• एनआरएनए क्षेत्रीय बैठक काउलुन होटलमा

  • पोस्टर सार्वजनिक गर्ने क्रममा क्षेत्रीय उपसंयोजक विनोद कुवर (बीचमा)लगायत । तस्बिरः विक्रम गुरुङ ।

    २१ अक्टुबर । गैर–आवासीय नेपाली संघ (एनआरएनए)को छैटौं एशिया–प्यासफिक क्षेत्रीय बैठक हुङहामस्थित हार्वर ग्राण्ड काउलुन होटलमा डिसेम्बर ८–९ का दिन सम्पन्न हुने भएको छ ।

    क्षेत्रीय उपसंयोजक विनोद कुवरको उपस्थितिमा सम्पन्न घोषणासभामा जानकारी गराइए अनुसार चीन, हङकङ, जापान, मकाउ, मलेशिया, म्यान्मार, फिलिपिन्स, साउथ कोरिया, सिङ्गापुर, थाइल्याण्डलगायतबाट दुई सयजनाको हाराहारीमा सहभागिता रहने छ ।

    बगैंचा रेष्टुरेण्टमा आयोजित कार्यक्रममा वितरण गरिएको विज्ञप्ति अनुसार ‘संवृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व सहित गैर–आवासीय नेपालीलाई अधिकार’ तय गरिएको छ । बैठकको उद्घाटनका लागि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई निमन्त्रणा गरिएको छ ।

    उक्त बैठक तयारीका लागि क्षेत्रीय संयोजक किरण थापा, सहसंयोजकद्वय विनोद कुवर र पारसमणी पोख्रेल र प्रत्येक देशका अध्यक्षसहितको समिति रहेको छ । उक्त समितिको सचिव हङकङकी अध्यक्ष राधिका गुरुङ रहेकी छन् । उनकै संयोजकत्वमा कार्यसमिति, संरक्षक समिति, सल्लाहकार समितिलगायत सम्मिलित एक सय एघार जनाको तयारी सहयोग समितिको गठन गरिएको छ ।

    कोषाध्यक्ष गोकर्णप्रसाद ढकालका अनुसार बैठकका लागि हङकङ डलर १० लाख खर्च हुने अनुमान गरिएको छ । पाँचतारे होटलमा बैठक हलको मात्र २ लाख तिर्न पर्ने छ ।

    घोषणासभामा अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का सदस्य मीनबहादुर गुरुङ र हङकङ संरक्षक कृष्णप्रसाद पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आईसीसी सदस्य दिलिपसिं गुरुङ, संरक्षक र सल्लाहकार समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

    प्रवक्ता इन्द्र वनेमको शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष राधिका गुरुङको रहेको थियो । सञ्चालक महासचिव किसन राई रहेका थिए । उक्त अवसरमा बैठकको प्रचार सम्बन्धी पोष्टर सार्वजनिक गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्