• गण्डकीका मुख्यमन्त्रीलाई जनजाति महासंघको सम्मान

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सम्बोधनको क्रममा । तस्बिरः जगत गुरुङ ।

    ३० डिसेम्बर । नेपालका आदिवासी जनजातिले अहिलेसम्मका उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सुझाएका छन् ।

    नेपाल आदिवासी जनजाति महासंघको सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सुझाव सुझाएका हुन् । गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशितालाई संरक्षण गर्दै अगाडि बढिए पहिचानको मुद्दा स्थापित हुने उनको ठहर रहेको थियो ।

    उनका अनुसार पहिलो संविधानसभामा रहेको आदिवासी जनजातिको शक्तिलाई व्यवस्थापन गर्न नसक्दा थप उपलब्धि प्राप्त हुन नसकेको हो । अहिले शक्ति सन्तुलनमा आदिवासी जनजाति तल परेकोले शक्ति संचय गर्नुको विकल्प छैन । आदिवासी जनजातिको जनसंख्या ३७ प्रतिशत रहेकोले पहिचानको मुद्दा स्थापित हुने निश्चित छ ।

    उनले हङकङमा आदिवासी जनजाति मूलको नेपाली कन्सुल जनरलको माग ठीक भए पनि उचित तालमेल हुन नसक्दा सम्बोधन हुन नसकेको अनुभव सुनाएका थिए । उक्त माग सम्बोधनको लागि आफूले गरेको प्रयासको फेहरिस्त सुनाउदै उनले भविष्यमा पनि अधिकतम प्रयास गर्ने आश्वासन दिएका थिए ।

    उनका अनुसार कुनै पनि विषयको सम्बोधन गर्न सरकार, पार्टी, नेतृत्व र पात्रको संयोजन आवश्यक रहेको छ । हङकङको कन्सुल जनरल यहाँको माग बमोजिम नियुक्तीमा उपयुक्त संयोजन गर्नका लागि जनजाति महासंघ, राजनैतिक पार्टी र सरकारबीच तालमेल हुन आवश्यक छ ।

    बगैंचा रेष्टुरेण्टमा आयोजित कार्यक्रममा स्वागत गर्दै जनजाति महासंघका अध्यक्ष किसन राईले आन्दोलनको कारण नेपाली समुदायमा प्रर्याप्त घुलमिल हुन नसक्दा नेपाल सरकारको प्रतिनिधि कन्सुल जनरलको कामकार्वाही प्रभावकारी हुन नसकेको र त्यसले सिङ्गो देशलाई असर परिरहेको दावी गरेका थिए ।

    अध्यक्ष राईले पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री मात्र नभएर सरकारको नेतृत्व गरिरहेको पार्टीको प्रभावकारी नेता र जनजाति आन्दोलनका संवाहक पनि रहेकाले पनि दशकदेखिको माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    महासचिव कृष्णराज लाओतीको सञ्चालन रहेको कार्यक्रममा सल्लाहकार भूपेन्द्र चेमजोङले जनजाति महासंघको मागको पृष्ठभूमि, आवश्यकता र असरको बारे संक्षिप्त व्याख्या गरेका थिए । सोही अवसरमा जनजाति महासंघका सदस्य संस्थाका अध्यक्ष र सल्लाहकारहरुले मुख्यमन्त्री गुरुङलाई खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्