बिसे नगर्चीको इतिहास
साहित्यका विभिन्न विधामा एक पात्रले विशेष उपस्थिति जनाएका छन् । उनी हुन्, बिसे नगर्ची । तर इतिहास अध्ययनतिर कम चासो राख्ने पाठकहरुलाई त यस्तो लाग्न सक्छ, बिसे नगर्ची कतै एक काल्पनिक पात्र त होइनन् ?
बिसे नगर्ची काल्पनिक पात्र होइनन्, उनी पृथ्वीनारायण शाहकालिन ऐतिहासिक व्यक्ति हुन् ।
नेपाली इतिहासको विषयमा कुरा गर्दा कतिपयले नाक खुम्च्याउने गरेको पाइन्छ । “नेपाली इतिहास भनेको राजा महाराजाहरुको गाथा मात्र हो” भनी नाक खुम्च्याउनेको संख्या कम छैन, नेपालमा । हुन पनि जनता र त्यसमा पनि बिसे नगर्चीजस्ता दलित उत्पीडितहरुको इतिहासको खोजी गरेर जनमानसमा प्रकाशमा ल्याउने कसले ? नेपाली इतिहासले प्रकाशमा ल्याउने गरेको विषय नेपाली सत्ता र त्यसको सेरोफेरोसँग बढी नै सम्बन्धित भएको प्रवृत्तिका कारण पनि “नेपाली इतिहास भनेको राजा महाराजाको गाथा” भनी नेपाली इतिहासको आलोचना गर्ने पक्ष पनि प्रशस्तै भेटिन्छ ।
नेपाली इतिहासको सन्दर्भबारे सोचविचार गर्दा अर्को उत्तिकै महत्वपूर्ण तथ्य के पनि हो भने जसले लिखितलाई बचायो र त्यसको विश्लेषण गर्न सक्ने मानिसको त्यसमा आँखा प¥यो भने मात्र त्यस इतिहास प्रकाशमा आउन सहज हुने हुँदा पनि लिखत राख्न नसक्ने वा लिखत नराख्ने वा भएको लिखित पनि जोगाउन नसक्नेको इतिहास प्रकाशमा आउन पक्कै पनि कठिनाई हुन्छ ।
तर बिसे नगर्चीको सन्दर्भ भने अलि फरक छ । इतिहासका विभिन्न पानामा सानोतिनो गरी उनको चर्चा गरिएको पाइन्छ । तिनै सामग्रीहरुलाई बटुलबाटुल गरी यो लेखकले उनको ऐतिहासिक प्रसँग पस्कने प्रयास गरेको छ ।
नेपाली समाजमा दमाई
संहितावद्धताका लागि जंगबहादुर राणाको योगदान मानिएको मूलुकी ऐन १९१० ले कुन जातिले कसको जुठो खाने भएकोले त्यो जातिभन्दा सानो भनी स्पष्ट रुपमा संहितावद्ध गरेको छ । यो ऐनले सबैको जुठो खाने भएकोले सबैभन्दा सानो जात च्यामखलकलाई तोक्यो । च्यामखलकपछि ठूलो पोडे, पोडेपछि वादी, क्रमशः गाइने र उनीहरुभन्दा ठूलो दमाईको जात यो ऐनले तोक्यो ।
यिनै ‘सानो’ भनिने दमाई जातिको प्रसँग खुल्ने आफूसँग उपलब्ध दुईवटा पुराना कागजबारे यहाँ छोटकरीमा उल्लेख गरिन्छ ।
यो लेखकसँग पुख्र्यौली नासोका रुपमा रहेको राजा राजेन्द्रबाट विक्रम सम्वत १८८४ चैत वदीमा जारी लालमोहरमा ‘छिपोछापो, कामीको ताल, सार्कीको पल्याटी, दमाईको सुज्यारो’ उल्लेख छ । सुज्यारो अर्थात् सुजेरो भनेको टुक्रा कपडा राख्ने झोला हो ।
यस्तै इतिहास तथा लिम्बु मुन्धुमविद् स्व. भरत तुङघङबाट यस लेखकलाई प्राप्त विक्रम सम्वत् १९३९ श्रावण वदी ८ रोज ५ मा तत्कालिन राजा रणबहादुर शाहबाट खजुम रायको नाममा जारी रुक्कामा ‘हिजो हिन्दुपतिले बक्स्याको नगरा निसान मान मर्यादा मान म¥यादा ज्या हो सो हामीले पनि बक्स्यौं’ भन्ने उल्लेख छ ।
दमाई जातिको परम्परागत काम लुगा सिलाउने र नगरा लगायतका बाजा बजाउने हो । उनीहरुको परम्परागत पेशालाई समेट्ने खालको ऐतिहासिक कागजपत्र आफूसँग उपलब्ध भएकोले यस प्रसँग यो लेखकले सामान्य रुपमा कोट्याउन खोजेको हो ।
‘गर्ची’ शब्द नगरासँग सम्बन्धित भएकोले पनि बिसे नगर्ची नगरा बजाउँथे भन्ने अनुमान गर्न सकिन्छ ।
सल्लाहकारका रुपमा बिसे नगर्ची
कतिपय गाह्रो-अप्ठ्यारोमा पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट पनि सल्लाह लिएका थिए । खासगरी बनारस भ्रमणपछि एक जनालाई गोरखाको काजी तोक्नु परेको तर आफ्नो नजरमा दुई जना परेपछि कसलाई काजी तोक्ने भन्ने द्विविधामा परेका थिए, पृथ्वीनारायण शाह । विराज बखतीलाई काजी दिने कि कालु पाँडेलाई ? यही थियो, त्यो बेलाको उनको द्विविधा ।
इतिहासशिरोमणि बाबुराम आचार्यले “श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी” (२०६१ः१५०–१५१)मा ‘यस अवस्थामा श्री ५ पृथ्वीनारायण शाहले गोर्खाका सबै भलादमीको राय लिन उचित सम्झे र भैयाददेखि विस्या दमाईतकको कालू पाँडेका पक्षमा सम्मति पाउँदा र मित्र भएका चौबीसी–बाइसी राजाहरुले पनि यिनकै चाह गरेको देखेर उनले यिनैलाई यस ठूला भारको पगरी पहिराइदिए’ भन्ने उल्लेख भएबाट त्यो बेला बिसे नगर्चीको पनि महत्व ठूलै रहेछ भन्ने बुझिन्छ ।
कालु पाँडेलाई कज्याई दिने निर्णय जसरी पृथ्वीनारायण शाहले गरे उसै गरी कालु पाँडेले पनि ‘काजी पद खाऊँ कि नखाऊँ’ भनी विभिन्न व्यक्तिबाट परामर्श लिए । कालुले सशर्त उक्त पद स्वीकार गरेका थिए । काजी ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ’ भनी सल्लाह मागेका थिए । यसै क्रममा कालुले पृथ्वीनारायण शाहसमक्ष ‘जाइ खानु मेरा जियले मात्र होइन मेरा सन्तान दरसन्तानले गादिको सोझो गरी काम चलाउन सकुन्ज्याल पाँडेले नै खानु भन्ने बन्देज होस’ भन्दै आफ्नो दरसन्तानका लागिसमेत जागिरको सुनिश्चितता माग गरेका थिए । यस्तो मागउपर विचार गर्दै पृथ्वीनारायण शाहले ‘गादीको सोझो गरुन्ज्याल तेरा सन्तानलाई कजाई नखोस्नु यस बातका साक्षी श्री गुरु गोरखनाथ र श्री काली’ भनी प्रतिवद्धता जनाएका थिए । दरबारबाट फर्केपछि कालु उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर ‘मलाई महाराजबाट मुख्तियार बक्स्यो, खाऊँ कि नखाऊँ’ भनी सोध्दा सबैले सल्लाह दिए, ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस’ भन्ने बिसे नगर्चीसमेत समेटिएको ऐतिहासिक प्रस पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २१ (कात्तिक २०२९ः२०) मा पढ्न पाइन्छ ।
यसबाट पनि तत्कालिन गोरखा राज्यमा बिसे नगर्चीको महत्व निक्कै ठूलो थियो भन्ने सङ्केत मिल्छ ।
युद्धमोर्चामा बिसे नगर्ची
सरसल्लाहमा मात्र होइन, बिसे नगर्चीले विभिन्न युद्धमा पनि सहभागिता जनाएका थिए । पृथ्वीनारायण शाहले पहिलो पटक सफलता प्राप्त गरेको नुवाकोटको युद्धमा बिसे पृथ्वीनारायणकै मोर्चामा थिए । त्यो बेला आक्रमणका लागि गोर्खालीहरुले विभिन्न समूह बनाएका थिए । त्यहाँ बिसे नगर्ची पृथ्वीनारायण शाहले अगुवाई गरेको समूहमा थिए ।
यस युद्धमा चार ठाउँमा मोर्चा बाँधी गोर्खालीहरुले नुवाकोट आक्रमण गरेका थिए । तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकिर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडी बढेको थियो भने तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडी बढेका थिए । यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडी बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेलाई साथ लिएर बिसे नगर्ची पनि सरिक थिए भन्ने ऐतिहासिक प्रसँग ‘प्राचीन नेपाल’को संख्या २१ (कात्तिक २०२९ः२८)मा उल्लेख छ ।
वि.सं. १८०१ असोज १५ गतेको यो युद्धमा नुवाकोट गोरखाको अधिनमा आयो ।
युद्ध गोरखाली पक्षले जित्यो । जीतपछि ब्राह्मणबाट वेद तथा जयघोष भयो । नगरा बज्यो । नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले गरेका र उनीहरुलाई मणिराम गाइनेले साथ दिएका थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
यसैगरी बिसे नगर्चीले अन्य युद्धमा पनि सहभागिता जनाएका थिए । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियान बढ्दै गयो । उनले नुवाकोटपछि भोटसँगको महत्वपूर्ण व्यापारिक मार्गमा पर्ने नालदुम वि.सं. १८११ मा हात पारे । यो देखेर पृथ्वीनारायण शाह आफूतिर पनि आइलाग्ने सम्भावना बाइसी चौबिसी राजाहरुले देखे । गोरखालाई रोक्नुपर्ने संकेत पर्वते राजाले लमजुङलाई दिए । यो खबर नुवाकोटमा रहेका पृथ्वीनारायण शाहसमक्ष पुग्यो । उनले त्यहाँबाट चौतारिया किर्तिमहोद्दाम शाह, काजी कालु पाँडे, सल्यानी द्वारे, कलै पाँडे, अम्बर पाँडे लगायतको सेनालाई लडाईका लागि विदा गरेको प्रसँग इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ पूर्णाङ्क ६ (श्रावण २०२२ः४६)मा पढ्न पाइन्छ ।
लमजुङ र गोरखाबीच इखाइख छँदैथियो । यी दुई राज्य एकअर्कामा खतरा महसुस गर्थे ।
पृथ्वीनारायण शाहले आफू युवराज छँदै नेपालको राजा हुने मनसुवा राखेका थिए र आफ्नो मामाको सल्लाह अनुसार खतरा टार्न लमजुङसँग सन्धि गरेका थिए । ‘एकानि शत्रु मित्र एकानि मित्र’ नामको यो सन्धि वि.सं. १७९६ माघ ११ गते बिहीबार भएको इतिहासकार देवीप्रसाद भण्डारीले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णाङ्क ४ (माघ २०२१ः६१)मा ‘पृथ्वीनारायण शाहका समयका निश्चित संवत तथा तिथिमितिहरु’ श्रृंखलामा उल्लेख गरेका छन्
यस सन्धि हुँदा लमजुङका राजा रिपुमर्दन शाह मन्त्रीका साथ सभामा उपस्थित रहेका थिए । गोरखाली दलको नेतृत्व काजी कालु पाँडेले गरेका थिए । सन्धिमा युवराज पृथ्वीनारायण शाह राजा नरभुपाल शाहको छाप बोकेर चनाखा मानिसका साथ चेपेघाटमा उपस्थित भएका इतिहासकार गंगा कर्माचार्य हाडाले ‘सिनास जर्नल’ वर्ष ३१, अंक २ (जुलाई २००४ः३४२) उल्लेख गरेकी छन् ।
तर पर्वत र गोरखाबीचको इखाइखले लमजुङ र गोरखाबीच युद्ध भयो । त्यसबेला बाइसी चौबिसी र गोरखासमेत मेहलको रुखमा चीर बाँधी होली उत्सव गर्थे । त्यसबेला पर्वते राजाले अरु कुनै राजाले एक छते चीर गाड्यो भने सेनासहित पुगी चीर गाड्ने राजालाई जिती चीर च्याती दिने गर्थे । यो कुरा थाहा पाएका पृथ्वीनारायण शाहले ‘पर्वते राजाले लौ च्यातोस् त’ भन्दै तीन छते चीर गाडेर होली मनाई युद्धको हाँक दिए । पर्वते राजाले गोरखाको चीर च्यात्न त चाहे तर बीचमा लमजुङ प¥यो भन्ने प्रसँग ‘पूर्णिमा’ पूर्णाङ्क ६ (श्रावण २०२२ः४६–४७) मा ‘भाषा वंशावली’लाई उद्धृत गरिएकोमा बिसे नगर्चीको प्रसँग पनि परेको छ । यसबाट उनी त्यस युद्धमा पनि खटिएका थिए भन्ने प्रमाणित हुन्छ ।
गोरखा र लमजुङबीच युद्ध भएरै छाड्यो । सिह«ानचोकको लडाईमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारे लगायतको मृत्यु भयो । वि.सं. १८१२ साउन १४ गते शनिबार भएको यस युद्धमा गोरखालीको जीत भयो । गोरखालीहरुले जीतको हर्षबढाई मनाउँदै शत्रुपक्षको बेइज्जत गरेका थिए । शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सेना अफिसरहरुलाई त्यहाँबाट छिर्न लगाएका थिए । यस बारेमा भाषा वंशावलीमा यस्तो लेखिएको छ-
…लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरु सबैलाई छिराया । शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो । सिरानाचोक थामी चौविसी हटाया । पश्चिम थेग्लाया ।
यस्तै बिसे नगर्चीकै प्रसँगमा ‘प्राचीन नेपाल’ संख्या २२ (माघ २०२९ः४) यसबारे यस्तो लेखिएको छ– …यस लडाईमा सल्यानी अम्बर पाँडे, बले द्वारे प्रभृति धेरै बीर खति भए । जीत गोरखालीको भयो र सरदर दलभंजनबाहेक लमजुङको महीधरसमेत अरु सबै चौबिसीलाई विसे नगर्चीको धोती टाँगी धोतीमनि छिराए ।
राज्यविस्तार अभियान अन्तरगत चौबिसी सिह्रानचौकको जीत पृथ्वीनारायण शाहको महत्वपूर्ण उपलब्धी थियो । यो उनको तेस्रो जीत थियो । यस युद्धमा बिसे नगर्ची सहभागी थिए । यसअघि पृथ्वीनारायण शाहले नुवाकोट र नालदुमलाई गोरखा अधिनस्थ गरिसकेका थिए ।