• १ अक्टुबर : चिनियाँ राष्ट्रिय दिवस

    China people national day concept background. Isometric illustration of vector china people national day concept background for web design
  • अक्टोबर विश्व इतिहासको दुइटा महान घटनाहरुले अंकित महिना हो । यस महिनामा रुस र चीनमा युगान्तकारी घटना घटेका छन् । सन् १९१७ को अक्टोवर महिनामा रुसमा ‘भ्लादिमिर इल्यिच लेनिन’ले नेतृत्व गरेको बोल्सेभिक पार्टिले निरंकुश जार शाहीको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गरेको थियो भने यता सन् १९४९ को अक्टोवर महिनामा ‘माओ त्सेतोङ’को नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टिले च्याङ काइसेकको पार्टि कुओ मिन्ताङलाई परास्त गर्दै जनसंख्याको आधारमा संसारको सबैभन्दा ठूलो देश चीनमा समाजवादी व्यवस्था अर्थात जनवादी गणतन्त्र चीनको स्थापना गरेको थियो । त्यसबेला चिनियाँ कम्युनिष्ट पार्टिको सेनासँग हारेर भागेको च्याङ काइसेक र सेनाहरु तत्कालिन अवस्थामा फर्मोसा नामले चिनिएको हालको ताइवानमा गएर बसे । त्यो पनि चीनकै भूभाग भएको कारणले माओको सेनाले त्यसलाई कब्जामा लिन सक्ने स्थिति हुदाहुदै पनि शरणको रुपमा आक्रमण नगरि स्वतन्त्र रुपमा छाडिदिएको थियो । त्यहाँ च्याङ काइसेकले गठन गरेको चीनसँगको समानान्तर सरकार उनका अनुयायीहरुले अहिलेसम्म चलाइरहेका छन् ।

    रुसमा बोल्सेभिक पार्टिले विजय हासिल गरेपछि सन् १९२२ मा एक दर्जन भन्दा बढी गणराज्यहरु मिलेर सोभियत युनियन गठन भएको थियो । अक्टोवर क्रान्तिको परिणाम स्वरुप स्थापना भएको सोभियत युनियन र सर्वाहारा वर्गको अधिनायकत्वमा आधारित शासन व्यवस्था इतिहासको पानामा सिमित भए पनि रुसको उक्त क्रान्तिलाई विश्वभरिका माक्र्सवादी लेनिनवादीहरुले ठूलो प्रेरणाको रुपमा लिन्छन् । उक्त क्रान्तिले जार शाहीको अन्त्य गर्दै आधुनिक रुसको स्थापना गरेको थियो । एकताका विश्व दुई ध्रुवमा विभाजन हुदा एकातिर अमेरिकाले अर्कोतिर रुसले नै नेतृत्व गरेको थियो । मिखाइल गोर्बाचेव राष्ट्रपति भएपछि ग्लास्त्नोस्त र पेरोस्त्रोइका नीति लागु गर्ने कसरतसँगै सोभियत युनियनको विघटन मात्र भएन कि सर्वहारा वर्गको अधिनायकत्वमा आधारित समाजवादी व्यवस्थाको अवसान समेत भएको थियो ।

    संयोग नै भनौं रुसमा समाजवादी क्रान्ति सफल भएको ३२ वर्षपछि चीनमा पनि सोही महिनामा सोही प्रकृतिको क्रान्ति सम्पन्न भयो । सन् १९४९ अक्टोवर १ का दिन अध्यक्ष माओ त्सेतोङले सर्वहारा वर्गको अधिनायकत्वमा आधारित जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए । यही दिनलाई हाल चीनको राष्ट्रिय दिवसको रुपमा मनाइने गरिन्छ । चीनको विशेष प्रशासनिक क्षेत्र भएको कारण यो दिन मकाओ र हङकङको पनि राष्ट्रिय दिवस हो । हङकङ र मकाओ क्रमशः बेलायत र पोर्तुगलको उपनिवेशबाट मुक्त भए पछि यो नयाँ राष्ट्रिय पर्व थप भएको हो ।

    आर्थिक उदारिकरण र खुल्ला बजार व्यवस्थाका कारण चीन हिजो सन् १९४९ ताकाको आर्थिक ढाँचा भन्दा केही फरक रुपमा रुपान्तरण हुदै आएको भएता पनि हालसम्म यसले गरेको प्रगति अक्टोवर क्रान्तिबाट निर्माण राजनैतिक पृष्टभूमिमा नै भइरहेको छ । कूल ग्राह्यस्थ उत्पादन बृद्धि सबैभन्दा धेरै हुने राष्ट्रमा चीन पनि पर्दछ । आज चीनले आर्थिक रुपमा आश्चर्यजनक ढंगले ठूलो फड्को मारेको छ । विश्व व्यापार संघमा प्रवेश गरेपछि चिनियाँ उत्पादनले विश्व बजारमा ठूलो स्थान ओगट्दै आएको छ ।

    विज्ञान र प्रविधिको क्षेत्रमा चीनले अग्रता देखाउँदै अन्तरिक्ष यात्रा समेत गरिसकेको छ । हालै सम्पन्न ओलम्पिकमा देखाएको अग्रस्थानले पनि चीनको संवृद्धिको सूचकको रुपमा लिइएको छ । पश्चिमा ढाँचाको प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली नभएको कारणले मानव अधिकार नभएको भनेर अमेरिका लगायत पश्चिमा देशहरुबाट आलोचना खेप्दै आएको चीनले आफ्नो देशमा राजनैतिक स्थिरता कायम गर्न सकेकै कारण हाल विश्व रंगमन्चमा एउटा उदीयमान शक्तिको रुपमा अगाडि आउन सकेको कुरामा कसैको दुईमत छैन । यसरी चीनलाई हालको अवस्थासम्म ल्याइ पु¥याउनको लागि कारक बनेको राजनैतिक परिवर्तनको ऐतिहासिक पृष्ठभूमि बोकेको अक्टोवर क्रान्तिको बारेमा मार्क डे’स्टेफेनोले तयार गरेको लेखको सारंश यहाँ प्रस्तुत गरिएको छ ।

    सन् १९४९ सम्म चीन राजनैतिक, आर्थिक र सामाजिक रुपमा लथालिङ्ग रहेको थियो । सन् १९३१ देखि १९४५ सम्म १३ वर्ष जापानको अधिनमा रहेको चीन स्वतन्त्र भएपछि तुरुन्तै कुओ मिन्ताङ पार्टिसँगको गृहयुद्दले आक्रन्त बनेको थियो । वर्षौदेखिको दरिद्रता, हिंसा र भ्रष्टाचारबाट आक्रन्त चिनियाँ जनता एक छाक खाना, शान्ति र स्थायित्वको खोजीमा थिए । चीनको कम्युनिष्ट पार्टि जापानलाई धपाउन च्याङ काइसेकसँग मिलेर लडेको थियो । जापान विरुद्ध लड्ने क्रममा कम्युनिष्ट पार्टिले अत्याधिक किसानहरुलाई संगठित गरेर माक्र्सवादी–लेनिनवादी शिक्षाको आधारभूत ज्ञान हासिल गराएको थियो । सर्वसाधरण जनताले जे खान्छन् त्यही खाएर, उनीहरुसँग हातेमालो गर्दै बिना हिच्किचाहट मजदुरी लगायतका काम गर्दै अति मेहनत र इमान्दारीकासाथ स्वयं माओ र पार्टीले मन जितेकोे थियो । कम्युनिष्ट पार्टिको सेना, जसलाई जनमुक्ती सेना पनि भनिन्छ,ले अति कडा अनुसाशनमा रहेर सदा जनताको वास्तविक रक्षक भएर काम गरेको थियो । शुरुमा विशेष गरि उत्तरपूर्वी र पश्चिम–दक्षिण क्षेत्रको भूभागमा कम्युनिष्ट पार्टिले अधिन कायम ग¥यो । यसलाई मुक्त क्षेत्रको रुपमा लिइयो । यस्ता क्षेत्रमा कुओ मिन्ताङ शासनको अन्त्य भएको थियो ।

    दोश्रो विश्व युद्धको बेला जापानसँगको युुद्धमा च्याङ काइसेक सरकारले तत्कालिन सोभियत सेनासँग सहयोग मागेको थियो । यसको लागि मन्चुरियामा सोभियत सेनालाई प्रवेश गर्न दिइएको थियो । उक्त युद्धको अन्त्यपछि जापानी सैनिकबाट खोसेका सबै हातहतियारहरु कम्युनिष्ट सेनालाई दिइएको थियो । यसरी आफ्ना हितैषी सोभियत कम्युनिष्ट सेनाले दिएको हातहतियारको कारण चिनियाँ कम्युनिष्ट सेनालाई निकै फाइदा पुग्यो र कुओ मिन्ताङ विरुद्धको संघर्षमा सफलता मिल्यो ।

    सन् १९४६–१९४८ मा आन्तरिक दुई सेनाबीचको संघर्ष उत्कर्षमा पुग्यो । जापान विरुद्ध लडेका कुओ मिन्ताङ सेनाहरु निकै थकित थिए । उनीहरु पारिवारीक जीवनमा फर्कन चाहन्थे । उनीहरुमा एक किसिमले विभाजनको अवस्था देखा प¥यो । अनुशासनको कमी र आफैभित्रको भ्रष्टाचारको कारणले कमजोर भएको उक्त सेना उच्च अनुसाशन र विचारले सुसज्जित जनमुक्ती सेनासँग तुलना नै नहुने अवस्था सृजना भयो । सन् १९४९ को जनवरीमा कम्युनिष्ट सेनाले बेइजिङमा कब्जा जमायो र अन्य भाग पनि क्रमशः अधिनमा आउदै गयो र सोही अनुसारका नियमहरु लागु हुँदै गयो ।

    अन्ततः सन् १९४९ को अक्टोवर १ मा माओले राजधानी बेइजिङस्थित थिअन अन मेन स्क्वायरसँगै रहेको इम्पेरल प्यालेसबाट जनवादी गणतन्त्र चीनको घोषणा गरे । उनले नयाँ सरकार गठन गरेको बेला अनैको खाले समस्याहरुको थुप्रो थियो । चीनलाई सर्वहारा वर्गको अधिनायकत्व भएको जनवादी गणतन्त्रात्मक राष्ट्रको रुपमा स्थापित गर्दा माओले रुसको स्थापित राज्य प्रणालीमा आधारित माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई अपनाए पनि चीनको विशिष्टतालाई हेरेर मौलिक कम्युनिष्ट व्यवस्था स्थापना गरे । त्यस पछि उनले भने “अब चीनको जनता उठेका छन्” र “अब कुनै एकतर्फ झुकाव राख्दा सोभियत समाजवादको पक्षमा राखे पनि चीनको विशिष्ठ परिवेशलाई होसियारपूर्वक संवोधन गरिनु पर्ने हुन्छ ।”

    उच्चस्तरीय अनुशासन, अभूतपूर्व सांगठानिक संजाल र दृढ संकल्पको कारण कम्युनिष्ट सरकारले देशलाई पुनःसंयोजन र व्यवस्थापन गर्ने प्रकृयामा तिब्र सफलता हासिल गर्यो । अधिकांश क्षेत्र कम्युनिष्ट पार्टिको अधिनमा आइसकेको भएता पनि देशको राजनैतिक र सैनिक लगायत थुप्रै निकायहरुमा राष्ट्रवादी भनेर चिनिएका प्रतिकृयावादीहरु यथावत रहेका थिए । यसो भएता पनि तत्कालिन सरकारले कम्युनिष्ट विरोधीहरुलाई पदबाट हटाएन बरु उनीहरुको योग्यता र क्षमतालाई देशको सुधार र पुननिर्माणमा सहयोग हुने गरि यथासम्भव उपयोग गर्ने नीति लियो ।

    चीनलाई ८ प्रशासनिक क्षेत्रमा विभाजन गरियो । पार्टिका नेतृत्व तहका नेताहरुले योग्यता र क्षमताको आधारमा उक्त क्षेत्रको जिम्मेवारी लिए । माओ त्सेतोङले देशको सामान्य मार्गनिर्देशलाई ध्यानमा राख्दै पार्टिको अध्यक्षको जिम्मेवारी लिए । माओको विचारलाई देशको लागि पवित्र वाणीको रुपमा लिने अवस्था थियो । त्यस कारणले पार्टि र सरकारी निकायमा माओ विचारले नै प्रमुखता पायो । विषेशगरि अन्तराष्ट्रिय सम्बन्धको सवालमा कम्युनिष्ट सरकारलाई प्रभावकारी र सहज रुपमा कामकारी बनाउन ‘चाउ एनलाई’ प्रधानमन्त्रीमा नियुक्त भए । ‘लिउ शाओची’को भूमिका आन्तरिक मामलामा रह्यो । यता आर्थिक मामलामा विशेष दखल राख्ने ‘तेङ स्याओ फिङ’ ‘लिउ शाओचि’को सहायकको रुपम रहे र १९ वर्षको द्वन्दको मारमा परेर आर्थिक रुपमा ध्वस्त चीनलाई पुनःसंरचनातर्फ डोर्याउन कडा मेहनत गरे ।

    सन् १९५० को शुरुवाततिर नै चीनलाई अधिकांश देशहरुले जनवादी गणतन्त्रको रुपमा मान्यता दियो । यसपछि चीनले सामाजिक र आर्थिक योजनाहरुको शुरुवात ग¥यो । जसमध्ये भूमिसुधार योजना पनि एक हो । यस योजना अनुसार करोडौ गरिब किसानहरुलाई जग्गा वितरण गरियो । बैंकहरु राज्यले पुर्णरुपमा ग्रहण ग¥यो भने कलकारखानाहरुको आंशिक स्वामित्व उद्योगपतिलाई छोडेर राष्ट्रियकरण गरियो । कम्युनिष्ट पार्टिले देशको तीन र पाँच गरि जम्मा ८ शत्रुहरुको विरुद्ध अभियान चलायो । पहिलो तीन शत्रु विरुद्धको अभियानमा भ्रष्टाचार, फजुल खर्च र नोकरशाहीतन्त्र थिए भने पाँचमा घुसखोरी, जालझेल, राजस्व छली, सरकारी सम्पत्ति हिनामिना र राज्यको आर्थिक गोपनियताको चोरी विरुद्धको अभियान थिए । देहात र शहरहरुमा विभिन्न संघ र संस्थाहरुको नामबाट सामाजिक सम्बन्धहरु मजबुत बनाइयो । समानतामा आधारित कानुनहरु बनाइयो र लागु गरियो । जस्तो सन् १९५० मा पारित भएको विवाह सम्बन्धी कानुनले महिलाहरुको दोश्रो दर्जाको नागरिक स्थितिलाई सदाका लागि समाप्त गरिदियो । देशभित्रका सबै जातिको भाषा, संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्नको लागि माओको मूलमन्त्र नै थियो कि ‘सयौ फूललाई फुल्न देउ’ । सर्वसाधारणलाई कम्युनिष्ट पार्टिको सिद्धान्तद्वारा शिक्षित पार्दै सदस्य संख्या बढाउने अभियानलाई निरन्तता दिइएको थियो ।

    उपसंहारः

    माओ त्सेतोङले जनवादी गणतन्त्र चीनको स्थापना गर्नु मानव इतिहासमा विषेश अर्थ दिने अत्यन्तै महत्वपूर्ण घटना हो । चीन जापानबाट मुक्त मात्रै भएन कि यसले छिङ राजवंशको अन्त्यपछि भोगिएका विविध खाले गृहयुद्धको अन्त्य पनि गरायो । कम्युनिष्ट सैनिकको जितको कारणले नै अन्तत चीनमा शान्ति छायो । यसको साथै कम्युनिष्ट नेतृत्वले चीनमा सामाजिक क्रान्तिमा ठूलो फड्को मार्ने काम गर्यो । कम्युनिष्ट पार्टिले युगौ पुरानो सामाजिक दरिद्रता, आर्थिक दरिद्रता, अपर्याप्त आवास, पिछडिएको शैक्षिक अवस्था र भ्रष्टाचारमा जकडिएको राज्य संरचनालाई निर्मूल पार्ने काम गर्यो । फलामे अनुसाशन, दृढ संकल्प र नागरिक जोसका साथ नयाँ सरकारले राजनैतिक र साँस्कृतिक अधिपत्य प्राप्त गर्ने कुरामा चिनियाँ जनताहरु आशावादी भए । कम्युनिष्ट पार्टिले सुविधा सम्पन्नहरुको लागि मात्र नभएर सबै तह र तप्काका जनताको अवस्थामा परिवर्तन गर्नु पर्ने मूल उद्देश्य लियो । यसरी जनवादी गणतन्त्र चीनको घोषणाले विशिष्ट परिवेशलाई सुहाउदो नयाँ समाजवादी व्यवस्थाको स्थापना गरेको छ जुन बाँकी संसारको अगाडि नमूनाको रुपमा रहेको छ ।

  • कमेन्ट गर्नुहोस्