• व्याकफायर भएपछि कन्सुल जनरल मर्माहत

  • प्रमुख अतिथि लाउ (दायाँ)लाई आफ्नो कुरा राख्दै टोपराज तामाङ । तस्बिरः जगत गुरुङ ।

     

    १३ सेप्टेम्बर । गायकको परिचय बनाएका र पछिल्लो समय कन्सल्ट्याण्ट काम गरिरहेका राज (टोपराज) तामाङले नेपालको संविधान तथा राष्ट्रिय दिवसका प्रमुख अतिथि हङकङका सेक्रेटरी फर फाइनान्सियल सर्भिसेज एण्ड ट्रेजरी जेम्स हेनरी लाउलाई संविधानको विषयमा सिकायत गरेपछि उत्पन्न परिस्थिति सम्हाल्न भाँती नपुर्याउदा कन्सुल जनरल कमलप्रसाद भट्टराई व्याकफायरको शिकार बनेका छन् ।

    कार्यक्रमको दिन थोरै व्यक्तिमा सिमित रहेको घटना हङकङ सरकारको पत्रको हवाला दिदै नेपालखबर डटकममा समाचार प्रकाशित भएपछि यो विषयले खरमा लागेको आगोको रुप लिएको छ । उक्त कार्यक्रमको सोही दिन सम्प्रेषित मगेन्द्र राईको बाइलाइन समाचारमा उक्त घटनाको गन्ध पनि रहेको छैन ।

    दश दिनपछि मगेन्द्र राईकै बाइलाइन समाचारमा भने ‘नेशनल डे विशेष समारोहमा निम्त्याइका प्रमुख अतिथि हङकङ सरकारका मन्त्री जेम्स हेनरी लाउमाथि दुव्र्यवहार गर्ने टोपराज तामाङबारे सोधपुछ गर्दै पत्र आएपछि नेपाली महावाणिज्यदूत अप्ठेरोमा परेको छ । ……..’ लेखिएको छ ।

    एक पक्षीय ढंगले लेखिएको समाचारमा तामाङले अभद्र व्यवहार गरेको भन्ने पुष्टाइ गर्न खोजिएको छ । समाचारमा उल्लेख गरिएको हङकङ सरकारको पत्र संलग्न गरिएको छैन । संवाददाता राईले आफूले पत्र नहेरेको र कार्यक्रमको दिन घटनाको बारेमा थाहा नपाएको एभरेष्टलाई बताएका छन् ।

    दोश्रो समाचारमा भने संवाददाता स्वयंले देखे जसरी लेखिएको छ ‘…… मन्तव्य सकेर फ्लोरमा झरेपछि लाउ भट्टराई लगायतका नेपालीहरुसँग संवाद गर्दै थिए । त्यहीबेला तामाङले लाउलाई कुटनीतिक मर्यादा विपरित व्यवहार गर्न सुरु गरेका थिए ।…….’

    उक्त समाचार अर्कै व्यक्तिले तयार पारेर संवाददाता मगेन्द्र राईको बाइलाइनमा सम्प्रेषित गरिएको एक श्रोतले बतायो । श्रोतका अनुसार नेपालखबरका उच्चस्तरीय व्यक्ति र कन्सुल जनरल कमलप्रसाद भट्टराई कन्सुलेट जनरलमा संगै बसेर बनाएको योजना अनुसार समाचार आएको हो । नेशनल डेपछि छोटो समयका लागि नेपालबाट आएका उनी ‘मेरो सङ्गीत यात्रा’मा देखिएका थिए ।

    समाचार सम्प्रेषण भएपछि एकोहोरो टोपराज तामाङको विपक्षमा माहौल बन्छ भन्ने योजना ठीक उल्टो भएको छ । उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा भएको वादविवादमा हङकङ सरकारको हवाला दिइएको पत्र सार्वजनिक गर्नु पर्ने कुरा आएका छन् । तामाङले गलत गरेको भन्ने र ‘वेल डन’ भन्ने बराबर देखिएका छन् ।

    नेपालखबरको समाचारजस्तो यस विषयमा कन्सुल जनरल कमलप्रसाद भट्टराईले नेपाली अगुवाहरुसंग कसैसंग प्रत्यक्ष–अप्रत्यक्ष छलफल गरेको पाइएन । प्रतिनिधिमूलकलगायत अन्य संस्थाका आधिकारिक व्यक्तिहरु कसैले पनि छलफल नभएको बताए ।

    पत्रको बारेमा बुझ्नका लागि कन्सुल जनरल कमलप्रसाद भट्टराईलाई गरिएको कल रेस्पोन्स नभएपछि कन्सुल सुजनी रानासंग गरिएको कुराकानीमा उनले अनभिज्ञता प्रकट गरिन् । घटनाको विषयमा हङकङ सरकारको पत्र आएको हो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘विभिन्न विभागका विभिन्न किसिमका पत्रहरु आउछन्, पत्रको विषयमा भन्न मिल्दैन ।’

    टोपराज तामाङले नियमले नमिल्ने कागजात बनाउन दवाव दिने र नबनाए हातपात गर्ने धम्की दिने गरिएको समाचार आयो नि ? भन्ने प्रश्नमा कन्सुल रानाले उनी मात्र होइन अरु पनि विभिन्न किसिमका कामजात बनाउन आउने गरेको र नमिल्ने कागजातको बारेमा स्पष्ट गराउने गरिएको बताइन् । तामाङको विरुद्ध प्रहरीमा सिकायत गरेको विषयमा पनि उनले बताउन चाहिनन् ।

    कार्यक्रम स्थलमा कन्सुल जनरल कमलप्रसाद भट्टराईले वादविवाद भइरहेको जानकारी गराएपछि टोपराज तामाङलाई सम्झाउन खोज्दा तनावको स्थिति सिर्जना भएको गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङले बताइन् । उनका अनुसार सम्झाई–बुझाई गर्ने क्रममा ठेलठाल भएको हो ।

    घटनाको प्रत्यक्ष खिचिएको मोबाइल भिडियोमा पनि टोपराज तामाङ प्रमुख अतिथिसंग भन्दा छुटाउन खोज्नेहरुप्रति आक्रामक देखिएका छन् । उक्त भिडियोमा भीम काफ्ले अघि बढेर पनि पछि सरेका छन् भने राधिका गुरुङले तामाङलाई सम्झाइ राखेकी छन् । उनले अंग्रेजी र नेपाली भाषामा आफ्ना कुरा राख्न खोजेको देखिन्छ ।

    एभरेष्टले घटनाको बारेमा सोधेको प्रश्नमा टोपराज तामाङले भने, ‘कार्यक्रममा हङकङ सरकारको अर्थ सचिव आउने भन्ने थाहा पाएपछि मैले उनलाई नेपालको संविधानमा भएको विभेदलगायतका कुरा राखेर उपस्थित नहुन इमेलमार्फत आग्रह गरेको थिएँ, उनी आए कि आएनन् भनेर हेर्न गएको हो ।’

    निमन्त्रणापत्रमा ‘द फाइनान्सियल सेक्रेटरी अफ एचकेएसएआर अनरेबल मिस्टर पउल चान मो–पो’ लेखिएको भए पनि कार्यक्रममा प्रमुख अतिथि सेक्रेटरी फर फाइनान्सियल सर्भिसेज एण्ड ट्रेजरी जेम्स हेनरी लाउ रहेका थिए ।

    यस विषयमा कन्सुल सुजनी रानाले भनिन्, ‘निमन्त्रणा चाहिँ फाइनान्स सेक्रेटरीलाई नै गरिएको हो तर उहाँको कार्यवाहक आउनु भएको हो ।’

    अर्कै व्यक्ति प्रमुखअतिथि भएर आएकोले वास्तविकता जानकारी गराउदै आउदा दिनमा नआइदिन आग्रहमात्र गरेको तामाङले बताएका छन् । उनले हङकङको कानुनको बारेमा थाहा भएको र प्रहरीका लागि काम गरिसकेको व्यक्ति भएकोले कुनै किसिमको अभद्र व्यवहार नगरेको दावी गरेका छन् ।

    नेपालखबरको समाचार अनुसार प्रमुख अतिथिलाई हातमा समाएर छेउतिर लान खोजिएको भन्ने प्रश्नमा उनले भने, ‘समाउन त परैको कुरा अनावश्यक रुपमा छोएमा पनि कानुन लाग्छ भन्ने मलाई थाहा छ । मैले त्यसो गरेको भए उनको सेक्युरिटी गार्डलगायतले मलाई त्यहीँ नै गिरफ्तार गथ्र्यो । कानुन विपरित गरेको भए कन्सुलेटलाई पत्र लेख्नै पर्दैन यहाँको बासिन्दा भएकोले कुनै पनि बेला मलाई गिरफ्तार गर्न सक्छ ।’

    घटनाको अघिपछि पनि कन्सुलेटमा गएर नियमले नमिल्ने कागजात बनाउन लगाउने र नबनाइ दिए हातपात गर्ने धम्की दिने गरिएको भनिएकोमा हङकङका प्राय सबै विभागमा अथोराइज्ड लेटर लगेपछि मान्य हुन्छ र नेपालको हकमा पनि अधिकृत वारेशनामाले काम गर्छ भने त्यही अनुसार कन्सुलेट जनरलमा पनि हुनु पर्छ चाहिँ भनेको उनले बताए ।

    हङकङ प्रहरीबाट कन्सुलेटका कर्मचारीलाई धम्की दिने गरिन्छ रे ! के हो ? भनेर फोन आएको र होइन भने पछि आवश्यकता प¥यो भने सम्पर्क गर्ने भनिएको उनले बताएका छन् । उनका अनुसार नेपाली कन्सुलेट जनरलमा अहिले सेवा शुल्क अत्याधिक बढाइएको छ । एउटै प्रकृतिको काम गर्न भारतीय कन्सुलेट भन्दा निकै बढी रहेको छ ।

    टोपराज तामाङ कन्सल्टेन्सी क्षेत्रका नयाँ हुन् । आदिवासी जनजातिको विषयका लागि पनि उनी नयाँ हुन् । हङकङमा एक दशक भन्दा बढी भएको आन्दोलनमा उनको सहभागिता देखिएको छैन । पुराना कन्सल्ट्याण्टमार्फत कतिपयले कन्सुलेटबाट असंभव काम पनि गराएको भन्ने बजारमा हल्ला फैलिएको पृष्ठभूमिमा उनीबाट पनि त्यसको प्रयास भएको अनुमान गर्न सकिन्छ । त्यही विषयमा दुई पक्षबीच कुरा नमिल्दा दवावको लागि आदिवासी जनजातिको विषयले प्रवेश पाएको हुन सक्ने विश्लेषण पनि गर्न सकिन्छ ।

    व्याकफायरका शिकार बनेका कन्सुल जनरल कमलप्रसाद भट्टराई भने मर्माहत भएका छन् । घटनापछि उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् । गैर–आवासीय नेपाली संघको स्थापना दिवस ‘एनआरएन डे’ मा उनी अनुपस्थित देखिए । एनआरएनए श्रोतका अनुसार उनलाई लिखित रुपमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको र आउने भने पनि अनुपस्थित रहे ।

    भर्खरै सम्पन्न हङकङ नेपाली महासंघको दशौं महाधिवेशनमा कन्सुल जनरललाई संरक्षक बनाउने प्रस्ताव अस्वीकृत हुनुले पनि उनलाई चोट पुगेको हुन सक्छ । केही महिना अघि एनआरएनएको वार्षिक साधरणसभामा पनि सोही प्रकृतिको प्रस्ताव अस्वीकृत भएको थियो । नेपाल च्याम्बर अफ कमर्सले पनि कन्सुलेट जनरललाई चिफ प्याटर्नबाट हटाएको छ ।

    कन्सुलेट जनरलबाट पठाइएको निमन्त्रणापत्र पनि विवादास्पद बनेको छ । उक्त पत्रमा कन्सुल जनरलको श्रीमतीको नाम (रिमा भट्टराई) अनावश्यक रुपमा राखिएको छ । अहिलेसम्मका कुनै पनि निमन्त्रणापत्रमा त्यसो गरेको पाइएको छैन । त्यही रिमा भट्टराईको नामका कारण कतिपय आमन्त्रितहरु अनुपस्थिति रहेको पाइएको छ ।

    एक शैक्षिक संस्थामा कार्यरत उच्च शिक्षा प्राप्त व्यक्तिले भने, ‘त्यो रिमा भट्टराईको के हैसियत ? सधै गइएको हो नेशनल डेजस्तो कार्यक्रममा, निमन्त्रणापत्र देखेर भाउन्न भयो र यो पटक गइन ।’

     

  • कमेन्ट गर्नुहोस्