• ‘नेपालमा विदा बढी भएर विकास नभएको होइन’

  • सम्बोधनको क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिरः ज्याप स्टुडियो ।

     

    ३० डिसेम्बर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा विदा धेरै भएर विकास नभएको होइन भन्दै आदिवासी जनजातिका चाडमा सार्वजनिक विदा दिनु पर्ने माग गरेका छन् ।

    ‘नेपालमा विदा धेरै भएर विकास नभएको होइन’, तमु ट्हो ह्युलको ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘भ्रष्टाचार बढी भएर नेपालको विकास नभएको हो । नेता र पार्टीले गति र मति लिन नसकेकोले, निर्दलीय पञ्चायती व्यवस्थाले ३० वर्ष खाएर र बहुदलका २५ वर्ष अस्थिरतामा बितेकोले विकास नभएको हो ।’

    वि.सं. २०७५ मा दिइएका १५ वटा सार्वजनिक विदामा मजदुर दिवस, गणतन्त्र दिवस र बुद्ध जयन्तीबाहेक १२ वटा एउटै धर्म, जाति र संस्कृतिसंग सम्बन्धित रहेको बताउदै मुख्यमन्त्री पृथ्वी सुब्बाले गुरुङले भने, ‘जातजाति, भाषा, धर्म, संस्कृतिले इन्द्रेनी रहेको नेपालमा राष्ट्रिय एकता र सद्भावको लागि विभिन्न जातजातिका चाड पर्वमा सार्वजनिक विदा दिन आवश्यक छ ।’

    राज्यको स्वभाव अप्ठ्यारो पर्दा फुक्ने र सजिलोमा कस्ने हुने भएकोले सार्वजनिक विदा कटौतीमा उठेको विरोधको स्वर सिंहदरबार र बालुवाटर थर्कने गरी हुनु पर्नेमा जोड दिदै उनले अधिकार मागेर नपाइने स्मरण गराएका थिए ।

    गुरुङका दुई ठूला संस्थालाई मिलाएर नेपालमा एकै ठाउँ ल्होछार मनाउन सफलता मिलेको उदाहरण दिदै उनले हङकङमा पनि मुख्य ल्होछार एकै ठाउँ मनाएको सुन्न र हेर्न पाउ भन्ने इच्छा व्यक्त गरेका थिए ।

    मन्तव्यको क्रममा उनले गण्डकी प्रदेशको संभावनाका फेहरिस्त सुनाउदै आफ्नो कार्यकालमा सबै हिसाबबाट एक नम्बर बनाउने दावी गरेका थिए । उनले हङकङबासीलाई गण्डकी प्रदेशमा लगानीको लागि आह्वान समेत गरेका थिए ।

    मन्तव्यकै क्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईले तमु एकताको कुरा गर्नेहरुले नै विद्रोहीलाई साथ दिइरहेको आरोप लगाउदै त्यस्तो प्रवृतिले समस्या समाधान नहुने बताएका थिए । उनले तमु एकताको लागि अनावश्यक रुपमा खुलेका संस्थालाई निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

    उक्त अवसरमा एक नम्बर प्रदेश तमु समाजका अध्यक्ष हेमप्रताप गुरुङले तमु एकता हुनु पर्नेमा जोड दिएका थिए । तमु प्ये ल्हु संघका अध्यक्ष मनबहादुर गुरुङले तमु ट्हो ह्युलले मौलिकताको संरक्षण नगरेको आरोप लगाउदै त्यसैका लागि अर्को संस्था खोल्नु परेको बताएका थिए ।

    मंकी हिलमा आयोजित समारोहमा यस वर्ष हङकङ डिप्लोमा अफ सेकेण्डरी एजुकेसन (एचकेडीएसर्ई) परीक्षामा उत्कृष्ठ तमु छात्रा सिम्रान गुरुङ र प्रभा गुरुङ र छात्र निश्चल गुरुङलाई डा. हर्क गुरुङ र डा. चन्द्रप्रसाद गुरुङ स्मृति पुरस्कार प्रदान र उत्तिर्णलाई सम्मान गरिएको थियो । त्यसै गरी मिस हङकङ नेपाल २०१८ प्रिया गुरुङ, साहित्यकार उपेन्द्र कोरङ्गी ‘दाजु गुरुङ’ र गीतकार दिवस कुमार गुरुङलाई सम्मान गरिएको थियो ।

    उपाध्यक्ष प्रेम कोरङ्गीको स्वागत मन्तव्यबाट शुरु भएको औपचारिक कार्यक्रम सचिव पदम गुरुङले सञ्चालन गरेका थिए । विजयकुमार गुरुङको अध्यक्षता रहेको कार्यक्रममा प्रतियोगितात्मक झाँकी प्रदर्शन, भेषभुषा, ठेलो, डोरी तान्नेलगायतका प्रतियोगितात्मक र मनोरञ्जनात्मक खेल र सांगीतिक प्रस्तुति प्रस्तुत गरिएका थिए ।

     

  • कमेन्ट गर्नुहोस्