अस्पतालको बाल जन्म दर दैनिक ६० जना छ ।

    बिहानको पहिलो प्रहर अत्यन्तै व्यस्त रहने उक्त अस्पताल पाकिस्तानको खोस्त प्रान्तको आदिवासी क्षेत्रबाट ढुंगा हान्ने दुरीजति नजिक छ । त्यस क्षेत्रमा तालिवान सक्रिय छ । अँध्यारो हुँदै जाँदा सडकहरु खतरनाक बन्दै जान्छन् ।

    त्यसैले रातीबाटै प्रसव वेदना शुरु भए पनि तीन घण्टाको दुरीमा रहेको अस्पताल पुग्न बिहानसम्म पर्खिनुपर्छ भन्ने २५ वर्षिया अस्मद फाहरीलाई थाहा थियो । अहिले उनी आराम गरिरहेकी छिन् । भर्खरै जन्मिएको उनको बच्चा नजिकै न्यानो लुगामा बेरिएर सुतेको छ ।

    नयाँ आमाहरुलाई वार्डमा औसत ६ घण्टा राख्ने गरिन्छ । तर उनले तीन घण्टापछि नै घर जाने अनुरोध गरेकी छिन् । उनी रात पर्नु अघि नै घर पुग्न चाहन्छिन् ।

    कहिलेकाहीं आमाहरुले पीडा सहँदै, रगत बगाउँदै ठेलागाडी वा भेटिने यातायातका साधन चढेर कच्चा, असुरक्षित सडकमा धेरै दिनसम्म पनि यात्रा गर्नुपर्छ ।

    अर्को खण्डमा, डेलिभरी टेबुलहरु नवआगन्तुकलाई निरन्तर स्वागत गरिरहन्छन् । अधिकांशलाई यति हतार हुन्छ कि कपडा फेरेर एमएसएफको औपचारिक पोशाक रातो पाईजामा लगाउने समय पनि हुँदैन । उनीहरु आफ्नो शरिर ढाक्ने लामा-लामा लुगाका पत्र माथि उठाउने र रंगीन घुम्टोलाई दाँतले चेप्ने गर्छन् ।

    सन् २०१२ को अन्त्यतिर विश्वकै उच्च बाल तथा मातृ मृत्यु दर भएको द्वन्द्वग्रस्त देशको एउटा मरुभूमिमा खोस्त मातृत्व अस्पतालको स्थापना भएको हो । अस्पतालले रातारात सफलता हासिल गर्‍यो । स्थापनाको पहिलो वर्षभित्रै झण्डै १२ हजार बच्चाको सुरक्षित जन्म भयो । सन् २०१७ सम्म जन्म दरमा दोब्बर वृद्धि भई २३ हजार पुग्यो ।

    यो वर्ष अस्पताल २४ हजार बच्चाको सुरक्षित जन्म गराउने क्रममा अघि बढेको डा. राशा खौरीले बताईन् । प्यालेस्टाईनकी यी स्त्रीरोग विशेषज्ञ अस्पतालकी मेडिकल अफिसर हुन् ।

    यसो भए, एमएसएफ अमेरिकाकै सबैभन्दा व्यस्त मातृत्व वार्डको दाँजोमा पुग्नेछ । सन् २०१६ मा एटलान्टाको नर्थसाइड हस्पिटलमा २७ हजार बच्चा जन्मिएका थिए । सो वर्ष अमेरिकाभर यो नै सबैभन्दा उच्च बाल जन्म दर थियो ।

    “हामी यहाँ नि:शुल्क जीवन बचाई रहेका छौं,” मिडवाइफरी समूहकी २४ वर्षिया सहायक प्रबन्धक साफिया खान मुस्कुराउँदै भन्छिन् ।

    उनको पछाडी जुम्ल्याहा सन्तानकी आमा आफ्नो जामामा केही खोजेजस्तो गर्छिन् र पट्याएको नोट उनको हात लाउँछिन् । प्रसुतीपछि, यो कृतज्ञता देखाउने परम्परागत शैली हो । कुनै-कुनै अस्पतालमा यो आवश्यक पनि छ । तर खान ती महिलाको प्रस्तावलाई नम्रतापूर्वक अस्विकार गर्दै भन्छिन्,”यहाँ यस्तो मनाही छ ।”

    अफ्गानिस्तानमा प्रति लाख जीवित बच्चा जन्मिदाँ मातृ मृत्यु दर झण्डै ३ सय ९६ रहेको संयुक्त राष्ट्र संघ र विश्व बैंकले जनाएको छ । तर यो तथ्याङ्कमा विवाद छ । सन् २००२ को अभिलेख अनुसार प्रति लाख १ हजार ६ सय रहेको मातृ मृत्यु दर यतिसम्म घट्नु असम्भव भएको विज्ञहरु बताउँछन् ।

    सन् २०१७ मा द लान्सेट नामक मेडिकल जर्नलमा प्रकाशित एक शोधपत्र अनुसार मातृ मृत्यु दर यसरी घट्नुको अर्थ संयुक्त राष्ट्र संघले तय गरेको सहस्राब्दी विकास लक्ष्य अफ्गानिस्तानले पाँच वर्ष अघि नै पूरा गर्नेछ ।

    अमेरिकी सहयोग नियोग (युएसएआईडी) को साझेदारीमा अफ्गानिस्तान सरकारले सार्वजनिक गरेको अलि विश्वसनीय तथ्याङ्क अनुसार मातृ मृत्यु दर अझै पनि प्रति लाख १ हजार २ सय ९१ सम्म हुनसक्ने उक्त अध्ययनका अनुसन्धाताले जनाएका छन् । अर्थात् अफ्गानिस्तानका महिलाका लागि द्वन्द्वभन्दा बच्चा जन्माउनु पाँच गुणा बढी खतरनाक छ ।

    यदि यसो हो भने पनि, विश्वकै तन्नेरी र तिव्र वृद्धि भईरहेको जनसंख्या भएको देशमा अरबौं डलरको अन्तर्राष्ट्रिय सहयोगका बावजुद, तालिवान शासन अन्त्य भएको १७ वर्षपछि अझै यस्तो तथ्याङ्क आउनु आफैंमा आश्चर्यजनक छ ।

    एमएसएफले १५ लाख जनसंख्या भएको खोस्तको करिब ४० प्रतिशत बाल जन्म सहजीकरण गर्ने गरेको खौरीले बताईन् । तर यी चुनौतीका बावजुद मृत्यु दरमा साँच्चिकै कमी ल्याउन “एमएसएफ जस्तो तीन वटा अस्पताल” आवश्यक पर्ने उनले बताईन् ।

    युद्ध, गरिबी, र बढ्दो जनसंख्या बाहेक, स्वास्थ्यकर्मीले अर्को अवरोध पनि सामना गर्नुपर्छ : पस्तुनवाली – खोस्त रहने रुढिवादी पस्तुन आदिवासी क्षेत्रमा जीवनशैली निर्देश गर्ने पितृसत्तात्मक आत्मसम्मानको सामाजिक नियम ।

    पस्तुनवाली अन्तर्गत लैंगिकता छुट्याउनुपर्छ, र एउटी महिलाले अपरिचितलाई आफ्नो अनुहार देखाउनु हुँदैन । यस्तोमा, केही एनस्थेसिस्ट र नियोनेटोलोजी विभागका निर्देशकबाहेक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी महिला नै छन् ।

    यति हुँदाहुँदै पनि, समय-समयमा मानिसहरुलाई फकाउनु परेको सलामत खान मन्दोजाई बताउँछन् । उनी अस्पतालको सुरक्षा हेर्ने सम्मानित स्थानीय व्यक्तित्व हुन् । उनले समुदायको सम्पर्कका रुपमा पनि काम गरेका छन् ।

    “यहाँको ग्रामिण वातावरणमा, केही महिलाहरु अझै पनि घरैमा बच्चा जन्माउन रुचाउँछन्,” उनले भने ।

    अस्पताल जानु उनीहरुको लागि लाजको विषय हो । साफिया खान पनि बच्चा जन्माउनु गोपनिय विषय भएको मान्दछिन् । धेरै महिलाहरु अस्पतालसम्म नआउनेबारे अस्पताल जानकार रहेको तर आउने जति परिवार “नहिच्किचाई” आउने गरेको खौरीले बताईन् ।

    धेरैका लागि सँस्कृति नभएर, विशेष गरी रातमा, यातायात – वा सुरक्षाको व्यवस्थापन गर्ने आर्थिक पाटो अवरोध हुने गरेको उनको भनाई छ । सँगै जानलाई परिवारको कुनै पुरुष सदस्य उपलब्ध नभएसम्म पनि महिलाहरुले प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको उनले बताईन् । तर एक पटक अस्पताल प्रवेश गरेपछि, महिलाहरुलाई प्रसुती कक्ष पुर्‍याउन सहयोग गर्ने सासुहरुसँग शक्ति निहित हुन्छ ।

    “हामी समुदायभित्र पुगिरहेका छौं,” खौरी भन्छिन्, “यो सफलताको कथा हो ।”

    एएफपी/ एससिएमपी

  • कमेन्ट गर्नुहोस्